४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

गरिबका गोपाल

केन्द्रिकृत राज्यसत्ताको विभेद र उपेक्षामा परेको सुदूरपश्चिमका आफ्नै पीडा, व्यथा र कथा थिए। नाम जस्तै काठमाडौँको सिंहदरबारले सधैँ सुदूरको व्यवहार गरिरह्यो ।

वि.सं. २०५१ सालमा कर्णाली पुलले सुदूरपश्चिमको भूगोललाई देशको अन्य भाग र काठमाडाैँसँग जोडे पनि यो क्षेत्र विकासको मूलधारमा जोडिन् सकेन ।

कारबाही गरिनुपर्ने र पेलानमा पारिएका कर्मचारी मात्र यहाँ आउँथे । यहाँ हुनुपर्ने प्रायजसो क्षेत्रीय कार्यक्रम पनि नेपालगञ्जमा हुन्थे । धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाले समृद्ध यस क्षेत्रलाई छाउपडी, देउकीजस्ता कुप्रथाको बिम्वमा नकारात्मक रुपमा मात्र बुझिन्थ्यो ।

यस कुराले मन खाएका व्यवसायी पृष्ठभूमिका गोपाल हमालले सुदूरपश्चिम सुन्दर छ भनेर दुनियाँलाई चिनाउनु पर्छ र यसलाई नयाँ पहिचान दिनुपर्छ भनेर सुन्दर सुदूरपश्चिम अभियान सुरु गरे ।

सुदूरपश्चिमका विभिन्न रमणीय, प्राकृतिक, धार्मिक स्थलका सुन्दर तस्बिरलाई ब्रान्डिङ गर्दै ‘सुन्दर सुदूरपश्चिम’ अभियान चलाए । सुन्दर सुदूरपश्चिमको अभियानले छाउपडी, कुप्रथा र समस्या मात्र नभई अन्यन्त सुन्दर छ भन्ने पहिचान स्थापित गर्न सफलता मिलेको छ ।

कैलालीको पहलमानपुरमा व्यवसाय गर्ने बेलामा सर्पले टोकेर अकालमै सर्वसधारणको ज्यान गएको देखेपछि आफ्नै लगानीमा एन्टी स्नेक भ्याक्सिन खरिद गरेर समाज सेवा सुरु गरेका हमाल निरन्तर समाजसेवाका काम गर्दै आइरहेका छन् ।

उसो त युवा उमेरदेखि नै उनमा समाजसेवाको हुटहुटी थियो । बनदेवी क्लबको अध्यक्ष हुँदा ४० वर्षअघि ठुलो भूकम्प आएर बझाङमा धनजनको क्षति हुँदा महिला फुटबल आयोजना गरेर रकम सङ्कलन गरी राहत उपलब्ध गराएको, नेपाल र भारतको सीमामा रहेको त्रिनगरमा मोहना नदीमा काठको पुल भत्केर दुई देश बिचको आहोरदोहोरको सम्बन्ध टुट्दा ४० जना युवाको अगुवाई गरेर गोदावरीबाट ट्रकमा ढुंगा बोकेर नयाँ पुल बनाउन पहल गरेको उनी सम्झन्छन् ।

सुदूरपश्चिममा ब्लड बैंक नहुँदा बिरामीको उपचारमा समस्या थियो । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायतका कलाकार ल्याएर साँस्कृतिक कार्यक्रम गरी सङ्कलन भएको रकमबाट धनगढीमा ब्लड बैंकको सुरुवात गर्ने अगुवाई उनैले गरेका थिए ।

राज्यबाट पछाडि पारिएको सुदूरपश्चिमको समृद्धि र विकाससँग जोडिएका २१ वटा माग अघि सारेर सरकार प्रमुख र राष्ट्र प्रमुखलाई २१ केजीको फूलकोे माला लगाउन शुरु गरेर शालिन आन्दोलनको शुरुवात थाले । बन्द, चक्काजाम, हड्ताल नगरेरै रचनात्मक र शालिन ढंगले पनि माग पुरा गराउन दबावब दिन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरे ।

सुदूरपश्चिममा नियमित हवाई उडान थिएन । कालोपत्रे भएको विमानस्थलको अभावमा यो क्षेत्र हवाई मार्गबाट पनि जोडिन सकेको थिएन । हवाई मार्गबाट सुदूरपश्चिमलाई जोड्नुपर्छ भन्ने स्थानीय चाहनालाई शासकहरूले बेवास्था गरेका थिए । धनगढी विमानस्थल कालोपत्रे गरेर नियमित उडान शुरु गरेर सुदूरपश्चिमलाई हवाईमार्गसँग जोड्न सकेमा सुदूरपश्चिम सुदूर रहिरहने थिएन भन्ने यहाँको बासिन्दाको चाहनाको अगुवाई उनले नै गरे ।

हमालको अगुवाईमा धनगढी बिमानस्थल कालोपत्रे गर्न एक रुपैयाँ अभियानसमेत चलाइयो । रिक्सा चालक लगायत सबैले पैसा दिए । यो अभियानपछि धनगढी विमानस्थल कालोपत्रे बन्न सफल भएको हो । विमानस्थल कालोपत्रे भएर नियमित उडान हुनथाले पछि नेपालगंजमा हुने कार्यक्रम धनगढीमा हुन थाले, यहाँ ठूला लगानीमा होटल खुल्न थाले र यहाँको विकासका लागि कोसेढुंगा सावित बन्यो, नियमित हवाई उडान । अहिले काठमाडौँ र धनगढीमा एकै दिनमा काम सकेर ओहोरदोहोर गर्ने अवस्था सिर्जना भएको छ ।

महाप्रस्थान यान संचालन

आफन्तजनको मृत्यु हुँदा शोकमा डुबेका बेला सर्वसधारणलाई प्रियजनको शव अन्त्येष्टिका लागि घाटसम्म पुर्‍याउन सवारीसाधन नपाएर ठूलो दुःख हुन्थ्यो । अरुको शव बोक्न हुँदैन भनेर सवारीसाधन हुनेहरू दिन मान्थे । जति पैसा तिरेर पनि सवारीसाधन पाउन गाह्रो थियो, ट्रयाक्टरमा राखेर शव घाटसम्म लैजानु पथ्र्यो । पैसा नहुनेहरूको व्यथा अझ चर्को थियो ।  

मृत्युपछि सबै नागरिकको सम्मानजनक शवयात्रा हुन सकोस् र आफन्तले पनि सम्मानजनक रुपमा प्रियजनलाई बिदाइ गर्न सकून् भनेर हमालले तीन वर्षअघि आफ्नो व्यक्तिगत लगानीमा ३० लाख रुपैयाँमा सवारीसधान किनी ‘महाप्रस्थान यान’ सञ्चालन गरे । त्यसयता गरिबको शवयात्रा पनि सम्मानजनक हुन थालेको छ । कुनै व्यक्तिको मृत्यु भएको जानकारी पाउनेबित्तिकै फूलले सजाइएको यान घरमा पुगेर आर्यघाटसम्म निःशुल्क पुर्‍याइन थालेको छ ।

‘आफन्तको मृत्युको शोक र पीडाका बेला बिना झण्झट महाप्रस्थान यान आँगनमै आउँछ । संसार छोडेर गएका आफन्तजनको सम्मानजनक शवयात्रा गरी आर्यघाटसम्म पु¥याउन पाइएको छ,’ स्थानीय कृष्णराज जोशी भन्छन्, ‘सर्वसधारण र गरिबका लागि गोपीदाइको यो कार्य वन्दनीय छ ।’

गरिबका लागि कपडा बैंक

एकसरो लगाउने लुगा पनि नपाएर समस्यामा रहेका असहाय, विपन्न र गरिब परिवारका व्यक्तिका पीडाले हमाललाई पिरोल्यो । पाँच वर्षअघि धनगढी शिवपुरीधाम परिसर छेउमा भवन निर्माण गरेर कपडा बैंक स्थापना गरेयता आयहीनले कपडाविहीन हुनु परेको छैन ।

यसका लागि विभिन्न सहयोगी, दाताहरूले त्यहाँ लुगाकपडा सहयोग गर्ने गरेका छन् । हुने–खानेले नयाँ वा लगाउन मिल्ने खालका लुगा त्यहाँ दान गर्ने गर्छन् । त्यहाँबाट नहुनेले निःशुल्क लैजाने गर्छन् । कपडा बैंक सञ्चालन गर्न राखिएका कर्मचारीको तलब लगायतका सबै व्यवस्थापन खर्च हमालले बेहोर्ने गरेका छन् ।

२०२० सालमा कैलालीको तत्कालिन मनिकापुर गाविसको झन्झटपुरमा जन्मेका हमालले धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरे । उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसमा गरे ।

प्रमाणपत्र तहको अध्ययन गरेका हमाल भारोत्तोलनका राष्ट्रिय खेलाडी पनि हुन् । धनगढीमा टिनको बाकसबाट व्यवसाय थालेका उनी धनगढीका सफल व्यवसायी र उद्योगी बने । उनले नेपाल उद्योग वाणिज्य संघ कैलालीको अध्यक्ष र नेपाल उद्योगा वाणिज्य महासंघको केन्द्रीय सदस्य गरेर १४ वर्ष जिम्मेवारीमा बसे । 

क्षमता हुनेहरू काठमाडौँलगायत सुविधा सम्पन्न ठाउँमा बसाई सर्ने, युवाहरू अवसरको खोजीमा विदेशमा जाने र केही उपाय नलागेकाहरू मात्र यो ठाउँमा बस्ने स्थिति बन्न थाल्यो । बुढेसकालमा एक्लै बस्नुपर्ने र मृत्यु हुँदा पनि दाहसंस्कार गर्ने छोरा साथमा नहुने कहालीलाग्दो अवस्था देखेर उनको मन कुँडियो ।

सन्ततिहरूलाई आफ्नै नगरमा बस्ने धनगढी हामीले नै बनाउनु पर्छ भनेर व्यवसायी हमाल राजनीतिमा होमिए । उनले स्वतन्त्रबाट सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मेयर पदमा जित हासिल गरे । भोलिका सन्तति यहीँ बस्ने धनगढी बनाउने संकल्प लिएर मेयर बनेका हमालले उपमहानरगरपालिकाको कुनै सेवा, सुविधा नलिई धनगढीको मुहार फेर्न थालेका छन् ।

पहिलेदेखि नै समाजसेवामा सक्रिय हमालले मेयर भएपछि नगरको विकाससँगै गरिब जनताको दुःख, पीडा र समस्यामा मलम लगाउने लोककल्याणकारी कामलाई प्राथमिकतामा दिएका छन् । गरिब जनतालाई सरकार अभिभावक भएको महसुस गराएका छन् ।

असहाय र विपन्न विद्यार्थीलाई पारिश्रमिक

हमालले धनगढी उपमहानगरपालिकाको मेयर बापत पाइने पारिश्रमिक, सेवा र सुविधा लिँदैनन् । सवारी साधन पनि आफ्नो निजी प्रयोग गर्छन् । मेयर बापत पाइने पारिश्रमिक, भत्ताजस्ता रकम असहाय, गरिब र विपन्नको सहयोगमा लगाएका छन् ।

गत वर्ष १७ सामुदायिक विद्यालयको नतिजा शून्य आयो । सामुदायिक विद्यालयमा कयौँ विपन्न परिवारका विद्यार्थीसँग कापी, कलम र पुस्तकसमेत नहुने समस्या भएको पाएपछि १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री विपन्न विद्यार्थीका लागि उपलब्ध गराए । यस वर्ष कक्षा ८ को परीक्षामा सामुदायिक विद्यालयको नतिजामा उल्लेख्य सुधार भएको छ ।

गरिब परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पढ्न सकून् भनेर हमालले शिक्षामा सुधार ल्याउने प्रयास थालेका छन् । पाँच सामुदायिक विद्यालयलाई नमुना विद्यालय घोषणा गरेर कुनै शुल्क नतिरी विद्यार्थीले सबै प्रकारका सेवा, सुविधासहित निजी विद्यालयभन्दा बढी गुणस्तरीय शिक्षा उपलब्ध गराउन शुरु गरिएको छ ।

१९ वटै वडामा एक–एक नमुना विद्यालय बनाइने भएको छ । खेलकुद केन्द्र, स्मार्ट बोर्ड र ई हाजिरी जस्ता व्यवस्था गरिएको छ । यस्ता व्यवस्थाले शिक्षकहरू अनुपस्थित भए पनि तलब खाने अवस्था अन्त्य हुन थालेको छ ।

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन

संविधानमा स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा उल्लेख गरिए पनि उपचार नपाएर रोगको शिकार हुनुपर्ने अवस्था विद्यमान छ । सर्वसाधारणका लागि २०७९ साउन १ गते देखि सञ्चालन गरिएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक वरदान नै साबित हुन पुगेको छ । क्यालेण्डर बनाएर महिनाको एक दिन प्रत्येक वडामा विशेषज्ञ चिकित्सक सहितको घुम्ती स्वास्थ्य क्लिनिक सञ्चालन हुन थालेको छ । बिरामीको ल्याब टेस्टसहित विशेषज्ञ चिकित्सकबाट उपचार गर्ने गरिएको छ ।

आमा बचाउ अभियान

यसैगरी आमा बचाऊ अभियान शुरु गरेर सुत्केरी महिलाहरूलाई तुरुन्तै अस्पताल पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको उनी बताउँछन् । यस्तै पाठेघर र छातीकोे क्यान्सरले महिलाहरूको ज्यान जाने अवस्थालाई ध्यानमा राखेर क्यान्सर जाँच पनि गर्ने गरिएको छ । यस्तै अपाङ्गता हुनेका लागि पनि विविध सेवा सञ्चालित छ ।

प्रकाशित: ११ वैशाख २०८१ २०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App