४ पुस २०८१ बिहीबार
image/svg+xml
विचार

कोप–२७ मा महिलाका सवाल

आरती पौडेल

विगत एक दशकदेखि आफ्नो पढाइ र काममार्फत जलवायु परिवर्तन र यससँग सम्बन्धित मुद्दाहरूको अनुसन्धान, अभियान, पैरवी र समुदायमा क्षमता वृद्धिको काम गर्दै गर्दा इजिप्टमा जारी संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्रहरूको जलवायु परिवर्तन सम्मेलनमा भाग लिने मौका पाएकी छु। यो महत्वपूर्ण सम्मेलनमा दोस्रो पटक पर्यवेक्षकका रूपमा भाग लिँदै गर्दा मैले सम्मेलनमा मुख्यतः जलवायु वित्त, महिला र जलवायुजन्य हानि तथा नोक्सानीका मुद्दाहरूलाई पछ्याइरहेकी छु। यसै क्रममा दिगो विकास इन्स्टिच्युटले हालै गरेको जलवायु वित्त र महिला नेतृत्वका सहकारी सम्बन्धित अनुसन्धान र नीतिगत सुझावलाई सम्मेलनमा हामीले प्रस्तुत गरेका छाैँ।  

नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीतिले ८० प्रतिशत भन्दा बढी जलवायु वित्त स्थानीय समुदायमा पुग्नुपर्छ भनिराख्दा जलवायु वित्तको राष्ट्रिय तथा स्थानीय प्रक्रियामा समुदायमा काम गर्ने महिला सहकारीहरूलाई बेवास्ता गर्न मिल्दैन।  

महिलाले नेतृत्व गर्ने बचत तथा ऋण सहकारी संस्थाहरू समुदायसँग नजिक भएर काम गर्ने र जलवायु परिवर्तनले महिला वर्गमा परेको असरको ज्ञान हुने भएकाले स्थानीय सरकारसमक्ष जलवायु परिवर्तनबाट महिलामा परेको असर र यस विषयमा नीतिगत पैरवी गर्न महत्वपूर्ण भूमिका निभाउन सक्छन्।  

महिलाहरू जलवायु परिवर्तनबाट बढी जोखिममा रहने सर्वविदितै छ तर महिलाहरू नै यसको असरसँग जुध्न अग्रपंक्तिमा रहन सक्षम पार्न खास प्रयास भएको देखिँदैन।  

यसै सन्दर्भमा इजिप्टको सर्म एल शेखमा भइरहेको कोप–२७ को मञ्चमा ‘कम विकसित राष्ट्रमा जलवायु संकट: जलवायु परिवर्तन र जलवायु वित्तसम्बन्धी परिप्रेक्ष्यहरू’ नामक कार्यक्रममा समुदायमा महिलाले भोग्नुपरेका समस्या र त्यससँग जुध्नका लागि महिला समूह र सहकारीहरूले समुदायमा पुर्‍याएको योगदानबारे दिगो विकास इन्स्टिच्युटबाट गरिएको अनुसन्धानबाट आएका कुरा मैले राखेकी थिएँ।  

महिलाले नेतृत्व गरेका सहकारीले जलवायु परिवर्तनसँग जुध्न र जलवायु वित्तमा उल्लेखनीय योगदान गरे तापनि कुनै पनि निकायले यो समूहलाई अहिलेसम्म जलवायु वित्तको संवाद र प्रक्रियामा स्थान नदिएको हुनाले यस कुरालाई जलवायु परिवर्तनको सबै भन्दा ठूलो सम्मेलनमा राख्नु निकै महत्वपूर्ण उपलब्धि भएको महसुस भएको छ।  

जलवायु परिवर्तनको हानि तथा नोक्सानीसँग जुध्न समुदायमा महिला सहकारीले ऋण प्रदान गर्ने गरेको र विगत केही वर्षयता जलवायु संकटसँग जुध्न ऋण लिने प्रवृत्ति बढ्दै गैरहेको तथ्य हामीले ५ वटा महिला सहकारीसँग गरेको अनुसन्धानले देखाएको छ। महिलाले नेतृत्व गरेको सहकारीले जलवायु परिवर्तनसँग जुध्न र जलवायु वित्तमा गरेको योगदानको विश्लेषण गर्ने उद्देश्यका साथ गरिएको अनुसन्धानमा ६५% भन्दा बढी सदस्यले विगत ५ वर्षयता जलवायु परिवर्तनले पारेको असरसँग जुध्न ऋण लिएका देखिएको छ।  

ऋण लिएर महिला सदस्यहरूले खडेरीसँग जुध्न घैँटे टंकी र प्लास्टिक पोखरी, भारी वर्षाका करण भासिएको घरको आँगन र जमिन पुनर्निर्माण, बिग्रिएको खेती सुधार्न बिउ बिजन र अरू सामग्री खरिद आदि इत्यादि कुरामा खर्च गरेका पाइएको छ। अनुसन्धानले जलवायु परिवर्तनले नित्याएको समस्याका कारण महिलाको दैनिकी अझ कठिन बन्दै गैरहेको पनि बताउँछ।

काभ्रे नमोबुद्धस्थित नमुना नारी चेतना महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले जलवायु परिवर्तनका कारण महिलाको जीवन अझ कष्टकर बनेको र खडेरीका कारण पानी को मुहान सुकेर टाढा टाढा पानी लिन जानुपर्दा उनीहरूको दैनिकी र स्वास्थ्यमा परेको असर, बालबच्चालाई दिने समय र स्याहारमा कमी आएको र पानीको जोहो गर्न आर्थिक भार परेको हामीलाई बताएका छन्।  

आफू सदस्य भएको सहकारीबाट १५% ब्याजदरमा ऋण लिएर घरायसी कामका लागि पनि संकलन गर्न घैँटे टंकी र खानेपानीका लागि ट्यांकरको पानी खरिद गरेर सञ्चित गर्न प्रयोग गरेको कुरा उनीहरूले हामीलाई बताएका छन्। यसैगरी बनेपाको नाला सेरास्थित नारी जागरण महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले कृषि उत्पादनमा आएको ह्रासका कारण सहकारीबाट ऋण लिएर बिउ बिजनका साथै अरू सामग्रीहरू किन्नुपरेको बताएका छन। यी प्रतिनिधि उदाहरण हुन।  

नेपाल जलवायुजन्य जोखिमको हिसाबले विश्वमा अग्रपंक्तिमा पर्ने राष्ट्रमा पर्छ। त्यो हिसाबले पनि जलवायु परिवर्तनले हाम्रो समग्र जीवन र जीवन यापन प्रभावित भएको छ। त्यसमा पनि सबै भन्दा बढी महिला यो जोखिममा रहेकाले समयमै हाम्रा नीति तथा योजनाहरूमा यो चुनौतीलाई समाधान गर्न पहल गर्न जरुरी छ। जारी कोप–२७ सम्मेलनमा पनि यो विषयलाई प्रमुखताका साथ छलफल भैरहेको सन्दर्भमा नेपालले पनि यो विषयलाई महत्वका साथ अगाडि बढाउन आवश्यक छ। यसबाट महिलाको दीर्घकालीन हित सुनिश्चित हुन सक्छ। 

प्रकाशित: २९ कार्तिक २०७९ ००:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App