१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

अहिलेको सरकारले प्रतिपक्षीलाई देखीसहेन : पुष्पकमल दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको दाबी गरेका छन्।  

पार्टीले कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गरेका हुन्।  

माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा भिन्न रहेको बताउँदै उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको बताए।  

सोमबार मात्रै बिपक्षी दलहरुको तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्रीसँग भएको संवाद सुनाउँदै उनले भने,  ‘मैले स्पष्टसँग भनेको थिएँ, तपाइँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं तर तपाइँहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ ।’

सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारको ‘हनिमुड पिरियड’लाई ध्यान दिंदै अहिलेसम्म सडकमा नआएको तर अब सरकारको सय दिन पुगेकाले सडक प्रदर्शनमा कार्यक्रम अघि सार्न थालेको बताए। आफ्नो पार्टी नेतृत्वको सरकारले १८ महिनामा गरेका कामले जनतामा उत्साह थप्दै गएको बेलामा भ्रष्टाचारीलाई बचाउन नयाँ समीकरण बनेको जनताले राम्ररी बुझेको उल्लेख गर्दै उनले यसलाई थप स्पष्ट गर्दै अब सरकारका गलत कार्यको भण्डाफोर गर्दै लैजानुपर्ने बताए।

सरकारले एकपछि अर्को नाजाजय हर्कत गर्दै जाँदा जनतामा सरकारविरोधी भावना बढ्दै गएको उनको भनाइ थियो। उद्योगहरुबाट बक्यौता महसुल उठाउन खोज्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनर्स्थापनामा ध्यान नदिनेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार आफैले भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत गर्दै गएको बताए।

अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित राजनीतिक उपलब्धिमाथि प्रहार हुन थालेकाले अब सडकबाट जनतालाई अपिल गर्न ढिलाई गर्न नहुने ठानेर नै पार्टीले जनप्रदर्शनको कार्यक्रम तय गरेको बताए । ‘सरकार गठन गर्नेबेला नै दुई दलीय व्यवस्थाको वकालत गरिएको थियो, त्यो निरंकुश सोंच हो । अहिले पनि कतै न कतै गठबन्धनभित्र यसखालको सोंच हटेको छैन,’ उनले भने, ‘यसलाई अघि बढाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड्यन्त्र जारी नै छ, यी सबै षड्यन्त्रका विरुद्ध सशक्त खबरदारी जरुरी छ ।’

प्रकाशित: ६ कार्तिक २०८१ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App