१९ असार २०८१ बुधबार
image/svg+xml
विचार

शब्दको ताच्छिल्य

निर्दलीय पञ्चायत शासन शब्दमा निकै खेल्थ्यो। पञ्चायती शासनलाई अलि फराकिलो हुन मन लागेछ। परिणामस्वरूप मन्त्रीमण्डल वा मन्त्रिपरिषद्कै नेतृत्व गर्ने व्यक्तिलाई वा पदलाई अध्यक्ष भनिन्थ्यो। प्रधानमन्त्री भनिँदैनथ्यो। राजा महेन्द्रले १०१७ पुस १ मा जननिर्वाचित विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्रीत्वको सरकार खारेज गरी प्रधानमन्त्री कोइरालालगायत सबै मन्त्रीलाई पक्राउ गरेर थुने। सम्पूर्ण राजनीतिउपर प्रतिबन्ध लगाए। सोही पुुस १३ गते आफ्नै अध्यक्षतामा सरकार बनाए। त्यो सरकार प्रमुखलाई प्रधानमन्त्री होइन, अध्यक्ष भनियो। आपैm राजा आपैm प्रधानमन्त्री, त्यो दुनियाँमा कतै थिएन। आपैm राजा आपैm प्रधानमन्त्री कसरी सुहायो र ? आपैm राजा आपैm प्रधानमन्त्री कसरी भो र ? तसर्थ त सरकार प्रमुखलाई अध्यक्ष भन्न थालियो भन्ने तर्क गरिन्छ। मन्त्रीहरूको समूहलाई पनि मन्त्रीमण्डल नभनी मन्त्रीपरिषद् भन्न लागियो। मलाई भने दरबारले मस्यौदा गरेको सूचनामा मन्त्रीपरिषद् र गैरदरबारले मस्यौदा गरेको सूचनामा मन्त्रीमण्डल पर्न लाग्यो भन्ने विचार थियो। मलाई भने मन्त्रीमण्डल प्रधानमन्त्री भन्दा प्रजातन्त्रजस्तो लाग्थ्यो, मन्त्रीपरिषद् अध्यक्ष भन्दा अप्रजातन्त्रजस्तो लाग्थ्यो। डा. कुँवर इन्द्रजित सिंह (केआइसिंह) २०१४ साउन ११ गते प्रधानमन्त्री हुँदा भने मन्त्रीमण्डल नै भनियो। सुवर्ण शमशेर एक नम्बरको मन्त्री हुँदा पनि मन्त्रीपरिषद् नै भनियो।  

राजा महेन्द्र पनि गए  

विश्वेश्वरप्रसाद कोइराला अन्तरिम संविधानअनुसार २०१६ जेठ १३ मा प्रधानमन्त्री हुँदा र नेपालको संविधानअनुसार २०१६ असार १६ गते प्रधानमन्त्री हुँदा पनि मन्त्रीमण्डल नै भनियो। तर २०१७ साल पुस १३ गते राजा महेन्द्रले आफ्नै अध्यक्षतामा सरकार बनाउँदा भने फेरि मन्त्रीपरिषद् र त्यसको अध्यक्ष नै भनियो। यो चलन २०२२ साल असार २ गते गठन भएको सरकारसम्म कायम रह्यो। २०२३ माघ १४ गते गठित मन्त्रीमण्डलमा सूर्यबहादुर थापालाई मन्त्रीमण्डलको अध्यक्ष नभनी प्रधानमन्त्री भनियो। त्यसको व्याख्या गर्दै राजा महेन्द्रले जनताको नासो जनतालाई फिर्ता गरेको भने। जनताले अध्यक्षको ठाउँमा प्रधानमन्त्री नाम मात्र परिवर्तन मागेका थिएनन्। पार्टीमाथिको प्रतिबन्ध फुकाएर वर्गीय संगठन सञ्चालन, संसद् पुनःस्थापनाजस्ता विषयलाई नासो भनेका थिए न कि सरकार प्रमुखलाई अध्यक्ष होइन, प्रधानमन्त्री भन्नलाई नासो भनेका थिए। राजा महेन्द्रले यहाँनिर अर्कै फट्याइँ गरे। राजतन्त्रमा राजाले फट्याइँ गरिरहन्छन्। कसको के लाग्छ ? नेपाली जनतालाई अर्कोपल्ट जिल्मिल्याउन खोजे। यसरी पञ्चायत बेलाबेलामा लुच्चो काम गथ्र्यो। धेरै दरबारिया मान्छेहरू बुझ्थे राजाका यी चलाखीलाई। उनीहरूले यस्तो चलाखीले राजतन्त्रलाई अरू बलियो बनाउँछ भन्ने धारणा पनि बनाउँथे। तर प्रायः राजनीतिक नेताहरू यस्तो प्रवृत्तिले राजसंस्थाको सक्रिय राजनीतिलाई झन् क्षति पुर्‍याउँछ भन्थे। तैपनि राजतन्त्र यस्ता कच्चा खेल खेल्न छाड्दैनथ्यो। शब्दको खेलबाट आउने नतिजा वास्तविक हुँदैन। यो वास्तविकता राजा महेन्द्र कति बुझ्थे कति बुझ्दैनथे, कोही यकिन गरी भन्न सक्दैनथे। राजा महेन्द्र आफूलाई अतिशय कुशल एवं चलाख ठान्दथे। यो एक प्रकारले स्वाभाविक पनि थियो। तर परिस्थिति परिवर्तन भइरहन्छ। त्यो बदलिएको परिस्थितिअनुसार कुनै पनि पात्रले आपूmलाई पनि बदलिरहनुपर्छ। त्यो खुबी अपवाद मात्र कसैसँग हुन सक्छ। राजा महेन्द्र त्यो अपवादमा पर्न सकेनन्।  

मन्त्रीमा तीन दर्जा

अर्को एउटा कुरा अन्तरिम संविधानअनुसार सरकार बन्दासम्म मन्त्रीमण्डलमा तेस्रो दर्जाको मन्त्रीलाई उपमन्त्री भनिन्थ्यो। उपमन्त्री मन्त्रीमण्डलको बैठकमा पनि जान पाउँदैनथ्यो। २०१५ सालमा नेपालको संविधानमा त्यो तेस्रो दर्जाको मन्त्रीलाई उपमन्त्री नभनी सहायक भन्ने व्यवस्था गरियो। २०१६ जेठ १३ मा विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा २१ जनाको मन्त्रीमण्डल बन्यो, जसमा ८ जना मन्त्री, १३ जना उपमन्त्री रहे। यो मन्त्रीमण्डल अन्तरिम संविधानअनुसार बनेको थियो। तर सोही साल असार १६ गते राती ११ः३० मा नयाँ संविधानअनुसार मन्त्रीमण्डल बन्यो। हिजोका १३ जना उपमन्त्रीमध्ये ३ जना सूर्यनाथ दास यादव, प्रेमराज आङदेम्बे र डा. तुलसी गिरीको पदोन्नति भयो र पूरा मन्त्री भए भने बाँकी साबिक नै रहे। अब यो संवैधानिक खेल मात्रै भयो, उपमन्त्री भनिएकालाई सहायक मन्त्री भनिन थालियो। मन्त्रीमण्डलको दोस्रो तहको मन्त्रीलाई राज्यमन्त्री भनिन्थ्यो। राज्यमन्त्री मन्त्रीमण्डलको बैठकमा जान पाउँथ्यो। कुनै बेला कुनै मन्त्रालयमा राज्यमन्त्रीले नेतृत्व गथ्र्यो, कुनै बेला राज्यमन्त्रीमाथि पूरा मन्त्री पनि हुन्थ्यो। नेपालमा सर्वप्रथम २०१२ माघ १३ मा टंकप्रसाद आचार्यको प्रधानमन्त्रीत्वमा गठित मन्त्रीमण्डलमा २०१३ माघ १३ मा पुनर्गठन गरी किरण शमशेर जबरालाई योजना विकास राज्यमन्त्री र रंगनाथ शर्मालाई राज्यव्यवस्था तथा गृहराज्य मन्त्री बनाइएको थियो। तदुपरान्त २०२४ जेठ १५ गते गठन भएको मन्त्रीमण्डलमा दयानिधि शर्मालाई बन, ज्ञानेन्द्रबहादुर कार्कीलाई नहर तथा विद्युत, गुन्जेश्वरीप्रसाद सिंहलाई उद्योग तथा वाणिज्य, विष्णुकुमार तुम्बाहाम्फेलाई स्वास्थ्य र रुद्रप्रसाद गिरीलाई निर्माण, सञ्चार तथा यातायात राज्यमन्त्री बनाइयो। यी पाँचजना राज्यमन्त्री नै आआफ्ना मन्त्रालयका मन्त्री थिए। यीमाथि पूरा मन्त्री कोही थिएनन्।  

कत्रो परिवर्तन! त्यति छोटो समयमा ?

२००३ सालमा सर्वप्रथम काठमाडौं म्युनिसिपालिटीको निर्वाचनमा महिलाले पनि पुरुषसरहको मताधिकार पाउनुपर्छ भनी तत्कालीन प्रधानमन्त्री श्री ३ महाराज पद्म शमशेर कहाँ शान्ता श्रेष्ठसमेतका केही महिला माग गर्न गएका थिए। त्यसको १३ वर्षपछि गठित मन्त्रीमण्डलमा द्वारिकादेवी ठकुरानीलाई प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले स्वास्थ्य तथा स्वायत्त शासन सहायकमन्त्री बनाउनु भयो। ठकुरानी १५ सालको निर्वाचनमा डडेल्धुराबाट सांसदमा निर्वाचित हुनुभएको थियो। उहाँ नै सर्वप्रथम मन्त्रीमण्डलको महिला सदस्य हुनुभएको हो। त्यो नेपालको पहिलो आम निर्वाचनमा प्रतिनिधि सभामा १०९ स्थानमध्ये वहाँ एक जना महिला मात्र निर्वाचित हुनुभएको हो। जम्मा जम्मी १३ वर्षको अन्तरालमा कत्रो अन्तर ? नेपालको परिवर्तनको सूक्ष्म विश्लेषण गर्नेहरू भन्छन्– त्यति छोटो अवधिमा कत्रो परवर्तन ?  

कत्रो फट्याइँ ?

मन्त्रीपरिषद्को प्रमुखलाई अध्यक्ष नभनी प्रधानमन्त्री भन्ने कुरालाई जनताको नासो जनतालाई फिर्ता गरेको व्याख्यासहित अब मन्त्रीमण्डलको अध्यक्षको सट्टा प्रधानमन्त्री नै भन्ने गरियो। राजाको त्यो व्याख्याभित्र राजनीतिक अपराध लुकेको छ भन्ने ठाने बौद्धिक मान्छेहरूले। मन्त्रीमण्डलको नेतालाई अध्यक्ष नभनी प्रधानमन्त्री भन्दा प्रजातन्त्र हुने भन्ने तर्क स्वीकृत भएन समाजमा। तर राजा महेन्द्रले भने आफ्नो तर्क छोडेनन्। महेन्द्रलाई मैले चिनेसम्म घमन्डी थिए। उनी आफ्नो परम्परागत राजाको अधिकार किञ्चित् पनि छोड्न वा घटाउन चाहँदैनथे। यी सबैको सूक्ष्म विश्लेषण गर्दा एउटा राजनीतिको विद्यार्थीका नाताले मैले राजा महेन्द्रमा प्रजातन्त्रको किञ्चित् लेससम्म पनि पाइन्नँ।  

नाम ‘उप’ सही ‘निचे’

अर्को एउटा रोचक प्रसङ्ग ‘उप’ र ‘निचे’ कोट्याऊँ। देउमान् आङगदेम्बे उपमन्त्री थिए टंकप्रसाद आचार्य प्रधानमन्त्री हुँदा। उनी पाँचथर जिल्लाका चार सुब्बामध्ये एक सुब्बा हुन्। शाह खलकले नेपाल एकीकरणमा जाँदा लिम्बूवानलाई सिंगो नेपालमा गाँस्न केहीले नमानेकाले उनीहरूलाई मनाउन लिम्बूवानको किपट जग्गामा लिम्बूहरूको प्रशासन रहने गरी मिलाइएछ। त्यसैअनुसार पाँचथरमा चारजना सुब्बा रहने भएछन्। देउमान त्यसै पद्धतिका एक जना सुब्बा हुन्। ती सुब्बाहरूलाई जग्गाजमिनको तिरो उठाउने अधिकार पनि दिएको रहेछ र गाउँघरका कतिपय मुद्दा छिन्ने अधिकार पनि दिएको रहेछ। त्यस्तो कागतपत्रमा सुब्बाले कागजको सिरानतिर सही गर्दो रहेछ। सिरानीतिरलाई उप ‘माथि’ भनिन्छ। तर देउमान उपमन्त्री हँुदा निर्णायक व्यक्तिले पुच्छारमा सही गर्ने परिपाटी बसेको थियो। पुछारलाई ‘निचे’ भन्ने गरिन्छ। ‘निचे’ भनेको तल हो। यसमा देउमानलाई माथि सही गर्ने इच्छा हुने रहेछ। त्यही असन्तुष्टिलाई उनी भन्थे नाम ‘उप’ सही ‘निचे’ र मस्तसँग हाँस्थे। म पत्रकार छँदाताकाको कुरा हो यो। कतिजना यस्तो हस्ताक्षर गर्ने अख्तियार पाएका तर अक्षर नचिनेका निरक्षरहरू पनि हुन्थे। उनीहरूको नाम स्पष्ट आउनेगरी औंठी लगाउँथे। त्यो आंैठीको छापलाई नै हस्ताक्षर मानिन्थ्यो। हस्ताक्षर औंठी छापमा। नेपालको विगततिर फर्केर हेर्‍यो भने यस्ता आज अनौठा लाग्ने थुप्रै व्यवहार हुन्थे। शब्दकै प्रसङ्गमा पञ्चायत शासन आएपछि सबै राजनीतिक दलउपर कडा प्रतिबन्ध लाग्यो। राज्यको नीति बनाउँदा ‘निर्दल’ राख्ने कि ‘दलविहीन’ शब्द राख्ने भन्ने विषयमा ऋषिकेश शाह, केशरबहादुर केसी, नयराज पन्त, खड्गमान मल्लजस्ता विद्वानहरूबीच १५ दिन छलफल भएको थियो रे। हरेक शब्दको व्युत्पत्ति, परिभाषा, परिमाणको पनि परिभाषा चल्ने रे। कति शब्द द्वयर्थक, त्रयर्थक लाग्ने छन्। अविधा, लक्षणा र व्यञ्जनाको सिद्धान्त छ।  

शासक हिँड्ने कुरो

आज कतिलाई थाहा छैन, राणा शासनका शासकहरू हिँड्ने वा मोटरमा गुड्नेहरूले प्रयोग गर्ने सडकमा रैतीहरू हिड्न पाउँदैनथे। अहिले सिंहदरबारबाट भद्रकाली जाने वा भद्रकालीबाट सिंहदरबार आउने जाने बाटोमा रैती दुनियाँदारले हिँड्न पाउँदैनथे। सो सडकभन्दा दक्षिणपट्टिको अहिले वाणिज्य बैंक, दूरसञ्चार र रासस भएको ठाउँ जाने उत्तरपट्टिको पेटीबाट हिँड्नुपथ्र्यो। रामशाह पथमा हालको सर्वोच्च अदालत भएको ठाउँबाट पुतलीसडक जाँदा सडकमुनिको पुलबाट आउजाउ गर्नुपथ्र्यो। राणाहरूको दरबारमा गाईजात्राका बेला नाटक देखाइन्थे। त्यो पनि हेर्न पाइँदैनथ्यो। राणा शासकका मोटर दौडने सडकपेटीमा रैती दुनियाँले हिँड्न पनि नपाइने युग पार गरेर आएको व्यक्ति परेँ म। १९९७ सालमा मेरी आमालाई हैजा लागेछ। तर वीर अस्पताल वा भक्तपुर अस्पताल नलगी आर्यघाट लगिएछ। जहाँ मेरी आमा बित्नुभयो। बा विधुर हुनुभयो, म टुहुरो भएँ। हैजा वा झाडाबान्ता भएकालाई पानी खान दिँदैनथे। त्यस्तो थियो अस्तिको नेपाल। काठमाडाैंभर एउटा रत्न पुस्तक पसल र अर्को मखन टोलमा गरी दुईवटा मात्र पुस्तक पसल थिए। बजारमा मसी किन्न पाइँदैनथ्यो। मसी आफैले बनाउनुपर्ने।  

एउटा कांग्रेसले अर्को कांग्रेसलाई सहयोग गर्ने परम्परा अलि अघिसम्म जीवन्त थियो। २०७२ माघ ४ गते भक्तपुर जिल्ला दधिकोटका नेपाली कांगे्रसका नेता लेखनाथ न्यौपानेले ‘नेपाली कांग्रेस र म’ भन्ने आफ्नो भोगाइबारे एउटा पुस्तक लेखे। सो पुस्तक मध्यपुर ठिमीमा कांगे्रस नेता सुशील कोइरालाले सार्वजनिक गरेका थिए। सुशीलले लेखनाथ न्यौपानेका लागि एउटा हलुका ओढ्ने कपडा, गलबन्दी, एउटा स्वीटर, एउटा माकटोपी र मोजा लगिदिएका रहेछन्। कति उत्तम सोच।  

अर्को त्यस्तै छाती छुने घटना। देशमा राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए। पुष्पलाल भारतमा नै लुकेर काम गर्नुहुन्थ्यो। शान्ता मानवी पनि भारतमा लुकेर नेपालको मधेशमा काम गर्नुहुन्थ्यो। भूमिगत भएर काम गर्नु त्यति सहज थिएन। तैपनि पार्टीको काम त गर्नैपर्‍यो। शान्तासँग बेलुका खानका लागि एक पैसा पनि रहेनछ। बाध्य भएर यो कुरा पुष्पलालसँग गर्नुभएछ। पुष्पलालसँग ५ रूपैयाँ रहेछ डेरामा। पुष्पलालले शान्तालाई त्यो पैसा लैजानु भन्नुभएछ। शान्ताले बाध्यतावश सो ५ रूपैयाँ झिकी दोकानमा साटेर आधा आफ्नो साँझको छाक टार्न लिनुभएछ। आधा पुष्पलालका लागि छोड्नुभएछ। यस्ता घटना कति हुन्थे कति। तर एउटा नेता वा कार्यकर्तालाई अर्को नेता वा कार्यकर्ताले सघाउने उच्च तहको परम्परा थियो। पुष्पलालले पाँचै रूपैयाँ लैजानु भन्नुभएको रहेछ। तर शान्ताले सबै लगेपछि भरे पुष्पलालले के खान्छन् ? भनेर आधामात्र लानुभएछ। पहाड तराईका साथी काठमाडांैमा पढ्न आएका। उनीहरूका अभिभावक काठमाडाैं हुने कुरै भएन। पार्टीमा होलटाइमरका रूपमा काम गर्ने कयौं युवा। बिरामी पर्दा उपचार गर्ने पैसा नहुने। तब काठमाडाैंमा घर हुने, खानलाउन पुग्नेहरूका छोराछोरी पनि कम्युनिस्ट पार्टीमा लागेका थिए। उनीहरू घरमा मागेर वा नभए चोरेरै भए पनि साथीहरूलाई सक्दो सहयोग गर्थे। उदाहरणका लागि डिल्लीबजार कालिकास्थानका अरविन्दनाथ रिमाल आमासँग वा बाबुसँग मागेर वा माग्दा नदिए चोरेर भए पनि साथी रामेश्वरलाई सक्दो सहयोग गर्थे। कतिपय ओखती त अरविन्दनाथले बाबुको आयुर्वेदिक औषधि पसलबाट चोरेर पनि दिन्थे। कम्युनिस्ट पार्टी जनतामा यसरी जान्थ्यो। आजका सम्पन्न कम्युनिस्ट नेता वा कार्यकर्ता विपन्न कमरेडलाई यस्तो गर्छन् कि गर्दैनन् ? मलाई पत्तो छैन। देशमा आज यस्तो स्थिति आइसकेको छ कि एउटा विपन्न पनि सम्पन्न मित्र वा साथीले लगाइसकेको कपडा लगाउन मन पराउँदैन। पहिलेको तुलनामा चीनबाट आएका तयारी लुगा यति सस्ता छन् र कामको ज्याला यति महँगो छ। थोरै पैसाले तयारी कपडा किन्न सकिन्छ। परिस्थिति यसरी बदलिएको छ।

प्रकाशित: ११ भाद्र २०७९ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App