७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

भाले बास्ने ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ। मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुुबेसीबाट उक्त ताल जोड्ने पदमार्ग निर्माण गरेको हो।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित उक्त ताल मालिका ६ र मंगला २ को सिमानामा पर्दछ। गाउँपालिकाका रोजगार सहायक मिलन शर्माले १३ लाख ५० हजार लागतमा दुई किलोमिटर ढुंगाको सिँढीसहित पदमार्ग निर्माण भएको जानकारी दिए। ‘पदमार्ग नहुँदा जोखिम मोलेर ताल र मन्दिरमा जानुपर्ने अवस्था थियो’, उनले भने, ‘पदमार्ग बनेपछि हिँडेर सहजै ताल भएको स्थानसम्म पुग्न सकिन्छ।’

चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन भएको चार लाख ५० हजार बजेटबाट सातजना सूचीकृत बेरोजगारसहित ५० जना कामदार परिचालन गरेर भिरमा सिँढीसहित पाँच सय ५० मिटर लामो पदमार्ग निर्माण भएको छ। यसअघि आव २०७७÷७८ र आव २०७८÷७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नौ लाख बजेटबाट १.५ किमी पदमार्ग निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ।

घना जंगलको बीचमा दुखु लेकबाट दुखु झरना झरेको छ। झरनाको दायाँतर्फ पर्ने जंगलमा मालिका देवीको पुरानो मन्दिर छ। यही दुखु झरनाले मंगला र मालिका गाउँपालिकालाई छुट्याएको छ। दायाँतर्फ मालिका र बायाँतर्फ मंगला गाउँपालिका पर्दछ। दुवैतिर घना जंगल छ।

झरनाको पुछारमा ताल र तालको सिरानमा मन्दिर छ। यही मन्दिरवरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दीअघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको मालिका ६ दुखुबेंसीका बासिन्दा एवं पदमार्ग निर्माण समितिका अध्यक्ष गंगा रोकाले बताए।

‘यो तालको सिरानमा रहेको मन्दिर वरिपरिको जंगली क्षेत्रमा बिहान उज्यालो नहुँदै कुखुराको भाले कहाँबाट आउँछ बास्छ अनि उज्यालो भएपछि त्यो भाले कहाँ जान्छ भन्ने विषयमा कसैलाई जानकारी छैन’, उनले भने, ‘मन्दिरमा बिहान भाले बास्ने समयमा पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास छ।’

‘किंवदन्तीअनुसार दुई शताब्दीअघिको दुखुगाउँका नौ भाइमध्ये एक भाइले भरिया लिएर ताल अवलोकन गर्न गएछन्। तालनजिकै एउटा घर देखेर राति त्यही विश्राम गरेछन्। बिहान कुखराको भाले बासेकोे आवाजले उनीहरु ब्युँझिँदा दुवैजना ढुंगामा सुतेको अवस्थामा आफूलाई पाएछन्।

आफ्नो भाकल र पूजाआजा गर्न गएका ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आएर उक्त घटना सुनाएपछि सोही घटनाका आधारमा तालको नामकरण गरिएको बताइन्छ। ती व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बलि लिएर पूजा गर्ने गरेको भनाइ छ’, समितिका अध्यक्ष रोकाले भने।

बेनीबाट करिब एक घन्टामा सवारी साधनमार्फत सहस्रधारा पुगिन्छ। सहस्रधारा, दुखुबेंसी, दरुङ गाउँबाट करिब एक घन्टा पैदलयात्रा गरेपछि यो ताल पुग्न सकिन्छ। जंगल विस्तारका कारण वरिपरिको क्षेत्रबाट देख्नै नसकिने र कठिन पहरोलाई छिचोलेर पुग्नै नसकिने भएपछि ताल खुम्चिँदै गएको मालिका ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए।

भाले बास्ने तालको संरक्षण गरेर यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको उनले जानकारी दिए। पदमार्ग निर्माणसँगै पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिक अवस्थामा सुधार हुँदै जाने वडाध्यक्ष रोकाले बताए। –रासस

प्रकाशित: २८ वैशाख २०८१ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App