१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

त्रिवि उपप्राध्यापक चलाउनेलाई रिहा गर्न क्रान्तिकारीको माग

तस्बिर: प्रसन गुरुङ/नागरिक

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई यथाशीघ्र रिहा गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिले माग गरेको छ।

आमरण अनसनका लागि सोमबार काठमाडौं जिल्ला अदालत परिसर पुगेका चलाउनेलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोध गर्दै सो संगठनका त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समिति इन्चार्ज गोविन्द विष्टले विज्ञप्तिमार्फत माग गरेका हुन्।

उपप्राध्यापक चलाउने विरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर मुद्दा फिर्ता लिएर सरकारले प्रेम चलाउनेमाथि गम्भीर अपराध गरेको विज्ञप्तिमा उल्लेख छ।

‘न्याय दिनुपर्ने निकाय नै अपराधीहरूको संरक्षणमा लागेर न्यायको गला रेटेपछि चलाउने सडक संघर्षमा आउनु एक मात्र बाध्यता हो। न्याय मरेपछि आमरण अनशनका निम्ति जिल्ला अदालत परिसर पुगेका चलाउनेलाई  गिरफ्तार गरिनु सरकारको फासिस्ट कदम हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन सरकारको यस्तो रवैयाप्रति आपत्ति प्रकट गर्दै गिरफ्तार उपप्राध्यापक चलाउनेलाई तत्काल रिहाइ गर्न माग गर्दछ।’

आपराधिक गतिविधिमा संलग्नहरूको मुद्दा फिर्ता लिने निर्णयबाट सरकार पछि हटेर अपराधीहरूलाई कडा कारबाही गरोस् भन्दै सो संगठनले माग पूरा नभए न्यायका लागि संगठन कडा संघर्षमा उत्रन बाध्य हुने जनाएको छ।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेपाल विद्यार्थी संघका कार्यकर्ताले सांघातिक हमला गरेर घाइते बनाएका थिए।

त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ। मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको थियो। तर त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेकाले त्यसविरुद्ध चलाउने आमरण अनसन बस्न सोमबार जिल्ला अदालत काठमाडौं पुगेका थिए।

न्यायका लागि संघर्षमा उत्रिएका चलाउनेलाई सरकारले नियोजित ढंगले गिरफ्तार गरेको भन्दै सो संगठनले आपत्ति जनाएको हो।

प्रकाशित: ४ असार २०८० १४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App