३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रालय बाँडफाँडमा सकसः सबैलाई चाहियो उप–प्रधानमन्त्री, अर्थ र गृह

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ मात्र नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्प कमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

दाहालले अहिले राष्ट्रपति भण्डारीको हातबाट शपथ ग्रहण गर्दैछन्। यस लगत्तै उनले आफ्नो नेतृत्वमा मन्त्रीमण्डल बनाउने छन्। मन्त्रीमण्डल गठनबारे नयाँ सत्ता गठबन्धनको बैठक सोमबार बिहान मात्र संसद भवनमा बस्यो। सत्तारुढ गठबन्धनका अधिकांश दलले उपप्रधानमन्त्री, गृह र अर्थ मन्त्रालय दाबी गरेका छन्। 

नयाँ सत्ता गठबन्धन दलका नेताहरु सम्मिलित बैठकले सरकारमा कुन/कुन दल सहभागी हुने र ती दलले कुन/कुन मन्त्रालय सम्हाल्ने भन्ने बिषयमा छलफल गरे। त्यसो त सत्ता गठबन्धनमा सहभागी दल र ती दलबाट प्रतिनिधित्व गर्ने नेताहरूका केही नामहरू सार्वजनिक भइरहेका छन्।

यसमध्ये नेकपा एमालेले सरकारमा सहभागी हुने आफ्नो प्रतिनिधिहरूको नाम लगभग टुङ्गो लगाइसकेको छ। माओवादी केन्द्रले प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री पनि मागिरहेको छ। यस पदमा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अघि सार्ने चर्चा छ। उनलाई परराष्ट्र मन्त्रालय दिने की गृह मन्त्रालय दिने भन्ने निक्यौल भइसकेको छैन। श्रेष्ठले परराष्ट्र भन्दा पनि अहिले गृह मन्त्रालय नेतृत्व लिन खोजिरहेको स्रोतहरू बताउँछ। तर उनलाई भौतिक पूर्वाधारमा पठाउने सम्भावना पनि त्यत्तिकै छ।

माओवादी केन्द्रले बर्षमान पुनलाई पनि सरकारमा लैजाने गृहकार्य गरिरहेको छ। उनले पनि गृह वा अर्थ मन्त्रालय नै दाबी गरेको बुझिएको छ। यसै गरी सत्ता घटकको सबैभन्दा ठुलो दल नेकपा एमालेले पार्टीका उपमहासचिव विष्णुप्रसाद पौडेलको नेतृत्वमा सरकारमा जाने टुङ्गो लगाइसकेको छ। पौडेललाई अहिले गृह मन्त्रालयसहित उपप्रधानमन्त्री दिने बिषयमा छलफल भइरहेको छ। त्यसो त उनलाई अर्थ मन्त्रालयमा पठाउने सम्भावना पनि त्यत्तिकै छ। अघिल्लो नेकपा एमाले नेतृत्वको सरकारमा उनी अर्थमन्त्री नै थिए।

एमालेले पौडेलको नेतृत्वमा राजेन्द्रराई, दामोदर भण्डारी र ज्वालाकुमारी साहलाई सरकारमा सामेल गराउने लगभग पक्का गरिसकेको छ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रधानमन्त्रीसहित गृह मन्त्रालयको माग गरेको बुझिएको छ। लामिछानेकै नेतृत्वमा उक्त पार्टी सरकारमा जाने तरखर गरिरहेको छ। रास्वपाले भौतिक र श्रम मन्त्रालयमा पनि आँखा लगाएको स्रोत बताउँछ।

मन्त्रालय नेतृत्वको पखाईमा रहेका अर्का स्वतन्त्र सांसद हुन, अमरेशकुमार सिंह। उनी पनि कुनै न कुनै मन्त्रालय लिने दाउमा छन्। प्रभु साहलाई भने तत्काल कुनै मन्त्रालयको नेतृत्वमा नपठाउने गरी गठबन्धन भित्र छलफल भएको बुझिएको छ। जनमत पाटीले भने वरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई सरकारमा पठाउने भएको छ। उनलाई उद्योग मन्त्रालयको नेतृत्वमा पठाउन लागेको छ।

यता नयाँ सत्ता गठबन्धनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने तत्काल सरकारमा नजाने भएका छन्। यी दलले विभिन्न रणनीति अघि सारेर तत्काल सरकारमा सामेल नहुने बताएका छन्।

अहिलेको सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी–केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद प्रभु साह, अमरेशकुमार सिंह र किरणकुमार साह सामेल छन्। 

प्रकाशित: ११ पुस २०७९ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App