२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘मुख्यमन्त्री’ मा बन्धक बन्यो कर्णाली संसद्

माओवादी केन्द्र र नेकपा एमालेबीच मुख्यमन्त्रीमा कुरा नमिल्दा कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ।

सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले मंगलबार दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्य तालिका थियो। तर, दुई दलबीच मुख्यमन्त्रीको विषय नसुल्झिएपछि सभामुख नन्दा गुरुङले सूचना निकाल्न लगाएर बैठक स्थगित गरिन्।

नेपाली कांग्रेसले फागुन २२ गते माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। संवैधानिक प्रावधान अनुसार शर्माले चैत २१ (बुधबार) गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ। त्यसैका लागि आइतबार संसद् सचिवालयमा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए।

केन्द्रमा शीर्ष नेतृत्वबिच कर्णाली सरकारको नेतृत्व एमालेलाई दिने सहमति भएपनि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले त्यसलाई अस्वीकार गर्दै आएका छन्। 

आफ्नो पार्टीको ‘आधार इलाका’ मा अर्को कम्युनिष्ट पार्टीलाई प्रदेश सरकारको नेतृत्व सुम्पँदा संगठनमा असर पर्ने भन्दै उनले कुनैपनि हालतमा शीर्ष नेताबीच भएको सहमति कार्यान्वयन गर्न नहुने बताउँदै आएका छन्।

कर्णालीका मुख्यमन्त्री राजकुमार जनार्दनका नातेदार पनि हुन्। पार्टी उपमहासचिवको निर्देशन अनुसार मुख्यमन्त्री शर्मा अन्तिम समयसम्म राजीनामा नदिने पक्षमा छन्। संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएर एमाले संसदीय दलका नेता यामलाल कँडेलसँग भेट्न उनको निवास पुगेका मुख्यमन्त्री शर्माले उनीबाट सकारात्मक जवाफ पाएनन्।

जसरी पनि आफू नेतृत्वको सरकार जोगाउन लागिपरेका मुख्यमन्त्री शर्माले सोमबार गृह जिल्ला आएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र संसदीय दलका नेता जीवनबहादुर शाहीसँग भेटघाट गरे।

उपसभापति खड्कासँग भएको भेटमा मुख्यमन्त्री शर्माले केन्द्रको निर्णय जे भएपनि कर्णालीमा आफू छुट्टै ढंगले अघि बढ्न चाहेको बताए।

‘कर्णालीमा एमालेसँग भन्दा माओवादीसँग सहकार्य गर्न हामीलाई सहज र प्राकृतिक लाग्छ,’ उनले भेटमा भनेका थिए, ‘विश्वासको मत दिने वातावरण बनाइदिनुहोस्, आलोपालो सरकार सञ्चालन गरौंला।’

मुख्यमन्त्रीको प्रस्तावमा उपसभापति खड्काले जवाफ फर्काएनन्। उनले प्रदेशको विषय भएकाले संसदीय दलका नेता जीवनबहादुर शाहीसँग सल्लाह गरेर अघि बढ्न मात्रै भने। लगत्तै उनले संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री शाहीसँग भेटवार्ता गरे। उनले शाहीसँग पनि त्यहीँ कुरा दोहोर्‍याए।

‘कांग्रेससँगको भेटपछि उहाँ (मुख्यमन्त्री) जसरी पनि विश्वासको मत लिने पक्षमा देखिनु भएको छ,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘सायद अन्तिम अवस्था आए कांग्रेसले साथ दिन्छौं भनेको हुनुपर्छ।’

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले परिस्थिति अनुसार अघि बढ्ने निर्णय गरेको छ। ‘मुख्यमन्त्रीले विश्वासको मत लिने अवस्था आयो र एमालेले नदिने अवस्था आयो भने कांग्रेसले सोच्न सक्छ,’ एक कांग्रेस सांसदले भने, ‘त्यसको सम्पूर्ण जिम्मेवारी संसदीय दलका नेतालाई दिने निर्णय बैठकले गरेको छ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसीले विश्वासको मत लिने विषयमा कुनै विवाद नरहेको बताए। उनले विश्वासको मत लिने प्रयोजनका लागि संसदीय दलको बैठक बसेर सर्वसम्मत निर्णय भएकाले त्यसमा सबै सांसदहरु एक ठिक्का रहेको बताए।

उनले पार्टी केन्द्रले सही समयमा सही निर्णय नगर्दा प्रदेशमा समस्या देखिएको बताए। ‘विश्वासको मत लिने विषयमा हामी सबै एकमत छौं, भोलि (बुधबार) विश्वासको मत लिन्छौं,’ उनले भने, ‘त्यसपछि केन्द्रले भनेको अनुसार अघि बढ्छौं।’ उनले विश्वासको मत नलिँदै राजीनामा नदिने प्रष्ट पारे।

मुख्यमन्त्री शर्मालाई राजीनामा गराउन र एमाले नेतृत्वमा सरकार बनाउने वातावरण निमलाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सोमबार सुर्खेत पठाएका थिए। उनले केन्द्रको निर्णय अनुसार अघि बढ्न भन्दै दाहालको सन्देश मुख्यमन्त्री र संसदीय दलको बैठकमा सुनाए पनि कर्णालीका सांसदहरुले त्यसलाई अस्वीकार गरेका छन्।

‘मुख्यमन्त्रीज्यू केन्द्रको सहमति अनुसार राजीनामा दिन तयार हुनुहुन्छ, तर त्यसका लागि केन्द्रमा भएको सहमति अघि नै संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता भइसकेकाले पहिले त्यसको टुंगो लगाऔं भन्ने हो,’ सरकारका प्रवक्तासमेत रहेका जिसीले भने, ‘एमालेले पहिले विश्वासको मत देओस्, त्यसपछि मात्रै केन्द्रको सहमति अनुसार मुख्यमन्त्रीले राजीनामा दिएर सहमति कार्यान्वयन गर्नुहुन्छ।’

मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा सृजनाशीलतामा लागू गर्ने बताए। ‘अहिले धेरै कुरा भन्न मिल्दैन, सृजनशीलताका आधारमा राजीनामालाई लागू गछौं,’ उनले भने, ‘यसको अर्थ पहिले विश्वासको मत लिने र त्यसपछि केन्द्रमा भएको सहमतिलाई कार्यान्वयन गर्ने हो।’

मंगलबार दिनभर मुख्यमन्त्री निवासमा माओवादी केन्द्र र एमालेका कर्णालीमा उपलब्ध शीर्ष नेतृत्वका साथै सांसदहरुबीच पटक पटक छलफल भयो। दुई दलहरुबीच मुख्यमन्त्रीको विषयमा सहमति नहुँदा संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न नसकेर संसद् स्थगित हुन पुग्यो।

एमाले केन्द्रमा भएको सहमति अनुसार मुख्यमन्त्री शर्माले राजीनामा दिनुपर्ने अडानमा काय रह्यो भने माओवादी केन्द्र संसद्मा प्रस्ताव दर्ता भइसकेकाले पहिले विश्वासको मत लिएर मात्रै केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने पक्षमा अडिक रह्यो। दुई दलबीचको यहीँ किचलोका कारण संसद् बैठक एक दिन पछाडि सरेको छ। संसद् सचिवालयले ‘विशेष कारण’ले मंगलबारका लागि तय गरिएको संसद् बैठक बस्न नसकेको बताएको छ।

‘मंगलबार दिउँसो तीन बजेका लागि तय गरिएको कर्णाली प्रदेशसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले माननीय सभामुखज्यूले सभाको अर्को बैठक बुधबार दिनको तीन बजे बस्ने गरी निर्धारण गर्नु भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जारी गरेको सूचनामा भनिएको छ।

प्रकाशित: २० चैत्र २०८० १९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App