२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शर्मा गिरफ्तारीप्रति अनेक आशंका

चर्चामा आउन कांग्रेस सांसदमाथि पूर्वाग्रह साँधेको आरोप

सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुनिल शर्माको गिरफ्तारीलाई अस्वाभाविक भएको जनाएका छन्। शर्मालाई गिरफ्तार गरेको भोलिपल्ट शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले कानुनसम्मत हुने कारबाहीमा पार्टीको साथ र समर्थन रहने जनाउँदै सदस्यहरूले शर्मा पक्राउ भने सरकार र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रतिशोध साँधेको आशंका गरेका हुन्।

मेडिकल व्यवसायीसमेत रहेका शर्मालाई अहिल्यै नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा गरिएको गिरफ्तारी तथ्य र प्रमाणका आधारमा भन्दा चर्चामा आउन र पूर्वाग्रहका आधारमा गरिएको सदस्यहरूको आरोप छ। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद सरिता प्रसाईंले माओवादी सांसद र नेताहरू विभिन्न काण्डमा जोडिए पनि सरकारको अनुसन्धान नआएको तर कांग्रेसको नाम जोडिनासाथ पक्राउ पर्ने कुराले शंका पैदा गरेको बताइन्। ‘हाम्रा नेतामाथि सरकारले विभिन्न अभियोग लगाइरहेको छ। आरोप लाग्नासाथ पक्राउ पनि गरिरहेको छ’, बैठकमा प्रसाईंले भने, ‘विभिन्न प्रकरणमा नाम आएका माओवादीका नेताहरूको खोइ छानबिन भएको? यसबारे प्रधानमन्त्रीसँगै जवाफ माग्नुपर्छ।’

अर्का सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले भ्रष्टाचारका फाइल इमानदारीपूर्वक सरकारले खोलेकोमा आशंका व्यक्त गरे। सरकारले इमानदारीपूर्वक कदम उठाएको भए जोसुकै जुनसुकै काण्डमा पक्राउ परे पनि कांग्रेसले आपत्ति जनाउन नहुने धारणा राख्दै उनले भने, ‘भ्रष्टाचारीलाई कुनै पनि ढंगले संरक्षण गरिनु हुँदैन, तर कुनै एउटा अमूक पार्टीका मानिस पर्दा त्यसलाई कारबाही गर्ने, त्यही तहमा तथ्य र प्रमाण भेटिए पनि आफ्ना पार्टीका नेता भए केही नगर्ने पूर्वाग्रही ढंगले अघि बढ्ने स्थिति देखियो भने त्यो गम्भीर हुन्छ।’

शर्मामाथि सरकारले प्रतिशोधको भावना राखेको जनाउँदै अर्का सांसद श्यामकुमार घिमिरेले भने, ‘संसद् चलिरहेका बेला सांसद शर्मालाई किन गिरफ्तार गर्नुपर्यो? यसका लागि अन्य बाटा थिए होलान्, बयान लिन सकिन्थ्यो।’ सांसद शर्मा पक्राउबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद् र सार्वजनिक रूपमा पनि जवाफ दिनुपर्ने धारणा राखे।

सांसद प्रतिमा गौतमले सरकारका गतिविधि भ्रष्टाचार नियन्त्रणभन्दा शक्ति आर्जनमा केन्द्रित देखिन थालेको आरोप लगाइन्। ‘यो सरकारमा हामी पनि छौं, अझ गठबन्धनका हिसाबले यो सरकार हाम्रो नै हो, तर सरकार हामीसहितलाई कमजोर पार्ने रणनीतिक गतिविधिमा लागे झैं देखिँदै छ’, उनले भनिन्, ‘सांसद सुनिल शर्मालाई जुन अभियोगमा पक्राउ गरिएको छ, त्यो आज आएको नयाँ घटना होइन रहेछ। हिजो पक्राउ गर्नु नपर्ने, आज पक्राउ गर्नुपर्ने कारण के हो?’

कांग्रेस सांसद आरजु राणाले पनि शर्माको पक्राउ अस्वाभाविक रहेको बताइन्। ‘कसैको नक्कली सर्टिफिकेट छ र त्यसकै आधारमा उसले अरू गतिविधि पनि गरिरहेको छ भने अनुसन्धान हुने एउटा कुरा हो’, राणाले बैठकमा भनेकी थिइन्, ‘तर यसमा पक्राउ नै गर्नुपर्छ र थुनेर अनुसन्धान गर्नुपर्छ भन्ने छैन। कांग्रेसका सांसदलाई टार्गेट गरिँदै छ।’

सुनिल शर्मामाथि सरकारले प्रतिशोधको भावना राखेको जनाउँदै सांसद श्यामकुमार घिमिरेले भने, ‘संसद् चलिरहेका बेला सांसद शर्मालाई किन गिरफ्तार गर्नुपर्यो? यसका लागि अन्य बाटा थिए होलान्, बयान लिन सकिन्थ्यो।’ उनले पक्राउबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा जवाफ दिनुपर्ने बताए।

बैठकमा बोल्ने कतिपय कांग्रेस सांसदहरूले भने शर्मालाई गुटका आधारमा पार्टीभित्रबाटै फसाउने प्रयास भएको आरोप लगाएका थिए। सुन तस्करीमा उपप्रधान तथा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको भन्दै शर्माले राजीनामा मागेकै आधारमा प्रतिशोध साँधेको संस्थापनइतर समूहका नेताहरूको आरोप छ। यद्यपि शर्मामाथि देउवा सरकार हुँदा नै सम्पत्ति शुद्धीकरणसहितले छानबिन गरेका थिए।

सांसद रामहरि खतिवडाले सरकार र सीआइबीले तथ्य र प्रमाणका आधारमा भन्दा चर्चामा आउन र आग्रहपूर्ण ढंगबाट शर्मालाई पक्राउ गरिएको त होइन भन्नेमा चासो र चिन्ता व्यक्त गरेको बताए। ‘हिरोइजमका लागि होइन तथ्य र प्रमाणका आधारमा कानुनअनुसार गरिने अनुसन्धान र कारबाहीमा कांग्रेसको समर्थन नै रहन्छ’, खतिवडाले भने, ‘संसद् चलिरहेका बेला सभामुखलाई पनि जानकारी नदिईकन शर्माको गिरफ्तारीले बदला भावबाट भएको हो कि भन्ने आशंका बढाएको छ।’

आइतबार पुनः बस्ने कांग्रेस संसदीय दलको बैठकले तराई तथा मधेसमा भएको अल्पवृष्टि, पशुमा देखिएको लम्पी, डेंगी, आँखा पाक्ने रोगसहितका विषयमा चासो राख्दै सरकारलाई तत्काल त्यस विषयमा प्रभावकारी कदम उठाउन आग्रह गरेको छ।

थुनामा नराख्नू

काठमाडौं जिल्ला अदालतले सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। सिआइबीले बिहीबार काठमाडौंबाट पक्राउ परेका शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो। न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरूलाई भने काठमाडौं जिल्ला अदालतले ५ र ७ दिनको म्याद दिएको छ।

प्रकाशित: २७ श्रावण २०८० ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App