९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

दुरूपयोग गरे फोहोर, सदुपयोग गरे मोहर

उखान छ ‘रोपे बबुल आँप कहाँ से खाए’ अर्थात् बबुलको रुख रोपेर आँप कसरी खान पाइन्छ। हाम्रो मतबाट नेता बने, शासन गरे। यस्ता नेताले जनहितमा काम गरी फोहर सफा किन गर्ने। माफिया, तस्कर र मुनाफा खोरको हित र सेवा गरे मालामाल। दोषी जन्माउने आमा वा दोष खाने बच्चा। भनाइ छ ‘दुध गुणको पुत’। हामीले कस्तालाई अतीतमा मतदान गर्‍यौं ? अब पनि सोच के छ ? हाम्रा मतबाट निर्वाचित जनप्रतिनिधिको अपराध के ? अर्को उखान छ ‘धन हुनेको मन छैन, मन हुनेको धन छैन’, दुवैको चौपट।  

बाटोघाटो हिँड्दा फोहरको डंगुर देखिन्छ। यति सानो समस्या समाधान गर्न नसक्ने सरकारले राष्ट्र कसरी सञ्चालन गर्न सक्ला। पञ्चायती व्यवस्था राम्रो थियो भनेर हामी भन्दैनौँ तर आजको व्यवस्था उक्त पञ्चायती व्यवस्थाभन्दा पनि साह्रै तल्लो तहमा पुगेको छ। जनतालाई अपहेलित र उदासिन बनाई जनमानसमा निराशा छाएको छ। जुन जोगी आए पनि कानै चिरेको भन्ने भनाइलाई हामी दुर्बलता नै भन्छौँ। मतदान गरी विजयी बनाउने अहिले आएर निराशाको भावना प्रदर्शित गर्ने जनता। कमी कमजोरीको दोषी हामी नै हो भन्ने हाम्रो मान्यता र ठहर छ। आज राष्ट्र नै फोहरको डंगुर बनेको छ। राष्ट्रको ठुला काम त के, हामी फोहरको सानो काम पनि गर्न सक्दैनाैं। हामीले केही केही विचार राख्छौं। बुद्धि नपुगेको हुतिहारा हामी त्यही विचार राख्यौँ भन्दै गर्व गर्छौं।  

कुनै पनि फोहोर खेर जाँदैन। आज हामीले खाने विदेशी रक्सीको खाली बोतल प्रशस्त फेला पर्दछन्। ती सबै जम्मा गरौँ। सिसा फुट्यो भने रक्सी छुट्टै भाँडामा राख्न लगाई फुटेको सिसा जम्मा गरी कारखानामा दिआँै। अर्को नयाँ सिसाको सामान बन्दछ। हामीले सिसाको कारखाना, उद्योग खोल्यौँ भने मानिसलाई काममा लगाई रोजगारी पनि दिन सक्षम हुने छौँ। सिसा प्रर्याप्त पाइने छ। बजार माग पनि प्रशस्त छ। देशको आय पनि बढ्ने छ। अब रह्यो प्लास्टिकको झोला, यसलाई पनि छुट्टै भाडामा जम्मा गराैं। रिसाइक्लिन गरेर पुनः काम लाग्ने हुन्छ। एउटा आइमाईले प्लास्टिकबाट बन्ने कम्बल बनाएको देख्न पाएकै छौँ। दोस्रो विद्वान् भन्छन्– प्लास्टिकको वस्तुबाट सडक बन्छ। यो वैज्ञानिक विषयतर्फ पनि अनुसन्धान र खोज गर्नुपर्छ। हाम्रो विचारले पनि घर निर्माण गर्दा प्लास्टिकका ब्याग अन्य सामानअनुसार छुट्टाछुट्टै राखी वा अन्य माटोलाई सन्तुलन गर्ने हुनसक्ने हुन्छ। एक तह प्लास्टिक दिऊँ। कहिले नसड्ने गरी चिजलाई बलियो बनाई राख्छ। प्लास्टिक प्रयोगका विभिन्न उपायहरू छन्। खेर जाने प्रश्न नै छैन। बुद्धि पुर्‍याऔं। वैज्ञानिक र बुद्धि भएकाहरूको साथ र सहयोग प्राप्त गरौँ। प्लास्टिकलाई रोक नलगाऔं, प्रयोग गरौं।

अब रह्यो खानपिनको फोहोर। हड्डी, मासुका टुक्रा। घरको छानामा राखी चरा चुरुङ्गीलाई दाना खुवाऔं। बाँकी रहेको हड्डी पुनः क्याल्सियम बनाई काम लाग्ने हुन्छ। यस्ता हड्डी स्वास्थ्य रक्षाका लागि अति उपयोगी हुन्छ। बंगुरको खाना पनि हुन्छ। बाँकी रहेको यस्तो फोहोर सागपातको कम्पोस्ट मल बनाऔं। घरघरमा कम्पोस्ट मल तयार पारी खेतबारीमा प्रयोग गराैं। छाना, कौसीमा खेती गराैं। तरकारी, मुला आदिको बिरुवालाई मल प्रदान गराैं। यसमा पनि वैज्ञानिक तरिका अपनाई कम मेहनतमा बढी फाइदा लिऔं। दोस्रो घरघरमा गँड्यौला पालन गराैं।  

हाम्रो विचारमा ८० प्रतिशत फोहोरले सुन फलाउँछ। हामीले कम्पोस्ट मललाई प्राथमिकता दिन चाहेका छौं तर मानिस यस्ता साना कामकुरा तर्फ बास्ता गर्दैनन्। तरकारी वा फूल आदिको खेती गर्न लगाएमा आवश्यकताले चासो बढाउँछ। तेस्रो आज घर निर्माण गर्न ढुंगा बालुवा चाहिन्छ। अन्य ठाउँबाट ढुंगा ल्याउन रोक लगाई अनुकूल ठाउँको ढुंगा प्रयोगमा ल्याई ठुलाठुला पोखरी तयार पाराैं। एक ठाउँमा तयार पारेको पोखरीमा माछा पालन गरांै र त्यसपछि ढुंगा निकाल्दै खाडल बनाउँदै ठुला खाडल भएमा त्यसैमा फोहोर फालाैं। सहर नजिक पनि यो काम हुन सक्छ। सो खाडल फोहोरले भरी सो फोहोरबाट बनेको मलमा रुख बिरुवा रोपौं। अक्सिजन प्राप्त बढी हुन्छ। रुखले प्रशस्त मल पाउँछ भने सो रुखबाट मानिसले स्वच्छ वातावरण र अक्सिजन प्राप्त गर्ने छ। यो प्रक्रिया नजिकै ठाउँमा गर्न सकिन्छ। टाढा जानुपर्दैन। केही महिनामा नै खाडल तयार हुन्छ। खाडल खन्दा निस्कने माटो, पत्थर आदि हामी घर निर्माण सम्बन्धि काममा लगाउन सक्ने छाँै।  

जनताले सस्तोमा ढुंगा पाउँछन्। नजिकबाट ढुवानी गर्दा पेट्रोल, डिजेलको खपत कम हुने, विदेशी मुद्राको बचत हुने एवम् प्रदूषण पनि कम गर्ने आदि हुने हुनाले राष्ट्रले धेरै लाभ लिन सक्ने छ। ढुंगा कारखाना पनि खुल्छ, ढुंगा बिक्री गरी आम्दानी पनि हुन्छ। घर निर्माण आदिमा प्रयोग गर्ने गरी सस्तोमा ढुंगा गिट्टी बिक्री गरौं। महानगरपालिकाको आय पनि बढ्छ। आज पनि ढुंगाका लागि वनजंगल र नदीहरूको दोहन भइरहेको छ। यसमा पनि कमी आउन सक्छ। आजकल फोहोर पानीलाई रिसाइक्लिन गरी स्वच्छ पानी र मल आदि तयार पार्छन्। सुनेअनुसार थाइल्यान्डमा घर नजिक पोखरी बनाई सो पोखरीमा दिशापिसाब पठाई माछाको भोजन बनाउँछन्। यस्तै किसिमको घरआँगन, सानो पोखरी बनाई व्यावहारिक कामलगायत उपयोगका साथै नदीमा फालिने फोहोरलगायतको पनि हामी काम लगाउन सक्छाैं। हामी विज्ञ होइन तर विज्ञले लेखेको लेख हामीले पढेका छौं। त्यसैका आधारमा जानेबुझेसम्म लेखी जनसमक्ष राख्दै छु। ढुवानी खर्चका पनि बचत हुन्छ। विज्ञको सहयोग मात्र होइन, अर्थविद्सँग सल्लाह गराैं। धन बचाउन सकिन्छ। प्रायश्चित गर्न लगाई धर्म गर्ने गरी यस विषयमा विज्ञ समूह तयार पाराैं।  

हाम्रो विचारमा फोहोरबाट सुन फलाउन सक्ने छौं। आज हामी के देखिरहेका छौं कि राजनैतिक दल वर्तमान मेयरलाई निकम्मा बनाउन खोजेको भान भइरहेको छ। सरकारले आर्थिक सहयोग नदिए वा वर्तमान महानगरपालिकाको कोषमा पैसा नभए धनाढ्य व्यक्तिसँग सहयोग र बिनाब्याज नगद मागौं। नदिएमा सारा फोहोरको डंगुर निजकै प्रवेशद्वारमा राखाैं। राष्ट्रमा बसी धन कमाउने धनवान्हरू कारागारको बासमा गएका छन्। ती देशभक्तहरूलाई काम गर्न धन दिएको हामीलाई थाहा छैन। सुखसयल तिनैको छ। आन्दोलन गर्ने, बलिदानी गर्ने राष्ट्रभक्तहरू आज भोका र गरिब अवस्थामा छन्। फोहोरको डंगुर देख्छौं– कपडा र मेच, कुर्सी, काठपातको पनि थुप्रो देख्ने गरेका छौं। कपडालाई पनि कारखानामा पठाई धोइपखाली रुई तयार गर्न सकिन्छ। सो रुईबाट डसना, मेच आदि सामान पनि तयार हुन्छन्। काठपात, हाँगा आदिलाई वैकल्पिक ऊर्जा र कारखानामा पठाई झारपात, काठ आदिबाट कैप्सुल तैयार हुन्छ। कडा खालको आगोको राप तयार हुन्छ। कलकारखाना र इँटाभट्टालाई काममा सहयोग गर्न सकिन्छ। यस्ता कारखानाहरू हाम्रो राष्ट्रमा खुलेका छन्। वैकल्पिक ऊर्जामा सहयोग पुर्‍याउन सकिन्छ। यस्ता कारखानालाई कच्चा पदार्थबाट पूर्ति गर्न सकिन्छ। अबको पालो राष्ट्र बनाउने ती धनवान्को हो। निजहरूको जिम्मेबारीमा छोडौं।

 कुटाइपिटाई कारागासबास र निर्धन बनाइएका राष्ट्रसेवकहरूलाई केही नगरे पनि आफू बसेको सहरबाटोलाई त दुर्गन्धमुक्त बनाऔं। मौज मज्जामा खर्च गर्ने धन सुन्दर सहर बनाउन लगाई राष्ट्रप्रतिको कर्तव्य पालन गर्न अनुरोध गरौं। देशमा प्रजातन्त्र ल्याउन हामीले जुन कार्य गर्‍यौं, कष्ट सह्यौं, दुःख पायाैं, हामी पुनः राष्ट्र सेवा नगर्ने पुँजीपतिविरुद्ध पनि कालोमोसो दल्ने आन्दोलन गराैं। सहर सफा र सुन्दर बनाऔं। हामी जनताको पनि कर्तव्य हुन जान्छ। यो कहाँको बुद्धिमान् हो। अब हामी सुन्दर सहर निर्माण गर्नेतर्फ लागी विकसित एवम् स्वच्छ हराभरा दुर्गन्धरहित सहर बनाऔं भन्ने हाम्रो अनुरोध छ। यसतर्फ पनि बलिदानी गर्ने देशभक्तहरू पुनः उठौं, आन्दोलन गरौं। हामीले बलिदान गरी सक्यौं, अब चुप्प किन लाग्ने। आर्थिक विकासमा लागौं। विद्वान्ले भन्छन्– काम नगर काम गराऊ। महानगरपालिकाले यसतर्फ ध्यान दिनुपर्छ। गंगा नदी ठूलो छ तर बाढी ल्याउन सक्दैन। पानीका सानासाना थोपा मिली बाढी आउँछ। टोल, सहर र जनतासँग मिली काम गरौं। जनताको सहयोग र लगानी गराए जनतामा आफ्नो लगानी र श्रमको माया हुन्छ। विकास हुन्छ, जर्गेना हुन्छ। जन सहभागिताको महत्वलाई बुझी काम गरौं। हामी सफल हुने छौं। गाली गलौज मात्र नगरौं। कर्तव्य पालक काम गर्ने जनता तयार पारौं।

आज अरबौं रूपैयाँ मल खरिदमा खर्च गर्छौं। सरकारी अनुदान प्राप्त छ। माथि लेखिएअनुसार फोहोरबाट सुन फलाउने उद्यम निर्माण गर्न सरकारी तत्परताका साथै खर्च गर्न अनुरोध गरौं। बालेन साह (मेयर) लाई निकम्मा साबित गर्ने दुःसाहस नगरौं। सबै मिलिजुली सफा सुन्दर सहर बनाऔं। जनचेतना जगाई क्रान्तिकारी देशभक्तहरू तयार पारौं। ठाउँठाउँमा सानाठूला जलाशय बनाऔं। वर्षाको पानीमा झारपात आदि मलदार वस्तु आउँदा सो प्रयोग गर्ने प्रयास गरौं। बाढी रोकौं, वनजंगल र खेतलाई पानी पुर्‍याऔं।  

माथि लेखिएअनुसार विभिन्न स्थानमा विभिन्न वस्तु राख्ने ठाउँ निर्माण नगरपालिकाले गर्ने भए पनि माथि लेखिएअनुसार घरघरमा विभिन्न ठाउँमा वस्तु राख्ने छुट्टाछुट्टै भाँडो तयार पारी अनुदानका साथै थोरै खर्चमा प्राप्त गर्न व्यवस्था गरौं। सहरलाई तरकारीको जोहो आफैं गर्दै फूलहरूद्वारा सुन्दर बनाऔं। करेसाबारीका साथै अटाली खेती गराैं। रमाइलो समय व्यतीत र लाभैलाभ। गरे हुन्छ नगरे कदापि हुँदैहुँदैन। मेहनत गरे शरीर स्वस्थ्य हुन्छ। काम, दाम, नाम प्राप्त गरौं। नगरे केही छैन। गरे सबै छ।

माथि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाले गरोस् कि सरकारले गरोस् वा पुँजीपति वर्गले गरोस् तर हाल हाम्रो सामथ्र्य छैन। माफिया र भ्रष्टाचारी बलिया छन्। माथि लेखिएअनुसार काम गर्न बाधा कठिनाइ प्रशस्त उत्पन्न हुन्छन्। हामी जनताले पनि आफ्नो प्रयास जारी राख्नुपर्छ। जसमा प्रथम नगरपालिका होस् वा सरकार, हामीले दबाब मात्र सिर्जना गर्ने होइन, हामी हाम्रातर्फबाट सक्दो सहयोग पनि गरौं। झगडा र मेल दुवै अपनाऔं। दोस्रो हामीले पनि आफ्ना टोल र क्षेत्रलाई सफा राख्न, वातावरणलाई संरक्षण गर्न उपभोक्ता समिति बनाऔं। आफ्ना सडक आफै सफा गराैं। सुन फल्ने फोहोरलाई जथाभावी नफालाैं। व्यवस्थित गरौं। हामी हाम्रा जवाफदेहिता पनि पूरा गर्न कर्तव्यनिष्ठ बनौं। हामी मिले गर्न सक्छौं। पानीमा पनि तरकारी फल्छ। मेहनत र बुद्धिको फल स्वच्छ र स्वास्थ्यवद्र्धकका साथै मिठो हुन्छ।  

प्रकाशित: २५ भाद्र २०७९ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App