करिब तीन महिनापछि संसद् भवनमा चहलपहल सुरु भएको छ। प्रतिनिधिसभाका सदस्यले बिहीबार शपथ ग्रहण गरेसँगै संसद्परिसरमा सांसद र दलका कार्यकर्ताको चहलपहल बढेको हो। सांसदको सेवा सुविधा पनि बिहीबारदेखि सुरु भएपछि केही सदस्य बैंक खाता खोल्न व्यस्त देखिन्थे भने केही सांसद आफूले राख्न पाउने स्वकीयको नामावली पनि सचिवालयमा दिने तयारी गरिरहेका थिए। कतिपय सांसदले राजनीतिक भेटघाट तीव्र पारेका थिए।
संसद् सचिवालयमा संसदीय दलको कार्यालय थप गर्नुपर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीका लागि संसदीय दलको कार्यालय आवश्यक भएकाले नयाँ भवनमा मर्मत–संहार भइरहेको हो। अन्य दलका लागि भने पुरानै कार्यालय उपलब्ध गराइएको छ।
संसद् अधिवेशन कहिले बस्ने भन्ने निश्चित नहुँदा कतिपय सांसद जिल्लातर्फ फर्कने सोचमा छन्। सरकार गठन भएपछि संसद् अधिवेशन कहिले आह्वान हुन्छ, त्यसपछि मात्र जिल्ला फर्कने निर्णय गर्ने तयारीमा पनि सांसदहरू देखिएका छन्।
बिहीबार शपथ लिन छुटेका चारमध्ये दुईजना सदस्य महिन्द्रराय यादव र रामकुमार राईले ज्येष्ठ सदस्य पशुपतिशमशेरसँग शपथ ग्रहण गरेका थिए। यससँगै शपथ लिने सांसदको संख्या दुई सय ७३ पुगेको छ। यसपटक मातृ भाषामा शपथ लिने सांसदहरूको संख्या बढेको छ। सांसदहरूले यसपटक १४ भाषामा शपथ लिएका थिए भने यसअघि २०७४ सालमा १२ भाषामा शपथ लिएका थिए। यसले सांसदहरूको मातृभाषाप्रतिको प्रेम बढ्दै गएको सन्देश दिएको छ।
मधेसी भाषा सूचीकृत नभए पनि सांसदले शपथ लिएका छन्। यसबारे मधेसी भाषा आयोगले संसद् सचिवालयसँग जानकारी मागेको छ। जनमत पार्टीका विनिताकुमारी सिंह, चन्द्रकान्त (सिके) राउत, अनिता देवीले मधेसी भाषामा शपथ लिएका छन्। यो भाषा कुन हो भन्दै भाषा आयोगले बिहीबार जानकारी मागेको छ। मधेसमा भोजपुरी, मैथली, अवधि, कोई, उर्दू, सन्थाली, हिन्दी, थारूलगायतका भाषा बोलिन्छन्।
हालसम्म भाषा आयोगबाट प्रकाशित गरिएको ‘सरकारी कामकाजको भाषासम्बन्धी सिफारिसहरू २०७८’ र मधेसी आयोगमा मधेसी भाषा सूचीकृत नभएको देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका असीम साहले नेपाली/मुस्लिम भाषामा शपथ लिएका थिए। उनको भाषा पनि सूचीकृत भएको देखिँदैन। यसपटक पहिलोपटक संसद्मा संस्कृत भाषामा पनि शपथ ग्रहण भएको छ। नयाँ भाषा कति ठाउँमा बोलिन्छ अध्ययन गरेर सूचीकृत गरिन्छ।
प्रकाशित: ९ पुस २०७९ ००:५८ शनिबार