१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

रौतहट पुगेर माधव नेपालले भने : फूलको आँखामा फूलै संसार...

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाढीपीडितहरुसित प्रत्यक्ष भेटघाटमा जुटेका छन् । गृहजिल्ला रौतहटको गृहनगर गौर नगरपालिका र मुख्य प्रभावित क्षेत्रको नेपालले स्थलगत निरीक्षण गरेका छन् ।

बागमती र बकैया नदीले पारेको प्रभाव तथा किसानको हजारौँ बिघा खेतमा लगाइएको धानबालीको डुबानको अवस्थाको नेपालले स्थलगत अवलोकन निरीक्षण गरेका छन् । नेता नेपालले बाढीले बाटोमा पुर्‍याएको क्षति, बालीनालीको अवस्था र बाढीपीडितको हालत देखेर नेपाल गम्भीर बनेका छन् । कैयौँ ठाउँमा बाढीले बागमती र बकैया नदीको तटबन्ध कटान गरेर अकल्पनीय क्षति पुर्‍याएको प्रति नेपालले चिन्ता व्यक्त गरेका छन् ।  

बागमती नदीको अवस्था हेर्दै नेता नेपालले त्यहीँबाटै सम्बन्धित निकायमा फोन गरेर तत्काल मर्मतको काम अगाडि बढाउन आग्रह गरेका छन् । हुलाकी राजमार्गको बागमती नदीमा आधा दशकभन्दा लामो समयदेखि रोकिएको पुलको निर्माणलाई अगाडि बढाउन पनि सम्पर्क गरेका छन् । ठेक्का सकार भइसकेको र निर्माणको चरणमा अगाडि बढेको पुलको लागि नेपालले ताकेता गरेका हुन् ।

बाढीले दक्षिणी रौतहटमा व्यापक क्षति पुर्‍याएको छ । अझै पनि सयौँ बिघा धान डुबानमा रहेको छ । हजाराँै बिघा धान सखाप भएको छ । नेता नेपालले राहत र क्षतिपूर्तिका लागि सरकारसित माग गरेका छन् ।

स्थलगत निरीक्षणपछि पत्रकार सम्मेलन गरेर अध्यक्ष नेपालले आफ्नो पार्टीको नेतृत्व रहेको पालिकाका प्रमुखहरुलाई तत्काल राहतको काम अगाडि बढाउन निर्देशन दिइसकेको बताएका छन् । गौर नगरपालिकाले बाढीपीडितलाई राहतको क्षेत्रमा गरेको कामको प्रशंसा पनि नेता नेपालले गरेका छन् ।

वर्तमान सरकारले आफू र आफ्नो पार्टीप्रति पूर्वाग्रही भावना राखेको उनको आरोप छ । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई शत्रु पार्टीको जस्तो व्यवहार गर्न चाहेको बताउँदै जसले जस्तो बिउ रोप्छ उस्तै फल पाउने बताएका छन् । नेता नेपालले भने, 'फूलको आँखामा फूलै संसार ... काँडाको आँखामा काँडै संसार... ।'

शत्रुको व्यवहार गर्नेले भोलि आफूले के भोग्नुपर्ला भन्ने कुराको ख्याल गर्नुपर्ने अध्यक्ष नेपालको सुझाव छ ।  

पत्रकार सम्मेलनमा गौर नगरपालिकाका प्रमुख शम्भु साहले गौरको बाढीपीडित, सडक तथा टिकुलियास्थित बकैया नदीको अलपत्र अवस्थामा रहेको पुललाई अगाडि बढाउन ठुलो प्याकेजको आवश्यकता रहेकोले सरकारको ध्यान जानुपर्ने बताएका छन् । नगर प्रमुख साहले बाढीपीडितको लागि तत्काल नगर सभा गृहमा व्यवस्थापन गरिएको र विभिन्न निकायसित आवश्यक समन्वय गरिरहेको नगर प्रमुख साहको दाबी छ । 

प्रकाशित: १७ आश्विन २०८१ १८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App