३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

लैङ्गिक विविधताको पाठ

एउटी महिला साथीले बेलुकी नौ बजेतिर एउटा सानो सहयोग चाहियो भन्दै फेसबुक म्यासेन्जरमा सन्देश पठाइन् । ती महिला साथी नियमित जसो फेसबुकमा आकर्षक फोटोहरु पोस्ट गर्ने गर्छिन् । त्यस दिन फेसबुकमा फोटो पोस्ट गर्दा के क्याप्सन राख्ने भन्ने दुविधामा रहिछन् । लेखन कार्यमा सक्रिय भएको नाताले मबाट केही उत्कृष्ट उद्धरण, विचार अथवा भनाइको अपेक्षा राखेकी रहिछन् । यसका लागि फेसबुक म्यासेन्जरमा एउटा फोटो पठाइन् र ती उद्धरण, विचार अथवा भनाइ फोटो सुहाउँदो हुनुपर्ने वा फोटोमा देखिने मुड प्रतिबिम्वित गर्नुपर्ने माग पनि राखिन् ।

महिला साथीको फोटो हेर्दा निकै सुन्दर र आकर्षक थियो । कुनै व्यावसायिक मोडेलभन्दा कम देखिएकी थिइनन् । नदेखिऊन् पनि कसरी ! आखिर एउटी कुशल फेसन डिजाइनर न परिन् । फोटोमा उनी बडिकन ड्रेस (पोशाक) मा सजिएकी थिइन् । त्यसमाथि ब्रान्डेड कालो चश्मा लगाउनुका साथै कालो झोला पनि बोकेकी थिइन् । यसले उनको आकर्षक व्यक्तित्व झल्किएको थियो । यति मात्र होइन, उनको ड्रेसअपप्रतिको बुझाइ उच्चस्तरीय रहेको समेत पुष्टि हुन्थ्यो । फोटो काठमाडौंमा अवस्थित ‘गार्डेन अफ ड्रिम्स’ अर्थात् ‘स्वप्न बगैंचा’ अगाडिको त्रिदेवी सडकमा हिँड्दै गर्दाको थियो । त्यसैले एकछिन फोटो हेरिसकेपछि फेसबुकमा फोटो पोस्ट गर्दा उपयुक्त हुन सक्ने क्यापसनका लागि निम्नानुसारको उद्धरण, विचारहरु फेसबुक म्यासेन्जरमा पठाइदिएँः

‘अब यो बाटो मेरो हो कि म यो बाटोको, अब यो माटो मेरो हो कि म यो माटोको...!’
‘जीवनमा जस्तोसुकै कठिन परिस्थिति आइपरे पनि निरन्तर अगाडि बढिरहनु ।’
‘कति ट्याक्सी चढ्नु ? आज पैदल हिँडिन्छ ।’

यी तीनवटै उद्धरण, विचारहरुको सकारात्मक प्रतिक्रिया आउँछ भन्ने लागेको थियो । यति धेरै मेहनत र महत्वसाथ क्यापसनका लागि विचार दिएको छु, उनले मन पराउने छिन्, फेसबुकमा त्यो फोटो पोस्ट गर्दा यिनै विचारहरुमध्ये एउटा जस्ताको त्यस्तै क्यापसनस्वरुप राख्नेछिन् अनि मलाई खुसी एवं सन्तुष्ट हुने अवसर दिनेछिन् भन्ने अपेक्षा थियो । अफसोच ! त्यसो हुन सकेन । महिला साथीलाई ती कुनै पनि विचारहरु मन परेनन् र क्याप्सनमा प्रयोग गरिनन् । त्यसपछि पुनः केही उद्धरण, विचारहरु पठाएँ । प्रतिक्रिया उही किसिमको आयो । सिधा अस्वीकृत गरिदिइन् । अन्ततः उनले केवल एउटा इमोजी स्टिकर क्यापसनस्वरुप प्रयोग गरेर फोटो पोस्ट गरिन् । आखिर किन ती विचारहरु अस्वीकृत हुन गयो ? किन उनले ती विचारहरु मन पराइनन् ?

यसको एउटै कारण हो, उनले एउटा प्रकृतिको विचारहरु अपेक्षा राख्नु तर यसको ठीक विपरीत प्रकृतिका विचारहरु दिइनु । अझ यसो भनौँ, विपरीत लिंगीको मनोभावना स्पष्टसँग बुझ्न नसक्नु अथवा महिला र पुरुषको मस्तिष्क, मनोविज्ञान, सोच्ने शैली, दृष्टिकोण र आवश्यकताहरु भिन्नभिन्न हुन्छन् भन्ने यथार्थ बुझ्न नसक्नु । महिला साथीलाई जति पनि उद्धरण, विचारहरु दिइएको थियो, त्यो सबै महिलाहरुको मनोविज्ञान, दृष्टिकोण आधारित नभएर पुरुषहरुको मनोविज्ञान, दृष्टिकोण आधारित थियो । त्यस्ता विचारहरुले बनेका क्याप्सनहरु महिलाहरुले भन्दा पनि प्रायः पुरुषहरुले प्रयोग गर्ने गर्छन् । महिलाहरु भावना अभिव्यक्ति गर्ने किसिमका क्याप्सन राख्छन् भने पुरुषहरु चुनौती अभिव्यक्ति गर्ने किसिमका क्याप्सन राख्छन् । यस्तोमा ती महिला साथीले ती विचारहरु नरुचाउनु अस्वभाविक थिएन ।

यो प्रसंगबाट विपरीत लिंगीलाई बुझ्न कत्तिको महत्वपूर्ण छ भन्ने प्रस्ट हुन सकिन्छ । यद्यपि अधिकांश मानिसले यस प्रक्रियालाई प्राथमिकतामा राख्दैनन् । पुरुषहरु महिलासँग महिलाको रुपमा व्यवहार नगरेर पुरुषको रुपमा व्यवहार गर्छन् । त्यसैगरी महिलाहरु पुरुषसँग पुरुषको रुपमा व्यवहार नगरेर महिलाको रुपमा व्यवहार गर्छन् । त्यसैगरी पुरुषहरु महिलाबारे यस्ता किसिमका सोच राख्छन्ः महिलाहरु अति नै भावनात्मक हुन्छन्, केवल पैसाको पछि लाग्छन्, सधैँ प्रदायकको खोजीमा हुन्छन्, सतही ज्ञान भएका, खोक्रो आदर्शका हुन्छन् आदि । त्यसैगरी महिलाहरु पुरुषबारे यस्ता किसिमका सोच राख्छन्ः पुरुषहरु सतही ज्ञान भएका, खोक्रो आदर्शका हुन्छन्, शारीरिक सुन्दरताप्रति मात्र आशक्ति राख्छन्, उनीहरु विश्वसनीय हुँदैनन्, कसैको ख्याल नराख्ने, चाहिएको समयमा अनुपलब्ध हुने गर्छन् आदि ।

यी यावत् कुराहरुले सम्बन्धमा तिक्तता र घृणा उत्पन्न गराउँछ । विपरीत लिंगीप्रति अविश्वास, रिस र अवहेलना उत्पन्न गराउँछ । यति मात्र होइन, सम्बन्धमा शारीरिक एवं मानसिक दुव्र्यवहार र हिंसाको सम्भावना बढाउँछ । अनि परिणामस्वरूप ब्रेकअप अथवा सम्बन्ध विच्छेद हुन्छ । यी सम्पूर्ण परिस्थितिबाट उन्मुक्त रहन, विपरीत लिंगीको मनोभावनालाई बुझ्नका लागि सर्वप्रथम महिला र पुरुष मस्तिष्क, लिंग विविधता, महिला र पुरुषका प्राथमिक आवश्यकताबारे जान्नु वा संक्षेपमा वर्णन गर्नु बुद्धिमानी रहन्छ ।

महिला र पुरुष मस्तिष्कको विकासक्रम
जीवविज्ञानमा मानवीय मस्तिष्कबारे विविध सोध अनुसन्धान भएका छन् । यस्तै अनुसन्धानबाट आएका निष्कर्षहरु म्याट रिड्लीको ‘दि रेड क्विन’ पुस्तकमा पढ्न पाइन्छ । पुस्तकमा महिला र पुरुष मस्तिष्कको विकासक्रम पनि समावेश गरिएको छ । पुस्तकमा समाविष्ट अनुसन्धानअनुसार गर्भधारण हुँदाको अवस्थामा बच्चाको मस्तिष्क स्त्रीको जस्तो मस्तिष्क हुने पुष्टि हुन्छ । यदि गर्भमा रहेको बच्चा पुरुष हो भने आमाको शरीरले प्राकृतिक रुपमा बच्चाको शरीरमा पुरुष हर्मोन ‘टेस्टेस्टेरोन’ इन्जेक्ट (प्रवाह) गराउँछ । यही हर्मोनले त्यो बच्चाको मस्तिष्क विकासमा मुख्य भूमिका खेल्छ । जब त्यही बच्चा यौवन अवस्थामा पुग्छ, उसको शरीरमा ‘टेस्टेस्टेरोन’ हर्मोनको मात्रा बढ्छ र त्यो बच्चा पूर्ण रुपमा युवा पुरुषमा विकसित हुन्छ । त्यसैगरी यदि गर्भमा रहेको बच्चा महिला हो भने आमाको शरीरले प्राकृतिक रुपमा बच्चाको शरीरमा महिला हर्मोन ‘एस्ट्रोजेन’ इन्जेक्ट गराउँछ । यही हर्मोनले त्यो बच्चाको मस्तिष्क विकासमा मुख्य भूमिका खेल्छ ।

जब त्यही बच्चा यौवन अवस्थामा पुग्छ, उसको शरीरमा ‘एस्ट्रोजेन’ लगायत अरु थप महिला हर्मोनको मात्रा बढ्छ । जसकारण बच्चा पूर्ण रुपमा महिलामा विकसित हुन्छ ।

लैङ्गिक विविधता किन?
पहिलो कारण, लैङ्गिक ध्रुवीयता । सबै मानिसहरु मनोवैज्ञानिक तवरले एक समान छैनन् । यसर्थ एउटै वर्गमा राख्न सकिँदैन । उनीहरुलाई म्यास्कुलिन फेमिनिन पोलारिटी स्पेक्ट्रममा राखेर मूल्यांकन गर्न सकिन्छ । भनाइको तात्पर्य, स्पेक्ट्रम (वर्णक्रम) को एउटा विन्दुमा पुरुष व्यवहार मनोविज्ञान देखाउने र अर्को विन्दुमा महिला व्यवहार मनोविज्ञान देखाउने मानिसहरु वर्गीकरण गरिन्छ । अनि वर्णक्रमको मध्यस्थमा भने दुवै पुरुष र महिला व्यवहार मनोविज्ञान देखाउने मानिसहरु वर्गीकरण गरिन्छ । धेरै मानिसहरुको बाहुल्य यही स्थानमा रहन्छ । ५० प्रतिशत पुरुषले जीवनप्रतिको मनोवृत्ति म्यास्कुलिन (वास्तविक पुरुषको मनोवृत्ति) हुन्छ । त्यसैगरी ५० प्रतिशत महिलाले जीवनप्रतिको मनोवृत्ति फेमिनिन (वास्तविक महिलाको मनोवृत्ति) हुन्छ ।

दोस्रो कारण, मस्तिष्कको सक्रियता । ‘युनिभर्सिटी अफ पेन्सिलभेनिया’ का वैज्ञानिकहरुले ८ देखि २२ वर्ष उमेर समूहका ९४९ महिला र पुरुष मस्तिष्कको एमआरआई अध्ययन गरेका थिए । त्यस अध्ययनमा मस्तिष्कको दायाँ र बायाँ गोलाद्र्ध कसरी सक्रिय छ, त्यो हेरिएको थियो । पुरुष मस्तिष्कको दायाँ र बायाँ गोलार्ध एकअर्कामा जोडिएको पाइएन । कुनै पनि कार्यमा संलग्न हुँदा दायाँ र बायाँ गोलाद्र्धमध्ये कुनै एउटा मात्र सक्रिय रहेको पाइयो । दुवै गोलाद्र्ध संयुक्त रुपमा सक्रिय भएको पाइएन । तर महिला मस्तिष्कको दायाँ र बायाँ गोलाद्र्ध एकअर्कामा जोडिएको पाइयो । कुनै कार्यमा संलग्न हुँदा दुवै दायाँ र बायाँ गोलाद्र्ध संयुक्त रुपमा सक्रिय रहेको पाइयो ।

उदाहरणार्थ, शब्द र भाषागत विकासको क्रममा पुरुष मस्तिष्कको एउटा गोलाद्र्ध सक्रिय रहन्छ तर महिलाको हकमा भने मस्तिष्कको दुवै गोलाद्र्ध सक्रिय रहन्छ । त्यसकारण पुरुषभन्दा महिलाको शब्द र भाषागत क्षमता अथवा मौखिक सीपहरु बढी हुन्छन् ।

तेस्रो कारण, हर्मोनको असन्तुलन एवं जीन हेरफेर । महिला र पुरुष मस्तिष्कको विकासक्रम बुझिसकेका छौँ । मानौँ आमाको गर्भमा रहेको बच्चा पुरुष हो । कहिलेकाहीँ बच्चाले आमाको शरीरबाट पर्याप्त मात्रामा पुरुष हर्मोन ‘टेस्टेस्टेरोन’ प्राप्त गर्छ भन्ने ग्यारेन्टी हुँदैन । त्यसैगरी मानौँ आमाको गर्भमा रहेको बच्चा महिला हो । कहिलेकाहीँ त्यो बच्चाले आमाको शरीरबाट पर्याप्त मात्रामा महिला हर्मोन प्राप्त गर्नुपर्ने अवस्थामा पुरुष हर्मोन ‘टेस्टेस्टेरोन’ प्राप्त गर्न सक्छ । यही कारण शारीरिक रुपमा पुरुष भए तापनि त्यो बच्चामा महिला मनोविज्ञान विकास भएको हुन्छ । बाहिर पुरुषजस्तो देखिए पनि भित्र महिला हुन्छ । यही कारण शारीरिक रुपमा महिला भए तापनि त्यो बच्चामा पुरुष मनोविज्ञान विकास भएको हुन्छ । बाहिर महिलाजस्तो देखिए पनि भित्र पुरुष हुन्छ । यसलाई फ्रूट फ्लाई (ड्रोसोफिला)मा गरिएको एउटा अनुसन्धानमार्फत थप स्पष्ट हुन सकिन्छ । त्यस अनुसन्धानमा केही संख्यामा पुरुष र महिला फ्रूट फ्लाई लिइन्छ र उनीहरुको केही जीन अलग गरिन्छ । पुरुष फ्रूट फ्लाईमा महिला फ्रूट फ्लाईको जीन मिश्रण गरिन्छ भने महिला फ्रूट फ्लाईमा पुरुष फ्रूट फ्लाईको जीन मिश्रण गरिन्छ । त्यस पश्चात् पुरुष फ्रूट फ्लाईले महिला फ्रूट फ्लाईको स्वभाव देखायो भने महिला फ्रूट फ्लाईले पुरुष फ्रूट फ्लाईको स्वभाव देखायो।

महिला–पुरुषका आवश्यकता
पुरुषको मस्तिष्क व्यवस्थित एवं रणनीतिक सोच राख्न, मोडलिङ (प्रतिरुपण) गर्न र तर्कका लागि विकास भएको हुन्छ । त्यसैले पुरुषको आवश्यकता पनि सोही मस्तिष्कअनुरुप हुन्छ । पुरुषहरु सम्बन्धमा यौन विविधता, निर्लिप्तता, साथी संगत, साथ आदि चाहन्छन् । मुख्यतः उनीहरु यौन र सम्मान चाहन्छन् । महिलाको मस्तिष्क भावनात्मक सोच राख्न, प्रेम र समानुभूति भाव राख्न विकास भएको हुन्छ । त्यसैले महिलाको आवश्यकता पनि सोही मस्तिष्क अनुरुप हुन्छ । महिलाहरु सम्बन्धमा सुरक्षा चाहन्छन् । सामाजिक र आर्थिक सुरक्षा अलावा मुख्यतः भावनात्मक सुरक्षा चाहन्छन् । त्यसैगरी प्रेम, नेतृत्व र गहिरो भावनात्मक घनिष्ठता चाहन्छन् ।

महिला र पुरुषको आवश्यकताहरु एक समान छैनन् भन्ने बारेमा दुईमत रहेन । यद्यपि महिला र पुरुष एकअर्काको आवश्यकता बुझ्न सक्दैनन् । महिलालाई निर्दयी, यौनप्रति आशक्त, अति कामुक पुरुष मन पर्दैन । उसको भनाइ हुन्छ, त्यो गलत हो । महिलाको दृष्टिकोणमा यो सही पनि हो । अर्कोतर्फ पुरुषलाई अति भावनामा बग्ने महिला मन पर्दैन । उसको भनाइ हुन्छ, महिलाहरु अति नै भावनात्मक हुन्छन्, जटिल स्वभावका हुन्छन्, आशक्त हुन्छन् र तर्कसंगत हुँदैनन् । पुरुषको दृष्टिकोणमा यो पनि सही हो ।

पुरुष अटिस्टिक (अत्यधिक तर्कसंगत), निर्दयी र निर्लिप्त भएकै कारण युद्धमा होमिन सक्छ । समस्या समाधान लगायत निर्माण कार्यमा संलग्न हुन सक्छ । त्यसैले त्यस्ता पुरुषको अनावश्यक आलोचना गर्नु उपयुक्त होइन । महिला भावनात्मक भएकै कारण बच्चालाई असल अभिभावकत्व दिन सक्छे । बच्चालाई शर्तहीन प्रेम र साथ चाहिन्छ न कि तर्क गणित । यो महिलाबाट प्राप्त हुन्छ न कि पुरुषबाट । बच्चाले शर्तहीन प्रेम पाएन भने कस्तो परिस्थिति सिर्जना हुन्छ भन्ने बुझ्न बाँदरमा गरिएको एउटा अध्ययनबाट बुझ्न सकिन्छ । त्यस अध्ययनमा बाँदरको बच्चालाई आमाबाट अलग गरेर छुट्टै पिंजडामा राखियो । त्यो बाँदरको बच्चा आमाको प्रेम र स्नेह बिना हुर्कियो । त्यो बच्चा पछि दुष्क्रियाशील, विषाक्त व्यक्तित्वको, डरपोक र अरु बाँदरसँग अन्तरक्रिया गर्न नसक्ने भयो । यसबाट आमाको शक्ति र महत्व बुझ्न सकिन्छ । त्यसैले महिला अति भावनात्मक भनेर आलोचना गर्नु मुर्खता हो ।

त्यसैगरी पुरुष समस्याको समाधान चाहन्छ न कि भावनात्मक सहायता । महिलाहरु ठीक विपरीत हुन्छन् । उनीहरु भावनात्मक सहायता चाहन्छन् न कि समस्या समाधान ।

मानौँ तपाईं महिला हुनुहुन्छ र तपाईंको पुरुष साथी अथवा श्रीमान् कुनै समस्यामा फँसेको छ । यस्तोमा तपाईंको पुरुष साथी अथवा श्रीमान् एकान्तमा बस्न रुचाउँछ । यस्तोमा तपाईं महिला साथी वा श्रीमती भएको नाताले सबै कुरा ठीक हुने भन्दै भावनात्मक सहायता दिन थाल्नुभयो भने तपाईंको पुरुष साथी अथवा श्रीमान् तपाईंप्रति झन् नकारात्मक हुन्छ । तर तपाईंले उसलाई एकान्तमा बसेर समस्या समाधान गर्ने वातावरण दिनु भयो र समस्या समाधानपछि ऊ तपाईंप्रति झन् धेरै सकारात्मक हुन्छ । अब मानौँ तपाईं पुरुष हुनुहुन्छ र तपाईंको महिला अथवा श्रीमती कामबाट निराश मुद्रामा आइन् । यस्तोमा तपाईं महिला साथी वा श्रीमतीलाई समस्या समाधानका सुझाव दिनुभयो भने उनी तपाईंप्रति नकारात्मक हुन्छिन् । तर तपाईंले महिला साथी वा श्रीमतीको कुरा सुनिदिनु भयो, भावना बुझ्ने कोसिस गर्नुभयो भने उनी तपाईंप्रति सकारात्मक हुन्छिन् । समस्या समाधान हुनैपर्छ भन्ने छैन ।

यी सम्पूर्ण विश्लेषणअनुसार विपरीत लिंगीलाई आफ्नो व्यक्तिगत दृष्टिकोणबाट भन्दा पनि उनकै दृष्टिकोणबाट बुझ्न सक्नुपर्छ । यसको अर्थ विपरीत लिंगीको स्थानमा रहेर अनुभूत गर्न सक्नुपर्छ र अनावश्यक आलोचना गर्नु हुँदैन भन्ने हो ।

महिला र पुरुष मनोविज्ञानको फ्यूजन कसरी गर्ने?
लैङ्गिक विविधता वास्तविकता हो । हामी हरेक महिला र पुरुष शारीरिक, जैविक, मनोवैज्ञानिक र आनुवांशिक रुपमा फरकफरक छौँ भन्ने तथ्य स्थापित भइसकेको छ । त्यसैगरी हामीले जीवनप्रति फरकफरक प्राथमिकता, अभिविन्यास र मनोवृत्ति राखेका हुन्छौँ । त्यसैले विपरीत लिंगीप्रतिको सम्बन्ध सुमधुर बनाउन महिला र पुरुष मनोविज्ञानको फ्यूजन (एकीकृत) गर्नुको विकल्प छैन । यसका लागि निम्न विधि अवलम्बन गर्न सकिन्छः

(क) लैङ्गिक विविधताप्रतिको प्रतिरोध हटाउनेः प्रायः मानिसहरु लैङ्गिक विविधता देख्न सक्दैनन् । विपरीत लिंगीको ठाउँमा रहेर सोच्ने गर्दैनन् । आफ्नो व्यक्तिगत दृष्टिकोण, मनोविज्ञान, मनोवृत्ति र आवश्यकता मात्र उचित र अरुको अनुचित देख्छन् । यस्तोमा सम्बन्ध मजबुत हुन सक्दैन । त्यसैले लैङ्गिक विविधताप्रति समानुभूति भावना राख्नोस् र प्रतिरोध हटाउने कोसिस गर्नोस् ।

(ख) लैङ्गिक विविधता स्वीकृत गर्नेः महिला र पुरुषबीच मन मिलेर सम्बन्ध स्थापित भए पनि त्यहाँ धेरै विविधता हुन्छन् नै । ती विविधता समयक्रम सँगै उजागर हुँदै जान्छ । अब तपाईं जीवनसाथी आफूभन्दा बिल्कुलै फरक रहेछ भनेर आलोचना गर्नुभयो, अस्वीकृति जनाउनु भयो भने त्यो सम्बन्धका लागि हानिकारक हुन सक्छ । त्यसैले लैङ्गिक विविधतालाई अस्वभाविक रुपमा चित्रण नगर्नोस् । पूर्ण रुपमा स्वीकृत गर्नोस् ।

(ग) लैङ्गिक विविधता एकिकृत गर्नेः कोही मानिस पुरुष मनोविज्ञानका हुन्छन् भने कोही महिला मनोविज्ञानका । र, कोही भने मध्यस्थ हुन्छन् । भनाइको मतलब पुरुष र महिलाको समान व्यवहार देखिनु । यस्तोमा तपाईं कुनै एउटा मनोविज्ञानलाई मात्र प्राथमिकता दिनुहुन्छ भने सम्बन्ध लामो टिक्दैन । यदि तपाईंमा अत्यधिक महिला मनोविज्ञान छ भने पुरुष मनोविज्ञान समायोजन गर्ने गर्नोस् । त्यसैगरी अत्यधिक पुरुष मनोविज्ञान छ भने महिला मनोविज्ञान समायोजन गर्ने गर्नोस् । संक्षेपमा भन्नुपर्दा, लैङ्गिक विविधता एकीकृत गर्नोस् ।

(घ) लैङ्गिक विविधता प्रशंसा गर्नेः सम्बन्धमा रहेपछि लैङ्गिक विविधताको उचित सम्मान र प्रशंसा गर्न जान्नुपर्छ । मानौँ तपाईं अत्यधिक तर्कसंगत हुनुहुन्छ तर तपाईंको जीवनसाथी अत्यधिक भावनात्मक छिन् । मानौँ तपाईं कुनै समस्यामा फँस्नु भयो । यस्तोमा उसले तपाईंको भावना र इच्छा सजिलै बुझ्न सक्छिन् । मानौँ उसले समस्या समाधानका लागि उपयुक्त वातावरण दिइन् जसकारण समस्या पनि समाधान भयो । जब तपाईंका यस्ता इच्छा र आकांक्षा पूरा हुन्छन्, उसको प्रशंसा गर्नोस् । समग्रमा भन्नुपर्दा, एकअर्काको लैङ्गिक विविधता बुझ्न, त्यसको उचित प्रशंसा गर्न र त्यसैमा सन्तुष्ट रहन विशेष जोड दिनुहोस् ।

प्रकाशित: २ वैशाख २०७७ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App