२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाम उपनिर्वाचन: प्रचारमा एमाले-रास्वपा अलमलमै कांग्रेस-माओवादी

प्रमुख राजनीतिक दलहरू वैशाख १५ गते हुने उपनिर्वाचनमा केन्द्रित भएका छन्। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू उम्मेदवार टुंगो लगाउनेदेखि चुनावी प्रचारमा जुटेका हुन्।

सोही क्रममा नेपाली कांग्रेसले वैशाख १५ गते इलाम २ र बझाङ (क) को उम्मेदवार टुंगो लगाउन कार्यसम्पादन समितिको बैठक बोलाएको छ। नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट गर्दै चुनावी प्रचारमा जुटिसक्दा नेपाली कांग्रेसले भने उम्मेदवार छनोटका लागि मंगलबारका लागि बैठक बोलाएको हो।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको बैठकले पार्टीका तर्फबाट उम्मेदवारको नाम तोक्नुका साथै निर्वाचन परिचालनका लागि नेताहरूलाई जिम्मेवारी पनि दिने बताइएको छ।

निर्वाचन आयोगले चैत २४ गते दुवै क्षेत्रमा उम्मेदवारी मनोनयनका लागि मिति तोकिसकेको छ। उम्मेदवार मनोनयनको मिति नजिकिँदै जाँदा कांग्रेसले प्रदेश र जिल्लाबाट आएका नाममध्येबाट उम्मेदवार छनोट गर्नेछ। कांग्रेस नेताहरू भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईले इलाम २ मा उम्मेदवार बन्ने आकांक्षा राखेका छन्।

उनीहरूको नाम जिल्ला र प्रदेश समितिले सिफारिस गरेको छ। २०७९ मंसिरमा भएको आम निर्वाचनमा कांग्रेस इलामका सभापतिसमेत रहेका खड्का उक्त क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग उनी झिनो मतले पराजित भएका थिए। यद्यपि त्यतिबेला माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलहरूसँग कांग्रेसले चुनावी तालमेल गरेको थियो। नेम्वाङको मृत्युपछि एमालेले उक्त क्षेत्रमा उनकै छोरा सुहाङ नेम्वाङलाई अघि सारेको छ।

रास्वपाले नेकपा माओवादी केन्द्र छाडेर आएका मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लक्ष्मी गुरुङ र नेकपा एसले जितबहादुर राईलाई उम्मेदवार बनाइसकेको छ।

जनमत पार्टीले प्रेमदीप थाम्सुहाङ, पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने जनाउँदै आएको छ। सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले पनि अहिलेसम्म उम्मेदवार तोकेको छैन। पार्टी पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने बताएको छ।

 तर नाम भने टुंगो लगाउन बाँकी छ। माओवादीको कोसी प्रदेश कमिटीले इलाम–२ का लागि धीरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ।

प्रदेशसभा सदस्यका लागि बझाङ (क) मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न कांग्रेसका सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय, नारायण हमाल र अभिषेक सिंहले इच्छा राखेका छन्। एमालेले प्रदेशसभा सदस्यका लागि बझाङ (क) मा हुने निर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार तोकेको छ भने नेकपा एसले दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने भएको छ।

इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा मृत्यु भएको थियो। त्यस्तै बझाङ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ मा गाडी दुर्घटनामा निधन भएको थियो। दुवै क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गराउन वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: १९ चैत्र २०८० ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App