६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

इलाम-२ः २५ वर्षे कान्छा उम्मेदवारदेखि ६८ वर्षिय ज्येष्ठ उम्मेदवारसम्म मैदानमा

२५ वर्षे अर्जुनबहादुर साही इलाम क्षेत्र-२ को उपनिर्वाचनका सबैभन्दा कान्छा उम्मेदवार छन्। आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा मनोनयन गराएका २० उम्मेदवारमध्ये अर्जुन उमेरले सबैभन्दा कान्छा हुन्। ‘राजनीतिमा अहिले युवाकै खाँचो छ,’ उनी भन्छन्, ‘मतदाताले अहिले युवा उम्मेदवार नै खोज्छन्।’

२९ वर्षे योगेन्द्र गुरुङ पनि आउँदो उपनिर्वाचनमा यही क्षेत्रको उम्मेदवार बनेका छन्। उनी पनि युवाको आवश्यकता र मतदाताको रोजाइमा पर्न सकिने दाबी गर्छन्। ३१ वर्षे मिलनकुमार योङहाङ लिम्बू पनि यो क्षेत्र उपनिर्वाचनका उम्मेदवार छन्।

पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार बनाएको हो। कुनैपनि दलमा आबद्ध नभई निर्वाचनमा होमिएको बताउने लिम्बूलाई रास्वपाले उम्मेदवार बनाएको हो। ‘अन्य दलका क्रियाकलाबाट दिक्क मतदाताले अब मलाई रोज्नेछन्,’ लिम्बू भन्छन्, ‘म यहींको गाउँले उम्मेदवार भएकाले पनि मतदाताले एकपटक मेरो विजय हेर्न चाहेका छन्।’

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टीका साझा उम्मेदवार सुहाङ नेम्बाङ ३३ वर्षका छन् । ‘अहिलेको अवस्थामा  इलाम २ मा मेरो विजय निश्चित नै भएको छ,’ उनले भने, ‘सबै उम्मेदवार अब्बल हुनुहुन्छ तर धेरैतर्फबाट हाम्रो जित हुने निश्चित छ।’ अर्का स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंको पनि उमेर ३३ वर्ष नै छ।

यो क्षेत्रमा एमाले नेता सुवासचन्द्र नेम्बाङले २०६५ सालयताका सबै चुनाव जितेका थिए। नेम्बाङ उम्मेदवार बनुञ्जेल प्रायः ५० वर्ष उमेर कटेका व्यक्ति नै यो क्षेत्रका उम्मेदवार बनिरहेका थिए। यो पटक भने उम्मेदवार बन्नेमा युवाको संख्या बढी देखिएको छ।

मनोनयन दर्ता गराएकामध्ये नेसनल रिपब्लिक नेपाल दलका धनराज रानामगर ३६ वर्षका छन्। नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र उम्मेदवार दीपेश बोहोरा ३७ वर्षका छन्। स्वतन्त्र उम्मेदवार राज बस्याल ४०, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ ४४, राप्रपाका लक्ष्मी गुरुङ ४५, नेकपा (एस)का जितबहादुर राई ४६, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ४८ र स्वतन्त्र उम्मेदवार मनोज निरौला ४९ वर्षका छन्।

मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू ५३, नेपाली जनता दलका रेशमबहादुर सुनुवार ५४, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम ५६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त सिंह ६४ वर्षका छन्।

६८ वर्षे डकेन्द्रसिंह थेगिम र त्यही उमेरका गणेशबहादुर चौहान २० उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ हुन्। डकेन्द्र पहिचान पक्षधर समूहको तर्फबाट साझा स्वतन्त्र उम्मेदवार हुन् भने गणेशबहादुर रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार हुन् । लामो समय शिक्षण पेसामा रहेर राजनीतिमा आएका डेकेन्द्र यो पटक इलाम क्षेत्र २ का मतदाताले पहिचान पक्षधर उम्मेदवारलाई जिताउने दाबी गर्छन्। ‘उमेरले मलाई कुनै काममा बाधा गर्दैन,’ नेकपा (एमालेका पूर्वनेता डकेन्द्र भन्छन्, ‘राजनीतिमा अनुभव पनि ठूलो कुरा हो।’

निर्वाचन कार्यतालिकाअनुसार अन्तिम नामावली प्रकासन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम चैत २७ लाई राखिएको छ। चैत २८ देखि वैशाख १२ सम्म प्रचारअवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। आउँदो उपनिर्वाचनका लागि २० दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०८० ०७:२६ आइतबार

अर्जुनबहादुर साही उपनिर्वाचन इलाम क्षेत्र-२ कान्छा उम्मेदवार