२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

रौतहट,महोत्तरी र सर्लाहीमा हेभिवेट उम्मेदवारकै अग्रता

रौतहट,महोत्तरी र सर्लाहीमा मतगणना जारी छ। यी जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा हेभिवेट उम्मेदवारहरुले प्रारम्भिक मतगणनामा अग्रता कायम राखेका छन्।

रौतहटका दुई हेभिवेट उम्मेदवारहरु माधवकुमार नेपाल र प्रभु साह प्रारम्भिक मतगणनामा अगाडि छन्। रौतहट क्षेत्र नम्बर १ मा कम मत आउने विश्वास गरिएको गौर नगरपालिकाको ७५ प्रतिशत मतगणना भइसक्दा नेकपा एसका अध्यक्ष नेपालले अग्रता कायम राखेका छन्। नेपालले ६९२४ ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले ६३३६ ल्याइ पछ्याइरहेका छन्।

यसैगरी रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई निरन्तर पछाडि पारेका छन्। नेपाली काँग्रेसबाट बागी उम्मेदवार जयसवाललाई नेकपा एमालेको पनि समर्थन रहेको थियो भने नेपाली काँग्रेस र नेकपा एसका निर्वाचन क्षेत्रका नेताहरुले खुलेरै समर्थन गरेका थिए। जयसवालभन्दा साह १९ सयभन्दा बढी मतले प्रारम्भिक मतगणनामा अगाडि छन्।

रौतहट क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह र नेपाली काँग्रेसका डा. फिर्दोस आलमबीच प्रतिस्पर्धा देखिँदा साह अगाडि देखिएका छन्। यसैगरी रौतहट क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका देवप्रसाद तिमल्सिना र नेकपा एमालेका उद्धव रेग्मीबीच प्रतिस्पर्धामा छन्।

सर्लाहीको क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंहले अग्रता कायम राखेका छन्। यसैगरी सर्लाही क्षेत्र नम्बर १ मा अर्का स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले अग्रता लिएका छन्। सर्लाहीबाट लोसपा उम्मेदवार राजेन्द्र महतो भने पछाडि रहेका छन्।

महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले झिनो मतले अग्रता लिएका छन्। पोखरेलले एमालेका लक्ष्मी महतोलाई पछाडि पार्दै अग्रता कायम गरेका हुन्। महोत्तरी क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार राम आधार कापरले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई निकै पछाडि पारेका छन्। प्रारम्भिक मतगणनामा ठाकुरले  ११९६ पाउँदा कापरले २२०४ मत पाएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App