२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

अझै सुरु भएन मतदाता शिक्षा

सिन्धुपाल्चोक – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन एक महिना बाँकी हुँदा पनि जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छैन । कार्यक्रम कहिले सुरु हुन्छ भन्ने निश्चित छैन । मतदाता शिक्षा घरघरमा पु¥याउन नसके बदर मत संख्या बढ्नसक्छ ।  

निर्वाचन आयोगले अहिलेसम्म प्रचारसामग्री नपठाएकाले मतदाता शिक्षा सुरु गर्न नसकेको जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले बताए । ‘मतदाता शिक्षा कार्यकर्ता छनोट गरे पनि प्रचारसामग्री नआउँदा प्रशिक्षण दिन सकेका छैनौं,’ उनले भने । मतदाता शिक्षा दिन ढिलाइ भइसकेको उनले बताए । 

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा हरेक निर्वाचनमा बदर मत संख्या बढ्दो छ । यसपटक पनि बदर मत संख्या बढ्ने देखिएको छ ।

स्थानीय तह निर्वाचनमा मतदातालाई ३० दिन शिक्षा दिइएको थियो । त्यति गर्दा पनि मतदाता शिक्षा नपुगेर झन्डै १३ हजार मत बदर पूर्णरुपमा भए । आंशिक बदर मत संख्या योभन्दा धेरै थियो । मतदाता शिक्षाका लागि हाते पुस्तिका, ब्रोसर, बुकलेट, फ्लिपचार्ट, पोस्टर, क्यालेन्डर, पर्चा, नमुना मतपत्रलगायत प्रचारसामग्री नआएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस्ता सामग्री नआउँदा मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षणसम्म दिन सकिएको छैन । ‘सामग्री आउन जति ढिला भयो, मतदाता शिक्षा उति नै प्रभावित हुनपुग्छ,’ निर्वाचन अधिकृत कार्की भन्छन्, ‘अनि मतपत्र बदर हुने खतरा बढ्छ ।’ समय कम भएकाले कार्यालयले छनोट गरेका मतदाता शिक्षा कार्यकर्तालाई एक दिन प्रशिक्षण दिने तयारी गरेको छ । स्थानीय चुनावमा उनीहरूलाई दुई दिन तालिम दिइएको थियो।

कार्यालयले सबै मतदान केन्द्रमा एकजनाका दरले २ सय ८५ मतदाता शिक्षा कार्याकर्ता छनोट गरेको छ । उनीहरूलाई तालिम दिन प्रशिक्षकसमेत नियुक्त भइसकेका छन् । ‘सामग्री कहिले आउने नै टुंगो छैन,’ उनले भने । विकट भूगोलका कारण एक दिवसीय तालिमपछि कार्यकर्ता सम्बन्धित केन्द्रमा पुग्न दुई दिनसम्म लाग्छ । मतदानको ४८ घन्टाअघि मतदाता शिक्षा रोक्नुपर्ने कानुनी बाध्यता छ । 

अब प्रचारसामग्री आएर मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षण दिन सके पनि मतदाताले राम्ररी दुई साता शिक्षा पाउन मुस्किल पर्ने निर्वाचन अधिकृत कार्की सुनाउँछन् । उसै पनि एकदिने तालिमको भरमा मतदाता शिक्षा कार्यकर्ताले २ लाख २६ हजार ५ सय ५३ मतदातालाई शिक्षा दिनुपर्ने चुनौती छ । पोस्टर, पम्प्लेट टाँस्ने, फ्लिपचार्ट प्रदर्शन गर्ने, हाते पुस्तिका, ब्रोसर, बुकलेट, पर्चा र क्यालेन्डर बाँड्ने जिम्मा पनि मतदाता शिक्षा कार्यकर्तालाई छ । 

त्यसैले सबै मतदाताको घरमा पुगेर नमुना मतपत्रमा छाप लगाउन तथा अन्य प्राविधिक र सैद्धान्तिक शिक्षा दिन मुस्किल पर्ने देखिन्छ । निर्वाचन आयोगले नमुना मतपत्रका साथ स्वस्तिक छाप पठाउने गरेको छैन । उसले स्वस्तिकको सट्टा काठ, सिन्का जस्ता स्थानीय सामग्री प्रयोगमा ल्याउन निर्देशन दिने गरेको छ । ‘यसले मतदाता शिक्षा  प्रभावकारी हुनसकेको छैन,’ निर्वाचन अधिकृत कार्कीको अनुभव छ । 

आयोगले प्रचारसामग्री मात्र होइन, त्यसका लागि आवश्यक बजेट पनि कार्यालयलाई पठाएको छैन । निर्वाचन कार्यालयले ११ लाख रुपैयाँ बजेटको मतदाता शिक्षा कार्यक्रम बनाएर आयोगमा पेस गरेको थियो । आयोगले कार्यक्रम स्वीकृत गरे पनि बजेट निकासा नगरेको कार्यालयले जनाएको छ । 

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा हरेक निर्वाचनमा बदर मत संख्या बढ्दो छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तीन प्रतिशत मत बदर भएकोमा २०७० को दोस्रो संविधानसभा चुनावमा यस्तो मत बढेर चार प्रतिशत पुगेको थियो । गत स्थानीय चुनावमा जिल्लामा ७५ प्रतिशत मत खस्दा पाँच प्रतिशत मत बदर भएको कार्यालयको तथ्यांक छ । 

मतदान केन्द्र निर्धारण 

सिन्धुपाल्चोकमा २ सय ८५ मतदान केन्द्र निर्धारण गरिएको छ । स्थानीय चुनावमा भन्दा २७ केन्द्र बढी थपिएका हुन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा ८१ मतदानस्थलमा १ सय ५० केन्द्र तोकिएका छन् । सो क्षेत्रको प्रदेशसभा (क) मा ४१ स्थल र ७८ केन्द्र तथा (ख) मा ४० स्थल र ७२ केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ । त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का लागि ६३ स्थलमा १ सय ३५ मतदान केन्द्र कायम गरिएको छ । सो क्षेत्रको प्रदेशसभा (क) मा २८ स्थलमा ६५ केन्द्र र (ख) मा ३५ स्थलमा ७० केन्द्र निर्धारण गरिएको छ । 

प्रकाशित: ११ कार्तिक २०७४ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App