सय वर्षअघिको स्पेनिस फ्लु र अहिलेको कोरोना महामारी उस्तै लाग्छन्। इतिहासमा पढ्दा त्यो पनि अहिलेजस्तै जोखिमपूर्ण रहेको थाहा पाइन्छ। समग्र विश्वलाई हेर्दा कोरोना महामारी दोस्रो चरणमा गएको देखिन्छ। यो छिट्टै अन्त्य हुने छाँटकाँट देखिँदैन। सय वर्षअघिको त्यो फ्लुले पनि २ वर्षसम्म प्रभाव पारेको थियो। त्यो बेला नेपालको अर्थतन्त्र अन्य देशसँग जोडिएको थिएन। यसकारण पनि त्यतिबेला प्रभाव कम परेको थियो।
अहिले त नेपाल, आर्थिक तथा समाजिक रूपमा पनि अन्य मुलुकसँग जोडिएको छ। भारत र चीनसँग त जनस्तरमै सम्बन्ध छ। यसैकारण अहिलेको महामारीको प्रभाव नेपालमा पनि निकै परेको छ। महामारी विश्वभर एकैपटक फैलिएको होइन। हामीले समय पाएकै हो। अझै बितिसकेको छैन। केही क्षेत्रमा त खासै प्रभाव परेजस्तो पनि लाग्दैन। उदाहरणका लागि रेमिटेन्समा हामीले सोचेभन्दा कम प्रभाव परेको हो कि भन्ने लाग्छ। राष्ट्र बैंक र अन्य बैंकको तथ्यांकले यस्तै देखाउँछन्। महामारीले बढी नै प्रभाव पारेको क्षेत्र पर्यटन हो। यस क्षेत्रका व्यापार/व्यवसाय केही सञ्चालन हुन पाएका छैनन्।
हामीलाई पनि पुनरुत्थानका लागि अझै मौका छ। हामीले विश्वास गर्ने भनेको सामाजिक पुँजीलाई नै हो। त्यसकारण स्थानीय तहसँगै समन्वय गरेर अघि बढ्नुको विकल्प छैन। ३०–४० वर्षदेखि निर्माण भएको सामाजिक पुँजीलाई पुनः समात्न सक्यौं भने हामी फेरि अघि बढ्न सक्छौं। स्थानीय तहसँग मिलेर अघि बढ्यौं भने पुनः अर्थतन्त्र बढाउन सकिन्छ।
अन्य देशको तुलनामा के फरक छ ?
दुई तरिकाबाट हेर्नुपर्ने हुन्छ। हाम्रो कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को १२–१५ प्रतिशत मात्र सरकारको हो। ठूलो हिस्सा निजी क्षेत्रको छ। तर इंग्ल्यान्डजस्तो देशमा जिडिपी ६०–६८ प्रतिशत सरकारको हुन्छ। बाँकी मात्र निजी क्षेत्रको। इंग्ल्याण्डलाई पुँजीवादी देश भन्छौं। हाम्रो देशमा कम्युनिस्ट सरकार छ। तर यहीं सार्वजनिक क्षेत्र असाध्यै सानो छ।
अन्य देशमा महामारीले कुन व्यापारलाई कति प्रभाव पर्छ ? कस्तो खालको व्यापार हो ? कुन व्यापार कसले सञ्चालन गरेको छ ? सबै कुरा जानकारी राखिन्छ। जसले गर्दा सेवा÷सुविधा लिन पनि सजिलो छ। तर हाम्रो देशमा यस्ता कुनै जानकारी नै छैन।
भारतको तुलना गर्दा
कुनै समय एउटा अध्ययन भएको थियो। भारतमा अनौपचारिक क्षेत्रमा धेरै नेपालीले काम गरेका छन्। प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लगभग २२ लाख नेपाली भारतमा काम गर्छन्। ठूलो रकम भारतबाट नेपालमा आउँछ भने नेपालबाट पनि भारतमा जान्छ। त्यो ‘पिपुल टु पिपुल’ सम्बन्ध भएकाले हो।
भारतको अर्थतन्त्रमा ठूलो मात्रामा तलब खाने नेपालीको संख्या पनि धेरै छ। त्यहाँ काम गरिहेका नेपालीले काम छाड्नुपर्यो भने त्यसको प्रभाव स्वभाविक रूपमा नेपालमा पनि पर्छ। केही जिल्लामा त पर्न थालिसकेको छ। त्यहाँ ठूलो संख्यामा नेपाली कामदारले रोजगारी गुमाइसकेका छन्। अब बिस्तारै राष्ट्रियस्तरमै त्यसको प्रभाव देखिनेछ। यस्तै नेपालको मुद्रा र भारतको मुद्राबीच पनि बढी नै सम्बन्ध रहेकाले त्यो पाटो पनि बिर्सन हुँदैन। भारतीय अर्थतन्त्र धरमरायो भने हाम्रो अर्थतन्त्र पनि धरमराउँछ।
धेरैले रोजगारी गुमाए
हाम्रो पर्यटन क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष १० लाख मानिस संलग्न छन्। सरकारले दिएको रोजगारीभन्दा यो संख्या बढी हो। अहिले ती सबैको रोजगारी गुमेको अवस्था छ। पर्यटन क्षेत्र सबैभन्दा बढी रोजगारी दिने क्षेत्र हो। ‘रिकभर’ हुँदै गरेका इटली, न्युजिल्यान्डमा पनि पुरानो लयमा फर्किन सबैभन्दा बढी मुस्किल पर्यटन उद्योगलाई नै परिरहेको पाइएको छ। किनकि सबैभन्दा बढी मानिस घुलमिल हुने क्षेत्रै यही हो। यसैकारण महामारीले सबैभन्दा बढी घाटा पर्यटन क्षेत्रलाई नै परिरहेको छ। हामीले पुनर्जीवन दिनुपर्ने क्षेत्र पर्यटन नै हो।
केन्द्र सरकाारले आफ्ना दैनिक काम त गरिरहेको छ। तर स्थानीय सरकारलाई अलि चलायमान गराउन आवश्यक छ। उनीहरूलाई अनुभव नहोला, तर स्थानीयले व्यवस्थापन गर्न सक्दैन भन्ने होइन। कोरोना महामारीमा सरकारलाई आर्थतन्त्र चलायमान गराउने ठूलो अवसर छ। प्रभावकारी कार्यक्रम बनाउन स्थानीय तहलाई नै जिम्मेवारी दिनुपर्छ।
जुन मुलुक कोरोना संक्रमण बढ्नै नदिन सफल भए, तिनले स्थानीय तहलाई परिचालन गरेको पाइएको छ। भियतनामको कुरा गर्दा त्यहाँ केन्द्र र स्थानीय तहबीच समन्वय छ। त्यहाँ स्थानीय सरकार निकै प्रभावकारी छ।
हामीलाई पनि पुनरुत्थानका लागि अझै मौका छ। हामीले विश्वास गर्ने भनेको सामाजिक पुँजीलाई नै हो। त्यसकारण स्थानीय तहसँगै समन्वय गरेर अघि बढ्नुको विकल्प छैन। ३०–४० वर्षदेखि निर्माण भएको सामाजिक पुँजीलाई पुनः समात्न सक्यौं भने हामी फेरि अघि बढ्न सक्छौं। स्थानीय तहसँग मिलेर अघि बढ्यौं भने पुनः अर्थतन्त्र बढाउन सकिन्छ।
(त्रिवि अर्थशास्त्र विभागमा कार्यरत थापासँग प्रशान्त लामिछानेले गरेको कुराकानीमा आधारित)
प्रकाशित: ८ भाद्र २०७७ ०९:०६ सोमबार