१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै: प्रधानमन्त्रीसँग सांसदको सवाल, यस्तो छ आजको कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरो पढेर सुनाउने छन्।  त्यसपछि प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर श्रृङ्खला सुरु हुनेछ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ भने आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक सम्बन्धी प्रतिवेदन , २०८०’ पेश गर्ने कार्यसूची समेत रहेको छ।

त्यसैगरी सांसद प्रेम सुवालले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस्’ भनि राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। साथै अर्थ मन्त्री डा.प्रकाश शरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।

त्यस्तै बैठकमा अर्थ मन्त्री डा.महतले ‘बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।

प्रकाशित: ६ फाल्गुन २०८० ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App