२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचन छलफलमा भाग लिँदै गर्दा ग्रामथामका अध्यक्ष बेहोस

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन्।

बुधवार साँझ साढे ७ बजेतिर ५६ वर्षीय जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेपछि तत्कालै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । 

अध्यक्ष गच्छदार राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् । निर्वाचनका लागि विराटनगरस्थित होटेल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको छलफलपछि खाना खाने बेलामा गच्छदार अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोलीले उद्धार गरेर उनलाई अस्पताल पुर्‍याएको हो ।

 त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ । नोबेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र अझैसम्म अचेत अवस्थामै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए ।

 उनले अध्यक्ष गच्छदारको अवस्था गम्भीर रहेको बताए । उपचारमा संलग्न चिकित्सकले गच्छदारलाई उच्च रक्तचापका कारण समस्या भएको हुनसक्ने अनुमान गरेका छन् । उनको टाउकोमा रगत जमेको र शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने जानकारी अस्पतालले परिवारलाई गराएको छ । राष्ट्रियसभा निर्वाचन आज हुँदैछ । गच्छदार नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुन् । गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्की उम्मेदवार हुन् । एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेल र महिलातर्फ एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् ।कुनै कारणले कोही मतदाता आउन नसकेमा अनुपस्थित भएकै मानिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले बताए ।

प्रकाशित: ११ माघ २०८० ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App