२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

कोटेश्वर–कंलकीमा ग्रिनबेल्ट खोइ?

पछिल्लो समयमा विस्तार गरिएका माइतीघर–तीनकुने र कोटेश्वर–सूर्यविनायक सडक हरियाली छन् । सडकको बीचमा ग्रिनबेल्ट राखेर बिरुवा रोपेपछि केही वर्षमै सडक हरियाली भएका हुन् । जसले गर्दा सडकको सौन्र्दयता त थपिएको छ नै, वातावरण सन्तुलनमा समेत टेवा पुगेको छ।

उपत्यकामा हरियाली मासिँदै गएपछि सरकारले सडक विस्तार गर्दा ग्रिनबेल्ट (बिरुवा रोप्ने ठाउँ) राखेर सडक हरियाली बनाउने योजना ल्याएको थियो । सोही योजनाअनुसार सडकको बीचमा विरुवा रोप्नुपर्ने भए पनि कोटेश्वर–कंलकीमा भने ग्रिनबेल्ट राखिएको छैन । बिरुवा रोप्नुपर्ने ठाउँ सडकको बीचको डिभाइडरमा भने ढुंगा छापिएको छ ।
सरकारले यसै वर्ष पनि ‘स्वच्छ वातावरण महाअभियान–२०७५’ थालेको छ । यो महाअभियान अन्तर्गत देशभरका महानगर, उपमहानगर र प्रदेश राजधानी हरियाली बनाउने योजना सरकारको छ ।

सोही अभियानअन्र्तगत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले पनि साउनमा कोटेश्वर–कलंकीमा बिरुवा रोप्ने तयारी गरेको थियो। ‘यो महाअभियानको मुख्य कार्य सडकको किनारामा बिरुवा रोप्ने हो,’ केन्द्रका प्रवक्ता केशवराज गौतमले भने, ‘काठमाडौंका साँघुरा सडकमा रोप्ने कुरा भएन, विस्तारित फराकिलो सडक कोटेश्वर–कलंकीमा रोप्ने तयारी गरेका थियौं, त्यहाँ त बिरुवा रोप्ने ठाउँ नै राखिएको रहेनछ ।’ उनका अनुसार बिरुवा रोप्नुपर्ने ठाउँ सडकको बीचमा भने ढुंगा ओछ्याइएको छ । बिरुवा रोप्नुपर्ने ठाउँमा यसरी क्रंकिट भर्नुले वातावरणको लागि ठूलो हानी पुग्ने उनको अनुमान छ । काठमाडौंमा भएको हरियाली मास्दै जाने र यसरी विस्तार गरिएका सडकमा पनि बिरुवा रोप्ने ठाउँ नराखिने हो भने प्रदूषणको अवस्था भयावह हुने विज्ञहरू बताउँछन् । सडकको बीचमा बिरुवा रोप्दा एकतिर हरियाली कायम हुन्छ भने अर्कोतिर सडकको धुलो सोस्नेदेखि प्रदूषणलाई कमी गराउँछ।

सडकको बीचमा विरुवा रोप्नुपर्ने भए पनि कोटेश्वर–कंलकीमा भने ग्रिनबेल्ट राखिएको छैन । बिरुवा रोप्नुपर्ने ठाउँ सडकको बीचको डिभाइडरमा भने ढुंगा छापिएको छ।

कोटेश्वर–कलंकी सडक विस्तार चिनियाँ सरकारको सहयोगमा भएको हो । चिनियाँ ठेकेदार कम्पनीले नै विस्तार गरेको सडकको डिजाइन नै गलत भएकाले बिरुवा रोप्ने ठाउँ नराखिएको सडक विभागका एक उच्च अधिकारी बताउँछन् । ती अधिकारीका अनुसार सडकको बीचमा ग्रिनबेल्ट राख्ने योजना थियो । ग्रिनबेल्टमा दूबो रोप्ने, गमला राख्ने, बिरुवा तथा फूल रोप्ने योजना थियो । तर, डिजाइन गर्दा ग्रिनबेल्ट नै राखिएन । चिनियाँ ठेकेदार कम्पनीले ग्रिनबेल्ट राख्ने ठाउँमा ब्लक छापिदिएका छन् । त्यसमा आयोजना प्रमुखले समेत ध्यान नदिएको आरोप ती अधिकारीको छ।

वातावरणविद् भूषण तुलाधरका अनुसार पनि सम्भाव्यता अध्ययन र डिजाइन गर्दा नै हरियालीलाई बेवास्ता गरियो । ‘उपत्यका क्रमशः हरियाली मासिएर उराठलाग्दो अवस्थामा पुगेको छ । धुलोधुवाँ र प्रदूषण पनि बढिरहेको छ,’ उनले भने, ‘झन् अब बन्ने आयोजनाले वातावरणलाई ध्यान नदिने हो भने प्रदूषणको अवस्था झनै बढ्नेछ ।’ फराकिला सडकमा ग्रिनबेल्ट राख्दा मात्रै हरियाली तथा वायु प्रदूषण कम हुने उनको अनुमान छ।

चक्रपथ सुधार आयोजना भने डिजाइन त्रुटि नभएको दाबी गर्छ । ‘हाम्रो डिजाइनमा त्रुटि भएको छैन,’ आयोजनाका प्रमुख प्रकाश भण्डारीले भने, ‘सडकको बीचमै रुख रोप्नुपर्छ भन्ने होइन ।’ उनका अनुसार आयोजनाले बिरुवा रोप्ने योजना भने बनाएको छ । ‘सडकको वारिपारि ६÷६ मिटर खाली ठाउँ छ,’ उनले भने, ‘त्यही ठाउँमा बिरुवा रोप्दा हुन्छ।’

तर, चीनसँग सम्झौता हुँदा नेपाली पक्षबाट हरियालीको कुरा नउठेपछि चिनियाँ कम्पनीले तयार पारेको डिजाइनमा ग्रिनबेल्ट नराखिएको स्रोतले बतायो । सडकको बीचमा ग्रिनबेल्ट नपरेपछि विरोध हुन थालेपछि भने आयोजनाले सडकको छेउमै भए पनि बिरुवा रोप्ने योजना बनाएको छ । सडक आसपासमा बस्ती भएकाले सडक वारिपारि रुख रोप्ने सम्भावना नभएको वातावरणविद् तुलाधरको भनाई छ।

‘सडकलाई हरियाली बनाउनुपर्छ भन्नेमा हामी अडिग छौं,’ आयोजना प्रमुख भण्डारीले भने, ‘सडकको बीचमा नराखिए पनि सडकको किनारामा बिरुवा रोप्नेछौं, बस्तीले कुनै फरक पार्दैन ।’ उनका अनुसार चाँडै नै बिरुवा रोपिनेछ।

सडक विभागका अनुसार चक्रपथ विस्तारको क्रममा सडक छेउछाउका १ हजार २ सय ३९ वटा रूख काटिएका थिए । सरकारी नियम अनुसार नै एक रुख काट्दा २५ वटा रुख रोप्नुपर्छ।

चक्रपथमा रुख काटिए अनुसार ३० हजार बढी रुख आयोजनाले रोप्नुपर्ने हुन्छ।

प्रकाशित: २२ आश्विन २०७५ ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App