काठमाडौं–चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ। प्रधानमन्त्री केपी ओलीले चुरे भावर राष्ट्रिय एकता पार्टीलाई वार्तामा आउन आग्रह गर्दै जेठ ३१ गते पत्र पठाएका थिए। आफ्नो दललाई वार्तामा बोलाउने कार्यलाई सकारात्मक रुपमा लिँदै सरकारसँग वार्ता गर्न समिति गठन गरिएको सो पार्टीका अध्यक्ष बद्री न्यौपानेले जानकारी दिए। ‘सरकारसँग वार्ता गर्ने निर्णयसहितको पत्र सोमबार प्रधानमन्त्रीको सचिवालयमा बुझाएका छौं,’ अध्यक्ष न्यौपानेले भने,‘चुरे भावरले प्रधानमन्त्रीले वार्ताका लागि बोलाएको पत्रलाई सकारात्मक रुपमा लिँदै वार्तामा बस्ने निर्णय गरेका हौं।’
चुरे भावरले अध्यक्ष बद्री न्यौपानको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको छ। वार्ता टोलीमा सहअध्यक्ष कृष्णबहादुर राई, वरिष्ठ उपाध्यक्ष सुनिता भारती, उपाध्यक्ष हरिप्रसाद पोखरेल र दिपमान लोप्चन, सचिव उमेश पराजुली, कोषाध्यक्ष राजाराम बोगटी तथा प्रवक्ता केदारप्रसाद निरौला छन्। चुरे भावरले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने, चुरे भावर क्षेत्रलाई समेटेर अगल प्रदेश बनाउनुपर्नेलगायतका माग राख्दै आन्दोलन गर्दै आएको छ।
प्रकाशित: ६ असार २०७३ ११:३२ सोमबार