३० आश्विन २०८१ बुधबार
image/svg+xml
अन्य

तलब–भत्ताबापतको सुविधा क्याम्पसलाई

सरकारीको तलबभत्ताबापतको सुविधा मंगला क्याम्पसलाई हस्तान्तरण गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका। तस्बिरः हरिकृष्ण गौतम/नागरिक

म्याग्दी– यहाँका एक गाउँपालिका अध्यक्षले सरकारबाट पारिश्रमिक, भत्ताबापत प्राप्त गरेको दुई २ लाख रुपैयाँ गाउँकै क्याम्पसलाई सहयोग गरेका छन्।

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बाबियाचौरको मंगला शिक्षा क्याम्पसमा तलबभत्ताबापत प्राप्त सुविधाको केही हिस्सा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम पौडेल, क्याम्पस प्रमुख काशिराज गौतमलाई हस्तान्तरण गरेका हुन्।

तीन वर्षअगाडि क्याम्पसको आर्थिक तथा पूर्वाधार विस्तार अभियानमा विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै ठूलो आर्थिक जुटाएका गाउँपालिका अध्यक्ष रोकाले क्याम्पसलाई पश्चिम म्याग्दीका विद्यार्थीको आकर्षण बढाउन पूर्वाधारसहित थप संकायका लागि सहज हुने गरी आर्थिक सहयोग गरेको बताए।

‘क्याम्पस तहको शिक्षा लिन सदरमुकाम वा जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई तोड्न सफल भएका छौं,’ उनले भने, ‘पश्चिम म्याग्दीसँगै बागलुङका केही बस्तीबाट समेत यहाँ पढ्न आउने वातावरण बनाउन सबैको सहकार्य आवश्यक छ।’

क्याम्पसमा पश्चिम क्षेत्रमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न शैक्षिक अभियानलाई समेत तीव्रता दिने सञ्चालक समितिका अध्यक्ष पौडेलले बताए।

सोही अवसरमा पूर्वअध्यक्ष तथा सल्लाहकार चन्द्रप्रसाद बुढाथोकी, काठमाडौं सम्पर्क समितिका संयोजक टंकप्रसाद बुढाथोकी, मंगला माविका प्रधानध्यापक गम केसी, जनप्रिय माविका शिक्षक नगेन्द्र खत्री, स्थानीय आमा समूहका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो। विधानअनुसार अध्यक्ष रोकालाई मानार्थ संरक्षक सदस्यता प्रदान गरिएको थियो।

शिक्षा शास्त्र संकायमा स्नातक तहमा ६० जना विद्यार्थी अध्ययनरत छन्। यसअगाडि अध्यक्ष रोकाले ६ लाख आर्थिक सहयोग गरेका थिए। क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरिएको छ।

स्थानीय तहको निर्वाचनमा विजय भएपछि तलब र भत्तालाई शिक्षा तथा सामाजिक हितमा लगाउने घोषणाअन्तरगत रोकाले यसअघि मंगला गाउँपालिका–५ सिरकुममा रहेको किसानी आधारभूत विद्यालयलाई तीन लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए भने आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकाको समेत शैक्षिक अभिभावकत्व ग्रहण गर्ने गरेका छन्।

प्रकाशित: २७ वैशाख २०७६ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App