२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कास्की कांग्रेसमा आरोप–प्रत्यारोप

कास्कीमा कांग्रेस नेताहरूबीच विवाद चर्किएको छ। हालै सम्पन्न निर्वाचनमा कास्कीमा कांग्रेस उम्मेदवारहरू पराजित भएपछि देउवा समूह र पौडेल समूहबीच विवाद चुलिएको हो। हालै सम्पन्न चुनावमा एक अर्काले अन्तर्घात गरेको भन्दै उनीहरू आपसमा आरोप–प्रत्यारोपमा उत्रिनुका साथै कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने होडबाजी चलेको छ। देउवापक्षीय कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले निवर्तमान सभापति कृष्ण केसीले चुनावमा अन्तर्घात गरेको भन्दै उनीमाथि कारबाही गर्न माग गर्दै केन्द्रमा सिफारिस गरेका छन् भने पौडेल पक्षधर निवर्तमान सभापति केसी समूहका मादी गाउँपालिका वडा नम्बर–९ का सभापति प्रभात अधिकारीले सभापति बरालले गत चुनावमा अन्तर्घात गरेको आरोपलगाउँदै उनीमाथि कारवाहीका माग गरेका छन्।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावमा कास्कीमा कांग्रेसका उम्मेदवारहरू पराजित भएका थिए।  

प्रतिनिधिसभाका तीन क्षेत्रमा निल भएको कांग्रेस प्रदेशसभाका ६ क्षेत्रमध्ये दुई क्षेत्रमा मात्र जित हासिल गर्न सफल भएको थियो। निर्वाचनमा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालपनि पराजित भएका थिए। निर्वाचनमा पराजित भएलगत्तैपनि सभापति बराल पक्षधरले निवर्तमान सभापति कृष्ण केसीले अन्तर्घात गरेको आरोप लगाएका थिए। उनीहरूले मतगणना अन्तिम चरणमा पुगेर हार्ने निश्चित भएपछि केसीको घर घेर्नुका साथै अन्तर्घाती मुर्दावाद भन्दै नाराबाजी गरेका थिए।

निर्वाचन सकिएको झण्डै डेढ महिनापछि सभापति बरालले कास्की जिल्ला पार्टीको निर्णय भन्दै निवर्तमान सभापति कृष्ण केसीमाथि संगठित अन्तर्घात गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेका छन्। बरालले कास्की १ का उम्मेदवार आफू र कास्की १ (२) का दीपक गुरुङलाई हराउन संगठित रूपमा अन्तर्घात गरेको आरोप लगाउँदै केसीलाई साधारण सदस्यबाटसमेत हटाउन माग गरेका छन्। उनले अन्तर्घातको प्रमाणका रूपमा केसीले गरेको अन्तर्घातका सम्बन्धमा बनेको संयुक्त प्रतिवेदन, आफू निकटका कार्यकर्तालाई भोट नहाल्न उर्दी जारी गरेको अडियो, भिडियो तथा निर्वाचनपश्चात दिएको अभिव्यक्ति समावेश गरेका छन्।

यसअघि कास्की कांग्रेसको कार्यसमितिले अन्तर्घातीलाई कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै अन्तर्घातीविरुद्ध प्रमाण पेश गर्न आह्वान गरिएको थियो। प्रशस्त प्रमाण भेटिएकाले केसीमाथि कारवाहीका लागि सिफारिस गरिएको सभापति बरालले बताए। बरालले गरेको सिफारिसप्रति कास्की कांग्रेसका पदाधिकारी भने अनभिज्ञता प्रकट गर्छन्। एक पदाधिकारी भन्छन्, ‘अन्तर्घातीलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको हो तर एकल सिफारिस गर्ने अधिकार कसैलाई दिइएको छैन। उहाँले कसरी एकल रूपमा सिफारिस गर्न सक्नुहुन्छ र ? त्यस्तो अधिकार छैन उहाँलाई।’ अर्का एक पदाधिकारीपनि सभापतिलाई निर्णय गर्ने अधिकार नभएको बताउँछन्। उनले भने, ‘उजुरी आएपछि बैठकमा छलफल गरेर निर्णयपछि सिफारिस गर्ने भन्ने हो, सभापतिलाई नै कारबाही गर्ने एकल अधिकार त दिइएको छैन।’

सभापति बराल भने निर्वाचनलगत्तै बसेको जिल्ला पार्टीको बैठकले सभापतिलाई अन्तर्घाती पत्ता लगाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिएकाले सोही बैठकको निर्णय र गरिएको हस्ताक्षरलाई प्रयोग गरेर आफूले सिफारिस गरेको दाबी गर्छन्।

अन्तर्घातको आरोप लागेर कारवाहीका लागि सिफारिसमा परेका केसी भने आरोपको राजनीतिक रूपमा प्रतिवाद गर्ने बताउँछन्। चोर बाटोबाट कारवाहीका लागि सिफारिस भएको दाबी गर्दै उनले भने,‘उजुरी आएपछि जिल्ला अनुशासन समितिलाई सिफारिस हुन्छ, त्यसपछि अनुशासन समितिले छानविन गरेर जिल्लामा पठाउँछ र त्यसपछि मात्रै जिल्ला पार्टीको बैठकले केन्द्रमा सिफारिस गर्न पाउँछ। तर यहाँ त चोर बाटोबाट पठाइएको छ। त्यहिपनि म त्यसको राजनीतिक प्रतिवाद गर्छु।’ सभापति बरालले आफ्नो कमजोरी ढाकछोप गर्नलाई आफूमाथि कारबाहीका लागि उजुरी गरेको आरोप लगाउँदै उनले भने, ‘ममाथि लगाइएको आरोप सबै झूठा र कपोलकल्पित हुन्।

यसैबीच, केसी पक्षलेपनि सभापति बरालले चुनावमा अन्तर्घात गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको छ। कास्की निर्वाचन क्षेत्र नम्बर १ का ३० वटै कार्य समितिका तर्फबाट भन्दै मादी–९ का कांग्रेस सभापति प्रभात अधिकारीले कांग्रेस कास्कीका सभापति बरालले चुनावमा आफ्नै पार्टी र गठबन्धनका उम्मेदवार हराउन अन्तर्घात गरेको आरोप लगाउँदै कारबाहीका लागि सिफरिस गरेका छन्। सिफारिसपत्रमा सभापति बरालले गत चुनावमा विपक्षी पार्टीका उम्मेदवारसँग मत साटेको गम्भीर आरोप लगाइएको छ।  

सिफारिसमा भनिएको छ, ‘पाँचदलीय गठबन्धन कास्कीका गोप्य निर्णय बाहिर लग्दै आफूलाई मात्रै मत मागेको, जिल्लाभरिको गठबन्धन कमजोर बनाएर आफू मात्रै जित्ने सहमति गरको, विपक्षी एमाले उम्मेदवारसँग पटक/पटक बैठक बसी कास्की १ (१) र (२) का एमालेसँग कांग्रेस र गठबन्धन कमजोर बनाउने र आफू मात्रै सफल हुने सहमति गरेको।’ त्यसबाहेक अधिकारीले स्थानिय निर्वाचनमा पनि कोठे बैठक गर्ने तर संगठन अलपत्र पार्ने, पार्टीको निर्णयविपरीत उम्मेदवार परिवर्तन गर्ने, निर्वाचन परिचालन कमिटी अस्तब्यस्त बनाउँदा पोखरा महानगरपालिकाका उपमेयर कांग्रेस उम्मेदवार कोपिला रानाभाट पराजित भएको, सभापति भएपछि अराजनीतिक गतिविधि गरेको आरोप लगाएका छन्। उनले सभापति बरालमाथि कारबाही भए मात्रै कास्की कांग्रेस बलियो, संगठित र एकताबद्ध हुने दाबी गरेका छन्।

सभापति बरालले भने अन्तर्घातीले कारबाहीमा पर्ने डरले केसी पक्षले कमजोरी ढाक्न र सो विषयलाई विषयान्तर गर्नका लागि आफूमाथि कारवाहीका लागि सिफारिस गर्ने नाटक गरेको प्रतिक्रिया दिए। ‘अन्तर्घात गरेपछि उहाँहरूमा हिनताबोध छ। त्यसलाई ढाक्न र विषयलाई विषयान्तर गर्न ममाथि त्यस्तो हुँदै नभएको आरोप लगाउने दुस्साहस भएको मात्र हो,’ उनले भने।

प्रकाशित: २१ पुस २०७९ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App