नेकपा एमाले कास्कीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। आईतबारदेखि शुरु भएको अधिवेशन अन्तर्गत मंगलबार साँझ ७ बजेदेखि मतदान शुरु भएको थियो। मंगलबार बेलुकादेखि शुरु भएको मतदान अहिलेपनि जारी रहेको निर्वाचन समितिले जनाएको छ। ९३५ सदस्य प्रतिनिधि रहेकोमा अहिलेसम्म ८२५ जनाले मतदान गरिसकेको निर्वाचन समितिका सदस्य शंकर सैंजुले जानकारी दिए।
नेकपा एमाले कास्कीको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गरिएको छ। जसमा मतदान गर्नका लागि एक जनालाई ९ देखि ४४ मिनेटसम्म लाग्ने गरेको मतदाताहरुले बताएका छन्। सोहि कारण मतदानमा ढिलाई भएको उनीहरुको भनाई छ। अहिले पानी परिरहेकाले मतदातालाई केहि कठिनाई भएको छ।
एमाले कास्कीको नयाँ नेतृत्वका लागि पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच प्रतिश्पर्धा छ। दुवै समूहले आफू अनुकुल पात्र प्यानलसहित उठाएका छन्।
एमाले कास्कीको अध्यक्षमा तीन जनाबीच भिडन्त छ। आगामी तीन वर्षे कार्यकालका लागि पृथ्वीसुब्बा समूहबाट माधव बाँस्तोला र खगराज अधिकारी समूहबाट बैनबहादुर अधिकारी क्षेत्रीले उम्मेदवारी दिएका छन्। दुई समूहको भिडन्तमा विद्यार्थी नेता विवेक त्रिपाठीले चुनौति दिदै उम्मेदवारी दिएका छन्। तीन जनाको उम्मेदवारी परेपनि अधिकारी र बाँस्तोला बीच नै प्रतिष्पर्धा हुने विश्लेषण गरिएको छ।
त्यसैगरी उपाध्यक्षमा पृथ्वीसुब्बा समूहबाट शिव आचार्य र खगराज समूहबाट भेषराज बरालबीच प्रतिष्पर्धा हुँदैछ। सचिवमा पिएस समूहबाट सुरेन्द्र गुरुङ र खगराज समूहबाट दर्शन लामाले उम्मेदवारी दिएका छन्। दुई उपसचिवमा पिएस समूहबाट राधिका शाही योगी र सीता परियार तथा खगराज समूहबाट लालबहादुरपरियार र सन्तु सुवेदीले उम्मेद्वारी दिएका छन्।
प्रकाशित: १४ चैत्र २०८० १३:३८ बुधबार