११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

नेपालमा ग्रिड जडित सौर्य ऊर्जा

नेपाल प्राकृतिक सम्पदाको जसरी धनी हो त्यसैगरी सौर्यबाट प्राप्त रेडिएनको पनि नेपाल धनी मानिन्छ र यी दुवैले हामी भाग्यमानी छौँ। भाग्यमा छ भनेर डोकोमा दूध दुहेर अडिदैन भनेझैं समयमै हामीले पनि यस क्षेत्रमा अघि नबढे देशले नोक्सान खेपिरहनुपर्नेछ । प्रकृतिले दिएको पानी तथा डाँडाले जलविद्युत् ऊर्जा उत्पादनको संभावना प्रचुर मात्रामा देखिएको लामो समय भनौँ भने एक शताब्दी भन्दा बढी समय बितिसक्दा पनि भारतबाट ठूलो परिमाणमा विद्युत् आयातगरी देशको माग परिपूर्ति गरिरहनुपरेको वास्तविकता हामीसँग छ ।  

किन जलविद्युत् विकासले गति लिन सकेन ? आज देशमा सबैभन्दा ठुलो लगानी जलविद्युत्को क्षेत्रमा भए तापनि हाम्रो आवश्यकता परिपूर्ति हुन सकेन र भारतीय विद्युत्को भर परिरहनुपरेको छ । भारतमै पनि जलविद्युत् उत्पादनको गति सौर्य वा अन्य विद्युतीय आयोजनाको गतिमा किन भइरहेको छैन ? यसको मुख्य कारण जलविद्युत् आयोजना निर्माणमा लाग्ने कठिन समय, सामाजिक समस्या, लामो प्रसारण प्रणाली तथा लगानीका दृष्टिले ठूलो खर्चिलोहुनु हो । यसको विकल्पमा सौर्य ग्रिड जडित आयोजनामा के त्यस्ता गुण छन् र किन सौर्य आयोजनाको पनि जलविद्युत्सँग सँगै विकास गर्नुपर्छ भन्ने सन्दर्भमा यो लेख तयार गरिएको हो । सौर्य आयोजना विकास गर्दा हुने फाइदा बुँदागतरूपमा यहाँ प्रस्तुत गर्छु ।

ग्रिड जडित सौर्य आयोजना निर्माण सुरु भएको धेरै वर्ष नभएतापनि यसको विकास तथा प्रविधिले छिटो फड्को मारिसक्यो । 

विश्व परिवेश

सौर्य प्लानलबाट उत्पादन भएको विद्युत् ब्याट्रीमा भण्डारण गरी आवश्यकतानुसार उपयोग गर्ने प्रविधिलाई आइसोलेटेड सिस्टम भनिन्छ भने सौर्य प्लानलबाट उत्पादन भएको विद्युत् भण्डारन नगरी सिधै ग्रिडमा जोडेर माग भएको ठाउँमा लैजाने प्रविधिलाई ग्रिड कनेक्टेड सिस्टम भनिन्छ ।  

ग्रिड कनेक्टेड सिस्टमअन्तर्गत घर, टहराका छाना, जमिन तथा पोखरी तालमा प्यानल खडा गरी ठूला ठूला क्षमताका ग्रिड कनेक्टेड आयोजनाहरू निर्माण गरिँदै आएको धेरै वर्ष भएको छैन । पछिल्लो दशक सौर्य आयोजनाको विकासक्रम हेर्ने हो भने सन् २०१५ मा संसारमा ग्रिड कनेक्टेड सौर्य आयोजनाको जडित क्षमता २५६,००० मे.वा. थियो र चार वर्षपश्चातअर्थात् सन् २०१९ को अन्त्यसम्म ६२७,००० मे.वा. पुगेको छ । यसरी ४ वर्षको अवधिमा ३७१,००० मे.वा., अर्थात प्रतिवर्ष ९०,००० मे.वा. सौर्य ऊर्जा उत्पादन हुनसक्नु चमत्कारिक विकास भन्ने गरिन्छ । यति तीव्र गतिमा विकास हुनुको प्रमुख कारण ग्रिड कनेक्टेड सिस्टमको विकास हो । सन् २०२० सम्म निर्माण भएका आयोजनामा संसारको सबै भन्दा ठूलो सोलार फार्म २२५० मे.वा. क्षमताको भद्ला सौर्य आयोजना हाम्रो छिमेकी मुलुक भारतको राजस्थानमा अवस्थित छ ।  

प्रविधिको विकास

ग्रिड जडित सौर्य आयोजना निर्माण सुरु भएको धेरै वर्ष नभएतापनि यसको विकास तथा प्रविधिले छिटो फड्को मारिसक्यो । सन् १९५६ मा सोलार सेलको इफिसेन्सी १ प्रतिशत थियो भने सन् १९५७ मा ८ प्रतिशत, सन् १९६० पुग्दा १४ प्रतिशत थियो । सन् १९९२ मा प्यानलको इफिसेन्सी १५.९ प्रतिशत पुग्दा यस क्षेत्रमा ठूलो उपलब्धि भएको मानिएको थियो र सोही समयपश्चात् व्यावसायिक ग्रिड कनेक्टेड सौर्य आयोजनाहरू निर्माणको थालनी भए । पछिल्लो एक वर्षको अन्तरालमा व्यावसायिक प्यानलको इफिसेन्सी २३ प्रतिशतको हाराहारीमा रहेको छ । पछिल्लो अनुसन्धानबाट प्यानल इफिसेन्सी ४७ प्रतिशतसम्म पुगेको छ तर यो इफिसेन्सीको प्यानल कमर्सियल उत्पादन हुन भने बाँकी छ । चाँडै नै ५० प्रतिशत इफिसेन्सीको प्लानल उत्पादन भएमा कुनै आश्चर्य हुने छैन । पचास प्रतिशत इफिसेन्सीको प्लानलबाट एक विघा भन्दा कम क्षेत्रफलमै १ मेगावाट क्षमताको सौर्य आयोजना निर्माण हुनेछ । 

प्रकृतिले दिएको पानी तथा डाँडाले जलविद्युत् ऊर्जा उत्पादनको संभावना प्रचुर मात्रामा देखिएको शताब्दी भन्दा बढी समय बितिसक्दा पनि भारतबाट ठूलो परिमाणमा विद्युत् आयातगरी देशको माग परिपूर्ति गरिरहनुपरेको वास्तविकता हामीसँग छ ।  

प्यानलको इफिसेन्सी १५ प्रतिशत भएको दुई वर्ष पनि नबित्दै २१ प्रतिशतसम्म पुगिसकेको छ । यो प्रतिशत क्रमशः बढिरहेको छ । इफिसेन्सीको वृद्धि भनेको एउटै क्षेत्रफलको सौर्य पातामा ठूलो क्षमतामा विद्युत् उत्पादन हुनु हो । हरेक चैमासमा प्लानलको इफिसेन्सी तीव्र गतिमा विकास भइरहेको छ । उदाहरणका लागि ने.वि.प्रा. ले नुवाकोटमा निर्माण गर्दै गरेको २५ मेगावाट क्षमताले ओगटेको क्षेत्रफलमा अहिले सोही ठाउँबाट ५० मे.वाट क्षमताको सौर्य आयोजना बन्ने भइसकेको छ । १ मेगावाट आयोजना निर्माण गर्न चाहिने क्षेत्रफल विगत २ वर्षको तुलनामा आधा भइसकेको छ ।

प्रविधिको विकाससँगै सौर्य आयोजनाबाट उत्पादन हुने विद्युत् जगेडा गर्न ठूला ठूला ब्याट्री आविष्कार भइरहेका छन् । अहिले लिथियम आयन प्रविधिका ब्याट्रीबाट ठूलो परिमाणमा विद्युत् भण्डारण गर्ने क्षमता विकास भएको छ । प्रविधिको विकाससँगै विद्युत् भण्डारणले पनि ठूलै फड्को मार्ने अनुमान गर्न सकिन्छ ।

कच्चा पदार्थको स्रोत

ग्रिड जडित सौर्य आयोजनाको कच्चा पदार्थको स्रोत सौर्य किरण हो जो निःशुल्क प्राप्त छ । नासाले गरेको अध्ययनअनुसार नेपालको सोलार इरेडेसन डाटाका आधारमा ठाउँअनुसार न्युनतम ३.६ देखि अधिकतम् विद्युत् ६.२ किलोवाट घण्टा प्रतिवर्गमिटर प्रतिदिन उत्पादन हुनेछ । डेटाअनुसार नेपालको औसत ४.९ किलोवाट घण्टा प्रतिवर्गमिटर प्रतिदिन उत्पादन हुनेछ र यसबाट पनि पुष्टि हुन्छ कि नेपाल सौर्य आयोजना निर्माण गर्नका लागि लायक देश हो । रेडिएसन डेटाको अध्ययन गर्दा नेपालको तराई तथा पहाडी भूभाग ग्रिड कनेक्टेड सौर्य आयोजनाका लागि अझ उपयुक्त क्षेत्र हुन् । धेरै चर्को घाम पनि सौर्य विद्युत्का लागि राम्रो मानिँदैन । २५ डिग्री सेन्ट्रिगेडलाई आधार तापमान मानेर सौर्य पाताको डिजाइन गरिएको हुन्छ । सो तापक्रम भन्दा तल भएमा अझ राम्रो उत्पादन हुनेछ भने जति बढी तापक्रम भयो त्यति नै विद्युत् उत्पादनमा ह्रास हुनेछ ।

आयोजना निर्माण अवधि  

ग्रिड जडित सौर्य विद्युत्आयोजनाको निर्माण छोटो समयमा सम्पन्न हुन्छ । सौर्य आयोजना कुनै एक नेपाली ठेकेदारबाट ६ महिनाभित्र ५० मे.वा. देखि १०० मे.वा. क्षमताका आयोजनाहरू सहजै निर्माण गर्नसक्छ । चीनको पछिल्लो तथ्यांकअनुसार ३ महिनामा २२०० मे.वा. क्षमताको सौर्य विद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरेको छ । तसर्थ, सौर्य आयोजनाको विकासबाट तत्काल विद्युत् आपूर्ति गर्न सकिनेछ ।  

प्रसारण लाइनमा थप लगानीआवश्यकता नपर्ने

सौर्य ग्रिड जडित आयोजना घरको छाना, खेतबारी, पाखाबारी, खोला किनारा तथा पहाडका कान्लाहरूमा जडान गर्न सकिन्छ । यसप्रकारका आयोजना यदि घर तथा टहराको छानामा निर्माण भएमा सिधै विद्युत् घरमै खपत हुनेछ जसका लागि छुट्टै ग्रिड निर्माण गरिरहनु पर्दैन । त्यसैगरी, सबस्टेसनको पहुँचमा जडान गर्ने गरी निर्माण हुने ग्रिड जडित सौर्य आयोजनाबाट उत्पादन हुने विद्युत्सबस्टेसनमा जडान भएका ११ के.भी.ट्रान्सफर्मरमार्फत सिधै उपभोक्ता तथा उद्योगको पहुँचमा पुग्नेछ जसका कारण थप ग्रिडको आवश्यकतापर्दैन । देशका विभिन्न सबस्टेसनमा जडान हुने गरी १० देखि २० मे.वा. क्षमताका धेरै सौर्य आयोजनाहरू निर्माण गर्दा सौर्य आयोजनाका लागि सरकारले प्रसारण लाइनमा थप लगानी गर्नुपर्दैन ।  

एक अर्काका परिपुरक

रन अफ रिभर प्रकारका जलविद्युत्मार्फत मात्र विद्युत् उत्पादन गर्दा वर्षयाममा ठूलो परिमाणमा विद्युत् उत्पादन हुन्छ भने हिउँदयाममा एकतिहाइ मात्र विद्युत् उत्पादन हुने गर्छ । सुक्खायाममा जलविद्युत्बाट कम विद्युत् उत्पादन गरेको समयमा ग्रिड जडित सौर्य आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्छ । अर्थात हाइड्रोको ड्राइ सिजन सोलारको वेट सिजन हो भन्न सकिन्छ । अर्कोतर्पm सौर्य आयोजनाबाट उत्पादन हुने विद्युत् उपयोग गरी पम्प स्टोरेज आयोजना सञ्चालन गर्न सकिनेछ । सौर्य विद्युत्को उपयोग गरी पानीलाई माथिल्लो पोखरीमा तान्ने र पिक लोडका बेला माथिल्लो पोखरीबाट पानी झारी विद्युत् उत्पादन गर्ने सकिन्छ । यसरी यी दुई स्रोतको उपयोगबाट उत्पादन हुने विद्युत्ले एक अर्काका परिपूरक हुन मद्दत पुग्छ ।

चुहावट तथा प्रसारण लसमा बचत

जलविद्युत्बाट उत्पादन हुने विद्युत् पहाडमा हुने र खपत गर्न तराई क्षेत्रमा विद्युत् संवाहन हुँदा धेरै विद्युत्प्रसारणमार्फत र ट्रान्सफर्मरदेखि ट्रान्सफर्मरमा हुने प्राविधिक लस हुने गर्छ । त्यसका बाबजुद ग्रिड जडित सौर्य विद्युत् आयोजना सबस्टेसन केन्द्रित निर्माण हुने भएकाले प्रसारण लस तथा प्राविधिक लस असाध्यैकम हुन्छ ।जलविद्युत् र सौर्य आयोजनाको विद्युत्मध्ये पहिलो खपत सौर्य विद्युत्को हुने गर्छ । तसर्थ, जुनस्थानमा सौर्यविद्युत् उत्पादन भएको छ त्यहाँ पहिलो खपत सौर्यबाट उत्पादिनविद्युत् हुनेछ । यसका कारण पनि सौर्य विद्युत्को प्रसारण लस नगन्य हुन्छ ।  

सौर्य आयोजनाको विशेषता

ग्रिड जडित सौर्य आयोजना घाम लागेको समयमा मात्र उत्पादन हुन्छ । सौर्य आयोजनाको उत्पादन एकैपटक पूर्ण क्षमतामा वा दिनैभर पूर्ण क्षमतामा सञ्चालन हुँदैन । अफिसियल विद्युत् खपतका लागि यो अति महत्वपूर्ण छ । बिहान ७ बजेतिर ग्रिड जडित आयोजना उठ्न सुरु गर्छ, सानो क्षमतामा उत्पादन सुरु भई ग्रिडमा विद्युत्आपूर्ति गर्न सुरुगर्छ । अफिस समय अर्थात् बिहान १० बजेदेखि पूर्ण क्षमतामा सञ्चालन हुन्छ रदिउँसो २ बजेसम्म अधिकतम क्षमतामा सञ्चालन भई पुनः न्यून क्षमता हुँदै साँझ आफैं बन्द हुन्छ । तसर्थ, अफिसियल, व्यवसायिक तथा औद्योगिक विद्युत्को माग परिपूर्ति गर्नका लागिसौर्य आयोजनाले ठूलो राहत दिनेछ ।  

सौर्य आयोजनाबाट लिन सकिने लाभ

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका आयोजनामध्येकुलेखानी आयोजना स्टोरेज प्रकृतिका र काली गण्डकी, मस्र्याङ्दी, अपरमस्र्याड्दी डेली पिकिङ स्टोरेज प्रकृतिका आयोजना हुन् । दिउँसोको समयमा ग्रिड जडित आयोजनाबाट विद्युत्आपूर्ति गरी सो समयको पानी स्टोरेज गरी आवश्यकतानुसार साँझको समय विद्युत्को ठूलो भारलाई भरथेग गर्न मद्दत गर्छ । यसैगरी, सौर्य आयोजनाले धानेसम्म भारतबाट आयात भइरहेको दिउँसोको विद्युत् आयात तत्कालै कम गर्न सकिनेछ ।

सौर्य जडित आयोजनामा सौर्य पाताको मुनी साना बोटबिरुवा जातका कृषि कार्यमा लाग्न आकर्षित गर्न सकिन्छ । सौर्य पाता धोइराख्नुपर्नाले कृषिका लागि पानी पनि हुने र आयोजनामा पर्याप्त कामदार पनि हुने भएकाले सौर्य आयोजनाबाट कृषिमार्फत दोहोरो फाइदा लिन सकिन्छ ।

नेट मिटरिङ

आफ्नो घरको विद्युत्को रकम आप्mनै छानाबाट सौर्य विद्युत्मार्फत विद्युत् उत्पादन गरीग्रिडमा आपूर्ति गर्ने र बिलमा उठ्ने रकम कम गर्ने व्यवस्थाका लागि नेपाल सरकारले फोटोभोल्टेक सौर्य प्रणालीबाट प्राप्त हुने ऊर्जा लिनेसम्बन्धी कार्यविधि, २०७४ ल्याइ नेट मिटरिङको व्यवस्था गरेको छ ।

व्यक्ति व्यक्ति तथा संस्थाले लगानी गरी घरको छानामा सौर्य पाता जडान गरी नेट मिटरिङमार्पmत् विद्युत्मा आत्मनिर्भर हुन सक्नेछन् । एक घरले २ देखि ३ लाखको खर्चमा विद्युत् ग्रिडमा विद्युत् निर्यात गरी आफ्नो घरको विद्युत् महसुल घटाउन सक्नेछन् । सरकारले उपभोक्ताहरूलाई आकर्षित गरी नेपाली समाजलाई आत्मनिर्भर विद्युत् प्रणालीमा परिवर्तन गर्न सक्नेछ । यस कार्यमा तत्काल कार्यान्वयनको खाँचो छ ।

(कार्यकारी निर्देशक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड)

प्रकाशित: १२ फाल्गुन २०७७ ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App