४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

दोलखाको सन्देश

स्वयंभु चैत्यमा गुँल्ला बाजा टोली र लाखे नाच। तस्बिर : अमृत भादगाउँले

दोलखाको प्राचीन नगरी ‘द्वाल्खा बजार’ धेरै हिसाबले महत्वपूर्ण छ । नेपालमै पहिलोपटक चाँदीको सिक्का दोलखा राज्यले निकालेको थियो । राजा जयइन्द्रसिंहदेवका पालामा सिक्का निष्काशन भएको इतिहास छ । त्यहाँ टक्सार भवन छँदैछ।

नेवारका इष्ट देवता भीमेश्वरको मन्दिर पनि बजारमै छ । खासमा काठमाडौं भन्दा दोलखा पुरानो वस्ती मानिन्छ । काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो वस्ती साँखु हो जहाँ ३३ सय वर्ष पहिला मानव वस्ती बसेको थियो जबकी दोलखामा ५ हजार वर्ष भन्दा पहिला वस्ती बसेको मानिन्छ।

त्यसैले त संस्कृतिकर्मी शान्तकृष्ण श्रेष्ठले काठमाडौंको भन्दा दोलखाको नेवार वस्ती पुरानो भएको दाबी गर्दै अध्येताहरुको ध्यानाकर्षण गराउँदै आएका छन् । त्यसमा पुरातत्व विभाग लगायतले अनुसन्धान गरिरहेका छन् । श्रेष्ठको तर्क छ, ‘नेवारहरु दोलखा हुँदै काठमाडौं पुगेका हुन्।’   

प्राचीन नगरीमा हरेक विहान बौद्धमार्गी र हिन्दु नेवारहरू मिलेर गुँल्ला बाजा बजाउँदै चैत्य र मन्दिर घुम्छन् । सदियौंदेखि आपसमा सद्भाव बाँड्दै आएका छन् उनीहरु।

गौरवपूर्ण इतिहास बोकेको प्राचीन नगरीमा धेरै घर खाली भैसके । हुनेखानेहरु अचेल काठमाडौंमा बस्छन् । तर, दोलखाले आफ्नो परम्परा र संस्कृति विर्सेको छैन । वस्तीमा वर्षैभरि जात्रा तथा पर्व मनाइन्छ । यतिबेला त्यहाँ गुँल्ला पर्व धुमधामसँग चलिरहेको छ।

भीमेश्वर नगरपालिका–२ मा पर्ने दोलखामा पर्व चलाउन वडाध्यक्ष विराजमान श्रेष्ठको संयोजकत्वमा गुँल्ला महोत्सव मूल समारोह समिति बनाइएको छ । हरेक विहान ६ बजेदेखि उनकै नेतृत्वमा बाजा बजाउँदै चैत्य र मन्दिर घुम्ने गरिन्छ । उनीहरु विशेषत : बुक्सेल, छुक्सेल, ढोलक, शनही लगायत बाजा बजाउँदै घुम्छन्।

यसरी तिर्थस्थल घुम्नेहरुको हुलमा बौद्धमार्गी भन्दा बढी हिन्दु देखिन्छन् । त्यसो त बजारमा अचेल बौद्धमार्गी नेवारको संख्या कम छ । ‘यो हाम्रो साझा पर्व हो’, स्थानीय भरत श्रेष्ठ भन्छन्, ‘सदियौंदेखि आपसी सद्भावमा चलेको छ हाम्रो समाज।’

गुँल्ला यात्रा स्वयंभू चैत्यबाट सुरु गरेर भीमेश्वर, काली मन्दिर, त्रिपुरा सुन्दरी, डुँगल चैत्य, नाट्यश्वर, पिंगल महादेव, राजकुलेश्वर तलेजु, नक्ष्म चैत्य, गणेश मन्दिर, श्यामसुन्दर नारायण, कोर्चे चैत्य, डवाकुलुङ्गा मच्छिन्द्रनाथ हुँदै फेरी स्वयंभू चैत्यमै पुगेर टुँगिन्छ । यसरी फन्को मार्न एक घन्टा लाग्छ । महोत्सवकै अबसरमा दिउसो र राती लाखे नाच देखाइन्छ।

काठमाडौं उपत्यकामा विशेषतः बौद्धमार्गी नेवारले मनाउँछन् यो पर्व । त्यसैले दोलखा बजारले पस्केको आपसी सद्भाव, सहिष्णुता र संस्कृति संरक्षणको काम प्रेरणादायी छ ।

प्रकाशित: १६ भाद्र २०७५ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App