३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

झोराहाटमा कविताको झापड

‘मलाई कविता सुन्न खुबै मन पर्छ । तर, के गर्नु अचेलका कविताले मेरो गालामा झापड हान्नै सक्दैनन्,’ चैत १२ गते झोराहाट नाट्य केन्द्रमा आयोजना हुने कवि–गोष्ठीमा सहभागिता जनाउने सुरसारमा रहेकी ग्रामथान गाविस निवासी ७० वर्षीया कौशल्यादेवी खतिवडाले भनिन्, ‘सायद आधुनिक कविता भन्या यही होला । रासायनिक मल हालेर हुर्काएको सागपातजस्तै, न शरीरलाई पौष्टिकता दिने न त स्वाद आउने ।’
मोरङ जिल्लाको झोराहाटमा विगत वर्ष दिनदेखि आयोजना हुँदै आएको ‘गाउँमा कविता’ कार्यक्रममा काठमाडौँबाट सहभागी हुन पुगेका एक कविसामु कौशल्यादेवीले राखेका विचारले समग्र नेपाली कविता जगत्लाई नै दह्रो झापड हानेको देखिन्थ्यो । उनका जिज्ञासाले एकपटक कविलाई ‘आफूले लेखिरहेको विषय र पछ्याइरहेको शैली अनि लेखिनुपर्ने विषय तथा समात्नुपर्ने शैली’ बारे समेत सोच्न बाध्य पारेको अवस्था थियो । कौशल्यादेवीका विचार राजधानीमा चर्चा कमाएर बसेका समीक्षक–समालोचकका निम्ति पनि दह्रो थप्पड नै हो । कौशल्यादेवी घरनजिक रहेको झोराहाट नाट्य केन्द्रमा मासिक रुपमा आयोजना हुने कवि गोष्ठी त सकेसम्म छुटाउँदिनन् नै, साथमा नाटक पनि हेर्छिन् । उनले आफू १०–१२ वर्षको छँदा कुनै अमुक कविले सुनाएको कविताका पंक्ति अझै पनि बिर्सन सकेकी छैनन् । उक्त कवितामा वैदेशिक रोजगारीमा जानुपर्नाको पीडा छताछुल्ल रहेकाले उनलाई त्यसले अझै पनि प्रभाव पारिरहेको छ । लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’ कविता पनि उनलाई कण्ठै छ । ‘कविताले कि श्रोतालाई रुवाउन सक्नुप¥यो कि त हँसाउनुप¥यो । त्यति नभए पनि भित्र कतै मन छुन सक्नुप¥यो,’ उनले भनिन्, ‘गाउँमा कवितामा अहिलेसम्म झण्डै आधा सय कविका कविता सुनियो, तर थोरैलाई मात्र म सम्झन सक्छु । यति धेरै कविता सुनियो तर दुई–चार पंक्ति बल्लतल्ल सम्झन्छु ।’ गरिबका दुःख, थिचोमिचो, पारिवारिक विखण्डन, छोराछोरीमा आमा–बाबुप्रतिको जिम्मेवारीजस्ता विषयमा कविता लेखेर कविले श्रोता–पाठकको मन जित्नुपर्ने उनको सल्लाह अनुकरणीय लाग्छ ।

‘कविताले कि श्रोतालाई रुवाउन सक्नुपर्यो कि त हँसाउनुपर्यो । त्यति नभए पनि भित्र कतै मन छुन सक्नुपर्यो,’ ७० वर्षीया कौशल्यादेवीले भनिन्, ‘गाउँमा कवितामा अहिलेसम्म झण्डै आधा सय कविका कविता सुनियो, तर थोरैलाई मात्र म सम्झन सक्छु । यति धेरै कविता सुनियो तर दुई–चार पंक्ति बल्लतल्ल सम्झन्छु ।’ गरिबका दुःख, थिचोमिचो, पारिवारिक विखण्डन, छोराछोरीमा आमा–बाबुप्रतिको जिम्मेवारीजस्ता विषयमा कविता लेखेर कविले श्रोता–पाठकको मन जित्नुपर्ने उनको सल्लाह अनुकरणीय लाग्छ ।  

श्रोता बटुल्न घरघर
थारु बाहुल्य रहेको ग्रामथान (झोराहाटको परिवर्तित नयाँ नाम) गाविसमा केही घर मात्रै पहाडेमूलको बसोबास छ । भाषिक कारण पनि ती भूमिपुत्र थारु समुदायका मानिस कविता सुन्न आउँदैनन् । कार्यव्यस्तता वा आवश्यक सूचना र कमजोर पहुँचका कारण पनि उनीहरूलाई झोराहाट नाट्य केन्द्रमा हुने विभिन्न कार्यक्रमबारे चासो वा रुचि छैन । चैत १२ को ‘गाउँमा कविता’ मा हल भर्न नसक्दा कार्यक्रम खल्लो हुने आयोजक मण्डललाई स्वाभाविक चिन्ता छ । त्यसैले उनीहरूमध्ये कोही कार्यक्रम हुने दिन बिहानैदेखि श्रोता बटुल्न पहाडेमूलका घरघर पुगेका छन् । निमन्त्रणा गरेका छन् कविता सुन्ने, ‘फलानाफलाना कविले कविता वाचन गर्दै छन् आउनुस् है’ भनेका छन् । त्यसबाहेक सामाजिक सञ्जालको पनि व्यापक प्रयोग गर्दै आएका छन् । फोन गरेर वा व्यक्तिगत भेटमा निम्तो गर्ने प्रचलन त छ नै । उसो त गाउँवासीमा काठमाडौँवासीमा जति हतार छैन, कविता सुन्न हलमा पुगेपछि ती हत्तपत्त उठेर बाहिरिँदैनन् पनि । यही गम्भीर श्रोता पाउने लोभमा कतिपय राजधानीवासी कवि जिल्लामा गोष्ठी हुँदा पुगिहाल्छन् । मोफसलमा पाइने आतिथ्य र गम्भीर श्रोताले हरेक कविलाई प्रभाव पार्छ ।   
पछिल्लो समय पूर्वाञ्चल साहित्यिक गतिविधिमा निकै सक्रिय रहँदै आएको छ । कुनै पनि बिदाका दिनमा साहित्यिक कार्यक्रम खाली हुँदैन । चैत १२ गते नै विराटनगर, दमक, इटहरी, उर्लाबारी, पथरीलगायत स्थानमा कार्यक्रम जुधेका थिए । तैपनि, झोराहाटमा कविता सुन्ने दर्शकको कुनै कमी थिएन । विराटनगरबाट करिब १० किलोमिटर दूरीमा रहेको झोराहाटमा दमक, इटहरी, धरान, उर्लाबारीलगायत निकै टाढाका श्रोताको समेत उपस्थिति रहनुले आयोजक तथा कवि दुवैलाई प्रोत्साहन मिलेको देखिन्थ्यो ।
कवि गोष्ठी आयोजना गर्नु र त्यसमा हलभरि श्रोता जम्मा पार्नु चुनौतीपूर्ण काम बन्दै आएको छ । काठमाडौँमा मासिक वा आवधिक खालका कविता कार्यक्रम निकै हुन्छन् । भर्खरै विश्वकविता दिवसलाई एउटा पर्वका रूपमा नेपालमा पनि मनाइएका प्रशस्त समाचार सञ्चार माध्यममा आए । नेपाल प्रज्ञा–प्रतिष्ठान लगायत निजी संघ–संस्थाले पनि उक्त पर्व मनाए । दर्जनौँ नयाँ–पुराना कविले विश्व कविता दिवसमा कविता वाचन गरे । तर, कुनै पनि संस्थाले नेपाली कविताको अहिलेको अवस्था, त्यसले लिएको बाटो र लेखिनुपर्ने विषयबारे बहस गर्न आवश्यक ठानेनन् । प्रज्ञा–प्रतिष्ठानले सदाझैँ केही कवि–लेखकलाई आमन्त्रण ग¥यो र विश्व कविता दिवसको श्राद्ध सम्पन्न ग¥यो । यसै महिना विश्व रंगमञ्च दिवस पनि परेको छ । यस दिवसमा पनि खासै प्रभावकारी कार्यक्रम भएको देख्न सुन्न पाइएन । प्रज्ञाले हरेक वर्ष (स्थापना दिवस–असार) कविता प्रतियोगिता पनि सम्पन्न गर्छ र कविताको घोडादौडमा कविलाई उतार्दै केहीलाई पुरस्कृत गर्छ । पुरस्कार सधैँ विवादमा पर्छ, कारण राम्रा कवितालाई भन्दा हाम्रा कविलाई पुरस्कृत गर्ने परम्परा जो बसेको छ । केही वर्ष अघिसम्म त्यस संस्थाले वार्षिक रूपमा नाट्य महोत्सव पनि आयोजना गथ्र्यो । अहिले नाटक प्रवद्र्धनका लागि बेग्लै प्रज्ञा–प्रतिष्ठान खोलिएको छ । त्यहाँ पनि सत्तारुढ तथा ठूला भनिएका राजनीतिक दलका कार्यकर्ताका कुर्सी सुरक्षित गरिएका छन् । केही दशकदेखि राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्रमा रूपान्तरित प्रज्ञा–प्रतिष्ठान समग्र नेपाली भाषा, साहित्य, संस्कृति, कलाको प्रवद्र्धन गर्ने सवालमा चुक्दै आएको छ । राज्यको ढुकुटीबाट सञ्चालित त्यस संस्थाले भाषा, साहित्य, कला क्षेत्रको उन्नतिका निम्ति सिन्को भाँच्न नसकेको पुरानै आरोप अहिले पनि यथावत् छ । यसकारण पनि स्वाभिमानी र अब्बल कवि प्रज्ञा–प्रतिष्ठानको काव्यिक दौडमा सामेल हुने चाहना राख्दैनन् । प्रतिरोधी चेतना नभएका कविका कविता भुत्ते हुने कुरा संसार हल्लाउने कविताले प्रमाणित गरिसकेका छन् । सत्ताको वरिपरि घुम्ने कविमा प्रतिरोधी चेतना गुम्दै जान्छ र उसका कविता केवल कुण्ठा बन्न पुग्छ भन्ने मान्यता बलियो छ । कौशल्यादेवीले भनेजस्तै सत्तामुखी कविका कविताले पाठकलाई झापड हान्न कदापि सक्दैनन् । ती रासायनिक मल हालेका सागपातजस्ता बन्छन् ।
     
डिस्कोर्स आवश्यक

लेखन सधैँ एउटै धार वा शैलीको बाटोमा हिँड्दैन । त्यसले समयसमयमा मार्ग परिवर्तन गर्छ । साथमा पाठकको रुचि पनि परिवर्तन हुँदै जान्छ । भविष्यको पुस्तालाई हस्तान्तरण गर्ने स्तरको साहित्य लेखिनु अबको आवश्यकता हो । ‘मेरो पुस्तक ५० वर्षपछिका पाठकले पढ्नेछन्’ भनेर अहिलेको समयलाई नजरअन्दाज गर्नु लेखकको आत्मरति मात्रै हो । अबको ५० वर्षपछिको पुस्ताले अहिले लेखिएको साहित्य पढ्नेछन् भन्ने कुनै पनि निश्चितता छैन । इतिहासकै पुनर्लेखनको चर्चा चलिरहेको वर्तमान अवस्थामा आफ्नो समयमा प्रभाव पार्न नसक्ने साहित्य पछिल्ला पुस्ताले पढ्छन् भन्न कसरी सकिएला ? तिनका सामु साहित्यका थुप्रै विकल्प निर्माण हुँदै जाने पक्का छ । विविध विकल्पका अघिल्तिर पुराना साहित्य पढ्ने रुचि रहला कि नरहला ? यसको उत्तर त्यति सहज छैन । अहिले पनि पुस्तक वर्ष दिनमा पुरानो हुने अवस्था देखिएको छ । एक वर्ष राम्ररी चलेको पुस्तक अर्को वर्ष नचल्ने वा कम बिक्री हुने स्थिति छ । यसको मुख्य कारण प्रचुर विकल्प पाठकले पाउनु पनि हो । यसकारण पनि अब लेख्नुपर्ने साहित्यबारे गहन डिस्कोर्स नियमित गर्नु अति जरुरी छ । त्यस्ता डिस्कोर्सले लेखकलाई पाठकको अभिरुचि बुझ्न मद्दत गर्नेछ ।
गत माघमा पोखरामा सम्पन्न साहित्य महोत्सवमा नेपाली लेखनबारे थोरै भए पनि संवाद र छलफल हुन सक्यो । त्यसलगत्तै झापामा आयोजित अर्को साहित्य महोत्सवले पनि एक प्रकारको डिस्कोर्स गरायो । केही समयअघि नेपाल अध्ययन केन्द्रले नगरकोटमा ‘हामी के लेखिरहेका छौँ ? के लेख्नुपथ्र्यो’ भन्ने आसयको एकदिने महŒवपूर्ण छलफल आयोजना गरेको थियो । यस्ता कार्यक्रम जति सक्यो बढी हुनु र त्यसमा अहिलेको समयका शक्तिशाली लेखक, आलोचकलाई संलग्न गराउन सक्दा नेपाली साहित्यको हित हुने थियो । राजधानीबाहिर (पोखरा र झापा) सम्पन्न कार्यक्रमको महŒव अझै बढी छ । कम्तीमा चितवन, हेटौँडा, बुटवल, नेपालगन्ज, वीरगन्ज, जनकपुर, धरान, इलामजस्ता ठूला सहरमा यस्ता कार्यक्रम हुन सक्दा लेखक–पाठक अभिवृद्धिमा पनि मद्दत पुग्छ । अब साहित्यको केन्द्रभञ्जन अति जरुरी छ । सधैँ काठमाडौँ मात्र केन्द्र बन्दा अन्यत्रका राम्रा साहित्य ओझेल पर्ने अवस्था आउन सक्छ । त्यसका अतिरिक्त त्यस्ता महोत्सवमा अन्य मुलुकका चर्चित लेखकलाई सहभागी गराउन सक्दा थप फाइदा हुन्छ । यस्ता कार्यक्रममा नेपाली साहित्यको अवस्था, साहित्यले समातेको टेको, त्यसका सामथ्र्य र कमजोरी, आगामी बाटोबारे मन्थन हुन सक्दा लेखकलाई आफू उभिएको जमिन महसुस गराउन सहयोग मिल्छ भने पाठकलाई आफूले खोजेको साहित्य प्राप्त गर्न सहज हुन्छ ।
केही वर्षदेखि नेपाली साहित्यका पाठक वृद्धि भएको चर्चा चल्न थालेको छ । प्लस टु पुस्ता पनि क्रमशः नेपाली साहित्यका पाठक बन्न थालेका छन् । विशेषगरी युवा लेखकका कृति तिनका नजरमा पर्न थालेका छन् । अब हजारप्रति पुस्तक बेच्न वर्षौं कुर्नुनपर्ने अवस्था आएको छ । दसौँ हजार प्रति पुस्तक बिक्न थालेको छ । एउटा लेखकका निम्ति निश्चित रुपमा यो सुखद अवस्था हो । के यतिले मात्र नेपाली साहित्य संसारभरका पाठकका लागि आकर्षणको विषय बनिसक्यो त ? लगानी गरेर नेपाली लेखकका पुस्तक किनिरहेका पाठकलाई तृप्त पार्न अहिले बजारमा आएका साहित्य सक्षम छन् ? डिस्कोर्समार्फत् यी प्रश्नको उत्तर खोजिनु आवश्यक छ । नेपाली लेखक बढी मात्रामा आत्मरतिमा रमाइरहेका देखिन्छन् । कुनै पुरस्कार वा सञ्चारमाध्यममा भएको केही चर्चाले तिनलाई पुल्पुल्याएको छ र ‘अब मैले मेहनत गर्नु आवश्यक छैन’ भन्ने मानसिकता जन्माइदिएको छ । एउटा पुस्तक पाठकले रुचाइदिएपछि दोस्रो जे लेखे पनि चल्छ भन्ने बुझाइ पनि कतिपय लेखकमा हाबी हुन थालेको छ । यो हानिकारक बुझाइ हो । यही बुझाइका कारण कतिपय क्षमतावान् लेखक दोस्रो कृतिमै असफल भएका छन् ।  
एकातिर स्तरीय कृति निकै कम लेखिएका छन्, अर्कोतिर अनुवादको काम हुन सकिरहेको छैन । अनुवाद भएका केही रचना पनि कमजोर भइदिनाले अन्य देशका पाठकका आँखामा नेपाली साहित्यको असर कमजोर हुने नै भयो । कम्तीमा पनि नेपाली साहित्यले दक्षिण एसियाली मुलुकमा प्रभाव पार्न सक्नुपथ्र्यो, त्यति पनि हुन सकिरहेको छैन । सार्कमै नेपाली साहित्यको कमजोर उपस्थिति छ । संसारका कतिपय राम्रा साहित्य नेपालीमा अनुवाद हुन सकिरहेको छैन । यस विषयमा नेपाल प्रज्ञा–प्रतिष्ठानको अग्रसरता आवश्यक थियो, दुर्भाग्य त्यो संस्था लामो समयदेखि अकर्मण्यताको सिकार बन्दै आएको छ । अनुवादको त कुरै छाडौँ प्रज्ञा–प्रतिष्ठानले देशभित्रकै स्तरीय कृति वा सामयिक संकलनसमेत प्रकाशित गर्न सकिरहेको छैन । ०३९ मा ‘रजत जयन्ती प्रकाशन माला’ अन्तर्गत प्रकाशित २५ पुस्तकलाई देखाएर गर्व गर्नुपर्ने अवस्थामा प्रज्ञा अहिले रहेको छ । तीन–तीन प्रज्ञा–प्रतिष्ठान स्थापना गरिदिने सरकारले तिनलाई आवश्यक बजेटको व्यवस्था गर्न सकेको छैन ।

कविताको सामथ्र्य

शक्तिशाली कविताको असर अन्य विधाको भन्दा अधिक हुने र लामो सयमसम्म रहिरहने मान्यता संसारभर छ । निकै लामो समयदेखि नेपाली काव्यजगत्ले मानक कविता मात्र होइन, साहित्यका अन्य विधाका उदाहरणीय लेखक पाउन सकिरहेको छैन । यही कारण पनि गोपालप्रसाद रिमालको ‘आमाको सपना’, लक्ष्मीप्रसाद देवकोटोको ‘मुना मदन’, भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’जस्ता कविता नेपाली काव्यमा ‘अल टाइम फेभोरिट’ रचना बन्दै आएका छन् । गद्य साहित्यको हालत पनि फरक छैन, अझै पनि विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्ती वा सुम्निमा, पारिजातको शिरीषको फूल, गुरुप्रसाद मैनालीको नासोलगायत आख्यानलाई मात गर्न सक्ने लेखकको अभाव नेपाली साहित्यले भोगिरहेको छ । अहिले चर्चामा रहेका कतिपय लेखक पनि तिनै मानक साहित्यकै फेरो समातेर अघि बढिरहेका छन् । तिनले नयाँ शैली, विषय, प्रस्तुति वा अलग आविष्कार गर्न सकिरहेका छैनन् । यसको मुख्य कारण लेखकमा व्याप्त अध्ययन–अनुसन्धानको कमी हो । लेखकलाई दिइनुपर्ने चौतर्फी प्रोत्साहनको अभाव पनि स्तरीय साहित्य नजन्मनुको कारण बनेको छ ।   

बजारमा बिक्रीका हिसाबले प्रायः पछि परे पनि कविता प्रियताका हिसाबमा सधैँ अगाडि नै छ । यसले पनि कविताको सामथ्र्य प्रमाणित गर्छ । आधुनिक नेपाली कवितामाथि कौशल्यादेवीकै जस्ता थुप्रै प्रश्न उठिरहेका छन् । यसले नेपाली कवितामा घना बादल लागेको देखाउँछ नै, यति हुँदाहुँदै त्यो बादलमा चाँदीका घेरा पनि देखानपरेका होइनन् । ती चाँदीका घेरामा रहेका कविका कविता बढी भन्दा बढी सार्वजनिक हुनु, पढिनु र अनुदित गरिनु आवश्यक छ । तिनका कविताले परम्परा र आधुनिकताबीच उत्पन्न द्वन्द्व समाधान गर्दै नेपाली कवितालाई नयाँ गति र लय प्रदान गर्न सक्छन् । ती कविलाई देशका विभिन्न क्षेत्रमा लगेर कविता वाचनमा सहभागी गराउनु जरुरी छ । बहुरंगी समाज नेपालको विशेषताका साथै सम्पत्ति पनि हो । यही बहुरंगलाई सम्बोधन गर्ने कविता अन्य मुलुकका पाठकका निम्ति रुचिको विषय बन्न सक्छ ।    
     
 

प्रकाशित: १९ चैत्र २०७३ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App