इलाम– वैदेशिक रोजगारी सिलसिलामा दशकभन्दा बढी मलेसिया बसेका बुद्धिमान राईले फर्किंदा सोचेजति सम्पत्ति कमाएर ल्याउन सकेनन्। तर, रुपैयाँपैसाबाहेक जे ल्याए, त्यो चाहिँ उनका लागि जीवनभरको कमाइ भएको छ, जीवनयापन गर्ने जाँगर भएको छ।
मलेसियामा रहँदा उनले त्यहाँको अर्गानिक खेती, माछा, कुखुरा र पशुपालन सिके। यी व्यवसायलाई कसरी आम्दानीमूलक बनाउन सकिन्छ भन्ने प्रत्यक्ष हेरेर थाहा पाए। ‘सुँगुर फार्म, कुखुरा, माछा फार्म कस्तो हुन्छ, अर्गानिक खेती कस्तो हुन्छ भन्ने देख्न पाइयो,’ उनले विदेशको अनुभव सुनाए, ‘१० वर्ष बस्दा पनि विदेशमा सोचेजति पैसा कमाइएन तर स्वदेशमै गरेर खाने बाटो चाहिँ थाहा पाइयो।’
घर फर्केर बुद्धिमानले इलाम नगरपालिका–६ मा आफ्नै कृषि फार्म खोलेका छन्। कुखुरा, बाख्रा र माछा पालनमात्र होइन, उनले जिल्लामै नौलो मानिने बट्टाई र टर्की चराको फार्म पनि खोले। ‘कुखुरा, माछा र बाख्रा त सबैलाई थाहा भएकै हो,’ उनले भने, ‘जिल्लामा नयाँ पनि होस् र व्यवसाय पनि चलोस् भनेर बट्टाई र टर्की पाल्ने निधो गरें।’ सदरमुकाम इलाम बजारबाट करिब डेढ किलोमिटरमै रहेको आफ्नो फार्ममा टर्की र बट्टाई चरा हेर्न सुरुमा भीड लाग्थ्यो। उनले यी दुवै चराको मासु मात्र होइन, अण्डा र चल्लाको माग पनि धेरै रहेको बताए।
कक्षा १२ सम्म अध्ययन गरेपछि राईले रोजगारीमा लाग्नुप¥यो। रोजगारी गरेर घर–परिवार धान्नुपर्ने भएपछि उनले बस काउन्टरमा काम गरे। मासु पसल खोले। तर, त्यसबाट पनि सोचेजस्तो आम्दानी नभएपछि उनी २०६४ सालमा मलेसिया गए। ‘मलेसियामा पनि ठूलो–ठूलो क्षेत्रमा भस्मे (पाखो) हुँदोरहेछ। त्यो पाखालाई आवादी बनाउन अर्गानिक खेती लगाएको देखें,’ उनले सुनाए, ‘त्यहाँ कुखुरा र माछापालन पनि गरिँदोरहेछ। त्यही सिकेर मैले यहाँ प्रयास गरेको हुँ।’ यस्तो फार्ममा काम गर्नेले समेत महिनामा ४ हजार रिंगेटसम्म कमाएको पनि थाहा पाए उनले। एक चिनियाँ नागरिकले ५ हजार कुखुराको फार्म सञ्चालन गरेको पनि मलेसियामै देखेपछि उनी यो व्यवसायप्रति प्रभावित भए।
काठमाडौं आएपछि वैदेशिक रोजगारीबाट फर्केका युवाले नै कुखुरा, टर्की, बट्टाई पालन गरेको उनले प्रत्यक्ष देख्न पाए। ‘अब घर फर्केर कहाँबाट व्यवसाय थाल्ने भन्ने चाहिँ विदेशबाट फर्केका युवाले काठमाडौंमा गरेको व्यवसायले सिकायो,’ राईले भने, ‘टर्की र बट्टाई पालन त इलामका लागि पनि नयाँ थियो, कुखुरा, माछा र खसी पालनबाट आम्दानी राम्रो हुन्छ भन्ने थाहा छँदैथियो।’ त्यसपछि उनले गरे पनि त्यसै।
उनका अनुसार बट्टाई चराले ४५ दिनमा बयस्क भएर अण्डा पार्छ। खानका लागि तागतिलो भएको भन्दै बट्टाई चरा खोज्ने ग्राहकको संख्या धेरै हुनेगरेको छ। एउटा बट्टाई चरा मासु खाने बेलामा डेढसयदेखि १ सय ८० ग्रामसम्मको हुने र त्यसलाई प्रतिगोटा १ सय ७० देखि २ सय रुपैयाँसम्म पर्ने उनले बताए। राईका अनुसार टर्की चरा चिसोमा अलि फस्टाउँदैन। टर्कीलाई रोगले अलि बढी आक्रमण गर्न सक्ने भएकाले बयस्क टर्की ल्याएर पाल्न सकिने उनले अनुभव सुनाए। ‘टर्कीको मासु पनि सुरुमै इलाम बजारमा राम्रो माग भयो, बेचियो पनि,’ उनले भने, ‘यसको अण्डाको माग पनि राम्रो छ।’ काठमाडौंमा प्रतिकिलो १ हजार २ सय रुपैयाँसम्म पर्ने टर्कीको मासु आफूले इलाममा ९ सय रुपैयाँमै बेचेको उनले सुनाए। टर्की चरा ६ महिना पालेपछि ५ किलोसम्म हुनेगर्छ र मासुका लागि योग्य हुन्छ। तराई भेगमा चाहिँ तापक्रम बढी हुने भएकाले वर्षमा १३ किलोसम्मको हुने उनले बताए।
बट्टाई चराको मासु खाँदा दम, निमोनिया, रुघाखोकी तथा ग्यास्ट्रिकलाई नियन्त्रण गर्ने, मधुमेह र रक्तचाप घटाउने, मृगौला र फोक्सोलाई नियमित गर्न सहयोग गर्ने, हाड बलियो बनाउने, छाला स्वस्थ राख्ने र दिमाग तेज रहने आफूले थाहा पाएको राईले सुनाए। टर्की चराको मासु निकै स्वादिलो हुने, बोसोको मात्रा कम गर्ने, कोलस्ट्रोल नियन्त्रण गर्ने, प्रोटिन र भिटामिनयुक्त हुने पनि उनले बताए। ‘यतिबेला चाहिँ फार्ममा टर्की र बट्टाई बिक्री भइसकेको छ,’ उनले भने, ‘भदौमा पुनः चल्ला हालेर व्यवसाय थाल्छु।’
उनले फार्ममा ६ सय कुखुरा हालेकामा अहिले सबै बयस्क भएर बिक्री भइसकेको छ। तर, यो पटक चाहिँ सरुवा रोगले आधाजति कुखुरा मरेकाले केही दिन नयाँ चल्ला खोरमा नहालेको उनले सुनाए। ‘गाउँमा रोग आएर एक लटको त धेरै कुखुरा मरे,’ उनले भने, ‘पुनः नयाँ चल्ला ल्याएर पाल्दैछु।’ राईले आफ्नो पोखरीमा ५ सय माहुर माछा पनि पालेका छन्। आधा दर्जनभन्दा बढी खसी पालन गरिरहेको उनले सुनाए। योसँगै काँक्रा, फर्सी, करेला, घिरौंला, भिण्डीलगायतको अर्गानिक खेती पनि गरिरहेका छन्।
‘फार्म सञ्चालन गर्न अहिलेसम्म करिब १५ लाख रुपैयाँ लगानी भएको छ,’ उनले सुनाए, ‘आम्दानी त राम्रै हुन्छ तर कम्तीमा ३ वर्षमा लगानी उठाएर मात्र नाफा कमाइ हुने अनुमान पहिला नै गरेको छु।’ उनले सबै कुराले साथ दिए लक्ष्य प्राप्त गर्ने समस्या नहुने बताए। ‘मेहनत र परिश्रम चाहिँ गर्नुपर्छ, धन कमाउन कतै बहकिनु पर्दैन,’ उनले भने, ‘व्यवसायका लागि धैर्य र आँट पनि चाहिन्छ।’ उनले व्यवसायका लागि अहिलेसम्म कतैबाट सहयोग र ऋण चाहिँ नलिएको बताए।
प्रकाशित: २५ श्रावण २०७६ ०६:५२ शनिबार