४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘राजधानी दाङ सर्दैमा बुटवल भासिँदैन’

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेश राजधानी सरेको विषयलाई ठूलो मुद्दा नबनाउन बुटवलवासीलाई आग्रह गरेका छन्। लुम्बिनी प्रदेशको राजधानी दाङ सरेपछि बुटवल सकियो भनेर अतिरञ्जना गरिएको भन्दै उनले त्यसले उद्योगी-व्यवसायीलाई नै सिध्याउने बताए।

शुक्रबार बुटवलमा भएको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको अधिवेशन तथा वार्षिक साधारणसभामा बोल्दै नेता पौडेलले उद्योगी व्यवसायीमा अब कसरी अघि बढ्ने भन्ने चिन्तन हुनुपर्ने बताए। ‘जे नहुनु थियो भयो, छोडिदिनुस्, कति दिन पिरोलिने? राजधानी सरेर आकाश खसेको छ? बुटवल भासिन्छ? यो विषयमा धेरै नरुमलियौं’, प्रतिनिधिसमेत रहेका पौडेलले भने।

रूपन्देहीमा सञ्चालन भएका सबै आयोजनामा जनताको निगरानी महत्वपूर्ण भएको भन्दै उनले ती योजना निर्माणमा भएका कमजोरी र ढिलासुस्तीमा खबदारी गर्न आग्रह गरे। भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धित निकायको लापरबाही र कमजोरीका कारण सञ्चालन हुन नसकेको टिप्पणी गरे। ‘विमानस्थाल चाहिएर बनाएको हो, यो चल्छ हामीले चलाएर देखाउँछौं, ‘सञ्चालनमा ल्याउन कुनकुन निकाएको कमजोरी छ, त्यसमा तपाईंहरूको खबरदारी आवश्यक छ’, पौडेलले भने।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सञ्चालनमा ल्याउन सके सम्पूर्ण आर्थिक क्षेत्र चलायमान हुने बताए। होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले आर्थिक संकट तथा चर्को ब्याजदरका कारण व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको बताए। अहिलेकै अवस्था लामो समय कायम रहे ७० प्रतिशत बढी होटल व्यवासयी विस्थापित हुने बताए।

कार्यक्रममा संघका अध्यक्ष रामप्रसाद गौतम, एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, होटल व्यवसायी महासंघका निर्वतमान अध्यक्ष हिराध्वज साह, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवकुमार खनाल, संघका सल्लाहकार गोपाल राना, रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले कोरोना महामारी, आर्थिक संकट र बैंकको चर्को ब्याजदरले पर्यटन क्षेत्र थलिएको बताए।

वक्ताहरूले राज्यले होटल व्यवसायलाई पर्यटन व्यवसायका रूपमा लिएर संरक्षण गर्न नसकेको बताए। सोही अवसरमा पत्रकार यमलाल भुसाललाई कालिदास स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो। भुसाललाई १० हजार राशिसहित संघले सम्मान गरेको हो। अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ। 

प्रकाशित: २५ चैत्र २०७९ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App