१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

लकडाउनमा समयको सदुपयोग

सम्पदा सापकोटा

  कक्षा–११,

टिनिटी इन्टरनेशनल कलेज, डिल्लीबजार, काठमाडौं ।

हाम्रो छिमेकी मुलुक चीनको वुहानबाट शुरू भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिंदै छ । यसैको कारण कैयौं देशमा लकडाउन छ । हाम्रो देशमा लकडाउन भएको दुई महिना पुगेको छ । अझै कहिलेसम्म हुने हो, यकिन छैन ।

कोरोना भाइरसको त्रास सम्पूर्ण मानिसमा बढ्दो छ । विशेषतः यस्तो अवस्थामा बालबालिका, वृद्धवृद्धा एवं मानसिक अवस्था कमजोर भएका व्यक्तिमा यसको त्रास बढी हुने देखिएको छ । यसले बालमनोविज्ञानमा पनि ठूलो असर पारेको देखिन्छ ।  

हाम्रो नेपालमा ‘लकडाउन’ भएलगत्तै विद्यार्थीहरू पनि घरमै बस्न बाध्य छन् । बालबालिकाहरूलाई के गर्ने भन्ने अभिभावकहरूको चिन्ता छ । यस्तो अवस्थामा हामी बालबालिका आफैं सचेत भई यस बिदाको समय सदुपयोग गर्नुपर्छ  । यो समयमा हामीले निकै सिर्जनशील कामहरू गर्न सक्छौं । यस्ता केही कामहरूको सूची तल दिइएको छ ः

१) सिलाइबुनाइ – सिलाइबुनाइ एक अत्यन्त उपयोगी सीप हो । सिलाइबुनाइसँगै हामीले अन्य हस्तकलाका सामानहरू बनाएर घरमा सजाउन सक्छौं ।  

२) घरायसी काममा सहभागी हुने  – लुगाकपडा धुने, भान्साकोठामा आमाहरूलाई खाजा र खाना पकाउन सघाउने ।  

३) चित्रकारिता – चित्र बनाउन इच्छुकहरूले यो बिदामा आफ्नो सीपलाई तिखार्न सक्छौं । युट्युब, गुगल लगायत सामाजिक संजालले यसमा सहयोग गर्न सक्छन् ।

४) लेखरचना – यतिबेला सधैं जस्तै कामको चाप हुँदैन । हामीले घरैमा सुरक्षित रुपमा बसेर समसामयिक एवं अन्य विषयका लेखहरू लेख्न सक्छौं ।  

५) टाइपिङ – विज्ञान र प्रविधिले फड्को मारेको समय हो यो । यतिबेला कम्प्युटर र ल्यापटप एक अत्यावश्यक मेसिन बनेको छ । हामीले नेपाली एवं अंग्रेजी टाइप सिकेर समयको उपयोग गर्न सक्छौं ।  

६) पढाइलेखाइ – अन्य दिनहरूमा कामको चाप बढी हुने भएकाले हामीले त्यतिखेर नभियाएका पाठहरू अहिले राम्रोसँग पढ्न सक्छौं । फुर्सदको समयमा जीवन काँडा कि फूल, पल्पसा क्याफे, सेतो धर्ती जस्ता राम्राराम्रा पुस्तकहरू पढ्न सक्छौं  ।

७) क्यालिग्राफी – हस्तलेखन मानिसको निकै महत्वपूर्ण गहना हो । क्यालिग्राफी लेख्न प्रयास गरेर पनि हामीले यो बिदा उपयोग गर्न सक्छौं ।

८) टेलिभिजनका उपयोगी कार्यकम हेर्ने – टेलिभिजनमा राम्राराम्रा कार्यकम हेरेर समयको उपयोग गर्न सक्छौं ।

९) अन्य सीपहरू – हामीले घरमै बसीबसी गीतसंगीत, नृत्य, अभिनय आदि अन्य कुराहरु सिक्न सक्छौं ।

यी त केही उदाहरण मात्रै हुन्  । हामीले यस्ता अरू धेरै काम पनि गर्न सक्छौं ।  भनिन्छ, जहाँ इच्छा त्यहाँ उपाय ।

अन्त्यमा, कोरोनाबाट बच्न हामीले सरसफाइमा ध्यान दिनुपर्छ । बेलाबेलामा साबुनपानीेले मिचीमिची हात धुनुपर्छ । खोक्दा या हाँच्छयुँ गर्दा रुमालले मुख छोप्नुपर्छ । अत्यावश्यक काम बाहिर जाँदा मास्क लगाउनुपर्छ । घरमा पनि भौतिक दुरी कायम गर्नुपर्छ । यस्ता अरू धेरै नियम पालना गरेर कोरोना भाइरसबाट आफू बाँचौं र अरूलाई पनि बचाऔं ।

प्रकाशित: ११ जेष्ठ २०७७ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App