८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

खुलापनले सुखमय दाम्पत्य

श्रीमान्ले आफ्नो पेशामा कुनै जटिलता आए श्रीमतीसँग शेयर गर्छन्। श्रीमतीलाई अप्ठ्यारो परे श्रीमान्बाट आइडिया लिन्छिन्। पति चार्टर्ड एकाउन्टेन्ट (सिए), पत्नी सहकारी सञ्चालक।

नागार्जुन नगरपालिका–९ स्युचाटारका हरिकुमार सिलवाल र बिजु पाण्डे सिलवालको जोडीमा भएको खुलापनले उनीहरुलाई खुशी मात्र बनाएको छैन सुखमय दामत्य जीवन जिउने कला पनि सिकाएको छ। हरि नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) का निवर्तमान अध्यक्ष हुन् भने विनु इनोभेटिभ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष।

चितवनका हरि र नवलपरासीकी बिजुबीच मागी बिहे भएको हो। चार्टर्ड एकाउन्टेन्ट पढेका हरि र बीबीएस अध्ययन गरेकी बिजु व्यवस्थापनमा दख्खल राख्छन्। कुनै कम्पनी, संघ/संस्था, अफिसको व्यवस्थापन गर्न सैद्धान्तिक ज्ञानको फर्मुलाले काम गर्ला। तर, सुखमय र सफल पारिवारिक जीवन बिताउन विशिष्ट कला चाहिन्छ। सफल जीवन जिउने कला सिलवाल दम्पतीमा छ।

सामाजिक सञ्जाल, सञ्चारको प्रयोग, आर्थिक क्रियाकलापमा हुने अपारदर्शिताले धेरै परिवारमा विखण्डन पनि आएको छ। परिवारमा केही कुरा पनि लुकाउनु हुँदैन भन्ने उनीहरुको मान्यता छ। ‘हामी दुवैजना एकअर्कामा खुला छौं,’ दुवै जनाले एक स्वरमा भने, ‘फोन लुकेर हेर्नु पर्दैन। फेसबुक लुकेर चलाउनु पर्दैन। सबै कुरा खुला हुन्छ।’

यी दम्पतीमा आर्थिक, सामाजिक, पारिवारिक गतिविधि एकअर्काप्रति खुला राख्छन्। धेरै परिवारमा आर्थिक कारणले समस्या आउने गरेकाले सिलवाल दम्पती यसमा सचेत देखिन्छन्। आर्थिक तथा लेनदेनको कुरा परिवारका सदस्यलाई शेयर गर्नुपर्छ। आफ्नो आर्थिक हैसियतका बारेमा आफ्ना बालबच्चालाई पनि जानकारी गराएका छन्। आर्थिक हैसियतमाथि उठेर गरिने तडकभडकप्रति यो दम्पतीलाई चित्त बुझ्दो रहेनछ। ‘आफू खोक्रो भएको हुन्छ। श्रीमतीलाई मख्ख पार्न हिराको औंठी लैजाने प्रचलन पनि छ,’ हरिले भने, ‘सबै खुला गरिदिएपछि परिवारबाट ठूलो डिमान्ट आउँदैन।’ हरिको कुरामा बिजुले पनि सहमति जनाइन्। ‘समाज सुहाउँदो र आफ्नो हैसियतमा बस्नु पर्छ,’ उनले भनिन्। उनीहरुले बालबच्चालाई पनि आफ्नो आर्थिक हैसियत बताएका छन्। ‘आफ्नो हैसियत थाहा भए बालबच्चाले पनि त्यहीअनुसार डिमान्ड गर्छन्,’ उनीहरुले भने।

हरेक कुरा आदान–प्रदान गर्दा तनाव कम हुन्छ भन्ने उनीहरुले बुझेका छन्। हरिलाई काम गर्दा तनाव भयो, गल्ती गरे भने आफ्नो कमजोरी पहिला श्रीमतीलाई सुनाउँछन्। ‘अप्ठ्यारो परे पहिला श्रीमतीलाई भन्छु,’ उनले भने, ‘मुख्य कुरा आदान–प्रदान नै हो।’ सहकारी सञ्चालनमा आइपर्ने गाह्रोसाह्रोका बारेमा बिजुले पतिसँग सल्लाह लिन्छिन्।

एउटाले गरेको काममा अर्कोले सघाउँदै हौसला दिन्छन्। महिला पुरुष एक रथका दुई पांग्रा भन्ने उक्तिलाई सिलवाल दम्पतीले सार्थकता दिएका छन्। यी दुवैमा एकअर्काप्रति कुनै गुनासो छैन।

धेरै दम्पतीमा चरित्रको विषयलाई लिएर खटपट हुने गरेको छ। धेरै पति आफू मोजमस्ती गर्ने श्रीमतीलाई डोमिनेट गर्ने हाम्रै समाजमा बग्रेल्ती घटना छन्। यसमा हरि प्रस्ट छन्– ‘पुरुष पहिला आफू चरित्रवान् हुनुप-यो,’ सामाजिक विकृतिप्रति लक्षित गर्दै उनले भने, ‘आफूले मेन्टेन गरेर आफ्नो परिवारलाई चरित्रवान् हौं भन्नुपर्छ।’ आफूले गर्ने व्यवहार मात्र परिवारलाई गर्न लगाउनुपर्ने हरि बताउँछन्। ‘आफू रक्सी खाने श्रीमतीलाई नखाउ भन्नु हुँदैन,’ उनले भने। परिवारका सदस्यलाई आचरण सिकाउन पहिला आफूले नै प्रयोगमा ल्याउनुपर्छ। ‘छोरालाई चुरोटको बट्टा किन्न पठाउने तँ नखा भन्न मिल्छ,’ उनले प्रति प्रश्न गरे।

दबाबमा कमाए बिग्रिन्छ
हाम्रो समाजले हरेक कुरालाई आर्थिक पक्षसँग तुलना गर्ने प्रचलन छ। पारिवारिक सुखका लागि आर्थिक प्रधानता ध्यान दिन नहुने उनीहरुको बुझाइ छ। ‘तपाईं दबाबमा परेर कमाउन थाल्नु भयो भने बिग्रिन्छ,’ हरिले भने। ‘यति कमाउनै पर्छ। यति खर्च गर्नैपर्छ। गाडी फेर्नै पर्छ। पैसा कमाउन बाध्यता भयो भने चिप्लिन्छ,’ उनले भने, ‘यस्तो गलत बाटोमा लाग्नु हुँदैन।’ आफ्नो आर्थिक हैसियत प्रस्ट पारेकाले ठूलो अपेक्षा र महत्वाकांक्षा नभएको हरि बताउँछन्। ‘मेरो बच्चा, श्रीमती, बाबुआमाले डिमान्ड गर्ने कल्चर छैन,’ उनले भने, ‘यस्तो गाडी फेर्नु प-यो। धेरै शुख सुविधातिर लाग्नु हुँदैन।’ हरिको विचारमा बिनु पनि सहमत छन्।

घरमा पैसा कमाउने सदस्य दुवैजना पनि हुन सक्छ घटिबढी पनि हुनसक्छ। जसले कमाए पनि आर्थिक अनुशासन कायम राख्नुपर्ने हरिको धारणा छ। ‘कमाउनेले धेरै खर्च गर्ने नकमाउनेले खर्च नगर्ने भन्ने गर्नु हुँदैन,’ उनले भने, ‘आफ्नो हैसियत मापन गरेर काम गर्नुपर्छ।’ पारदर्शिताले जसरी हरेक संस्थालाई दिगो बनाउँछ पारिवारिक गतिविधिमा पनि पारदर्शी भए कुनै समस्या आउँदैन।

आर्थिक लाभका लागि भन्दा पनि कामका लागि काम गर्नुपर्छ भन्ने बुझाई छ। ‘लाभको सोच नै नराखी काम गरेपछि स्वतः आर्जन हुन्छ,’ उनले भने। पैसाका पछि लाग्ने भन्दा आफ्नो पछि पैसा लागोस् भनेर काम गर्नुपर्ने उनको तर्क छ।

मिलिजुली काम
परिवारमा मिलेर काम गनुपर्छ भन्ने उनीहरुको मान्यता छ। धेरै पुरुष कमाउने भएपछि घरको काममा ध्यान दिँदैनन्। सिलवाल दम्पतीले मिलेरै घरको काम गर्छन्। खाना पकाउने, घर सरसफाइ गर्ने, बेड मिलाउने, गाडी धुने काम हरिले गर्छन्। ‘सरले फुर्सद हुँदा घरको काममा पनि सघाउनु हुन्छ,’ उनले भनिन्।  दुवै जनाले एक आपसमा सरसल्लाह गरेर नै घर व्यवहार चलाउँछन्। ‘समाजलाई त सघाउनु हुन्छ भने घरको काम नगर्ने कुरै भएन,’ उनले भनिन्। फुर्सदको समयमा आफन्तसँग भेटघाट, घुमफिर, घरमै बसेर अध्ययन गर्ने गर्छन्। ‘बुढाबुढीमा सहयोगको भावना हुनुपर्छ,’ उनले भनिन्, ‘दुवैले एकआपसमा हौसला दिनुपर्छ।’ पतिलाई कुनै पनि काममा टेन्सन दिन नहुने उनको बुझाइ छ। ‘पतिलाई घरायसी अनावश्यक डिमान्ड गरेर टेन्सन दिनुहुँदैन,’ उनले भनिन्। हातमा हात मिलाएर अघि बढ्यो भने मात्र दाम्पत्य जीवन सुखी हुने बताउँछिन्। धेरै पुरुषले श्रीमतीलाई टेन्सन दिएको सुनेकी विनुलाई आफ्नो पतिको व्यवहारले प्रफुल्लित छिन्। ‘मैले गर्न खोज्ने हरेक काममा हौसला प्रदान गर्नुहुन्छ,’ उनले भनिन्। ‘साइक्लिङ, हाइकिङ र सामाजिक काममा सँगसँगै जान्छौं,’ बिजुले भनिन्।

सात्विक जीवनशैली
सिलवाल दम्पतीको जीवनशैली सात्विक छ।  खानपिन, उठबस, नीति नियम कडा छ। धूमपान, मद्यपान, मांसाहार परिवारमा बर्जित छ। पकाएको चिजभन्दा पनि प्रांगारिक खानपानलाई प्राथमिकता दिन्छन्। सलाद, फर्सीको विया, आलसको पिठो, फलफूल, ओखर, एबोकाडो, किबी खान्छन्। चामल भन्दा गहुँ, फापर, कोदो, मकैका परिकार प्रयोग गर्छन्।

समय व्यवस्थापनमा अब्बल
दुवै जना समय व्यवस्थापनमा अब्बल छन्। घरको काम, आफ्नो पेशा र सामाजिक काममा समय विभाजन गर्छन्। हरि सिए मात्र नभएर काठमाडौं, पोखरा विश्वविद्यालयमा नेगोसेसनका विषयमा भिजिटिङ लेक्चरको रुपमा अध्यापन गराउँछन्। व्यक्तिगत पेशासँगै सामाजिक काममा उनको रुचि र सक्रियता उत्तिकै छ। समाज सेवा, परिवार र आफ्नो पेशालाई सुव्यवस्थित ढंगले अघि बढाएका छन्। फुर्सद र बिदाको समयमा सामाजिक काम, घुमफिरमा समय खर्च गर्छन्। पेशाको काममा एक्लै हिँडे पनि सामाजिक काम र बिदाको समयमा परिवार सँगसँगै हुन्छन्। पूर्ण साकाहारी हरिले रेष्टुरेन्ट, बार, क्लब नजाँदा परिवारलाई समय दिन र समय व्यवस्थापनमा सजिलो भएको अनुभव सुनाउँछन्। ‘खानपानमा बाहिर नजाँदा वर्षमा मेरो न्यूनतम पाँच सय घण्टा बचत हुन्छ’ उनले भने। समय व्यवस्थापन गर्न नसके पारिवारिक विखण्डन आउन सक्नेमा उनीहरु सतर्क छन्।

हरि लगातार नथाकी काम गर्न सक्छन्। ‘संघर्षलाई सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने, ‘आफूसँग भएको समयलाई तीन भाग लगाएर काम गर्नुपर्छ।’

हरि दैनिक नौ घण्टा काम गर्छन्। बिहान ९ बजे अफिस निस्किन्छन्। ‘अधिकांश दिन बत्ती नबाल्दै घरमा आइपुग्छु,’ उनले भने। बेलुका १० बजे सुत्ने उनीहरु बिहान पाँच बजे उठ्छन्। प्रायः सबैले बिहान मर्निङ वाक गरेर फर्किएपछि ब्रेकफास्ट लिने भए पनि सिलवाल भने बिहान उठेर खाएर मात्र मर्निङ वाकमा निस्किन्छन्। घर फर्किपछि दम्पतीले दिनभरको कामको समीक्षा गर्छन्। बालबच्चाको पढाइमा ध्यान दिन्छन्। सबैले आ–आफ्नो विषयमा लेखपढ गर्ने गर्छन्। बिजुले सहकारी, सामाजिक काम र बच्चाको हेरविचारमा समय खर्चिन्छिन्। ‘बच्चाको हेल्थ, क्यारेक्टर, शिक्षा, खानपिन, आनीबानीमा ध्यान दिनुपर्छ,’ उनले भनिन्।

सामाजिक काममा पनि सँगसँगै
सिलवाल दम्पती घरको काम, घुमफिरमा मात्र होइन सामाजिक काममा पति सँगसँगै सक्रिय छन्। सिलवालले आफ्ना मातापिताको नाममा लेखमणि सावित्री प्रतिष्ठान स्थापना गरेका छन्। सो प्रतिष्ठानबाट विपन्न विद्यार्थीलाई छात्रवृत्तिलगायत सामाजिक काममा सघाउँदै आएका छन्। धादिङ, मकवानपुर, चितवन, काठमाडौं, काभ्रेलगायत जिल्लाका सयौं विद्यार्थीलाई छात्रवृत्ति दिन्छन्। ‘सबै कुरा जीवित हुँदै गर्नुपर्छ,’ उनले भने ‘सामाजिक कामको पाटो धेरै बिजु हेर्छिन्।’

हरिले आफ्ना बाबुआमाको मिहिनेत र सही मार्गनिर्देशनले यो अवस्थामा आएको बताउँछन्। फोटो खिच्ने, साइकल चलाउने, अप्ठ्यारो परेकालाई सहयोग गर्ने उनको रुचि छ। हरि राष्ट्रिय आविष्कार केन्द्र, लोक बाजा संग्रहालयका संरक्षक, साकाहार अन्तर्राष्ट्रिय अभियानमा पनि आबद्ध छन्। शिक्षा क्षेत्रमा लगानी गरेका छन्। मानसिक विकास हुनेबाहेक अन्य क्षेत्रमा लगानी नगर्ने बताउँछन्। सिलवालले कलेज, स्कुल, आइटी क्षेत्रमा लगानी गरेका छन्। जतिसुकै नाफा हुने भए पनि लगानी नगर्ने बताए। ट्राभल गर्न मन पराउने हरि स्वदेश र विदेशमा सयौं स्थान घुमेका छन्। ‘नेपालको चार/पाँच जिल्ला मात्र घुम्न बाँकी छ,’ उनले भने। एकल यात्रा। साथीसँग हेल्प एण्ड हाइक र परिवारसँग ट्राभल गर्छन्।

बाबुआमासँग जोडिएको छोराछोरीको नाम
सिलवाल दम्पतीले छोराछोरीको नाममा पनि आफ्नै नामसँग जोडेका छन्। छोराको नामको पछाडि बाबुको नाम मात्र झुण्ड्याएका छन् भने छोरीको नामका पछाडि बाबुआमाकै नामको पहिलो अक्षर जोडिएको छ। छोरा भिषणहरि सिलवाल कक्षा १२ मा अध्ययन गर्छन् भने छोरी प्राप्तिहबि सिलवाल कक्षा ८ मा पढ्छिन्।

जोखिमले सफलता
चितवनमा जन्मिएका हरिले बिकमसम्मको शिक्षा चितवन नै लिए। भारतको आइसिएआईमा चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गरेका सिलवाल लामो समयदेखि चार्टर्ड एकाउन्टेन्ट पेसामा छन्। चुनौतीपूर्ण काम गर्न मन पराउने सिलवालले सिए पढ्न कठिन हुन्छ भन्ने सुनेका थिए। सिएमा सबैजना उत्तीर्ण नहुने भएकाले सिए पास गर्न कठिन छ। ‘जोखिम उठाउनु पर्छ भन्ने मेरो माध्यता हो,’ उनले भने, ‘चुनौतीमा रमाउने भएकाले नै सिए रोजेको हुँ।’ आर्थिक आत्मनिर्भरताका लागि सिए पेशा उपयुक्त भएको सिलवाल बताउँछन्। हरि अब्बल विद्यार्थी थिएनन्। तर, जोखिम मोल्न सक्ने क्षमताले सफलता दिलायो। उनलाई पढाउने गुरुले सिए पढ्दा पढ्दै ड्रप गरेर आएका थिए। आफ्नै गुरुले पढ्न गाह्रो छ भन्ने सुनेपछि सिलवालले झन् पढ्नुपर्छ भन्ने अठोट लिएर सिए अध्ययन गरे।  ‘अरुले गाह्रो भनेको काम गर्नुपर्छ भन्ने भएकाले सिए पढेको हुँ,’ उनले भने।

चार्टर्ड एकाउन्टेन्ट नियमन बढी हुने पेशा हो। सर्जनले मान्छेको जीवन बचाएजस्तै कुनै पनि संस्थाको वित्तीय सुशासनमा सिएको महत्वपूर्ण भूमिका हुन्छ। ‘हामीले प्रमाणीकरण गरेपछि त्यसको प्रतिवेदन हेरेर ठूला–ठूला लगानीकर्ताले निर्णय गर्नुहुन्छ,’ उनले भने, ‘चार्टर्ड एकाउन्टेन्ट जनताप्रति उत्तरदायी हुनुपर्छ।’ राज्यले कानुन परिपालनमा जति बढी ध्यान दिन्छ त्यति सिएको काम बढ्ने बताउँछन्। अडिट प्रतिवेदनप्रति दशौं वर्षसम्म जवाफदेही हुनुपर्ने सिलवाल बताउँछन्। ‘अडिट रिपोर्टको बारेमा जुनसुकै निकायले प्रश्न सोधे पनि हामीले जवाफ दिनुपर्छ,’ उनले भने, ‘एकपटक अडिट गर्दाबित्तिकै उम्किने पेसा होइन।’ १० वर्षसम्म राष्ट्र बैंक, भन्सार, कर, महालेखा, क्लाइन्ट जो सुकैले सोधे पनि जवाफ हिइरहनु पर्छ।

मुलुकको वित्तीय अवस्थालाई नजिकबाट नियालेका हरि नेपालको अर्थतन्त्रलाई साइकल अर्थतन्त्रको संज्ञा दिन्छन्। ‘साइकलबाट लडेर मर्दैन,’ उनले भने, ‘हाम्रो मुलुक आर्थिक रुपमा कहिल्लै पनि टाट पल्टँदैन। मुलुकको आर्थिक समृद्धि पनि हुँदैन।’ दलाल अर्थतन्त्र मौलाएकाले औद्योगिकीकरण नभएको उनको बुझाइ छ। ‘ट्रेडिङ बिजनेस गरे मार्जिन खाने धेरै छन्,’ उनले भने, ‘ठूला–ठूला व्यापारिक घरानाले इज्जतका लागि उद्योग खोले पनि ट्रेडिङबाट नै कमाइरहेका छन्।’

प्रकाशित: २६ चैत्र २०७५ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App