बेवारिसे सरकार भन्ने शब्द झट्ट सुन्दा त अलि अबुझ र अचम्मको लाग्न सक्छ तर शान्त दिमागले यस्तो गमेर विचार गर्दा दुईवटा कथित ठूला कम्युनिस्ट पार्टीको एकीकरणपश्चात निर्माण भएको झण्डै दुईतिहाइ सांसद संख्याको विशालकाय नेता÷कार्यकर्ता पंक्तिको पार्टीको सरकारको बेवारिसे हालत देख्दा दया लाग्नुको सट्टा यी दल र सरकारलाई दसा लागेको हो कि भन्न सकिन्छ।
एकीकरणपश्चातको विशालकाय पार्टी झण्डै दुईतिहाइ सांसदको समर्थनमा गठित बलियो सरकार, आफ्नै खोपीको राष्ट्रपति, सभामुख, संवैधानिक अंग र राज्यका प्रत्येक निकायमा आ–आफ्नै खल्तीका मान्छे, हरुवा/चरुवाको बाहुल्यतालगायत के के जाति हो के के जाति? मुलुकको कुनै लिखित ऐन, कानुन संविधान आदि मान्नु नपर्ने, आदेश/निर्देशन कानुनसरह हुने, कुनै पनि मन्त्री, राजनीतिक कार्यकर्ता हरुवा/चरुवा र पार्टीगत दलाल वा तस्करले जतिसुकै संवेदनशील विषयमा जस्तोसुकै जघन्य अपराध र भ्रष्टाचार गरे पनि ‘त्यो होइन, त्यो पर्दैन’ भन्न सक्ने बलिया आधार र प्रावधानबाट सुसज्जित सरकार अहिले एकाएक बेवारिसे अवस्थामा आइपुग्दा देशको राजनीतिक र कूटनीतिक मथिङ्गल त खलबलिएको छ नै, आफैँ खोपीका शक्तिशाली अंग प्रत्यङ्गहरूमा पनि शिथिलता छाएको अनुभूति भइरहेको प्रतीत हुन्छ।
यो बेवारिसे सरकार बलियो अवस्थामा छँदा उत्तर र दक्षिण सीमावर्ती क्षेत्रबाट यो सरकारसँग सहकार्य गर्ने नाममा राजनीतिक अरिगांलहरूको ताँती लागिरहन्थ्यो। सरकारको पहिलो वर्ष उत्तर र दक्षिण दुवैतर्फका राजनीतिक अरिगांलहरू सिंहदरवार बालुवाटार हुँदै शीतल निवाससम्मै छयाप्छ्याप्ती भेटिन्थे। सरकार बनेको दोस्रो वर्षमा उत्तरतिरबाट अझ ठूल–ठूला अरिगांलको बाक्लै ताँती लाग्न थालेपछि दक्षिणी सीमा क्षेत्रबाट आवतजावत पातलो हुँदै गयो। सरकार गठन भएको तेस्रो वर्षमा उत्तरी अरिगांलहरूसंँगको सहकार्यमा मतभेद भएपछि केही समय अन्योल स्थिति छाइरह्यो।
यसरी उत्तरी र दक्षिणी दुवै अरिगांलसँग रमाउन सकने देखिएपछि हाम्रो सरकारले त्यतिञ्जेलसम्म आफूलाई सशक्त भिर माहुरी देख्न थालिसकेको थियो। जसरी भिर माहुरीको मह बढी खाँदा मात लाग्छ, त्यसरी नै हाम्रो सरकारलाई पनि सत्ताको मात चढ्न थालिसकेको थियो। प्रतिपक्षीमा झिङ्गा पनि भिर माहुरीले चाकामा छाडेको महको जुठो चाटेरै मख्ख थिए।
यसरी सत्ताको मात चढ्दै जाँदा सरकारले प्रतिपक्षलाई त जुठो चटाएकै थियो मुलुकका अन्य राजनीतिक दल र स्वयं आफैँ विशालकाय नेतृत्व एवं कार्यकर्ता पंक्तिलाई पनि लछारपछार गर्न थालिसकेको थियो।
हाल बेवारिसे बनेकाहरूले तत्कालीन अवस्थाको बलियो सरकारमा छँदा मुलुकको अस्मिता लुट्न र जनताको छातीमा लात हान्न छाडेनन्। आफ्ना आसेपासे र सुसारेहरूको भरणपोषणका लागि पनि कुनै कसर बाँकी राखेनन्। सत्ताको मातमा यिनीहरूले बालुबाटार शीतल निवास र सिंहदरवार पेरिफेरीलाई मात्र देश सम्झे र यिनै तीन स्थान वरिपरि भाका फेरी फेरी गीत गाइरहे।
एकातर्फ उत्तरी राजनीतिक अरिगांलसँग असमझदारी उत्पन्न भइ उनीहरूको आवागमन पातलिएको छ। अर्कोतर्फ नेपाली सरकारी भिर माहुरीहरू सत्ताको मातमा आफ्नै घर चाका (राजनीतिक दल) भत्काउन अग्रसर भइरहेको र बालुवाटार शितल निवास तथा सिंहदरवार केन्द्रित लुटतन्त्रमा बढी केन्द्रित भइरहेको स्थितिलाई सूक्ष्म ढंगले नियालिरहेका अरिगांलहरूका लागि नेपाल प्रवेश गर्ने यो सुवर्ण अवसर थियो। अतः दक्षिणतिरबाट क्रमशः अरिगांलसँगै सलहका ताँतीहरूको म्याराथन सुरु भयो।
यसरी प्रारम्भमा आएका अरिगांलले बालुवाटार र शीतल निवासका शयन कक्षभित्र स्थायी गोला (चाका) निर्माण गरिसकेपछि अरिगांलसँगै पछि पछि पटक पटक भित्रिएका सलहका ताँतीले प्रारम्भमा नेकपा नामको बलियो वृक्षका हाँगा, पात, डाँठसमेत केही नराखी सखाप पारेपछि त्यो नेकपा नामको वृक्षलाई नै दुई फ्याक पारिदिए।
त्यही फ्याकभित्र रहेको एमाले नामक हरियो वृक्षलाई पनि सखाप पारे। यसरी दुई फ्याक भएको वृक्षका केही डाँठमा नेपाली भिर माहुरीले आफ्ना लागि हाल छुट्टाछुट्टै चाका (घर) निर्माण प्रारम्भ गरेका छन्। नेपाली भिर माहुरीले आफ्नो दुर्गतिको कारक अरिगांल र सलह हुन् भन्ने स्पष्ट बुझ्दा बुझ्दै पनि आपसमा एकजुट हुनुको सट्टा तिनीहरूकै आडमा एकअर्काको घर भत्काउन तल्लीन हुनु मुलुकका लागि निकै कष्टदायक हुने देखिँदैछ।
यसरी आफूलाई भिर माहुरी संम्झिने हाम्रा राजनीतिक दलहरू जसले आफूलाई विगतमा अरिगांलहरूसँग प्रतिस्पर्धा गर्न सक्ने ठानेका थिए, आज तिनीहरू तिनै अरिगांल र सलहका षडयन्त्रमा परेर नांगा डाँठ माथिबाट टुलुटुलु हेरेर बस्नुपरेको छ। सखाप पारिसकेपछि अरिगांल र सलह पनि अर्को चरणको पर्खाइमा छन्।
यसरी दुईतिहाइको विशालकाय पार्टीको सरकार विदेशी भुसुनाहरूको भर पर्दा आफैँ असहाय बन्नुपरेको छ। सुझबुझपूर्ण विवेक र कूटनीतिक कौशलको अभावमा पार्टी टुक्रियो, आफ्नै दलकाले छाडेर गए, विरोधी खेमा एकजुट भयो। अझै पनि आफ्नालाई समेट्नु भन्दा विरोधीहरू अझ कसरी बलियो पार्ने भन्दै छुद्र भाषा र शब्दावली प्रयोग गर्न नछाड्दा एक्लिँदै जानुपरेको छ। आफ्नालाई गलहत्याएर सलहहरूलाई सरकारमा ल्याउँदा एउटै अदालती स्प्रे (आदेश) बाट सलहको झुण्ड बेहास भएको छ भने अरिगांलहरू सीमापारिबाट चियाएर बसिरहेका छन्।
आर्थिक र सामाजिक समस्या समाधान गर्ने भन्ने त प्राथमिकताका थिएन वा रहेन तर राजनीतिक र कूटनीतिक दृष्टिले समेत पूर्ण असफल र राजनीतिक छुवाछूतको दलदलमा भासिँदै गइ एक्लिँदै एक्लिँदै चार जनाको सरकारमा सीमित हुन पुगेको छ।
यसरी चौतर्फीरूपमा एक्लिएको र दुत्कारिएको हाम्रो सरकार बेवारिसे अवस्थामा पुगेको छ। शीतल निवास, बालुवाटारका दुलालाई मात्रै देश सम्झिने हो भने कुन दिन यो सरकारका दुई जना नाइके एउटा शीतल निवास र अर्को बालुवाटारको मझेरीमा मुर्छित अवस्थामा भेटिने छन्। तसर्थ उहाँहरूको उद्धारका लागि तयार रहन सबैलाई आग्रह गर्छौँ। (राष्ट्रिय संयोजक: नेपाल नागरिक अभियान तथा पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक)
प्रकाशित: २८ असार २०७८ ०४:४७ सोमबार