१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

दबू प्याखँ

सार्वजनिक स्थलमा मञ्च बनाएर मञ्चन गरिने नाटकलाई नेपाल भाषामा दबू प्याखँ (डबली नाटक) भन्ने गरिएको छ। दबू प्याखँको इतिहास निकै लामो रहेको पाइन्छ। दबू प्याखँमै विद्यावारिधि गरेका डा. चुन्दा बज्राचार्यका अनुसार मल्लकालमै दबू प्याखँ लोकप्रिय बनिसकेको थियो। १९९७ सालपछि नेपाली दबू प्याखँमा राजनीतिक चेत आएको उनको भनाइ छ। दबू प्याखँले सामाजिक क्रान्ति नै ल्याउने काम गरेको उनको ठहर छ। त्यसबेलाका राजनीतिक बन्दीहरूले जेलभित्रै ‘हनुमान प्याखँ’ नामक दबू प्याखँ देखाएका थिए। उक्त दबू प्याखँमा गणेशमान सिंहले हनुमानको भूमिका निभाएका थिए भने चन्द्रमान मास्के, केदारमान व्यथित, धर्मरत्न यमि, हरिकृष्ण श्रेष्ठहरूले अरू भूमिका निभाएका थिए। 

तीसको दशकमा काठमाडौं उपत्यकामा नेपाल भाषामा दबू प्याखँ अर्थात् टोलटोलमा मञ्च बनाएर देखाइने डबली नाटकको खुब चलन थियो। त्यतिखेरका बढी चर्चित दबू प्याखँ लेखक तथा निर्देशकहरूमा रत्न बेहोशीको नाम धेरै माग हुनेको पंक्तिमा आउँथ्यो। उनी त्यतिखेर दबू प्याखँमा निकै जमेका थिए र सबैका प्रिय ‘रत्नदाइ’ बनेका थिए। उनकै भनाइमा उनको दबू प्याखँ हेर्न दर्शकहरूको ओइरो लाग्थ्यो। अन्य दबू प्याखँ लेखक तथा निर्देशकहरूमा गोविन्द चिकँमु, हरिदास सायमी, बेखाचा, भैरव छटपता, मोहनकृष्ण डंगोल आदि पर्छन्। यीबाहेक अरू पनि धेरै स्थानीय लेखक÷निर्देशकहरूले दबू प्याखँमा योगदान गरेका छन्। अहिलेका चर्चित कवि दुर्गालाल श्रेष्ठले पनि ११ वर्षकै उमेरमा ‘प्रेम जीवन अन्धकार’ नामक दबू प्याखँ लेखेर मञ्चन गरेका थिए। त्यतिखेर दबू प्याखँ मञ्चन गरिने मिति, स्थान र कलाकारहरूको नामसहितका पर्चा ठाउँठाउँमा टाँसिएको हुन्थ्यो। त्यही पर्चा हेरेर दर्शकहरू दबू प्याखँ हेर्न ओइरिन्थे। विशेषगरी सामाजिक कथावस्तुमा आधारित हास्य र व्यंग्य मिश्रित दबू प्याखँ हेर्न मानिसहरूको ओइरो नै लाग्थ्यो। त्यतिखेर टोलटोलमा रत्नदाइका नामले चिनिएका रत्न बेहोशीको दबू प्याखँको खुबै माग थियो। उनले २०२४ सालदेखि २०४६ सालसम्म काठमाडौं उपत्यकाका सहर र गाउँमा समेत गएर त्यहाँका स्थानीय कलाकारहरूलाई दबू प्याखँ सिकाउने र खेलाउने काम गरे। यसबीचमा उनले दर्जनौं दबू प्याखँ लेखे, सिकाए र मञ्चन गरे।

पुरुषलाई नै महिलाजस्तै सिँगारेर दबू प्याखँमा प्रस्तुत गरिन्थ्यो। महिलाको आवाज निकाल्नुपर्दा स्वाभाविक अभिनयमा पनि केही हदसम्म असर गरेको हुन्थ्यो। तैपनि महिला बनेर अभिनय गर्ने पुरुषको अभिनयलाई कसैले खिसी गर्न सक्दैनथे र दबू प्याखँप्रति दर्शकको आकर्षण पनि कम हुँदैनथ्यो।

२०३२ सालमा एकैपटक चार ठाउँमा दबू प्याखँ सिकाएको उनी सम्झन्छन्। भक्तपुरको ठिमीमा ‘उद्घाटन’, टिकनीमा ‘समाज’, बोडेमा ‘विश्वास’ र काठमाडौंको लगनमा ‘जिनँ स्वयेका’ (म पनि हेरुँला) नामक दबू प्याखँ सिकाएको अहिले पनि सम्झन्छन् उनी। ‘समाज’ उनले हरिदास सायमीसँग मिलेर लेखेका हुन् भने ‘विश्वास’ चाहिँ गणेशराम लाछीसँग मिलेर लेखेका हुन्। एक अर्को दबू प्याखँ ‘आ स्वयेका’ (अब हेरुँला) उनले हरिदास सायमीसँग मिलेर लेखेका थिए। तर पछि हरिदाससँग खटपट परेपछि उनी एक्लैले ‘जिनँ स्वयेका’ दबू प्याखँ लेखी काठमाडौं लगनका कलाकारहरूलाई सिकाएर काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न टोलहरूमा मञ्चन गरेका थिए। उनी एक्लैले ‘बदला’, ‘नँयात नँहे चाई’ (फलामलाई फलामले नै काट्छ), ‘वेश्याया जाल’ (वेश्याको जाल), ‘वइतिनी’ (आउनेछ), ‘विजय’ आदि दबू प्याखँ लेखेर क्रमशः चोभार, पुल्चोक, ठेचो र खोकनामा मञ्चन गरेका थिए। यसैगरी काठमाडौं टंकेश्वरमा ‘चिल्लायदंगु स्वाँ’ नामक दबू प्याखँ सिकाएर मञ्चन गरेको पनि उनी सम्झन्छन्। सतुंगलमा ‘दोषी सु ?’ अर्थात् दोषी को दबू प्याखँ सिकाउन जाने सिलसिलामा चन्द्रमाया महर्जनसँग उनको भेट भयो। बोलचाल सुरु भयो। एकले अर्कोलाई मन पराए र पछि बिहे पनि गरे। 

रत्न बेहोशी नाट्यकर्ममा कति समर्पित थिए भन्ने कुरा उनको जीवनमा घटेको एउटा दुःखद् घटनाबाट पनि बुझ्न सकिन्छ। २०२७ सालमा ललितपुरको कुटी सौगलमा ‘थथे न जुइफु’ अर्थात् ‘यस्तो पनि हुनसक्छ’ शीर्षकको दबू प्याखँ सिकाइरहेका थिए। दबू प्याखँ सिकाइसकेपछि एकदिन उनी दबू प्याखँ मञ्चन गर्ने तयारीमा थिए। त्यही बेलामा उनको फुपूको छोरा टोपी फुकालेर उनलाई बोलाउन आइपुगे। उनको बिरामी छोराको मृत्यु भएको रहेछ। पैसाको अभावमा उनले आफूले लाइराखेको घडी बन्धकी राखेर छोराको लाश उठाए। शंखमूलमा छोरालाई दागबत्ती दिएर उनी सिधै मञ्चमा गएर हार्मोनियम बजाउन पुगे। उता शंखमूलमा छोराको लाश जलिरहेको थियो। यता उनी मञ्चमा हार्मोनियम बजाइरहेका थिए। यो घटना जीवनमा कहिल्यै बिर्सन सक्दैनन् रत्न बेहोशी। यस घटनाबाट त्यतिखेरका कलाकारहरूको कलाकारिताप्रतिको समर्पण र जिम्मेवारीबोध महसुस गर्न सकिन्छ। 

यस पंत्तिका लेखकले बाल्यकालमा ठिमीको दिगुटोल, चपाचोलगायतका डबली र पुरानो बाटोस्थित बहाखाबजारको सडकमै मञ्च बनाएर पनि दबू प्याखँ मञ्चन गरिएको देखेको थियो। त्यतिखेर दबू प्याखँ हेर्न युवायुवतीदेखि बालक, वृद्ध, महिला सबै प्रकारका दर्शकहरूको ओइरो लाग्थ्यो। दबू प्याखँ हेर्न अधैर्य दर्शकहरूले यतिसम्म गर्थे कि एकैछिन दबू प्याखँ मञ्चन ढिलो हुँदा हुटिङ नै गर्थे। 

मनोरञ्जनका अरू धेरै विकल्प नहुँदा दबू प्याखँ एउटा उत्तम विकल्पजस्तै बनेको थियो त्यतिखेर। कलाकारलाई प्रत्यक्ष देख्न पाइने र कलाकारको अभिनय प्रत्यक्ष देख्न पाइने हुँदा दबू प्याखँप्रति दर्शकको बढी आकर्षण पनि थियो। तर, एउटा समस्या भने थियो, महिलाहरू दबू प्याखँमा आउन नरुचाउने हुँदा महिला पात्रको अभिनय पनि पुरुषले नै गर्नुपथ्र्यो। पुरुषलाई नै महिलाजस्तै सिँगारेर दबू प्याखँमा प्रस्तुत गरिन्थ्यो। संवादका क्रममा भने त्यस्ता महिला पात्र बन्ने पुरुषलाई निकै सकस हुन्थ्यो। महिलाको आवाज निकाल्नुपर्दा स्वाभाविक अभिनयमा पनि केही हदसम्म असर गरेको हुन्थ्यो। तैपनि महिला बनेर अभिनय गर्ने पुरुषको अभिनयलाई कसैले खिसी गर्न सक्दैनथे र दबू प्याखँप्रति दर्शकको आकर्षण पनि कम हुँदैनथ्यो।

मनोरञ्जनका लागि पर्याप्त विकल्प नहुँदा मुश्किलले वर्षमा एक सिजन प्रदर्शन गरिने यस्ता दबू प्याखँहरूमा दर्शकहरूको ओइरो नै लाग्थ्यो। दबू प्याखँ राति प्रदर्शन गरिने भए तापनि दर्शकहरू निद्रा माया मारेर पनि दबू प्याखँ हेर्न झुम्मिन्थे। ठिमीका डबलीहरूमा दबू प्याखँ प्रदर्शन हुँदा ठिमी वरपरका गाउँहरूदेखि दर्शकहरू ओइरिन्थे। अनि यही दबू प्याखँ हेर्ने बहानामा आएका युवायुवतीले आफ्नो मनपर्ने मान्छेसित खुलेर मनको कुरा साट्ने अवसरसमेत पाउँथे। यस्तै अवसरको उपयोग गर्न पनि राति प्रदर्शन हुने यस्तो दबू प्याखँ हेर्न हुरुक्कै हुन्थे। पुरुषले नै महिला पात्रको भूमिका निर्वाह गरिने त्यस्ता दबू प्याखँहरूमा पुरुष र महिलाको अन्तरंग दृश्यहरूका बेला दर्शकहरू निकै उत्तेजित भएर हुटिङ गर्थे। 

भक्तपुरको दबू प्याखँको इतिहासमा स्वर्गीय रामशेखरको ठूलो योगदान छ। उनले थुप्रै दबू प्याखँहरूको लेखन, निर्देशन र अभिनयसमेत गरेका छन्। उनीपछिका धेरै कलाकारले उनको पदचापलाई पछ्याएका छन्।

काठमाडौं उपत्यकामा देखाइने दबू प्याखँ विशेषगरी वर्षको एक पटक येँया पुन्ही अर्थात् इन्द्रजात्राको अवसर पारेर देखाइन्थ्यो। आठ दिनसम्म मनाइने इन्द्रजात्रामा आठै दिन काठमाडौंका टोलटोलमा दबू प्याखँ देखाइन्थ्यो। यसो त गाइजात्राको अवसरमा पनि काठमाडौं उपत्यकाका टोलटोलमा दबू प्याखँ देखाइन्थ्यो। यसलाई स्थानीय भाषमा ख्याल प्याखँ भनिन्थ्यो। टोलको सार्वजनिक स्थानमा मञ्च बनाएर यस्तो दबू प्याखँ देखाइन्थ्यो। कतै–कतै भने स्थायीरूपमै डबली बनाइएको हुन्थ्यो। कतै–कतै यस्ता डबलीहरू पछिसम्म पनि थिए। तर सहरीकरणसँगसँगै बाटो विस्तार र अतिक्रमणको चपेटामा परेर यस्ता स्थायी डबलीहरू भत्काइए र हराए। 

पछि टोलटोलमा भिडियो भित्रियो। प्रतिव्यक्ति दुई रूपैयाँ लिएर देखाइने भिडियोले दबू प्याखँलाई विस्थापन गर्न धेरै नै सघायो। दुई रूपैयाँमै भनेजस्तो हिन्दी वा अंग्रेजी चलचित्र हेर्न पाएपछि स्थानीय दबू प्याखँप्रति दर्शकको अभिरुचि घट्दै गयो। दबू प्याखँका लेखक, निर्देशक तथा कलाकारहरू पनि विस्तारै यो क्षेत्रबाट टाढिँदै गए। केही हदसम्म स्थानीय कला र संस्कृतिको जगेर्ना गर्नमा सघाउने भए पनि रहरैरहरले दबू प्याखँ बनाउने र देखाउने यो चलन धेरै वर्ष टिक्न सकेन। २०४१ माघ १७ गते एक परियोजनाको रूपमा सुरु भएको नेपाल टेलिभिजनले २०४२ पुस १२ संस्थानमा परिणत भई पुस १४ गतेदेखि नियमित प्रसारण हुन थाल्यो। नेपाल टेलिभिजनले हप्तामा एकपटक हिन्दी चलचित्र देखाउन थालेपछि त काठमाडौं उपत्यकामा देखाइने दबू प्याखँ लोपको संघारमै पुग्यो। मनोरञ्जनका लागि सजिलो र धेरै विकल्प पाएपछि दबू प्याखँप्रति दर्शकको आकर्षण पनि घट्दै गयो भने दबू प्याखँ लेख्ने, निर्देशन गर्ने र दबू प्याखँमा अभिनय गर्ने कलाकारहरूको रुचि पनि घट्दै गयो। बरु त्यही समयबाट व्यावसायिकरूपमा नेपाली चलचित्रहरू बन्न थालेपछि दबू प्याखँमा अभिनय गर्ने कतिपय कलाकारहरू चलचित्रतर्फ आकर्षित भए। नेपाली चलचित्रले बजार ओगट्न थालेपछि भने दबू प्याखँहरू बन्दप्राय भए। कहिलेकाहीँ शिक्षामूलक, सन्देशमूलक र जनचेतनामूलक दबू प्याखँहरू तथा धार्मिक नाचहरू डबलीहरूमा प्रदर्शन गरिए पनि सामाजिक कथावस्तु बोकेका वा व्यावसायिक दबू प्याखँहरूको प्रदर्शन भने बन्दै भएको स्थिति छ।

यसो त काठमाडौं उपत्यकामा देवी नाच, महाकाली नाच, लाखे नाच, भैरव नाच, नवदुर्गा नाच, आदि विभिन्न प्रकारका नाचहरू डबलीहरूमै देखाइने चलन अद्यापि चलिरहेकै छ। अन्य धार्मिक नाचहरूभन्दा नितान्त फरक र सामाजिक उद्देश्यले प्रेरित यस्ता दबू प्याखँप्रति एक समय दर्शकहरूको निकै ठूलो आकर्षण थियो। दबू प्याखँका लेखक, निर्देशक तथा कलाकारहरू येँया पुन्ही आउनुभन्दा केही समयअघि नै तयारीमा जुट्थे। अनि येँया पुन्हीको अघि र पछि पनि दबू प्याखँ प्रदर्शन गरिन्थ्यो। 

दबू प्याखँमा सामाजिक सन्देश हुन्थ्यो। युवायुवतीको प्रेमदेखि हास्यव्यंग्य र सामाजिक वैरभाव, इष्र्या, द्वन्द्वलगायत सामन्ती प्रथाको विरोध, गरिबी र पछौटेपन आदि पनि दबू प्याखँका विषयवस्तु हुन्थे। विभिन्न क्षेत्रसँग आवद्ध समाजका स्थानीय व्यक्तिहरूलाई नै इंगित गर्दै व्यंग्य र छेडखानी पनि दबू प्याखँमार्फत् गरिन्थ्यो भने धार्मिक कथावस्तुलाई दबू प्याखँको विषयवस्तु बनाइन्थ्यो। शिशिर–वसन्तको धार्मिक कथामा आधारित मार्मिक दबू प्याखँको प्रदर्शनले दर्शकलाई निकै भावुक बनाउँथ्यो। दर्शकहरू कलाकारको अभिनयसँगसँगै कहिले हाँसेर त कहिले रोएर आफ्नो प्रतिक्रिया जनाउँथे। शिशिर–वसन्त निकै मार्मिक कथामा आधारित दबू प्याखँ मानिन्थ्यो। यो दबू प्याखँका कलाकारहरू अभिनयकै क्रममा भावनामा डुबेर डबलीमा साँच्चिकै रुन्थे भने दर्शकहरू पनि आँसु झारीझारी रुन्थे।

हिजो डबलीबाट उठेका कलाकारहरू अहिले कलाकारितामा निकै खारिएका छन् र आफ्नो कला प्रस्तुत गरिरहेका छन्। स्थानीयस्तरमा हुने दबू प्याखँ र नेपाल टेलिभिजनमा आउने ‘प्रतिभाको डबली’ले पनि कलाकार जन्माउन धेरै हदसम्म मद्दत गरेको थियो। तर, स्थानीयस्तरमा थुप्रै कलाकार जन्माउने डबलीको अस्तित्व अहिले संकटमा परेको छ। न नेपाल भाषामा दबू प्याखँ मञ्चन हुन्छन्, न त नेपाली भाषामा डबली नाटक नै मञ्चन हुन्छन्। देशका एकाध ठाउँमा दबू प्याखँले आफ्नो उपस्थिति जनाइरहे पनि त्यो दरिलो भने हुन सकेको छैन। विभिन्न किसिमका प्रविधियुक्त सिनेमाघर, धेरै टेलिभिजन र सयौं टेलिभिजन च्यानलहरूले गर्दा दर्शकहरूले मनोरञ्जनको सजिलो र सुलभ विकल्पहरू पाए। जसले गर्दा दबू प्याखँ छायाँमा पर्न गयो। सर्वनाम, गुरुकुल, शिल्पी थिएटर, मण्डला नाटकघर आदिले रंगमञ्चीय नाटकलाई बचाइराख्ने कोसिस गरिरहेको भए तापनि स्थानीयस्तरका मौलिक दबू प्याखँहरू भने लोपकै संघारमा पुगिसके। स्थानीयस्तरमा कलाकार जन्माउन र स्थानीय भाषा, कला र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्‍याउनसक्ने दबू प्याखँको पुनरुत्थानका लागि स्थानीयस्तरमै कलाकारहरू जागरुक हुनुपर्ने आवश्यकतामा दबू प्याखँमै दुई दशकभन्दा बढी समय बिताएका लेखक÷निर्देशक रत्न बेहोशीको जोड छ।

प्रकाशित: १८ फाल्गुन २०७५ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App