४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनले सत्ता गठबन्धनमा संशय

राष्ट्रियसभा निर्वाचनको मत परिणाम आएसँगै सत्ता गठबन्धनभित्र बढ्दै गएको संशयलाई बढाइदिएको छ। १९ पदका लागि बिहीबार भएको निर्वाचनमा कोसी प्रदेशमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी चम्पा कार्की पराजित भएसँगै गठबन्धनभित्रको आशंकालाई बढाएको हो।

नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका नेता शेखर कोइरालानिकट केदार कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका थिए। कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापा दुईपटक मुख्यमन्त्रीको जिम्मेवारीबाट रोकिएका थिए। संवैधानिक प्रक्रियाअनुसार प्रदेशसभा सदस्यमध्येबाट कोइरालानिकट कार्की कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका थिए।

शीर्ष नेताहरूबीच सहमति तोड्दै कार्की मुख्यमन्त्री नियुक्त भएपछि फेरि कोइरालासहितका शीर्ष नेताहरूको बैठकले गठबन्धनलाई निरन्तरता दिने समझदारी गरेका थिए। कार्की नेतृत्वको सरकारमा सहभागी एमाले फेरि बाहिरिएको थियो। तर राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका कोइराला पक्षले एमालेलाई गुन तिरेको विश्लेषण गर्न थालिएको छ। त्यसले केन्द्रदेखि प्रदेशसम्मको सत्ता गठबन्धनमा बढ्दै गएको अविश्वास बढाउँदै लैजाने आशंका गर्न थालिएको छ।

बिहीबार सम्पन्न निर्वाचनको परिणाम आएसँगै सरकारको नेतृत्व गरेको माओवादी फागुन २१ गतेपछि राष्ट्रियसभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ। फागुन २१ मा पदावधि सकिने मनोनीतबाहेक १९ सांसदका लागि भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) रहेको सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्।

कोसी प्रदेशमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कार्की एमाले उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भएकी हुन्। तर पनि माओवादीबाट उम्मेदवार बनेका अन्य प्रदेशका पाँच उम्मेदवार निर्वाचित भएका छन्। एक सांसद गुमाए पनि राष्ट्रियसभामा सत्तारूढ माओवादी पहिलो दलका रूपमा स्थापित भएको छ। त्यस्तै कांग्रेसबाट १०, नेकपा एसबाट दुई र जसपाबाट एक जना निर्वाचित भएका छन्।

राष्ट्रियसभामा हाल माओवादीका उपाध्यक्षसहित १६ सांसद छन्। आगामी फागुन २१ मा तीन जनाको पदावधि सकिने भए पनि पाँचजना निर्वाचित भएर आएकाले राष्ट्रियसभामा माओवादी सांसदको संख्या १८ कायम हुनेछ।

२०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससहितका दलसँग गठबन्धन गर्दा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जम्मा ३२ स्थानमा जितेर माओवादी तेस्रो भएको थियो। सोही निर्वाचनबाट प्रतिनिधिसभामा पहिलो दल बनेको कांग्रेस हाल राष्ट्रियसभामा १० सांसदसहित तेस्रो स्थानमा थियो।

फागुन २१ बाट कांग्रेसका चार जनाको पदावधि सकिए पनि निर्वाचित १० जना थपिँदा १६ जना भई अब दोस्रो स्थानमा पुग्नेछ। निर्वाचनमार्फत दुई सिट जितेको नेकपा एसको राष्ट्रियसभामा उपस्थिति संख्या आठ नै हुनेछ। राष्ट्रियसभामा पाँचौं दलको हैसियतमा रहेको जसपाका तीन सांसद छन्। १९ सिटको मत परिणामले राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ।

कोसीमा महिलातर्फ अनपेक्षित जित हात पारेको एमाले आगामी फागुन २१ पछि १० जनामा सीमित हुनेछ। राष्ट्रियसभा अध्यक्षसहित एमालेका सांसदको संख्या १८ छ। राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम एमालेभन्दा बाहिर छन्।

कोसी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी हुन्। कोसीमा पुरुषतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित भए। मधेस प्रदेशको दुई पदमा भएको निर्वाचनअन्तर्गत अन्य क्लस्टरमा कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरी निर्वाचित भए।

बागमती प्रदेशमा पनि गठबन्धनका चारै जना विजयी भएका छन्। यो प्रदेशमा महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसका उम्मेदवार जितजंग बस्नेत, अपांगता÷अल्पसंख्यकतर्फ माओवादीका श्रीकृष्ण अधिकारी र दलिततर्फ नेकपा एसका घनश्याम रिजाल निर्वाचित भए। गण्डकी प्रदेशमा भएको तीन सिटको निर्वाचनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा माओवादीकी मनरूपा शर्मा निर्वाचित भइन्।

लुम्बिनीका दुई पदमा भएको निर्वाचनमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भइन्। त्यहाँ अन्यतर्फ माओवादीका झक्कु सुवेदी पनि निर्वाचित भए। कर्णालीमा पनि सत्तारूढ गठबन्धनबाट कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एसका सावित्री मल्ल र दलिततर्फ माओवादीका विष्णु विक विकल्प निर्वाचित भए।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार माओवादीकी रेनु चन्द, कांग्रेसका नारायणदत्त भट्ट र कांग्रेसकै बलदेव बोहरा निर्वाचित भए। निर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसहित स्वतन्त्रतर्फबाट निर्वाचित कतिपय प्रमुखहरू भने निर्वाचनमा सहभागी भएनन्।

प्रकाशित: १२ माघ २०८० ००:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App