५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सिआइबीको ‘नोटिस’ मा उपसभापति गुरुङ

मितेरी बचत तथा ऋण सहकारी संस्थाको १२ करोड रूपैयाँ हिनामिनामा नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको घटना नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को ‘नोटिस’ मा पुगेको छ। मितेरी सहकारी संस्थाले बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय हेटौंडामा उजुरी दिएपछि त्यही उजुरीलाई सिआइबीले नोटिसमा लिएको हो।

‘प्रदेश रजिस्ट्रार कार्यालयले हामीलाई नोटिस गरेको छ। रकम हिनामिनामा अनुसन्धानका लागि सिफारिस भई आए हाम्रो अनुसन्धान अघि बढ्छ। अनुसन्धानका लागि सिफारिस मागेका छौं’, सिआइबीका एक उच्च अधिकारीले भने। 

मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४ करोड ५० लाख रुपैयाँ हिनामिना भएको भन्दै धनराज र उनकी पूर्वपत्नी ज्योतिविरुद्ध संस्थाका अध्यक्ष कुम्भराज राईले केही दिनअघि सिआइबीमा उजुरी दर्ता गर्न खोजे पनि प्रक्रिया नपुगेको भन्दै दर्ता भएन। 

सिआइबीले सिधै उजुरी लिने निकाय आफू नभएकाले प्रक्रिया पु¥याउन भन्दै उजुरी दर्ता नगरेको हो। सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले प्रक्रिया नपुगेका कारण अध्यक्ष राईले लिएर आएको उजुरी दर्ता नभएको बताए। राई रकम हिनामिनाबारे अनुसन्धान गरिदिन भन्दै उजुरी लिएर सिआइबीसमक्ष पुगेका थिए।  

संस्थाकी तत्कालीन महाप्रबन्धक ज्योति १२ करोड ५० लाख रूपैयाँ अपचलन गरेर फरार भएको भन्दै उनीविरुद्ध मितेरीका संस्थापक अध्यक्षसमेत रहेका राईले सिआइबीमा उजुरी दर्ता गराउन खोजेका थिए। सिआइबीले प्रक्रिया नपुगेको भन्दै उजुरी नलिएपछि राईले सोही बेहोराको उजुरी प्रदेश रजिस्ट्रारको कार्यालयमा दर्ता गराएका छन्। ‘मितेरी बचत तथा ऋण सहकारी संस्थाकी पूर्वमहाप्रबन्धक ज्योति गुरुङले संस्थाको रकम अपचलन गरेको भन्ने बेहोराको उजुरी आएको छ’, बागमती प्रदेश सहकारी कार्यालयका रजिस्ट्रार राजन पोखरेलले भने।

ज्योति र कांग्रेस उपसभापति तथा सांसद धनराजबीच २०७६ सालमा सम्बन्ध विच्छेद भैसकेको छ। कानुनीरूपमा सम्बन्ध विच्छेद भए पनि त्यो समाजलाई देखाउनका लागि मात्र भएको आरोप लगाउन थालिएको छ। उनीहरूबीच कानुनीरूपमा सम्बन्ध बिच्छेद भइसकेको अवस्थामा पनि ज्योतिका नामको ऋण धनराजले सहकारीमा पुगेर तिरेको पाइएपछि सम्बन्ध विच्छेद नक्कली भएको आशंका गरिएको हो। ज्योति फरार छन्। धनराज सुशासनको पक्षमा वकालत गर्ने सांसदमध्ये भए हुन्।

नेकपा एमालेका सांसद सूर्य थापा संयोजक रहेको सहकारी ठगीसम्बन्धी छानबिन समितिमा ललितपुरस्थित मितेरी सहकारी संस्थाकी तत्कालीन महाप्रबन्धक ज्योतिर उनका पति धनराजले करिब १५ करोड रूपैयाँ अपचलन गरेको उजुरी परेपछि समितिले संस्थाका अध्यक्ष राईलाई बोलाएर बयान लिइसकेको छ। त्यतिमात्र होइन, समितिले सहकारीको कार्यालयसमेत पुगेर अनुगमन गरिसकेको छ। समितिले संस्थाको रकम अपचलन भएको निष्कर्ष निकालेको छ।

मितेरी सहकारी संस्थाकै सिफारिसमा प्रदेश रजिष्ट्रारको कार्यालयमा पेस गरिएको प्रतिवेदनलाई सिआइबीमा पठाइसकिएको छ। तर सिआइबीले प्रतिवेदन आएको विषयमा औपचारिक रूपमा केही बताएको छैन। ‘मितेरी सहकारी संस्थाको रकम अपचलन भएको भन्ने विषय अहिले हाम्रो नोटिसमा छ। यो विषयलाई बाहिर ल्याएर प्रचार गरिरहनु परेन। हामीलाई काम गर्न दिनुस्’, अनुसन्धानमा संलग्न सिआइबीका एक अधिकृतले भने।

मितेरी सहकारी संस्थामा सर्वसाधारणले बचत गरेको रकम दुरूपयोग सम्बन्धमा प्रतिनिधिसभाले बनाएको छानबिन विशेष समितिमा सो संस्थाका अध्यक्ष राईले बयान दिएपछि धनराज पनि मुछिएको विषय बाहिर आएको हो। अध्यक्ष राईले भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिएका थिए। छानबिन समितिका एक सदस्यका अनुसार ज्योतिले महाप्रबन्धक हुँदा १२ करोड ५० लाख रूपैयाँ हिनामिना गरेको र त्यो विषयमा धनराज पनि जानकार रहेको बयान राईले दिएका छन्।

मितेरी सहकारी संस्थाको रकम हिनामिनामा आफ्नो नाम जोडिएपछि सांसद धनराजले छानबिन गर्न संसद्मै माग गरिसकेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा धनराजले ज्योतिसँग आफ् सम्बन्ध बिच्छेद भएको बताएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा कांग्रेस नेतामाथि पनि छानबिन हुनुपर्ने माग राखेपछि धनराजले त्यसको जवाफ दिँदै आफूमाथि छानबिन गर्न चुनौती दिएका थिए।

धनराजले सहकारी ठगीसम्बन्धी प्रतिवेदन आउन लागेको समयमा त्यसलाई प्रभावित पार्न आफूमाथि यस्तो आरोप लगाइएको दाबी प्रतिनिधिसभामा गरेका थिए। ‘यो विषयामा छिटोभन्दा छिटो छानबिन गर्न माग गर्छु। मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, सञ्चालक समितिका सदस्यहरू को–कसमाथि छानबिन गर्नुपर्ने हो तुरुन्तै गरियोस् । यो विषयमा ममाथि कुनै आशंका छ भने पनि छानबिन होस्’, धनराजले प्रतिनिधिसभा बैठकका भनेका थिए।  

ज्योति २०७६ माघदेखि सम्पर्कविहीन छन्। धनराजले भने २०७६ फागुन २९ मा ज्योतिसँग डिभोर्स भइसकेको प्रतिनिधिसभामाण् बताएका थिए। ज्योतिले धनराजका नाममा लिएको ऋण भने उनले संस्थालाई बुझाइरहेको स्रोतको दाबी छ। धनराजले २०८१ जेठ ६ गतेसम्म सात पटकमा गरी ९१ लाख २५ हजार रूपैयाँ संस्थालाई तिरेको स्रोतले बतायो। संस्थाकी तत्कालीन महाप्रबन्धक ज्योतिले २०७६ साउनसम्म धनराजका नाममा रहेको घर/जग्गा धितो राखेर पटक–पटक ऋण लिएको विवरण भेटिएको छ। धनराजले २०७७ फागुनसम्म उक्त सहकारीबाट ऋण लिएको देखिएको छ। ज्योतिले आफ्नो नाममा पनि ऋण लिएर नतिरेको देखिएको स्रोतले बतायो।

बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरू मिलेर २०५७ सालमा ललितपुर महानगरपालिका– ५ महालक्ष्मीस्थानमा मितेरी बचत तथा ऋण सहकारी संस्था खोलेका थिए। सहकारी स्थापना भएपछि लेखापालबाट जागिर सुरु गरेकी ज्योतिले २०७५ सालदेखि रकम अपचलन गर्न थालेको बयान संस्थाका अध्यक्ष राईले समितिमा दिएका छन्। २०७० सालमा सहकारीको कोषाध्यक्ष बनेकी ज्योति २०७५ सालमा महाप्रबन्धक भएकी थिइन्। महाप्रबन्धक भएपछि उनले रकम हिनामिना गरेको आरोप छ।

प्रकाशित: ३० भाद्र २०८१ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App