५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्य

हाकिमको स्वागतमा पञ्चेबाजा

गोरखा- शुक्रवार दिउँसो १२ बजेदेखि गोरखा नगरपालिका ६ को आलेगाउँमा पञ्चेबाजा घन्किरहेको थियो। गाउँमा कतै बिहे, ब्रतबन्ध,पूजाआजा भए जस्तो गरी स्थानीय सडक छेउमा जम्मा भएर बजा बजाउने नाचगान गर्ने गरिरहेका थिए।

मगर समुदायको बाहुल्यता रहेको त्यहाँ आफ्नै भेषभुषामा सजिएकापनि थिए। मगर समुदाय भित्रै केही शुभकार्य रहेछकी भन्ने झल्को बजागाजाले दिईरहेको थियो । वरपर रहेका सरकारी र गैरसकारी संघ संस्थाका कर्मचारीपनि बजागाजा बजाएको हेरिरहेका थिए। कार्तिक महिनामा खासै शुभकार्य नहुने भन्दै बाटो हिँड्ने केहीले भने किन होला यो पञ्चेबाजाको रमझम भन्दै हिँडेका थिए। तर त्यहाँका स्थानीय भने आफ्नै धुनमा बजा बजाउनमा ब्यस्त देखिन्थे । मगर समुदायको बाहुल्यता रहेको त्यहाँ बाजा पनि मगरहरुले नै बजाएका थिए । करिब तीन घण्टाको प्रतिक्षापछि बाजा बजाउनको कारण खुल्यो । कारण त्यहाँ नजिकै रहेको एउटा सरकारी अड्डा सहरी विकास तथा भबन डिभिजन कार्यालयमा नयाँ ‘हाकिम’ आउँदै रहेछन्। उनकै स्वागतका लागि स्थानीय १२ बजेदेखि जम्मा भएर हातमा फूल र पञ्चेबाजा लिएर बसेका रहेछन् । वृद्धवृद्धा देखि बालवालिका, युवायुवती घरैपिच्छेबाट स्वागतमा खटिएका थिए।

करिब तीनबजेतिर बाग्लुङदेखि गोरखा सरुवा भएर भबन डिभिजन प्रमुख रोसन श्रेष्ठ आईपुगे। हत्तपत्त स्थानीयले पञ्चेबाजाको धुन सँगै माला लगाएर, फुलको गुच्छा दिएर बेहुलालाई जस्तो बिचमा राखेर बाजा बजाउँदै कार्यालयको गेटमा पुर्‍याए। स्वागत सत्कार,पञ्चेबाजाको धुन सुनेर डिभिजन प्रमुख श्रेष्ठ दंग देखिन्थे । ‘मैले कल्पना समेत गरेको थिईँन, यस्तो सत्कारको, धेरै खुसी छु, स्थानीयको यो स्वागतले काम गर्ने उर्जा बढेको अनुभुती भएको छ’ नागरिक सँग उनले भने । खेती थन्काउने सिजनका बेला घरछेउको कार्यालयमा हाकीम आउने थाहा पाएपछि धान काट्न छाडेर स्वागत गर्न बसेको स्थानीय किशोर थापाले बताए । ‘राम्रो काम गरुन, गाउँका लागि पनि सजिलो होस् हामीलाई सहयोग पनि गरुन भनेर आज काम नगरी स्वागत गर्न बसेको’ उनले भने । हरमटारी आलेगाउँ पञ्चेबाजा समुहका अध्यक्ष समेत रहेका स्थानीय हर्कबहादुर आलेले टोलमै भएको सरकारी कार्यालय र स्थानीय बिचको समन्ध सुमधुर बनाउन र दोहोरो सहयोगका लागि खुसीले स्थानीय मिलेर स्वागत गरेको बताए । गोरखामा कार्यालय प्रमुख आउँदा स्थानीयले पञ्चेबाजा नै बजाएर स्वागत गरेको नौलो तरीका हो।

 

प्रकाशित: २६ कार्तिक २०७३ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App