२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाम-२ उपनिर्वाचनः मतदाता रिझाउन घर–घरमा उम्मेदवार

वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा जित हासिल गर्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू यतिबेला चुनावी प्रचारप्रसारमा सक्रिय छन्। निर्वाचन आयोगले चैत २८ देखि वैशाख १२ सम्मलाई प्रचारप्रसारको अवधि तोकिदिएपछि दल र उम्मेदवारहरू मतदाताका घर–घरमा पुग्न थालेका छन्।

जिल्लामा उम्मेदवारी दर्ता गराएका १२ दल र सात स्वतन्त्र उम्मेदवार अहिले भोट माग्दै मतदााताको घरदैलोमा  पुगिरहेका छन्। कतिपय दलले गाउँमा चुनावी सभासमेत थालिसकेका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दल र स्वतन्त्र उम्मेदवार अहिले मतदाता रिझाउन उनीहरूसँगै पुगेका छन्।

एमाले, माओवादी, नेकपा र नेपाल परिवार दलले संयुक्त रूपमा माङ्सेबुङका विभिन्न स्थानमा चुनावी कार्यक्रम गरेका छन्।

चारै दलका साझा उम्मेदवार सुहाङ नेम्बाङसहित उनीहरूले माङ्सेबुङका चिबुवा, सिङलाबु, चतुरे, बहिला, खर्वानी, टेड्के (कल्पनाडाँडा), दारेगौंडालगायत स्थानमा चुनावी सभा सम्पन्न गरेका हुन्। एमालेका अनुसार मनोनयन दर्तासँगै चुलाचुुलीबाट पसेको यो टोली देउमाई हुँदै इलाम बजार आउने छ।

उम्मेदवार सुहाङले आफू एमालेको मात्र नभई चार दलको साझा उम्मेदवार भएकाले विजय निश्चित रहेको दाबी गरे। ‘यो चुनावी गठबन्धनमात्रै होइन, एउटा अभियान हो,’ उनले भने, ‘यो गठबन्धन विकास र परिवर्तनको पक्षमा एकताबद्ध भएर लाग्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मिलन लिम्बू पनि चुनावी प्रचार–प्रसारमा घरदैलोमा व्यस्त छन्। रास्वपाले चुलाचुलीका वडा १, २ र ३ मा घरदैलो गरेको छ। देउमाईको शान्तिडाँडा, मंगलबारे, फाकफोकथुमको धुर्बिसे पञ्चमी, फलाँटे बजार, खाम्बाङ, ठिङ्गेपुर (हावा चोक), आमचोक, शंकरचोक र इलामको सटके बजार, सोयाक सिद्धिथुम्कालगायत ठाउँमा पार्टीले घरदैलो गरिसकेको रास्वपाका सहसंयोजक सन्तोष श्रेष्ठले बताए।

‘पुराना राजनीतिक दलसँग मतदाता सन्तुष्ट छैनन्,’ श्रेष्ठ भन्छन्, ‘अधिकतर मतदाता रास्वपाका उम्मेदवारलाई आफ्नै निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारमा भेटेपछि निकै उत्साही छन्।’ चुनावी प्रचार–प्रसारका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम निर्वाचन क्षेत्रको कमान्डर तोकेको छ। उनले यो निर्वाचनमा नयाँ र पुराना राजनीतिक दलको परीक्षण हुने बताए।

‘पुराना राजनीतिक दलको अकर्मन्यताबाट देशैभरिका नागरिकमा निराशा र आक्रोश छ,’ बुर्लाकोटीले भने, ‘इलामका नागरिकको मनोविज्ञान पनि त्योभन्दा भिन्न छैन। त्यसैले यसपटकको उपनिर्वाचनमा रास्वपाले आफ्नो झन्डा फहराउने छ।’

कांग्रेसले फाकफोकथुमको आमचोक र शिकारी भञ्ज्याङमा चुनावी सभा गरेको छ। सभामा कांग्रेस महामन्त्री गगन थापा, सहमहामन्त्री भीष्मराज आङ्देम्बेलगायतले सम्बोधन गरे। महामन्त्री थापाले यसपटक युवा उम्मेदवार डम्बरबहादुर खड्कालाई इलाम २ का मतदाताले भोट दिने विश्वास गरे। ‘यो पटक कांग्रेस उम्मेदवारले यो क्षेत्रमा विजय हासिल गर्नेमा म ढुक्क छु,’ उनले भने, ‘यो ठाउँको सबैथोक बुझेको युवा नेतालाई मतदान गरी विजयी गराउन मतदातामा अपिल गर्छु।’

नेकपा (एस)ले पनि चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीले इलाम नगरपालिका, चुलाचुली गाउँपालिकालगायत स्थानमा घरदैलो गरिरहेको छ। पार्टी जिल्ला सदस्य चेतन अधिकारीले यसपटक नेकपा (एस)लाई मतदाताले भोट दिएर विजयी गराउने विश्वास व्यक्त गरे।

‘मतदाताले विकास र परिवर्तन चाहनुभएको छ,’ उनले भने, ‘क्षेत्र २ को विकासका लागि युवा र स्थानीय तहसमेतको नेतृत्व सम्हालिसकेका उम्मेदवारलाई जिताउन मतदाता आतुर हुनुहुन्छ।’

पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम पनि अहिले चुनावी अभियानमा घरदैलोमा पुगिरहेका छन्। उनले यस पटक मतदाताले पहिचान पक्षधर उम्मेदवार नै चाहेको दाबी गरे। ‘पहिचान पक्षधर उम्मेदवार पनि भएकाले यो पटक मतदाता उत्साही देखिएका छन्,’ उनले भने, ‘विगत वर्षमा पहिचान पक्षधरलाई दलले धोका दिएका छन्, यस पटक आफ्नै उम्मेदवार भएपछि मतदाता खुसी छन्, पहिचान पक्षमा गैरजनजाति समुदाय पनि छ।’

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राप्रपाका लक्ष्मी गुरुङ, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली पनि उम्मेदवार छन्।

स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल तथा उनीहरूका टोली अहिले भोट माग्दै गाउँ–गाउँ पुगिरहेका छन्।

प्रकाशित: ३० चैत्र २०८० ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App