१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘एसइईमा चिट चोराएको दोष मधेसले होइन सिडिओ, एसपी र निरीक्षकले लिनुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा एसइईमा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरू, एसपीहरू र निरीक्षकले लिनुपर्ने बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा एसइईमा चिट चोराइएको र आम मधेसलाई दोष दिइएको भन्दै मधेसलाई दोष नदिन आग्रह गरेका हुन्।

उनले सरकारले खटाएका प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरुले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेसको कुनै दोष नभएको बताए।

सांसद झाले सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले परीक्षालाई आवश्यक पद्धति र कडाइका साथ परीक्षा गर्न आग्रह गर्दै मधेसलाई दोष नदिन आग्रह गरे।

सांसद झाले भने, ‘मधेसले पहाडलाई पढाउनका लागि कुनै बेला उक्लिने गर्थ्यो। तर अहिले मधेस आफैँ एसइई परीक्षा हुँदै गर्दा खेरी चिट चोर्नेहरूको चपेटामा पर्दै छ। यसको दोष मधेसले किन खेप्दै छ? काठमाडौँमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेस झरौँ न त्यहाँ बनिहाल्छ। कोही एसइई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा। तर त्यसको इमेजको कष्ट मधेसले तिरिराखेको छ। त्यो हामीले किन तिर्ने? किनकि यहीँबाट खटाइएको सिडिओ, एसपी, निरीक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ। तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सिडिओ, एसपी र अरू अधिकारीहरू हुन्। त्यसैले यहाँ सबैको ध्यानाकर्षण गराउन चाहन्छु, मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिइयोस्। आवश्यक विधि, पद्धति र कडाइका साथ परीक्षा गरियोस्। ताकि यसको मूल्य भविष्यमा मधेसले तिर्नु नपरोस्।’

उनले आगामी दिनमा सम्बन्धित अधिकारीको त्रुटिका कारण त्यसको मूल्य मधेसले नतिर्ने पनि स्पष्ट पारे। 

प्रकाशित: १९ चैत्र २०८० १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App