५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै: गृहमन्त्रीको रोष्ट्रममा जाने कार्यसूची, के गर्छ कांग्रेसले?

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पनि उनले पढेर सुनाउने कार्यक्रम रहेको छ।

सचिवालयका अनुसार आजको बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने।

निरन्तर संसद अवरुद्ध हुँदै आएकोमा आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबल गर्ने कार्यसूची रहेको छ।

यसअघि जेठ १ मा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको नेपाली कांगे्रसले नीति तथा कार्यक्रममाथि बहस हुन दिएको थिएन।

साथै आजको बैठकमा सभामुख घिमिरेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची समेत रहेको छ। जेठ १ मा कांगे्रसको अवरोधका कारण राष्ट्रपतिलाई धन्यवाद दिइएको थिएन।

त्यसैगरी आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने कार्यसूची रहेको छ।

सचिवालयका अनुसार आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्। 

तर, आजको बैठक चल्नेमा आशंका छ। प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लिँदै आएको छ।

प्रकाशित: ३ जेष्ठ २०८१ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App