१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

स्टेप बार्इ स्टेपकाे राजनीति

उनलाई कसैले टपक्क टिपेर सांसद बनाएको पनि होइन । न कुनै नेताको आशीर्वादले । नेताको चाकडी चाप्लुसी गर्ने बानी पनि छैन । ११ वर्षकै बालापनमा राजनीतिमा होमिएकी स्याङ्जाकी पद्मा अर्याल जेलनेलसहित लामो राजनीतिक आरोह–अवरोह पार गरेर मन्त्री पदमा पुगेकी नेतृ हुन् ।

राजनीतिक यात्रा सुरु गर्दा उनले मन्त्री बन्छु भन्ने कल्पना नै गरिनन् । मुलुकमा यति छिटो राजनीतिक परिवर्तन होला भन्ने उनलाई लागेको थिएन ।

ललितपुर हरिहरभवनको सरकारी निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अर्याललाई सोध्यौं– ‘राजनीति सुरु गर्दा मन्त्री बनुला भन्ने लागेको थियो ?

अर्यालले हाँस्दै भनिन्, ‘राजकीय पदमा पुगिन्छ भन्ने कल्पनै थिएन ।’ राज्य परिवर्तनका लागि बन्दुक बोक्नु पर्छ । मर्न, मार्न तयार हुुनुपर्छ । यी हातले बन्दुक बोक्न सक्छन् कि सक्दैनन् ? भन्नेमा भने उनलाई चिन्ता थियो रे ।
राजनीति थाल्दा मात्र नभएर पार्टीका विभिन्न पदमा पुग्दासम्म उनले मन्त्री बनुला भन्ने सोचेकी थिइनन् । यसले प्रष्ट हुन्छ । पद्या पदका लागि कुनै व्यक्तिगत अभिष्ट पूरा गर्न राजनीतिमा लागेकी होइनन् । समाज रूपान्तरणका लागि राजनीतिमा मूल मन्त्र बनाएकी हुन् । 

पछिल्लो समय राजनीति विकृत बन्दै गएको छ । उच्च पदमा पुग्न नातावाद, कृपावाद, पैसावालाको बोलवाला छ । पद्या त्यस्तो उदाहरणीय पात्र हुन् । उनी कुनै लोभ, लालच नराखी निरन्तर खटिरहिन् । पद्यालाई नै पद र प्रतिष्ठा पछ्याउँदै आयो । अहिले नेकपा एमाले र नेकपा माओवादी पार्टी एकीकरणपछि बनेको नेकपाको दुई तिहाईको शक्तिशाली सरकार छ । त्यही सरकारमा एक्लो महिला फूल क्याबिनेट मन्त्री पद्या छन् । योगदान गरेकै कारण मन्त्री पदले उनलाई पछ्यायो । अर्याल भन्छिन्, ‘कुनै पद पाउँलाभन्दा पनि राज्यसत्ता परिवर्तन र जनताको हितको निम्ति जोखिम मोलेर राजनीतिमा होमिएकी हुँ ।’ 

‘यतिका महिला सांसद छन् । प्रधानमन्त्री केपी ओलीको नजरमा कसरी पर्नु भयो । वहाँले नचाएको मन्त्री बन्न सम्भव थियो ? अर्याललाई हामीले अर्को प्रश्न ते-स्यायौं– ‘उनी मुसुक्क हाँसिन् ।’

अनि, आफ्नो राजनीतिक इतिहासको राजनीतिक इतिवृत्तान्त बताइन् । जीवनका उतार–चढाव सुन्दा हामीलाई लाग्यो । दृढइच्छा शक्ति र अठोट भएको महिला भए उनको राजनीतिक यात्रामा उहिल्लै पूर्णविराम लाग्थ्यो । उनको आँट, साहस र परिवर्तनप्रतिको संकल्पले नै यो अवस्थामा आएको ठम्यायौं ।

आफू मन्त्री पदमा ओलीको नजरमा पर्नुको प्रमाण पेश गर्दै अर्यालले भनिन्– ‘केपी कमरेड पार्टीको नेता हो । देशभरि पार्टी कार्यकर्ताको के कति योगदान त्याग छ । हाम्रो लगनशीलता, क्रियाशीलता, पृष्ठभूमि वहाँलाई थाहा छ । म जुन ठाउँ र पृष्ठभूमिबाट अगाडि बढेँ । विगतदेखि बुझ्नु भएकै थियो । पार्टीले मलाई जुन जिम्मेवारी र मोर्चामा खटाए पनि आजका दिनसम्म कुशलतापूर्वक पूरा गरेकी छु । पद्यालाई दिएको जिम्मेवारी पूरा गरेन भन्ने छैन । धेरै पक्षको विश्लेषण गरेर मलाई जिम्मेवारी दिएको हुनुपर्छ ।’ जुन खालको पेचिलो लडाइँबाट म आएँ त्यसलाई पनि ख्याल गर्नुभएको हुनसक्छ ।’

हो, अर्याल जुन निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको निर्वाचनमा विजयी भइन् । त्यो अझै चुनौतीपूर्ण र कठिन थियो । स्याङ्जा एक त नेपाली कांग्रेसको गढ भएको जिल्ला । त्यसमाथि प्रतिस्पर्धी कांग्रेस प्रभावशाली नेता गोपालमान श्रेष्ठ । पार्टीगतरूपमा मात्र नभएर स्याङ्जामा गोपालको आफ्नै विरासत । पटक—पटक मन्त्री भएर उच्च पदमा पुगेका श्रेष्ठसँग राजनीतिक पौँठेजोरी खेल्नु सहज थिएन । अर्यालले श्रेष्ठको विरासतलाई ढालेर आफूलाई दरिलो राजनीतिक खेलाडीको रूपमा स्थापित गरिन् । यही कारण पनि अर्याल ओली मात्र नभएर तत्कालीन एमाले नेतृत्वको नजरमा परेर मन्त्री बन्न सफल भएकी हुन् । पार्टी एकीकरणपछि नेकपाले पनि अर्याललाई न्याय ग¥यो ।

राजनीतिका प्रेरणादायी घटना

राजनीतिक विरासत बोकेको परिवार भएर राजनीतिमा आएकी पनि होइनन् । आफ्नै विवेक र बह्मले राजनीतिक गोरेटोमा लागिन् ।

बालापनमा जिज्ञासु हुनु स्वाभाविक हो । जनमत संग्रहताका निर्दल कि बहुदल भन्ने प्रचार भयो । निलो कि पहँेलो चिह्नमा मतदान गर्ने विवाद हुन्थ्यो । आफू मतादाता नभए पनि अर्यालले उत्सुकता प्रकट गरिन् । गाउँमा वामपन्थी विचार राख्ने मान्छे भएकाले उनी तिनै मान्छेको संगतमा परिन् । र, बहुदलको पक्षमा लागिन् । 

११ वर्षकै उमेरमा राजनीतिमा चासो राखे पनि १३ वर्षदेखि उनी संगठित रूपमा राजनीतिमा लागिन् । ‘३६ सालको जनमत संग्रहमै राजनीतिप्रति चासो थियो,’ उनले भनिन्, ‘३९ सालदेखि तत्कालीन मालेबाट संगठित भएँ ।’ 

गाउँमा त्यो बेला जनतालाई भोकमरीको कार्यक्रम थियो । पञ्चायतमा गहुँ, चामल वितरण गरिन्थ्यो । तत्कालीन पञ्चले आफ्ना मान्छेलाई दिने । धेरै आफूले राख्ने गर्थे । त्यो देखेर उनलाई सैह्य भएन । माले समर्थित केही अग्रजले अनियमितता गर्ने पञ्चलाई कालोमसो लगाई ढ्यांग्रो ढोकेर एक घण्टा तलको आँधीखोला कटाए । उनमा थप कौतहलता जाग्यो । 

किन कालोमोसो लगाइयो त ? तत्कालीन पञ्चले गरेको अन्याय उनलाई पनि सैह्य भएन । त्यसले प्रेरित भयो ।
४० सालमा पिस्कर हत्या काण्ड भयो । त्यो बेला गोली चलाएर निहत्था मान्छे मारेको गाइँगुइँ सुनिन् । सांस्कृतिक कार्यक्रम देखाएकै बहानामा जनता मारिएको थियो । त्यो घटना सुनेपछि उनलाई झन् विद्रोही बनायो । ‘ओ हो यो त ठूलो ज्याजती भयो, उनले मनमनै गमिन् ।

१४ वर्षको उमेरमा कक्षा ७ मा पढ्दा नै त्यो घटनाको विरुद्धमा मञ्चमै भाषण गरिन् । गाउँकी एउटी स्कुले बालिका । कार्यक्रमका सहभागीले निकै राम्रो बोल्यो भनेर तारिफ गरे । त्यो भाषणले उनको गाउँमा चर्चा चुलियो । उनी मख्ख नहुने कुरै भएन । त्यसले उनलाई उत्साह र प्रेरणा दियो ।

बालचेत नै अन्यायविरुद्ध 

भोकमरीमा पञ्चहरूले खाद्यान्न वितरणमा गरेको विभेद र पिस्कर हत्या काण्ड । दुई घटना उनका राजनीतिक जीवनका प्रेरणादायी घटना हुन् । ‘यी दुई घटनाले मेरो मनमा चोट पुग्यो,’ उनले भनिन्, ‘अन्यायको हद हुन्छ भनेर अन्यायका विरुद्धमा लाग्ने संकल्प गरेँ ।’ अन्याय सहनु हुँदैन भनेर उनी ११ वर्षकै उमेरमा बालचेतमै अन्यायको विरुद्धमा लाग्दा राजनीतिमा प्रवेश गरेको स्मरणमा ताजै छ ।

त्यतिबेलाको सामाजिक संस्कार बाधक थियो । फलानाकी छोरी उत्ताउली भएर भाषण गर्दै हिँडी भनेर गाउँमा कुरा काट्थे । छोरीचेली घर छाडेर हिँडे बिग्रिन्छ भन्ने सामाजिक बुझाइ थियो । कार्यक्रममा नजान पारिवारिक दबाब । पारिवारिक आग्रहलाई अटेर गर्दै निरन्तर अघि बढिन् । आफन्तमा छोरी बिग्रिएली कि भन्ने चिन्ता थियो । पृथक विचार राख्नेले अनेक धाकधम्की देखाएर उनलाई आन्दोलनमा नलाग्न हतोत्साही गर्थे । प्रहरीले लैजान्छ भनेर त्रसित बनाउँथे । यी डरधम्की सामाजिक र पारिवारिक अवरोधलाई उनले वास्ता गरिनन् । दृढ संकल्पित भएर खटिरहिन् ।

स्कुले जीवनमै वारेन्टेड

२०४३ सालमा पार्टी (माले) ले पञ्चायती चुनावलाई उपयोग गर्ने नीति लियो । उनी पार्टीका गतिविधिमा निरन्तर संलग्न भइन् । स्कुले जीवनमै तत्कालीन सरकारबाट वारेन्टेड भइन् । कक्षा ८ मा पढ्थिन् । पढ्दै गर्दा स्कुलमा सिआइडी (गुप्तचरका कर्मचारी) आएको थाहा पाएपछि झ्यालबाट निस्केर भागिन् । त्यो घटना उनको स्मरणमा ताजै छ ।

निर्दलको विरुद्ध बहुदलको पक्षमा निरन्तर खटिरहिन् । स्ववियुको चुनाव थियो । प्रचार–प्रसारको क्रममा रातिमा पोष्टर टाँस्दै जाँदा साथीसँग प्रहरी चौकीमै पुगेछन् । तत्काल त भागे त्यहाँ पनि प्रहरीले थाहा पायो ।

यी विविध घटनाले उनलाई प्रहरीले पिछा गर्न छाडेन । वारेन्ट जारी ग-यो । तर, राजनीतिबाट पछि हट्ने कुरै भएन । उनले भनिन्, ‘त्यसपछि झन् इगो बढ्दै गयो । मर्न परे मर्ने भन्ने अठोट लिएँ ।’ ती दिन सम्झिँदा अहिले उनलाई नै जिरिङ (भयानक डर लाग्छ) हुन्छ रे ।

२०४५ मा भारतको नाकाबन्दी र ४६ सालको आन्दोलनमा पनि उनी अग्रपङ्क्तिमै डटेर लागिन् । पञ्चका गतिविधि विरुद्धमा कालो झण्डा देखाउँदा प्रहरीले लखेट्यो । आँधिखोला किनारै किनार भागिन् । 

घर फर्किने क्रममा प्रहरीले गिरफ्तार ग-यो । ‘पहिलो दिनमा भागाभाग भए पनि दोस्रो दिनमै हामीलाई पक्राउ ग-यो,’ उनले भनिन् । उनीसँगै पक्राउ परेका केही साथीभाइ आन्दोलनमा नलाग्ने लिखित प्रतिबद्धतापछि छुटे । उनले सम्झौता गर्न नमानेपछि अर्याललाई पोखरा लग्यो । 

‘हाम्रो लडाइँ व्यवस्था परिवर्तनविरुद्ध भएकाले मर्न परे मरुँला भनेर सम्झौता गरेनौं,’ अर्याल भन्छिन् । त्यतिबेला अब यो काम गर्दिन भनेर भन्न दबाब दिन्थे । जेलमा खान नदिने, यातना दिन्थे । ‘अरुलाई भात दिँदा हामीलाई चिउरा दिइन्थ्यो,’ जेल जीवन स्मरण गर्दै भनिन्, ‘विभिन्न प्रयत्न गरे पनि गलेनौं ।’ १५ दिन स्याङ्जा राखेपछि जेलचलान गरेर पोखरा पठायो । 

दाइ स्याङ्जाको जेलमा । बहिनी पोखराको जेलमा । परिवारका सदस्यमा टर्चर नहुने कुरै भएन । पञ्चहरूले अब त्यहीँ जेलमा सडेर मर्छ भनेर बाबुआमालाई हतोत्साही गर्थे । पीडामा सान्त्वना थप नुनचुक छर्किने काम हुन्थ्यो । तर उनी कत्ति पनि विचलित भइनन् । परिवारले पनि मन दह्रो बनाए । ‘हामी आफ्ना विचारमा अडिग भयौं,’ उनले भनिन् ।
स्याङ्जाभन्दा पोखरामा राहत भयो । त्यहाँ धेरै साथी थिए । आन्दोलन उत्कर्षमा पुग्यो । दुई महिना जेल बसेपछि बहुदल घोषणा भयो । अर्याल पनि जेलमुक्त भइन् । जेल, नेलले उनलाई झन् क्रोधित बनायो । राजनीतिप्रति यस्तो नशा चढ्यो कि । एक दिन कुनै कार्यक्रम छुट्यो भने सबै डुब्यो कि भन्ने लाग्थ्यो रे ।

२०६२/६३ को आन्दोलनमा नेतृत्व गर्दा पटक–पटक प्रहरी हिरासतमा पुगिन् । सुत्केरी हुँदा पनि अविचलित रूपमा लागिन् । भूगोलकै राजनीतिमा जरा गाडिन् । लामो समय एउटै संगठनमा काम गरेपछि एमाले विभाजन हुँदा उनलाई पीडा भएछ । पार्टी विभाजन हुँदा माले स्कुलिङमा हुर्किएकी पद्या वामदेवकै पक्षमा लागिन् । ‘एउटै संगठनमा हिँडाएका मान्छेलाई त्यता होइन यता भनेर तान्न निकै कठिन र पीडादायी भयो,’ उनले भनिन् । 

छलाङ होइन स्टेप बाई स्टेप

राजनीतिमा एकै पटक उच्च पदमा पुगेर छलाङ मार्दै चमत्कार गर्ने धेरै छन् । पद्या त्यस्ती नेतृ हुन्, जो विद्यालयदेखि गाउँ, ईलाका, क्षेत्र, जिल्ला, हुँदै केन्द्रीय नेतृत्वमा पुगिन् । पार्टी सिस्टममा सबै तहका संरचनामा काम गरेकी छिन् । तत्कालीन माले पार्टीको प्रारम्भिक कमिटीबाट पदीय जिम्मेवारी सुरु गरेकी पार्टी एकीकरणपछिको एमाले केन्द्रीय सदस्य भइन् । सचिवालय सदस्य, कार्यालय सचिव, अञ्चल कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, जिल्ला अध्यक्ष, अखिल नेपाल महिला संघमा पदीय जिम्मेवारी पूरा गरिन् ।

२०६४ मै समानुपातिक सांसद भएकी अर्याल ७४ को निर्वाचनमा प्रत्यक्ष निर्वाचन लडेर कांग्रेसका गोपालमानलाई पराजित गरेर चर्चामा आएकी हुन् ।

आरक्षण होइन खुला प्रतिस्पर्धा

धेरै महिला आरक्षणबाट पदमा पुगे । पद्या त्यस्ती नेतृ हुन् । जो पुरुषसँगै खुला प्रतिस्पर्धा गर्न मन पराउँछिन् । पार्टीको आन्तरिक जीवनमा होस् या बाहिर । तत्कालीन एमालेको राष्ट्रिय प्रधिनिधि परिषद्, जिल्ला अध्यक्ष र प्रतिनिधि सभामा हेवी वेट पुरुषलाई नै पराजित गरेर आफूलाई अब्बलसावित गरिन् ।

गुटगत राजनीतिमा पुरुषसँग प्रतिस्पर्धा गर्न निकै कठिन हुन्छ । भूगोलको राजनीतिमा खटेकै कारण आफू सफल भएको उनको ठम्याइ छ । ‘दिनानुदिन पार्टी र जनताका काममा संलग्न भएँ,’ उनले भनिन्, ‘त्यसकै परिणामस्वरूप सबैले विश्वास गर्नुभयो ।’

पितृसत्तात्मक सोचमा महिलालाई टिक्न निकै कठिन छ । नेतृत्व गर्न सक्षम भएको उनले प्रमाणित गरिन् । ‘कुनै पुरुषभन्दा कमजोर नभई निरन्तर खटेँ,’ उनले भनिन्, ‘महिला भएर सक्दैन भन्ने तर्क गर्ने अवसर नै नदिई काम गरेँ ।’ योगदान र क्षमतामा आफूलाई प्रमाणित गरिन् । पार्टीमा मात्र होइन, सरकारी पदमा पनि राज्य मन्त्री हुँदै फूल मन्त्री भएकी हुन् ।

जनताबाट टेष्ट हुन चुनावमा 

अधिकांश महिला समानुपातिक सूचीबाट सजिलो बाटो रोजेर सांसद बने । प्रत्यक्ष निर्वाचन जोखिमपूर्ण थियो । प्रतिस्पर्धी हेवी वेट उम्मेदवार गोपालमान । दुई दशकसम्म निरन्तर सांसद भएर राजकीय पदमा पुगेर मन्त्री बनेका व्यक्ति । उनैसँग प्रतिस्पर्धामा उत्रिनु सहज थिएन । ‘कांग्रेसको औंलामा गनिने र पटक–पटक राजकीय पदमा आसीन व्यक्तिसँग हामी तल्लो तहबाट राजनीति गर्दै आएको व्यक्तिले प्रतिस्पर्धा गर्न कठिन नै थियो,’ उनले भनिन्, ‘तर, कांग्रेसको विरासत तोड्ने संकल्प लिएर चुनावमा होमिएँ । 

राजनीतिमा पूर्णविराम लाग्ने भएर निर्वाचनमा गएकी होइनन् । समानुपातिकबाटै सांसद बन्ने अवसर थियो । तर, समानुपातिक सांसद बन्दा मन्त्री बन्ने अवसरको ढोका खोल्न कठिन थियो । जोखिम उठाएकाले नै मन्त्रीको पद उपहार पाइन् ।

बहुदलपछिका हरेक निर्वाचनमा पार्टी नेतृत्वले नलड भनेन । पार्टी अध्यक्ष हुँदा पनि आफूभन्दा जुनियरलाई उम्मेदवार बनाएर निर्वाचन परिचालन गरिन् । लामो समय जिल्लालाई नै आधार बनाएर राजनीतिक गरेकाले अनुमोदिन हुन जरुरी छ भन्ने ठानेर उनी उम्मेदवार बनेकी थिइन् । ‘११ वर्षकै उमेरदेखि निरन्तर राजनीतिमा छु,’ अर्यालले भनिन्, ‘जनताको मप्रतिको अभिमत के हो भन्ने टेष्ट गर्न पनि प्रत्यक्ष निर्वाचन लडेकी हुँ ।’

धेरैले विगतको निर्वाचनको क्याल्कुलेसन गरे । उनले विर्वाचन फेस गरेको कांग्रेसकै पकड क्षेत्र हो । स्याङ्जा क्षेत्र नम्बर १ रापकोट गाविस–७ मा घर, क्षेत्र नं २ थुमपोखरा–७ मा घाइती घर । माइती घर क्षेत्र २ बाट चुनाव लडिन् । क्षेत्र नं १ मा १० हजारभन्दा बढी एमालेका भोट थिए ।

असुरक्षित भए पनि रिक्स मोल्नुपर्छ भनेर क्षेत्र नं २ बाट चुनाव लडिन् । ‘रिस्क लिनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भन्छिन्, ‘नेतृत्व सजिलो ठाउँ खोजेर जाने होइन । अप्ठ्यारो पार गर्न सक्ने मात्र सफल नेतृत्व हो ।’ 

सानासित होइन ठूलासित नै लड्नु पर्छ भनेर गोपालमानसँग प्रतिस्पर्धा गरेको रे । ‘हारेपछि ठूलैसँग हार्दा मज्जा हुन्छ भनेर गोपालमान दाइ उठेकै क्षेत्र रोजेकी हुँ,’ उनले भनिन् । अर्यालका अनुसार स्थानीय तहको मत जोड्दा तीन हजार तल भए पनि ३७ सय मतान्तरले विजयी भइन् ।

गोपालमानकै घरमा बास 

व्यक्तिगत रूपमा गोपालमानसँग सम्बन्ध राम्रो भएको बताउँछिन् । सधैं सम्मानको व्यवहार गर्छिन् । ‘वहाँ मभन्दा धेरै सिनियर नेता हो । दाइ भनेर बोलाउँछु,’ उनले भनिन्, ‘मैले सधैँ श्रद्धा र सम्मान नै गर्छु । हामीले स्वस्थ प्रतिस्पर्धा ग-यौं ।’
उनी गोपालमानको घरमा बास पनि बसेकी छिन् । २०४६ को आन्दोलनपछि दुवैजना जेलमा थिए । पोखरा जेलबाट दुवैजना छुटे । दुवै स्याङ्जा पुग्दा रात प¥यो । अर्याल पनि गोपालमानकै घरमा बास बसिन् ।

डाक्टर र जनता भेट 

सुरुमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी अर्याल अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन् । स्वास्थ्यमा काम गर्दाको अनुभव पृथक छ । स्वास्थ्यमा अस्तव्यस्तता छ । डाक्टर र बिरामीको भेट गराउनु नै प्रमुख चुनौती रहेको बताइन् । ‘दरबन्दी छ चिकित्सक छैन,’ उनले भनिन्, ‘यस्तो अवस्थामा डाक्टर र बिरामीको भेट गराएर कसरी स्वास्थ्यमा जनताको पहुँच पु-याउने ।’ विवादित छवि भएको मन्त्रालयमा शुद्धता र सुशासन आवश्यक देख्छिन् ।

विचौलियालाई निषेध

जनताले सेवा लिने ठाउँ मालपोत र नापीमा विचौलियाको बिगबिगी छ । त्यही मन्त्रालयको नेतृत्वमा छिन् । ‘पैसाको चलखेल हुन्छ भन्ने निकै सुनिन्छ,’ उनले भनिन्, ‘अब सुधार त्यहीँबाट गर्नु भनेर लागेकी छु ।’

पैसाको चलखेल हुन नदिन विचौलियालाई कार्यालय प्रवेशमा निषेध गर्न ११ बुँदे निर्देशन जारी गरेकी छिन् । गृहसँग समन्वय गरेर दुई÷दुईजना सुरक्षाकर्मी घटाउन निर्देशन दिएको बताइन् । 

सेवालाई प्रभावकारी बनाउ अनलाइन सेवा दिने तयारी छ । मालपोत र नापी कार्यालय परिसरभित्र लेखापढी गर्न नपाइने निर्णय गरेकी छिन् । 

गरिबी निवारण र सहकारीलाई सँगै लैजाने योजना बनाएकी छिन् । ‘सहकारीलाई उद्योगमा आधारित उत्पादनमूलक क्षेत्रमा लगाएर बेरोजगार युवालाई रोजगारमा जोड्नु पर्छ,’ उनले भनिन् । गरिब परिचयको लाइसेन्स दिँदैमा गरिबी निवारण नहुने बताउँदै नयाँ कार्यक्रम ल्याउने बताउँछिन् । भ्रष्टाचारविरुद्ध सबैले सामूहिक संकल्प गर्ने बेला आएको बताउँछिन् । 

जागिरे मानसिकता विकासका बाधक

जनताका गुनासा लिएर सरकारी अड्डा चाहार्ने अर्याल अहिले जनताका गुनासा सुन्ने ठाउँमा छिन् । मन्त्री भएको छोटो समयमै सरकारी कर्मचारीको जागिरे मानसिकता विकासको बाधक भएको महसुस गरेकी छिन् । ‘जनताको गुनासो सरकारी कार्यसम्पादनमा छ,’ उनले भनिन्, ‘जागिरे मानसिकता छँदासम्म देशको विकास हुँदैन ।’ उनले भनिन्, ‘घडी हेरेर कतिखेर कार्यालय समय सकिएला भनेर देश बन्दैन ।’ सरकारी तलब खाने प्राइभेटमा जागिर खाने गतल प्रवृत्ति रहेको बताइन् । ‘अब नयाँ अभ्यास गर्नुपर्छ,’ उनले भनिन्, ‘कर्मचारी स्थायी भन्ने राख्नु हुँदैन । सारा कर्मचारीलाई करार बेसमा अस्थायी गर्नुपर्छ ।’ जनताको स्प्रिटअनुसार काम गर्ने चाहाना भए पनि विभिन्न बाधा आउने बताइन् ।
जनमानसले ठूलो अपेक्षा गरेका मन्त्रीभन्दा अर्याल अब्बल रूपमा प्रस्तुत भएकी छिन् । सुशासन र भ्रष्टाचार न्यूनीकरणको पक्षमा उनी दृढ संकल्पित भएको देख्दा लाग्छ । मन्त्री अर्यालले सुधार गर्नेछिन् । त्यसकै पूर्व संकेतका रूपमा विचौलिया र ‘भ्रष्टाचारका अखडा’ मानिने मालपोतमा विचौलिया प्रवेश रोक लगाउन उर्दी नै जारी गरेकी छिन् । 

सेडुअलविनाको दैनिकी 

राजनीतिक गर्नेलाई समयको कुनै ठेगान हुँदैन । त्यो पद्यालाई लागू नहुने कुरै भएन । अघिपछिभन्दा मन्त्री भएपछि व्यस्तता बढेको छ । बिहान पाँच बजे उठ्छिन् । ३० मिनेट व्यायाम गर्छिन् । ७ बजेबाट भेटघाट सुरु हुन्छ । राति अबेरसम्म मन्त्रालयको काम र भेटघाटमा व्यस्त हुन्छिन् । ‘खानपानमा कुनै त्यस्तो सेड्युल छैन । जे पायो त्यही खान्छु,’ उनले भनिन् । खेलकुदमा रुचि छ, तर, समय हुँदैन । सानो छँदा कपड्डी खेल्थिन् । अहिले पनि रिङ खेल्न मन पराउँछिन् । उनलाई राजनीतिकर्मीको जीवन अस्तव्यस्त लाग्दो रहेछ ।

छेकबारविना पारिवारिक सहयोग

पारिवारिक असहयोगले हरेक ठाउँमा अप्ठ्यारो पारेको भए उनको राजनीतिक यात्रा बीचमै रोकिन्थ्यो । परिवारको कुनै छेकबार भएन । रापकोट–७ स्याङ्जाका लक्ष्मीपति पौडेलसँग प्रगतिशील विवाह गरिन् । राजनीतिकर्मीसँग सम्बन्ध गाँसेकाले उनलाई सहयोग भयो । ‘तँ हिँड्न पाउँदिनस् भनेर तगारो हालेको भए अप्ठ्यारो हुन्थ्यो,’ उनले भनिन्, ‘मेरो यात्रामा कसैले छेक्ने र रोक्ने काम गरेन ।’ दुवैजना पूर्णकालीन कार्यकर्ता हुन् । दुवै जनाले मिलेर बालबच्चा हुर्काए । बच्चा ठूला भएपछि पति आयआर्जनमा लागे । पद्या पूरै राजनीतिमा खटिरहिन् । उनीहरूले कृषि फार्म सञ्चालन गरे । ‘बच्चाबच्ची पढाउने जिम्मा वहाँले लिनुभयो । म पूरै समय पार्टीमा खटेँ,’ उनले भनिन्, ‘बाहिर जाँदा पालो गरेर काम गर्छौं,’ घरायसी काममा पद्याले अग्रसरता लिन्छिन् । उनी झटपट अरूलाई प्रेरणाको स्रोत मान्न पनि तयार छैनन् । सायद, उनी आफैं जेलनेल, आरोह–अवरोह पार गरेर आफ्नै बलबुताले यो ठाउँमा आएको हुनुपर्छ । पतिको सहयोगलाई भने सराहाना गरिन् । घर, बालबच्चा र राजनीति गर्दै मन्त्री पदमा पुगेकी अर्याललाई महिलालाई ओभरलोड भएको बुझाइ छ । 

उनका पति २०५४ मा जिल्ला विकास समितिको उपसभापति भएका थिए । अहिले पनि राजनीति, समाज सेवा र घरायसी काममा व्यस्त छन् । उनका छोरा प्रतीक पौडेल कक्षा १२ मा विज्ञान पढ््छन् भने छोरी प्रतिज्ञा पौडेल अस्ट्रेलियामा आइटी पढ्दै छन् । 

छोरी मन्त्री भएकोमा परिवारमा अहिले खुसी र गर्व छ । विगतमा कुरा काट्ने, गाली गर्नेले अहिले प्रशंसा गर्छन् । पूर्णामित्र मावि वालिङबाट एसएलसीसम्म अध्ययन गरेकी अर्यालले भक्तपुर क्याम्पसबाट स्नातक तहको शिक्षा लिएकी हुन् ।

नमिठो स्मरण 

उनीसँग नमिठा घटना पनि छन् । पार्टीको भूमिगत काम गर्दा कसैको सम्पर्कमा जानु पथ्र्यो । पार्टीले खटाएअनुसार एकजना शिक्षकको सम्पर्कमा पुगिन् । ती शिक्षकको घरमा बास बस्ने कुरा भयो । घरमा जाँदा शिक्षककी श्रीमतीले नराम्रो सोचिछिन् । ‘बेलुका खाना खाने बेलामा ती सर र मेडमबीच निकै झगडा नै भयो,’ पद्याले भनिन्, ‘जिन्दगीमा त्यो घटना अहिले पनि नमिठो लाग्छ ।’ साँझमा केटी मान्छे पुरुषसँग जाँदा नराम्रो सोचेको कारण झगडा भएको बताइन् । ‘कहिलेकाहीँ आफूले राम्रो सोच्दा सोच्दै अर्काले नराम्रो सोच्छ,’ उनले भनिन् ।

राजनीतिमा लाग्नेहरूलाई समयको कुनै ठेगान हुँदैन । बिहान, दिउँसो, राति जुनसुकै बेला पार्टीको काममा खट्नुपर्ने । बिहे नहुँदै घरमा छुट्टै कोठामा सुत्थिन् । पार्टीका काममा परिवारका मान्छे सुतेपछि हिँड्थिन् । परिवारका सदस्य उठ्ने बेला घरमै आउँथिन् । एकदिन आमालाई टाउको दुःखेछ । राति पद्यालाई खोजिछन् । खोज्दा छोरी छैन । ‘बिहान उठेपछि आमाले राति कहाँ गएको भनेर सोध्नु भयो,’ त्यो नमिठो घटना स्मरण गर्दै उनले भनिन्, ‘सधैं ढाँटेर जान्थेँ । त्यो दिन आपत आइलाग्यो ।’ ‘संगठनको काममा गएको भनेर आमालाई सम्झाएँ,’ उनले भनिन् ।
अन्त्यमा, हामीले सोध्याैं –

तपाईं मन्त्री भएपछि जनताको पक्षमा के परिवर्तन हुन्छ त ? उत्साहित हुँदै कुरा गरेकी अर्याल अन्त्यमा भावुक बन्दै आँखामा आँसु ढिलपिल पार्दै भनिन्, ‘जनप्रतिनिधिले जनताको सपना देख्नुपर्छ । हामीलाई सहयोग गर्ने जनताले के पाए ? विश्वास गर्नेले केही पाएका छैनन् । कहिल्यैै नदेखिएका मन्त्री भएपछि सहयोग गर्छु भन्दै तम्सिन्छन् । 

प्रकाशित: २८ आश्विन २०७५ १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App