२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

तलब विनाको जागिर

तस्बिर : कृष्पा श्रेष्ठ

दीक्षितहरूमा मणि जोडिएको खलक नेपाली समाजमा आफ्नो स्थान राख्दै आएका छन् । राणाकालीन समयमा उनीहरू राज पुरोहितको भूमिकामा थिए । नियमित सिंहदरबारमा चाकडी गर्न जानुपर्ने राजनीतिक सामाजिक संस्कार थियो र उनीहरुको बसोबास  गैरी गाउँ थियो । चन्द्र शमशेरका कान्छा छोरा मदन शमशेरको दरबार भने पाटनको पुल्चोक नजिक बन्यो— श्रीदरबार । मदनको चाकरीमा केदारमणि दीक्षित थिए । पछि गएर केदारमणि मदनको पर्सनल सेक्रेटरीको भूमिमा रह्यो ।  मदनको दरबार आसपासको नाम श्रीदरबार टोल भनेर चिनिन्छ अहिले । डा. सुन्दरको आवास पनि त्यहीँ छ ।  नियमित जाँच गर्ने क्लिनिक पनि त्यहीँ छ ।

बाबु केदारमणि दीक्षितले श्रीदरबारमा चाकडी गर्न नजिक र सजिलो होस् भन्ने उद्देश्यले  सन् १९३० को दशकमा अहिलेको हिमालय होटलनजिकै घर किने । त्यहीँ बसोबासकै क्रममा सुन्दरमणिको जन्म भयो । उनकै शब्दमा ‘म सन् १९४१ को डिसेम्बर २१ मा जन्मिएको हुँ ।’ यस अर्थमा दीक्षितले  ७८ वर्ष पार गरिसकेका छन् । असी हाराहारीको पौढ वयमा पनि सुन्दरको सक्रियता लोभलाग्दो छ । एक किसिमको नियमित जीवन सूत्रमा सक्रिय छन् उनी ।

नियमबद्ध दैनिकी
एकातिर राणा दरबारभित्रै खाइखेली हुर्किएको बालापन अर्कोतिर जिन्दावाद आयो परिवर्तनकारी राजनीति दुवै भोगेका सुन्दरमणि राणाहरुको सत्ता जगजगी, प्रजातन्त्रको उदय, पञ्चायतको स्थापना र सञ्चालन, प्रजातन्त्रको पुनस्र्थापना अनि गणतन्त्रको यात्राका साक्षी हुन् । ७ दशक यताको मुलुकको राजनीतिक जीवनका आरोह, अवरोहलाई नजिकबाट नियाल्ने, विश्लेषण गर्ने आफ्नो तर्फबाट नेपाली समाज, नेपाल र  लोकतन्त्रका निम्ति समर्पित गरिरहेको बताउने डा. दीक्षितको जीवन सूत्र भनेको नियमितता हो । हरेक कुुरामा नियमको पूर्ण पालनामा उनी चलेका छन् । पेशाले चिकित्सक फिजिसियन दीक्षित दैनिक आठजना मात्र बिरामी जाँच्छन् । त्यो पनि पहिल्यै नाम टिपाएर पालो लिएकाहरु मात्र । जाँचेको फी दुई सय मात्र । पाँच दशक अघि प्रत्येक बिरामीबाट १० रुपैयाँ शुल्क लिएर चलेको उनको क्लिनिकको शुल्क समयक्रममा बढ्दै बढ्दै अहिले दुई सय पुगेको हो ।

साँझ ७ बजे आसपास अर्थात् सूर्यास्तको केही समयपछि सुत्ने यी डाक्टर ब्रह्ममुहूर्त अर्थात् बिहानको २ बजे उठिसकेका हुन्छन् । नुहाइधुवाइँ गरेर पूजाआजा सकेर मर्निङवाकमा निस्कने वा व्यायाम गर्ने एउटा निश्चित समय छ, त्यो भनेको करिब ३ बजे । भगवान् शिव र साइबाबाको आराधना गर्ने उनको तीन दशकदेखिको निममितता हो । ‘शिवजीको पूजा हाम्रो पुर्खौली चलन हो, साइबाबाको बेग्लै मन्दिर छ, दुवै मन्दिरमा पूजा हुन्छ, पहिला श्रीमतीले पूजा गर्छिन्, त्यसपछि म ध्यान र जप गर्छु  ।’ त्यसपछि चिया र बिस्कुट खाएर उनी तयार हुन्छन् ।

३ बजेर १० मिनेटसम्ममा उनी कोठाबाट निस्कन्छन् । एकदिन मर्निङवाक, अर्को दिन घरको तल्लोतलामा रहेको व्यायामशाला । मर्निङवाकमा ललितपुरका विभिन्न क्षेत्र चाहार्दै, दैनिक ५, ७ किलोमिटरको पैदल हुन्छ उनको । शनिबार भने पाटनढोकादेखि पशुपति र गुह्येश्वरी सम्मको पैदलयात्रा हुन्छ । मर्निङवाक वा व्यायामपछि अध्ययन गर्छन् । बह्ममुहूर्तमा सक्रिय हुनलाई उनी आध्यात्मिक यात्रा भन्न रुचाउँछन् । ‘भगवान्को ध्यान गर्ने, देशका बारेमा चिन्ता गर्ने उपयुक्त बेला हो यो,’ सुन्दरमणि भन्छन्, ‘माथिबाट सप्तऋषिले हेरिरहेका हुन्छन्, देवतासँग समिप हुने समय हो यो ।’

क्लिनिक कक्षकै आडमा सानो अध्ययन कक्ष छ, मेडिकल जर्नल, मेडिकल पुस्तकहरुले भरिभराउ । बिहान उनी त्यही कक्षमा हुन्छन्, नजिकैबाट बजिरहने संगितका ध्वनि सुन्दै ।  मौसमअनुसारका पहिरनका साथ हातमा टर्च लाइट र लठ्ठी पनि हुन्छ नै । ‘मानिसहरु त यदाकदा मात्र भेटिन्छन, जताततै भेटिने सहरका कुकुर हुन्,’ दीक्षित भन्छन्, ‘धेरै जसो कुुकुरले चिनिसकेका छन्, कतिपय नजिकेकाहरु भुक्छन् मात्र, कुनै  भुक्तै नजिकै आउँछन्, कुनै दाह्रा खियाउँदै आउँछन्, कतिपयलाई लठ्ठीका सहायतार कतिलाई त ढुंगा पनि हान्नुपर्ने हुन्छ ।’ पाटन श्रीदरबार टोलबाट बिहान निस्किएर ललितपुरका पुराना नयाँ बस्तीहरू छिचोल्दै निवास फर्कन्छन् ।

कांग्रेसका मोहता ठूला
डा. सुन्दरमणि दीक्षित नेपालमा सक्रिय राणातन्त्रको अन्त्य हुने र प्रजातन्त्रको उदय हुने संक्रमणकालीन समयमा जन्मिएका हुन् । उनी ८, ९  वर्षको उमेर हुँदा नेपालमा प्रजातन्त्रका निम्ति आन्दोलन भएको हो । उनको घर नजिकै भएर नख्खु जेलमा आन्दोलनकारीहरु लग्दथ्यो, प्रहरीले । आन्दोलनकारीहरु आउजाउ गर्दा जिन्दावाद, मूर्दावादका नारा घन्किन्थे, जसलाई उनी केटाकेटीहरू जिन्दावाद आयो भनेर चिन्दथे । ‘जिन्दावाद आयो भन्दै हामी दौडिएर जिन्दावाद, मूर्दावाद भनेको सुन्न घरबाट निस्कन्थ्योैं,’ दीक्षित भन्छन्, ‘उल्लासमय समय थियो त्यो, एउटा ठूलो परिवर्तनको युग हो ।’

सुन्दरमणिको बाल्यकालमा नेपालको राजनीतिमा ठूलो अर्थ रहन्थ्यो कांग्रेस हुनुमा । काठमाडौंका धेरै मानिस भित्रभित्रै कांग्रेस पार्टीमा आबद्ध थिए । खुलेर कोही कांग्रेस भन्न नसक्ने समयमा कांग्रेसहरुले एक आपसमा चिन्ने एउटा जुत्ति निकालेका थिए । त्यो भनेको सुरुवातको मोहता फराकिलो । ‘कमिज सुरुवाल, दौरा सुरुवाल लगाउने चलन थियो, सबै जना त्यस्तै लुगा लगाउँथे,’ सुन्दरमणि भन्छन्, ‘कांग्रेसीहरुको सुरुवालको मोहता भने फराकिलो हुन्थ्यो, धेरैले सुलत्त परेको सुरुवाल लगाउँथे’ सुन्दरमणि भन्छन्, ‘कांग्रेसहरुले आफ्ना मान्छे सुरुवालको मोहता हेरेर थाहा पाउँथे ।’

बाल्यकाल
सुन्दरमणिको नाम रानी जगदम्बाले राखिदिएको उनी बताउँछन् । बाबु मदन शमशेरको निजी सचिव रहेको र घर नजिकै भएकोले सुन्दरमणि श्रीदरबारमै खेल्ने कुद्ने गर्दथे । ‘म बुबासँग दरबार गइरहेको हुन्थँे,’ उहाँहरुकै सामुन्ने खेलकुद भैरहन्थ्यो, भारत बलरामपुरकी हिन्दू संस्कारमा हुर्किएकी जगदम्बाले मेरो नाम सुन्दर राखिदिएकी हुन् ।’ दीक्षित भन्छन्, ‘रानी जगदम्बा जसले जगदम्बा गुठी स्थापना गरेकी हुन्, मदन मेमोरियल स्कुल खोलेकी हुन्, आठराइमा जसले खानेपानीको व्यवस्था गरेकी हुन्, जसले कलकत्ता मेडिकल साइन्समा नेपालीहरुका लागि सिट राखेकी हुन्, तिनै जगदम्बाले मेरो नाम सुन्दर राखिदिएकी हुन् ।’ कलकत्ता मेडिकल कलेजबाट अहिलेसम्म दुई सय बढीले एमबिबिएस गरिसकेको उनी बताउँछिन् । सुन्दरमणिका अनुसार जगदम्बा गुठीले त्यहाँ पढ्न पठाउने व्यवस्था मिलाउँछ ।

सुन्दरको प्रारभ्मिक शिक्षा श्रीदरबारमै भयो । मदन शमशेरका ल्याइते तर्फका छोराछोरी जसलाई सार्वजनिक जीवनमा आउन दिइन्नथ्यो, उनीहरुसँगै शिक्षा आर्जन भएको सुन्दरको कथन छ । ‘जमानै त्यस्तै थियो, ल्याइते तर्फका छोराछोरी बाहिर देखाउन नहुने भएकोले दरबारभित्रै हुर्कन्थे, बढ्दथे, मदन शमशेरका तीनजना त्यस्तै छोराछोरीसँग प्रारम्भिक शिक्षा पाएको हुँ’ सुन्दरमणि भन्छन्, ‘पुतली बगैंचामा एउटा सानो गुम्बज जस्तो थियो, त्यहीँ हाम्रो पढाइ हुन्थ्यो ।’ सुन्दरमणिको प्रारम्भिक शिक्षादेखि डाक्टरीको एमडीसम्मको अध्ययन र अध्ययन पछिसम्म पनि रानी जगदम्बाको योगदान रहेको सुन्दरमणि बताउँछन् । मुलुकमा प्रजातन्त्रको लहर चलिरहेको बेला दरबारका चार दिवारभित्र राजाका ल्याइते सन्तानसँग अध्ययन गरिरहेका उनी आफ्नै जिद्दीका कारण श्रीदरबारबाट दार्जिलिङ, नैनिताल, कलकत्तासम्मको स्कुल शिक्षा आर्जन गरेका हुन् ।

टर्निङ प्वाइन्ट : शिक्षाको जग
सुन्दरमणिको बाल्यकालको एउटा पारिवारिक घटना नै उनको जीवनको टर्निङ प्वाइन्ट बनेको देखिन्छ । बाबु केदारमणिको काका पर्ने डाक्टर सिद्धिमणि आचार्य दीक्षित त्यसबेलाका राजधानीका कहलिएका डाक्टर थिए ।  उनका छोरा हेमाङ्ग दीक्षितले भारतमा डाक्टरी अध्ययन गरिरहेका थिए । पढाइको क्रममा नेपाल फर्कनेक्रममा थानकोटसम्म लिन जाने चलन थियो त्यसबेला । सिद्धिमणिले छोरा लिन जाँदा  भतिजा पर्ने केदारमणिलाई पनि सँगै जान भनेका थिए । तर, केदारमणिकी पत्नी विद्यादेवीले बाबुसँगै छोरा सुन्दर पनि जाओस् भन्दै साथ लगाइदिइन् । ‘आमाको चाहना हुनसक्छ, छोराले पनि देखोस्सिकोस् भन्ने उद्देश्यले त्यहाँ पठाउनुभयो, उहाँ निकै समझदार हुनुहुन्थ्यो,’ सुन्दरमणि भन्छन्, ‘थानकोटमा हेमाङ्गलाई भेटेपछि मलाई पनि त्यस्तै हुन मन लाग्यो, मैले घरमा आएर जिद्दी पो गरेँछु ।’

घरमा आएर पढन जिद्दी गरेको ‘भइगयो त म मुर्र्ख भएर बस्छु’ भन्ने जस्ता धम्की दिएको प्रसङ्ग सुुनाउँदै सुन्दर भन्छन्, ‘मैले जिद्दी गर्दै र मुर्ख भएर नबस्ने भनेपछि आमाको मनले थामेन र उहाँले घर बेचेर भए पनि छोरालाई पढाउने निधो गर्नु भएको रहेछ ।’ सुन्दरमणिका अनुसार आमाले चाकरीबाट फर्किएका बालाई  बेलुका आफ्नो योजना सुनाउनु भएछ, बाले भोलिपल्ट राजा मदनमा घरायसी कुरा जाहेर गर्दा एउटा नयाँ र सुखद् निर्णय आएको हो ।’ मदन शमशेरले केदारमणिको जाहेरी पछि ‘ठिक छ, त्यसो हो भने मेरा २ जनालाई पनि बाहिर पठाइ दिऔं, सुन्दर पनि सँगै गएर पढ्छन्’ भन्ने आदेश भयो । मुलुकमा प्रजातन्त्र आइसकेको थियो, राणा शासनको अन्त्य भइसकेको थियो । नयाँ राजनीतिक सामाजिक परिस्थितिमा मदनले आफ्ना ल्याइतेतर्फका छोराछोरी गोपाल र  प्रीति अनि केदारमणि पुत्र सुन्दरलाई दार्जिलिङ पठाए, आफ्नै खर्चमा ।

‘हामीसँग पैसा थिएन, बाहिर गएर पढ्ने, बुबा जागिरे मात्र हुनुन्थ्यो, त्यसले बाहिर पढ्न पठाउन पुग्दैनथ्यो,’ सुन्दर भन्छन्, ‘तर राजा मदनकै सहयोगमा हामी तिनै जनाले दार्जिलिङको माउण्ट हर्मन स्कुलमा पढ्यौँ ।’ दार्जिलिङ अध्ययनका क्रममा  मदनका ल्याइतेतर्फका गोपाल र प्रीतिले राणा लेख्न पाएका थिएनन् । उनीहरु पनि दीक्षित भनेर पढ्दै थिए । पछि राजनीतिक परिवर्तन भयो केदारमणिकै आग्रहमा उनीहरुको नामको पछाडि राणा लेखिएको सुुन्दरमणि बताउँछन् । ‘भारतमा त्यसरी जात फेर्नुपर्दा स्थानीय पत्रपत्रिकामा सूचना निकाल्नु पर्ने रहेछ, गोपाल र प्रीतिको पनि दीक्षित होइन राणा हुन् भन्ने सूचना निस्कियो र उनीहरुको नामको पछाडि राणा लेख्ने व्यवस्था भयो,’ सुन्दर भन्छन्, ‘यो काम सायद सन् १९५०, ५१ मा भएको हुनुपर्दछ, त्यसपछि हामीले नैनीतालको सेन्ट जोजन स्कुलमा कक्षा ४ देखि ९ सम्म पढ्यौँ ।’ प्रीतिको काठमाडौंकै शाह खलकसँग विवाह भएको र गोपाल विवाह नगरी कलकत्तामै बसेको प्रारम्भिक जानकारी बाहेक अरु भेटघाट तथा जानकारी नभएको सुन्दरमणिको कथन छ । सुन्दरले नैनीतालबाट ९ कक्षामा क्याम्ब्रिज परीक्षा पास गरेर, कलकत्ताको सेन्ट जेभियर्स कलेजबाट आइएससी गरेका हुन् ।

आइएससी गरेका सुन्दरको डाक्टरी पढ्नका लागि रानी जगदम्बाले कलकत्ताको कलकत्ता मेडिकल कलेजमा सिट सुरक्षित थियो । ‘म रानी जगदम्बाको सिटमा डाक्टरी पढ्ने पहिलो नेपाली हुँ,’ सुन्दरमणिले भने । त्यहाँबाट ४ वर्षसम्म एमबिबीएस र एक वर्षको इन्टर्नसिप गरेपछि सुन्दरमणि बम्बईको केइएम हस्पिटलमा एमडी गर्ने अवसर पाए । त्यो पनि रानी जगदम्बाको सिटमा । एमडी गरेपछि सन् १९६९ मा नेपाल फर्किएका सुन्दरमणि त्यसपछिका ५० वर्ष नेपालमै चिकित्सकीय सेवा प्रदान गरिरहेका छन् । सुन्दरमणि भन्छन्, ‘सबै प्रक्रिया पूरा गरेर एमडीको प्रमाणपत्र लिने म नै पहिलो नेपाली हुँ ।’  

बिन्तिपत्रले जागिर, पैसाविनाको सेवा
सन् १९६९ मा बम्बईको केइएम हस्पिटलबाट एमडीको कोर्स सकेपछि सुन्दरमणि सोझै नेपाल आए । त्यसबेला राजधानीका अस्पतालहरुमा वीर अस्पताल, बेलायती सरकारले चलाएको मिसन अस्पताल शान्त भवन, सेनाको अस्पताल र टेकुस्थित सरुवा रोग अस्पताल थिए । त्यसबेलाको समय अनुसार राजामा बिन्ती चढाएर जागिर खाने चलन थियो । सुन्दरमणिले राजा महेन्द्रमा ‘देश र नरेशको सेवा गर्ने अवसर पाऊँ’ भन्दै दरबारमा बिन्ती पत्र चढाए । बिन्ती पत्र तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विस्ट, स्वास्थ्य मन्त्रालय हुँदै वीर अस्पताल पुग्यो । डा. मृगेन्द्रराज पाण्डेलाई एसिसटेन्स चाहिएको थियो, सुन्दरमणि यसरी वीर अस्पताल प्रवेश गरे । ‘त्यसबेला हाम्रो परिवारको चलन पनि त्यस्तै थियो, परिवारका कसैले सरकारी जागिर खाएका थिएनन्,’ सुन्दरमणि भन्छन्, ‘कति तलब न त त्यो उनले मागेका थिए, न दरबारबाट नै उल्लेख भएर आयो । जागिर त थियो, पैसाविनाको ।’ यसैगरी उनी २५ वर्षसम्म वीर अस्पतालमा सक्रिय भइरहे, फिजिसियनको रुपमा ।

सुन्दरमणिको प्रारम्भिक काल त्यसबेलाका वीर अस्पतालमा मृगेन्द्रराज पाण्डे, सच्चेकुमार पहाडी, अन्जनीकुमार शर्र्मा  लगायतकासँग बित्यो ।  पछि उनीहरु नेपालमा कहलिएका डाक्टर भए । त्यहाँ उनी रमाएरै काम गर्दथे । त्यसबेलाको राजधानीको समाज मध्यमवर्ग, उच्च मध्यमवर्गको रोजाइ वीर अस्पतालभन्दा विदेशीले खोलेको भन्दै शान्त भवन हुन्थ्यो । ‘बिस्तारै वीर अस्पतालले आफ्नो इज्जत बढाउँदै लग्यो, बिरामीहरू निकै आउन थाले,’ सुन्दरमणि भन्छन्, ‘म एक्लैले एकजना सहयोगीको साथ लिएर एक दिनमा २५० जनासम्म बिरामी जाँचेको छु ओपिडीमा ।’

नेपालबाट हुनेखानेहरु लखनउ, पटना र कलकत्ता जस्ता भारतीय सहरमा उपचार गर्न जाने चलन रहेको उनी बताउँछन् । सन् १९७० को दशकमा पेशामा प्रवेश गरेका सुन्दरमणिको अनुभवमा समाज र सामाजिक परिवर्तनसँगै रोगहरु पनि थपिँदै गएका छन् । पहिला पहिला ज्वरो, रुघाखोकी, जण्डिस, डायरिया, कलेजोका रोग, टिबिजस्ता बिरामी आउने गरेको बताउँदै उनी भन्छन्, ‘अहिलेका ब्लड प्रेसर, किड्नी, मुटु, डाइबिटिज, थाइराइडजस्ता रोग निकै कम थिए ।’

नेपाली समाजमा युवा उमेरको ठूलो जनसंख्या मुलुकबाहिर भएकोले सामाजिक र स्वास्थ्य समस्या चुनौती बनेको सुन्दरमणिको बुझाइ छ । ‘विवाह गरेका धेरैका श्रीमान् साथमा छैनन्, कतिपयका श्रीमती सँगै छन्, यो स्वाभाविक अवस्था होइन,’ सुन्दरमणि भन्छन्, ‘युवा अवस्थामा बायोलोजिकल आवश्यकता उच्च हुन्छ, कि त्यो आवश्यकता दबाउनु पर्दछ, कि त्यसको निकास दिनुपर्दछ, होइन भने त्यसले अरु मानसिक, शारीरिक समस्या ल्याउँछ । त्यस्ता समस्या देखिइरहेका छन् ।’

वीर अस्पतालमा तलबविनाको जागिर खाए पनि उनमा एक किसिमको समर्पण देखिन्छ । त्यहीँबाट समाजमा इज्जत कमाउँदै गएको उनी बताउँछन् । ‘वीर अस्पतालमा काम गर्दै गर्दा मेरो पद भने घट्दै गयो, नयाँ नयाँ डाक्टर स्वास्थ्य मन्त्रालयबाट आउँथे र मभन्दा माथिल्लो पदमा हुन्थे, म त तलतल झर्दै जान्थेँ, मृगेन्द्रकुमार प्रमुख हुँदा, त्यसपछि सच्चेकुमार पहाडी र तेस्रो नम्बरमा म थिएँ,’ ५० वर्ष अघिको लेखो गर्दै सुन्दरमणि भन्छन्, ‘समाजमा मेरो इज्जत बढ्दै बढ्दै गएको थियो, मैले काम गर्ने अवसर पाएँ ।’ २०३६ सालको जनमतसंग्रहमा उनी बहुदलवादीको भूमिकामा पनि सक्रिय थिए । बिपी कोइरालाका चिकित्सकको भूमिका छँदै थियो, अस्पतालको सेवा छँदै थियो तर राजनीतिक दौडधुप पनि उत्तिकै कायम थियो उनमा ।

जनमत संग्रहको दिन आफ्नो गाडीमा भोट हाल्ने मानिस राखेर भक्तपुरदेखि चोभारसम्म दौडिएको र बहुदलको पक्षमा धाँधली गरेको प्रसङ्ग सुनाए उनले । ‘म र डा. मदन उपाध्यायले धाँधली गर्दै हिँडेका थियाैं,’ सुन्दरमणि भन्छन्, ‘जनमत संग्रहको भोलिपल्ट बिपीलाई यसो गर्‍यौँ उसो गर्‍यौँ भनेर सुनाएको थिएँ । बिपीले त त्यस्तो कहिल्यै गर्नुहुँदैन, त्यस्तो जित जित नै होइन भन्नुभयो ।’ जनमत संग्रह भइसकेको भए पनि परिणाम नआएको अवस्थामा बिपीको भनाइबाट आफू लज्जित भएको उनी बताउँछन् । ‘मैले त स्याबास पाइन्छ भनेर धाँधली गरेको कुरा सुनाएको थिएँ,’ सुन्दरमणि भन्छन्, ‘उहाँले त त्यस्तो गर्नुहुँदैन पो भन्नुभयो, कस्तो आदर्श ।’

वीर अस्पतालमा राजनीति
वीर अस्पतालका बहुदलवादी राजनीतिको परिचय बनाएका सुन्दरमणि २०४६ को जनआन्दोलन सुरु हुने बेलामा राजीनामा दिएरै बसेका थिए । आन्दोलन सफल भएपछि स्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठ भए । सँगै काम गरेका मथुराको आग्रहमा उनको जागिर पुनस्र्थापित भयो । तर त्यसपछिको जननिर्वाचित सरकारको समयमा भने उनी कोपभाजनमा परेको बताउँछन् । ‘ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र स्वास्थ्यमन्त्रीको बुझाइमा म एमाले समर्थक थिएँ, तर म त्यस्तो थिइनँ,’ सुन्दरमणि भन्छन् ‘ गिरिजाप्रसादमा रातो त गुलाबी पनि देख्न नसक्ने थिए, भने रामवरण उनको अनुयायी मलाई वीरबाट खेद्ने काम भयो, गणेशमान र किसुनजीको नहटाउने आदेशको विपरीत ।’ सुन्दरमणिको बुझाइमा त्यसबेला वीर अस्पताल आन्दोलनको केन्द्र थियो भने दिव्येश्वरी मल्ल प्रसूति गृहकी प्रमुख थिइन् । दरबारसँगको नाता पर्ने उनमा आन्दोलन दबाउने भूमिका थिएन । ‘उनै दिव्येश्वरीलाई वीरको प्रमुख बनाउने भएपछि म लगायतका डाक्टरहरुले छोडेका हौँ,’ सुन्दरमणि भन्छन्, ‘आन्दोलन दबाउनेलाई पुरस्कृत गरेपछि बस्ने कुरा पनि भएन ।’

आमाको करबलमा क्लिनिक
वीर अस्पतालमा जागिर खाएको भए पनि सुन्दरमणिको मासिक तलब आउँदैनथ्यो । घरपरिवारमा भने डाक्टर भएको छोराको कमाइको अपेक्षा हुने नै भयो । आमा रेवादेवी अझ बढी चिन्तित थिइन, नेपालमै र भारतका विभिन्न ठाउँमा नाम चलेका डाक्टरहरुको कमाइबारे जाने बुझेकी उनले छोराले पनि क्लिनिक खोलोस् भन्ने चाहना राखिन् । खान लाउन पुगेकै छ, मासिक ३५० देखि ५०० सय भक्ता रानी जगदम्बाले उपलब्ध गराइरहेको अवस्थामा आफू त्यति धेरै उत्साहका साथ क्लिनिक खोल्न आतुर थिएनन् । तर, आमाले आफैँ चाँजोपाँजो मिलाइदिएको उनी बताउँछन् ।  ‘आमाको जोडबलले क्लिनिक खोलेको हुँ,’ सुन्दरमणि भन्छन्, ‘तेरी स्वास्नी पनि अब मैले पाल्नुपर्ने भन्दै आमाले सबै व्यवस्था मिलाउनु भएको हो ।’ श्रीदरबारको एउटा पुरानो भान्सा कोठा क्लिनिकका लागि तयार भयो ।

पाटनढोकाको श्रीदरबारको एउटा कुनामा रहेको क्लिनिकमा बिरामी सजिलै आइहाल्ने अवस्था थिएन, आज भन्दा ५० वर्ष अघिको समयमा । उनका अनुसार पाटन ढोकाबाट एउटा मात्र दीपक बस चल्ने गर्दथ्यो । सुनसान ठाउँमा बिरामीको जोहो गर्ने काम पनि आमा रेवादेवीले नै गरेकी थिइन् । मदन पुरस्कार गुठीमा कर्मचारी थिए, साहित्यकार वासुदेव लुइँटेल । उनै लुइँटेल सुन्दरमणिका पहिलो बिरामी ग्राहक बन्न पुगे । लुइँटेलले जाँचेबापत १० रुपैयाँ फी दिएका थिए । ‘सायद त्यो पैसा पनि आमाले नै व्यवस्था मिलाएको को पो हो कि’ सुन्दरमणि भन्छन्, ‘त्यो दस रुपैयाँको नोट मैले अहिलेसम्म पनि राखेको छु ।’ सहरमा नाम चलेका डाक्टरहरुको फी १५ रुपैयाँ थियो त्यसबेला । सुन्दरमणिले १० रुपैयाँ मात्र राख्ने निर्णय लिए । टाढा एकान्त ठाउँमा क्लिनिक खोलेका उनले त्यसैबेला निमय बसाले । उनले समय लिएर आउने निश्चित संख्या मात्र जाँच्ने गर्थे । डाक्टरहरुको क्लिनिकमा बिरामीहरू पु¥याउने, बिरामीहरुलाई कसको क्लिनिक कहाँ छ भन्ने जस्तो जानकारी अस्पतालका कम्पाउण्डरहरुले दिने चलन रहेको उनी बताउँछन् । कम्पाउण्डरहरुबीच डा. बाजेको परिचय कमाएका सुन्दरमणिका लागि बिरामी जुटाउन सहज थिएन, नयाँ डाक्टर अनि टाढाको बसाइ । ‘कतिपय कम्पाउण्डरहरुले त सहरमा कोठा भाडा लिन, जाँड रक्सी खाएर आधुनिक डाक्टर बन्न पनि सुझाएका थिए’ सुन्दरमणि भन्छन्, ‘मैले आफ्नो ठाउँ र नियम फेरिनँ ।’

दिनभर वीर अस्पताल र साँझमा क्लिनिक उनको दिनचर्या थियो । बिस्तारै बिरामीको चाप बढिरहेको अवस्थामा एकाएक क्लिनिक शुल्क ७ रुपैयाँ कायम गर्ने उर्दी आयो ।‘ राजा वीरेन्द्रको राज्याभिषेक पछिको पहिलो क्याबिनेट मिटिङले डाक्टरले निजी क्लिनिकमा ७ रुपैयाँभन्दा बढी लिन नहुने निर्देशन राजपत्रमा छापियो,’ सुन्दरमणि भन्छन्, ‘सायद राजालाई यसो गर्दा पपुलर भइन्छ भन्ने कसैले भनिदियो होला, मैले पनि ७ रुपैयाँ गर्नैपर्ने भयो ।’ सुन्दरमणिका लागि शुल्क घटाउन समस्या थिएन । तर अरु सहरका डाक्टरहरु कतिले क्लिनिक नै बन्द गरेको उनी सुनाउँछन् । श्री ५ को सरकारको आदेश उल्लंघन गर्नेमा मानसिक रोगका चिकित्सक विष्णुप्रसाद शर्मा थिए । उनी खुरुखुरु १५ रुपैयाँ असुल गरिहेका थिए । सुन्दरमणिका अनुसार कसैले दरबारमा उजुरी हालेछन् विष्णुप्रसादले नियम मानेका छैनन् भनेर ।

दरबारबाट स्वास्थ्य मन्त्रालयलाई आदेश आयो । त्यतिबेला स्वास्थ्यमन्त्री प्रयागराज सुवाल थिए । प्रयागराजले डा. विष्णुप्रसादलाई बोलाएर सोधीसोधी गरेको प्रसंगमा सुन्दरमणिको कथन यस्तो छ ‘ प्रयागराजले तपाईंले १५ रुपैयाँ फी लिँदै हुनुहुन्छ हो ?  प्रश्नमा विष्णुप्रसादले कसले भन्यो भन्न्ने प्रतिप्रश्न गर्छन् ।’  प्रयागराजले बिरामीको उजुरी परेको छ भन्ने जवाफ दिएपछि विष्णुप्रसादको उत्तर यस्तो थियो — डाक्टर साहेब मेरा बिरामी कस्ता हुन्छन् ? मानसिक रोगी, पागल अब पागलको कुरा पत्याउने ?’ मन्त्री नाजवाफ बने । डाक्टरले १५ रुपैयाँ लिँदै गरे । बिस्तारै अरु डाक्टरले पनि क्लिनिक खोलेर १५ रुपैयाँ लिन थालेको उनले बताए ।

बद्लिँदो जीवन शैलीमा बद्लिँदै रोग
बद्लिँदो जीवनशैलीका कारण अहिलेका मानिसमा मानसिक तनाव बढेको र मानसिक तनावबाट उत्पन्न हुने रोगहरु पनि बढिरहेको दीक्षितको अनुभव छ । ‘मानसिक तनाव बढेपछि सुगर बढ्छ, प्रेसर बढ्छ, थाइराइड बढ्छ, हर्ट एटयाक्ट हुन्छ, ग्यास्ट्रिक र अल्सर हुन्छ,’ सुन्दरमणि भन्छन्, ‘हाम्रै जीवन शैलीले धेरै रोग निम्त्याइरहेको छ । अहिलेको पुस्ता सबै करिअरको पछाडि छ, श्रीमान् पनि करिअरको पछाडि, श्रीमती पनि करिअरकै लागि सक्रिय, खानपिन र परिवारलाई समय दिने कुरा छैन ।’ हिजोको संयुक्त परिवारको रीतिथिति सबै परिवर्तन भएको र समाजमा ठूलो फेरबदल आएको उनी बताउँछन् । ‘अहिले जस्तो बुफे भोज कहाँ हुन्थ्यो र व्रतबन्ध गरेका बाहुनहरुले भोजमा जाँदा धोती फेरेर पिर्कामा लहरै बसेर खाना खानुपर्दथ्यो,’ सुन्दरमणि भन्छन्, ‘अहिलेकाको परिवारमा हिजोजस्ता केही पनि छैन, सबै खाले बन्धन टुटेका छन् ।’

यौवन कालमा नेपाली समाजमा ठूलाबडाप्रति आदर भाव रहने गरेको उल्लेख गर्दै सुन्दरमणि भन्छन्, ‘आदरभाव भन्ने कुरा सबै हरायो ।’ नेपाली समाज धर्मशास्त्रले सिकाएको संस्कारबाट टाढिएको उनको कथन छ । ‘हामीलाई धर्मशास्त्रले सिकाएका हुन् आचार्य देवो भवः, मातृ देव्यो भवः पितृ देव्यो भवः अतिथि देव्यो भवः’ सुन्दरमणि भन्छन्, ‘यस्ता संस्कार त विलकुलै लोप भए ।’ अहिले बच्चाहरुले आमाबाबुको माया, प्यार नपाइरहेको बताउँदै उनी भन्छन्, ‘यस्तै अवस्थाबाट गुज्रिएका बालबालिका कुलतमा लाग्ने, इन्टरनेटमा च्याट गरेर दिन बिताउने भएका हुन्।’  

बिरामी आफैँ समस्या : बिरामीको होइन रिपोर्टको उपचार
पाँच दशकदेखि बिरामीको सेवामा तल्लीन सुन्दरमणिका लागि आजकलका कतिपय बिरामी टाउको दुखाइ बनेका छन् । कारण, बिरामी आफैँ गुगलमा हेरेर, इन्टरनेटमा हेरेर आफूलाई के भएको छ, के गर्ने जस्ता समाधान लिएर आउँछन् । खरो स्वभावका डाक्टर भने यस्ता बिरामीका कुरा सुन्दैनन् । ‘गुगलमा त टाउको दुखेको कुरा खोज्यो भने ब्रेन ट्युमरसम्मको जानकारी दिन्छ, जानकारीको थुप्रो देखेर सन्चै भएको मानिस पनि बिरामी बन्न जान्छ,’ सुन्दरमणि भन्छन्, ‘५० वर्षदेखि अनुभव लिएको, ८, १० वर्ष अध्ययन गरेको कुरा नपत्याउने, चिन्दै नचिनेको, आफूले थाहै नपाएको गुगलको कुरा पत्याउने ।’ पहिले र अहिलेका बिरामीमा निकै फरक आएको उनको बुझाइ छ । ‘पहिला पहिला रोगीहरु आउँथे, औषधि उपचार गरेर निरोगी भएर  घर फर्कन्थे,’ सुन्दरमणि भन्छन्, ‘आजकल गुगल गरेर, होलबडी चेक गरेर निरोगीहरु आउँछन् आफैँ रोगी भएर जान्छन् ।’

‘कतिपय बिरामी आफैँ होलबडी चेक गरेर रिपोर्ट लिएर डाक्टरसँग आउँछन्,’ सुन्दरमणि भन्छन्, ‘डाक्टरहरुले त्यही रिपोर्टको औषधि लेखिदिन्छन, बिरामीको होइन, रिपोर्टको उपचार, रिपोर्टको औषधि लेखिन्छ ।’ यस्तो तरिका सबैलाई सहज । सुन्दरमणि भन्छन्, ‘डाक्टरलाई पनि सहज, ल्याबलाई पनि फाइदा, सबैलाई फाइदा कम समयमा काम तमाम ।’

डाक्टरहरुले बिरामीको कुरा सुनेर, उसको अवस्था हेरेर यस्तो समस्या हुनसक्छ भन्ने आधारमा आवश्यक चेकजाँच गरेपछि औषधि लेख्ने पद्धति भएको बताउँछन् उनी । ‘ मैले त बिरामीले आफ्नो समस्या भनेको आधारमा उसलाई मेरो अध्ययन र अनुभवका आधारमा निश्चित चेकजाँच गरेपछि औषधि लेख्ने हो, त्यो औषधिले काम गरेन भने अर्को औषधि प्रयोग गर्ने हो’ सुन्दरमणि भन्छन्, ‘बिरामीलाई यस्तो भएको हुनसक्छ भनेर औषधि लेख्ने हो, जथाभावी रिपोर्ट लिएर औषधि लेख्दा रोगमा उपचार केन्द्रित हुन पाउँदैन ।’ सुन्दरमणिका अनुसार आवश्यक परेको अवस्थामा बाहेक आफँैले पूरा शरीर चेक जाँच गर्नु हुँदैन ।

हालै अमेरिकाबाट प्रकाशित मेडिकल रिपोर्टमा पूरा शरीर जाँच गरेर डाक्टरहरु फेर्र्दै औषधि गर्ने र डाक्टरले भने अनुसार मात्र जाँच र औषधि गर्नेहरुको तुलनात्मक अध्ययन गर्दा पूरा शरीर जाँच गरेर उपचार गर्नेहरुको मृत्युदर धेरै देखिएको छ । ‘पर्देनपर्ने पूरा शरीर जाँच गरेर डाक्टर फेर्दै उपचार गर्नेहरुको मृत्युदर अन्य बिरामीको भन्दा २५ प्रतिशतले बढी छ भन्ने कुरा आएको छ,’ सुन्दरमणि भन्छन्, ‘मेडिकल जाँच भन्ने जर्नलमा केही महिना अघि मात्र यस्तो रिपोर्ट प्रकाशित भएको छ, आवश्यकता अनुसार मात्र चेकजाँच गर्नुपर्दछ, आफूखुखी गर्नुहुँदैन ।’  

रत्नलाई गोली लाग्दा
राजा महेन्द्र रानी रत्नसहित शिकार गएको अवस्थामा २०२७ साल माघ १७ गते कञ्चनपुर शुक्ला फाँटामा गोली लागेर घाइते भइन् । राजा महेन्द्रले हात्तीमा चढेर बाघलाई चलाएको गोली ढुंगामा ठोकिएर उछिट्टिँदै रानी रत्नको कोखामा प्रवेश ग¥यो । उनी घायल भइन् । रानीलाई कहाँ लगेर उपचार गर्ने ? भारतको लखनउ, दिल्ली जुन कञ्चनपुरबाट नजिक पर्दथ्यो, कसैले त्यस्तै सुनाए । सेनाको स्काइ भ्यान थियो, काठमाडौं आउँन धेरै  घण्टा लाग्ने । राजा महेन्द्रले काठमाडौंको वीर अस्पतालमा उपचार गराउने निर्णय लिए । सेनाले रातको समयमा काठमाडौंमा जहाज अवतरण गर्न पनि कठिन हुने भन्दै भारतको दिल्लीमा लग्न सुझाएको प्रसङ सुनाउँदै सुन्दरमणि भन्छन्, ‘राजाले सेनालाई तिमीहरुले त मशाल बालेर प्लेन अवतरण गराउने तालिम लिएका हुन्छौ होइन भन्दै काठमाडांै लग्ने आदेश दिएका रहेछन् ।’ रातको ३ बजे रत्नलाई लिएर राजा आफैँ आए वीर अस्पताल आए । वीर अस्पतालमा उपचार गर्ने टोलीमा सुन्दरमणि  पनि तम्तयार  थिए । उनी भन्छन्, ‘आफैँले चलाएको गोली लागेर रानी घायल छन्, कञ्चनपुरबाट दिल्ली र लखनउ नजिक छन्, आधा घण्टाको उडानमा । तर, राजाले त्यस्तो गरेनन् । भारतसँग कटपट परिरहेको अवस्था थियो ।’

रानीको उपचारमा संलग्न सबैलाई दरबारले धन्यवाद भन्दै पत्र पठायो, जसलाई सुन्दरमणिले फ्रेममा सजाएर राखेका छन् । ‘रानीको गोली लागेका ठाउँमा शल्यक्रिया भयो, रानीलाई ठिक भयो,’ सुन्दरमणि भन्छन्, ‘ कस्तो संयोग रानीलाई गोली लागेको ठिक एक वर्षपछि राजा महेन्द्रको निधन भयो ।’

हनुमान प्रेरणा स्रोत
देश किन राम्रो बन्न सकेन ? यही प्रश्नमा उनी बेलाबेला घोरिन्छन् । बहुदलवादी आन्दोलन, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को दोस्रो जनआन्दोलनहरुमा सडकमै उत्रिएका पेशाले चिकित्सक डा. सुन्दरमणिको जीवन शैली भने आध्यात्मिक प्रकृतिको छ ।  दोस्रो जनआन्दोलनका क्रममा १२ दिनसम्म प्रहरी हिरासतमा बिताएका डाक्टर मुलुकले राम्रो नेता नपाएको निचोडमा पुगेका छन् र नेपाली जनका निम्ति हनुमान प्रेरणा पुञ्ज बन्न सक्ने प्रेसक्रिप्सन दिन्छन् । फागुन २१ गते अपराह्न श्रीदरबार टोलको दीक्षित क्लिनिकमा पुग्दा उनी बिरामी जाँचिसकेर नागरिक परिवारसँग कुराकानी गर्ने तयारीमा थिए । साथमा थियो, एउटा डायरी जसमा सोही दिन लेखिएको हनुमानका बयान र वर्णन रहेछन् । कुराकानीकै क्रममा उनले सोही दिन हुनमानबारे लेखिएका केही पङ्क्ति सुनाए ।

‘हामीले नेता त पाएनौँ, पाएनौँ हनुमानजी पो हाम्रा लागि प्रेरणाका स्रोत बन्न सक्छन् भन्ने मेरो मान्यता हो,’ सुन्दरमणि भन्छन्, ‘हनुमानको चरित्र, गुण, व्यक्तित्व, खुवि, कर्मक्षमता, ज्ञान र समर्पण हाम्रा लागि प्रेरणा बन्न सक्छ । हनुमानमा वैश्य र शिवको संयोजन रहेको बताउँदै सुन्दरमणि भन्छन्, ‘शिवको अवतार र रामको दूत दुई खाले संयोजन छ हनुमानमा ।’ नेपाली समाजका लागि त्यसै मिलाउने प्रेरणा आवश्यक छ । ‘हामीलाई अहिले जातजाति, मधेस पहाड जोड्नु परेको छ,’ सुन्दरमणि भन्छन्, ‘भक्तिमा हनुमान, ज्ञानमा हनुमान, कर्ममा हनुमान, अन्याय अत्याचार विरुद्धमा हनुमान, हनुमानको प्रेरणा हाम्रा लागि उपयोगी बन्न सक्छ हनुमानको रामभक्ति जस्तै हामीमा देश भक्ति आवश्यक छ भन्ने मेरो मान्यता हो ।’

 

 

प्रकाशित: २ वैशाख २०७७ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App