३० वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

देश संकटमा छ

भर्खर श्रीलंकाको अर्थराजनीतिक संकटले विश्वको ध्यान आकर्षित गरेको छ। दक्षिण एशियाको सामाजिक आर्थिक हिसाबले कुनैबेलाको उदयमान देश सशस्त्र द्वन्द्वको विद्रोही पक्षको निर्मम दमन गरेर ख्याति कमाएको राजापक्षे परिवारको अधिनायकवादी शासनशैलीका कारण आज टाट पल्टिएको हो। आमनागरिक चुनावमा उनीहरूलाई भोट हाल्न पाउँदा विजयी मुद्रामा थिए। तर ३ वर्ष नबित्दै पुर्पुरो ठोक्नुपर्ने अवस्थामा पुगेका छन्। विजयको दम्भ र विजयी पक्षको अति प्रचारले गर्दा चुनावमा आवेग र उन्मादले निर्णायक भूमिका खेल्यो। सिद्धान्त भन्दा व्यक्ति महŒवपूर्ण भयो। राष्ट्रपतिदेखि मन्त्री र सरकारका सबै अङ्गमा एकै परिवार र निकटका मानिसले भरिभराउ भयो। निर्वाचनमा जितेपछि शासकहरूलाई विकासको हतारो थियो। ठूला सहर, लामो दूरीका रेल र सडक, अत्याधुनिक बन्दरगाह, हवाई मैदान बनाउन ठूलो राशिको ऋण लिएर विकासको तीव्र अभियान चलाइयो।

त्यतिले मात्र कहाँ पुग्थ्यो, श्रीलंकालाई विषादीरहित देश बनाउने भनेर एकैपटक रासायनिक मल र कीटनाशकको आयातमा बन्देजसमेत लगाइयो। सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम थपियो र कर छूटदेखि करका दरमा व्यापक कटौती गरियो। विज्ञहरूले आम्दानी खर्चको असन्तुलनको कुरा उठाइरहे। तर ठूलठूला संरचनामार्फत विकासलाई तीव्र गति दिने प्रलाप यति चर्को थियो कि यसतर्फ सुनुवाइ भएन। अन्तर्राष्ट्रिय लगानीकर्ता निकाय र देशहरू श्रीलंकाको विगत र विदेशी मुद्राको आगमनको गतिबाट उत्साहित थिए। ७ महिनाअगाडिसम्म ४ महिनाको आयातलाई पुग्दो वैदेशिक मुद्राको सञ्चिति भएको श्रीलंका अहिले यसरी टाट पल्टिएको छ कि ऊसँग क्यान्सरदेखि सबै प्रकारका रोगीको उपचार गर्ने औषधिमूलो छैन। विद्यालयमा चाहिने कुनै सामग्री नभएकाले सबै स्तरका शिक्षालय बन्द छ।  

आँखा चिम्लिएर विकासको एकोहोरो रट लगाउने र जनता रिझाउन आन्तरिक आम्दानीले नभ्याउने गरी जारी गरिएको सामाजिक सुरक्षा र अनुदानका कारण श्रीलंका यो दुर्दशामा फसेको हो।

तेल, ग्यासलगायत आयात गर्नुपर्ने सामानको आयात ठप्प छ किनकि सरकारसँग वैदेशिक मुद्राको सञ्चिति शून्य छ। आँखा चिम्लिएर विकासको एकोहोरो रट लगाउने र जनता रिझाउन आन्तरिक आम्दानीले नभ्याउने गरी जारी गरिएको सामाजिक सुरक्षा र अनुदानका कारण श्रीलंका यो दुर्दशामा फसेको हो। अति ठूला संरचनाको निर्माण गर्दा त्यसले दिने प्रतिफल र प्रतिफल दिन लाग्ने समयको सत्यनिष्ठ अन्दाज नगर्नाले श्रीलंका अहिले असफल राष्ट्रमा दरिन पुगेको छ। श्रीलंकामा यतिबेला मानवीय संकट छ। खाद्य पदार्थदेखि हरेक वस्तुको हाहाकार छ। उसको गुहार सुनिदिने राष्ट्र पनि देखिएको छैन। बलिया राष्ट्रहरू रुस–युक्रेन युद्धमा बढी सरोकार राख्छन्। एकजनामात्र सांसद भएको पार्टीका तिनै नेतालाई प्रधानमन्त्री बनाएकामा उनले पनि नसक्ने भएर राजीनामा गरिसकेका छन्।  

विकासका आयोजना बनाउँदा गम्भीरतापूर्वक सोच्नुपर्छ कि निर्माणकालमा वैदेशिक पुँजी लगानी हुन्छ। परिवत्र्य विदेशी मुद्राका आधारमा स्वदेशी मुद्रा जारी गरिने हुनाले स्वदेशी मुद्राको परिमाण वा मुद्रा प्रदाय बढाउने राज्यको क्षमता बढ्छ। यसलाई सन्तुलनमा राख्न राजनीति भन्दा माथि विज्ञताको आधारमा निर्णय लिने स्वायत्त निकायका रूपमा केन्द्रीय बैंक स्थापना गरिेएको हो तर अत्याधिक ठूलो बहुमतले जितेको दलले यस्तो नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई बेवास्ता गर्‍यो। विकासका क्रममा हुने आयातबाट हुन सक्ने आम्दानी पनि घटाइएको करका कारण हुन सकेन।

जब संकट चुलिँदै जान्छ राजनीतिज्ञहरू लोकरिझ्याइँका कार्यक्रमतर्फ आकर्षित हुन थाल्छन्। उनीहरू जनतालाई मैले त यसो गर्न खोजेको थिएँ, उसो गर्न खोजेको थिएँ भनेर अवगालबाट जोगिने उपाय रच्न थाल्छन्। कर्मचारीतन्त्र आफूलाई सुरक्षित गर्न सकेसम्म बढी धन बटुल्नतिर लाग्छ। व्यापारीहरू कुनै प्रकारले धेरै कमाएर भविष्य सुरक्षित पार्न चाहन्छन्। विदेशीका लागि देशको सम्पदा सस्तोमा हत्याउने स्वर्णकाल यस्तैमा हुन्छ। बहुराष्ट्रिय कम्पनीहरू होसियार हुन्छन्। कानुनी र गैरकानुनी बाटोबाट विदेशी मुद्रा पलायन हुन थाल्छ। आत्तिएका नागरिक पनि शिक्षा वा अन्य बहानामा सन्तानलाई र आफैँ पनि देशको सम्पति पोको पारेर विदेश पलायन गर्न उद्यत हुन्छन्। त्यस्ता अनैतिक कर्ममा राजनीतिक प्रभाव र धाकधम्कीका आधारमा काम निकाल्ने बिचौलियाको संख्या बढ्छ। नियम कानुनको आफ्नो स्वार्थअनुकूल परिभाषा गर्ने, समग्रतामा होइन कि आफूलाई अनुकूल हुनेगरी अक्षर र दफाको आधारमा कार्यान्वयन गर्ने र दोषबाट उम्कने गरी जनप्रशासनको भ्रष्टीकरण हुन थाल्छ।

आवेग, व्यक्तिको देवत्वकरण र कुनै काममा गरेको असल परिणामका आधारमा छानिएका÷चुनिएका शासकको उत्ताउलोपनले कसरी अस्थिरता र अन्योलको भूमरीमा देशलाई जाक्न सक्छ भन्ने कुराको तत्कालको ज्वलन्त उदाहरण बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, युक्रेनी राष्ट्रपति जेलेन्सकी, रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाइडेनको उद्वेगमा ती राष्ट्रमा चुलिएको संकटमा देख्न सकिन्छ। युरोपको सर्वाधिक गरिब तर अन्नको भण्डार युक्रेनलाई किन नेटो जस्तो शुद्ध सैन्य गठबन्धनमा सामेल नभई भएन भनेर हेनरी किसिंजरले प्रश्न गरेका छन्। जब नेताहरूलाई अति लोकप्रिय हुने र विदेशलाई मात गर्ने गरी तामझामयुक्त संरचना निर्माण गर्ने धून सवार हुन्छ अनि उनीहरूले बिर्सन्छन् कि जनतालाई आत्मनिर्भर, सचेत र मर्यादित बनाउनुबाहेक शासनसत्ताको अर्को कुनै अभीष्ट हुनुहुन्न।

क्षमतावान नागरिकले हो देशको निर्माण र विकास गर्ने। सरकार सहजीकरण र समन्वय गर्ने निकायमात्र हो। जनमतको दम्भले जनता भन्दा माथि आफूलाई ठान्न थालेपछि शासकले गर्ने गल्ती यस्तै हो। जनताले विश्वास गर्छ, एकाध परिणामका आधारमा समग्रतामा त्यस्तै होला भनेर कल्पना गर्छ तर जब दुष्परिणाम देख्छ अनि आगोसरह खनिन्छ। हरेक राजनीतिक दलको अभीष्ट भनेको आमनागरिकको जीवनमा सुख ल्याउनु हो। सुखका लागि समृद्धि चाहिन्छ। समृद्धिका लागि ज्ञान चाहिन्छ। ज्ञानको उत्पति सामूहिक अनुभवका आधारमा हुन्छ र ज्ञानको व्यवस्थित उपयोग गर्ने सिपलाई विज्ञान भनिन्छ। सिङ्गो सामानमा अनेक पार्टपुर्जा जोडजाम गर्नुपरे जस्तै अनेक प्रकारका सिपको समिश्रणले एउटा सामानको उत्पादनलाई पूर्णता दिन्छ। ज्ञान, चेतना र सिप प्रयोग गरेर लक्षित नागरिक समूहको नेतृत्वमा राष्ट्रको विकास गर्न राजनीतिक दल स्थापना गरिन्छ। सबैजना दलसँग आवद्ध हुँदैनन् तर सबैजना आफ्नो समुदायको उन्नति र प्रगति होस् भन्ने चाहन्छन्।

राजनितिक दलहरू नागरिक संवादमार्फत सबै ज्ञानको उपयोग गर्ने तथा असल ज्ञानलाई सामूहिक सम्पत्ति बनाउने लक्षका साथ स्थापित शासकीय संस्था हुन। त्यसैले राजनीतिक दलहरू सधैँ जनताको आलोचनाको घेराभित्र रहनुपर्छ। त्यसरी चलायमान दलहरूले मात्र आफ्ना सदस्यको योग्यता, क्षमता र नैतिकताको विकास गर्न सक्छन्। जब लोकप्रियताको आधार नेताविशेषमा केन्द्रीकृत गरिन्छ अनि नेतालाई फुक्र्याउने, उचाल्ने र आफ्नो स्वार्थसिद्ध गर्न आलोचनात्मक चेत भएकालाई हटक गर्ने, छेउ पर्न नदिने लाउके जमात तयार हुन्छ। अति भक्ति चौरस्य लक्षणम् त्यसै भनिएको होइन। अति भक्तका लागि सत्ता नै सबैथोक हो। गुट पनि त्यसैगरी बन्छ।  

जनताको विश्वासले दिने पुरस्कार सत्तारोहण हो भन्ने कुराबाट अलग्गिएर सत्ता नै जनतासमक्ष पुग्ने एकमात्र उपाय हो भन्ठान्नुपर्ने ठाउँमा नेतालाई नपुर्‍याउन्जेल अति–भक्तले विश्राम लिनेवाला छैनन्। यी भक्तले जति समस्या थपियो त्यति आलंकारिक, प्रचारात्मक उपायको रचना गर्छन्। खैलाबैला भइरहोस्, रंगीन चित्रहरू छापिइरहुन्, नेताको गुणगान धूमधामसँग भइरहोस्। तब न नेताको रवाफका चाकरहरूको हैकम रहन्छ। नेतालाई नेतृत्वका रूपमा विकसित हुनै नदिने, कर्मलाई सिद्धान्तको आलोकमा परीक्षित हुनै नदिने र नेताको वचन भुइँमा खस्न नपाउँदै जय÷जयकार गरिहाल्नेको फन्दामा लोकतान्त्रिक प्रक्रियाबाट अनेक कष्ट सहेर हुर्किएका नेताहरू फसेको दृष्टान्त धेरै छ। तर बिर्सनु हुन्न कि तिनै अति–भक्त हुन जो आफू फस्ने स्थिति आउनासाथ सम्पूर्ण निर्णयको जिम्मेवारी नेताको थाप्लोमा राखिदिएर उम्किने कोसिस गर्छन्।  

स्टालिन, हिटलरदेखि अहिलेका राजपक्षेसम्म यही भएको छ। नेपाल सरकारले आजको परिस्थितिमा कसरी ८ प्रतिशतको विकास लक्ष्य तोक्न सक्यो? १ वर्षमा कृषि उत्पादन ३० प्रतिशतले बढाउने के आधारमा भन्न सक्यो? किन अनेक प्रदेशले आफ्नो वजेटमा व्यक्ति व्यक्तिका नाममा अनुदानको ठूलो राशि छुट्याउने आँट गर्न सके? ती सबै कर्मले भन्छ, हाम्रा शासक र तिनका चाटुकार यतिबेला असह्य संकटको त्रासले ग्रस्त छन्। मौकामा आफ्नो कृति राखिहाल्न र भविष्यका लागि थैली भरिहाल्न आतुर छन्। शासकहरू जोसँग लत्रिएर भए पनि सत्ता सुरक्षित गर्न आतुर छन्। नैतिकताको कुनै मापदण्ड छैन।  

अहिले तत्कालीन, अल्पकालीन र मध्यकालीन विशेष योजना बनाएर आन्तरिक र विश्वव्यापी संकटको समाधान खोज्न राष्ट्रिय बहस गर्नुपर्ने बेला हो। पर्खाइमा रहेको विपक्षले विकल्पका लागि सर्वपक्षीय छलफल चलाएको हुनुपर्ने हो। तर उसले पनि बिगारेको थियो भन्दै विपक्षलाई धारेहात लगाउने सत्तापक्ष र बर्बाद भएपछि खुच्चिउँ भन्ने ताकमा रहेको विपक्षका कारण देशमा हराएको राजनीतिलाई सत्तोसराप गर्नेहरूको संख्या बढिरहेको छ। यो बेलामा इमानदार नागरिकले राष्ट्रलाई शीरमा राखेर बेहिचक भन्न सक्नुपर्छ कि राष्ट्र संकटमा छ। महाथिर मोहम्मदले अनुभवसिद्ध चेतावनी दिइसके, यो समय अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतको जालोमा पर्ने होइन कि आफ्नै यथार्थमा टेकेर मुक्तिको उपाय रच्ने बेला हो। अहिले व्यक्तित्वको कुरा गरौँ, सिद्धान्तको आलोकमा प्रवृत्तिको कुरा गरौँ, नेता निमित्त हुन्, नेतृत्वको कुरा गरौँ र मुलुक सबैको साझा हो, सबैको हितको कुरा गरौँ। अहिले यस्तो कुरा गर्ने मौका छ किनकि देशमा संकट छ ।

प्रकाशित: २९ असार २०७९ ००:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App