६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रुपन्देहीबाट प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ कांग्रेस शून्य,एमाले ३,राप्रपा र लोसपाले १/१ सिट जिते

रुपन्देहीबाट प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ नेपाली काँग्रेसको उपस्थिती शून्य भएको छ। एमालेले ३ वटा क्षेत्र जितेको छ। राप्रपा र लोसपाले १/१ क्षेत्र जितेका छन्। रुपन्देहीको क्षेत्र नं.१,२ र ५ बाट नेकपा एमाले विजयी भएको छ। क्षेत्र नं. ३ मा राप्रपा र क्षेत्र न. ४ मा लोसपाले जितेको हो। २०७४ को निर्वाचनमा काँग्रेसले दुइ सिट जितेको थियो। तर यसपाली सयमै पार्टी भित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन नगरीदा  मौलाएको गुट उपगुट र अन्तरघातकै कारण प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ उसले एउटा पनि सिट जित्न सकेन।  

रुपन्देहीको क्षेत्र नं. १ बाट नेकपा एमालेका नेता छविलाल विश्वकर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। विश्वकर्माले आफना पुर्व सहकर्मी घनश्याम भुसाललाइ पराजित गर्दै विजयी भएका हुन्। विश्वकर्माले २०७४ मा पनि यही क्षेत्रबाट चुनाव जितेका थिए। विश्वकर्माले भुसाललाइ ३ हजार ५६४ मत अन्तरले पराजित गरेका हुन्। विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हुँदा सत्ता गठबन्धनको साथ पाएका स्वतन्त्र उम्मेदवार भुसालले २१ हजार ३०८ मत ल्याए। एमालेले टिकट नदिएपछि सो पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदावरी दिएका भुसाललाइ सत्ता गठबन्धनले समर्थन गरेको थियो। अघिल्लो चुनावमा रुपन्देहीको क्षेत्र नं. ३ बाट निर्वाचित भएका भुसालले यसपाली भने आफनै गृहक्षेत्रबाट स्वतन्त्र उठेर पराजित भए।  

रुपन्देही क्षेत्र नं. २ बाट नेकपा एमालेका नेता बिष्णु पौडेल विजयी भएका छन्। तीन दलिय गठबन्धनबाट विजयी पौडेललाइ यसपाली राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले कडा टक्कर दिएका थिए। एमाले उपाध्यक्ष पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाइ १ हजार ३६ मतले पछाडी पार्दै निर्वाचित भएका हुन्। पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले २७ हजार १४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी घण्टी चिन्हका गणेस पौडेलले २५ हजार ७८२ मत पाए। यो क्षेत्रबाट सत्ता गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले २२ हजार १० मत पाए। पौडेलले यो क्षेत्रबाट संसदिय निर्वाचन जितेको यो चौथौ पटक हो।  

रुपन्देहीको क्षेत्र नं. ३ बाट राप्रपा नेता दिपक बोहोरा निर्वाचित भएका छन्। २०७४ मा काँग्रेससंगको गठबन्धनबाट उठदा पनि यही क्षेत्रबाट हार व्यहोरेका बोहोराले यसपाली भने नेपाली काँग्रेसकै नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाइ पराजित गर्दै विजयी भएका हुन्।  

यही क्षेत्रबाट २०७४ मा बोहोरालाइ  एमालेका घनश्याम भुसालले हराएका थिए। अहिले त्यही एमालेसंगको गठबन्धनबाट राप्रपाका बोहोरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। बोहोराले खाँणलाइ २ हजार ६८१ मतले पाराजित गर्दै विजयी भए। राप्रपाका बरिष्ठ नेता बोहोराले ३६ हजार ७१७ मत पाउँदा काँग्रेस केन्द्रिय सदस्य समेत रहेका गृहमन्त्री खाँणले ३४ हजार ३६ मत प्राप्त गरे।  

बोहोरा सम्भवत संसदिय निर्वाचन जित्ने त्यस्तो नेता मध्ये एक हुन जसले मतदातासंग दोहोरो कुराकानी नै गरेनन र सभा सम्मेलनमा भाषण पनि गरेनन्। बोहोरालाइ पोष्ट कोभिड भएकाले उनी भ्वाइस रेष्टमा रहेको र चिकित्सकै सल्लाहमा केही महिना उनी बोल्न नमिल्ने उनको स्वीय सचिवालयले जनाएको छ। चुनावी प्रचारका क्रममा मतदातासंग कुराकानी र सभाहरुमा उनको लिखित भाषण प्रचारमा खटिएका नेताहरुले नै पढिदिन्थे भने बोहोरा मौन बस्थे र हात जोडेर अभिभादन गर्थे।

रुपन्देहीको क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सवेन्द्र नाथ शुक्ला निर्वाचित भएका छन्। शुक्लाले २८ हजार मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिश्पर्धी नेपाली काँग्रेसका प्रमोद कुमार यादवले २२ हजार ७०४ मत ल्याए।  

मर्चवारबासीले २०४८ यताका कुनैपनि निर्वाचनमा एउटै व्यक्तिलाइ लगातार दुइ पटक जिताएको रेकर्ड छैन। यसपाली पनि अघिल्लो निर्वाचनका विजेता काँग्रेसका यादवले हार व्यहोरे। २०७४ को निर्वाचनमा यो क्षेत्रबाट प्रतिनिधि र प्रदेश तर्फका तीन वटै सिट काँग्रेसले जितेको थियो। तर यसपाली भने काँग्रेसलाइ हराउँदै लोसपाका शुक्लाले गृह क्षेत्रमा आफनो विरासत फर्काउन सफल भए।  

रुपन्देहीको क्षेत्र नं. ५ बाट एमालेका बासुदेव घिमिरे निर्वाचित भएका छन्। घिमिरेले नेपाली काँग्रेसका भरतकुमार शाहलाइ पराजित गर्दै विजयी भएका हुन्। घिमिरेले ३६ हजार ८२२ मत सहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी शाहले २७ हजार १२० मत प्राप्त गरे। २०७४ सालमा शाहले यही क्षेत्रबाट १३ हजार बढी मतले जितेका थिए। तर यसपाली भने उनले एमालेका घिमिरेसंग हार व्यर्होनु पर्यो।  

प्रदेशसभा तर्फपनि नेपाली काँग्रेस खुम्चीएको छ।  १० वटा सिट मध्ये नेपाली काँग्रेसले जम्मा २ सिट जितेको छ। एमालेले ४,लोसपाले २,जनमत पार्टीले १ र राप्रपाले १ सिट जितेका छन्। क्षेत्र नं. १ (क)बाट राप्रपाका आशिष चौधरी र १(ख) बाट नेपाली काँग्रेसका अब्दुल रज्जाक लुम्बिनी प्रदेशसभामा निर्वाचित भएका छन्। क्षेत्र नं. २ (क)बाट एमालेका लिला गिरी र २(ख)बाट एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। क्षेत्र नं. ३ (क)बाट लोसपाका सन्तोष कुमार पाण्डे र ३(ख)बाट एमालेका तुलसी चौधरी निर्वाचित भएका छन्। त्यस्तै क्षेत्र नं. ४ (क)बाट लोसपाका कन्हैया बानिया र ४(ख)बाट नेपाली काँग्रेसका वसिउद्धिन खाँ निर्वाचित भए। क्षेत्र नं. ५ (क)बाट नेकपा एमालेका भुमिश्वर ढकाल र ५ (ख)बाट जनमत पार्टीका चन्द्रकेश गुप्ता लुम्बिनी प्रदेशसभामा निर्वाचित भएका छन्।

प्रकाशित: १० मंसिर २०७९ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App