डा. चन्द्र कुमार सेर्मा
माघे संक्रान्तिका अवसरमा किरात धर्ममा रहेका भ्रम निवारण गर्ने कोसिस गर्दै छु। किरात शास्त्र मुन्धुम हो भने दर्शन शसी हो र ज्ञानलाई हाबेक भनिन्छ। शास्त्रबाट अस्त्र बनेझैं शसीबाट शसा बन्छ, हाबेकबाट खाम्बेक बन्छ। ज्ञानबाट विज्ञान बन्ने हुनाले ज्ञानको बोट ध्यान हो। ध्यान, तप, जप, त्यागेपछि मूल ज्ञान भुलेर भ्रममा पर्दा माघे कक्फेक्वा तङ्नाम चाडलाई नयाँ वर्ष भन्न थाल्यौं।
किरात हाङ्साम्बो धर्मलाई थेबा धर्म, युवा धर्म, मुन्धुम धर्म भनी हामी भ्रममा प-यौं। प्रथम महिना चेरेङ्नाम चैत्रलाई माघमा सारेर हाम्रा गणितीय चालचलन खाइक मुन्धुम ज्योतिष शास्त्र, खानित मुन्धुम गणित शास्त्र, खालोन मुन्धुम, फलित शास्त्र बिर्सेर हावाको तालमा, चमेराको चालमा डुब्यौं। भाषा छ शसी छैन, शसी मुन्धुम छ, तर पढ्ने होइन। अनि अल्प बुद्धिको भर परेर ज्ञान, महाज्ञानलाई तिलाञ्जलि दिँदै हामी पहिचानवादीमा सीमित भयौं। पहिचान केवल परिचय हो, पहिचान चेतनासँग समान छ, तर चैतन्यमा पुग्न आत्माज्ञान चाहिन्छ, परमात्मा ज्ञान महाज्ञान हो। महाज्ञान सिद्ध जानेपछि यो विश्व ब्रह्माण्ड, खगोल, भूगोल टुंगिन्छ। यही ज्ञानदाताहरू नै देवात्मा, महात्मा, ज्ञानात्मा, मुक्तात्मा, सिद्धात्मा मुहिगुम अङ्सिमाङ् हुन भन्ने ज्ञान नजानीकन येहाङ्को येत्छाम थिम नम्बर १ को विद्या नबुझी, येवा समले येप्मुधुमलाङका व्याख्या, चर्चा, परिचर्चाले हाम्रो पहिचानको दर्शन पूर्ण हुँदैन। तसर्थ लामो कालखण्डदेखि १० लिम्बुवान १७ थुमसम्म आइपुग्दाका विसंगति, विकृति, कुसंस्कार, कुसंस्कृति सुधार गरी विशुद्ध बनाउने आजका विद्वान्, ज्ञानात्मा किरातहरूको प्रमुख कर्तव्य हो।
माघे संक्रान्तिलाई कक्फेक्वा तङ्नाम भनिन्छ। जब चाँप फुल्न सुरु हुन्छ, तब कमिला बाहिर निस्किन्छन्, चराचुरुंगीले भाका फेर्छन्, माटो तातिन थाल्छ। सूर्यको तापक्रम बढ्दै जाने ओरालो उँधौलीबाट उँभौली उकालो जाने विधि नै प्राचीन माघे संक्रान्ति हो। यस पर्वलाई फलफूल, कन्दमूल, फलाहार, कन्दाहार पोलेर खाने, उसिनेर खाने, पकाएर खाने, अग्निदेवको उत्पत्तिपश्चात् पोली÷पकाई खान सुरुवात गर्ने किरात समुदायको प्राचीन, ज्येष्ठ, श्रेष्ठ, ऐतिहासिक, प्रागऐतिहासिक चाड मानिन्छ। यही महिनाको १ गतेदेखि सूर्य उत्तरतर्फ सर्ने हुनाले दिन लामा हुन थाल्छन्। माघ, फागुन, चैत, वैशाख, ज्येठ, असार ६ महिना उत्तरयान र साउन, भदौ, असोज, कात्तिक, मंसिर, पुस ६ महिना दक्षिणयान भनी ज्योतिषीय शास्त्रले प्रमाणित गरेको छ। अतः माघ १ गते कक्फेक्वा तङ्नाम माघे पर्व, माघ ५ गते उँभौली सेवापूजा, साउन १ गते सिसेक्पा तङ्नाम साउने संक्रान्ति मनाइन्छ। परापूर्वकालदेखि किरात धर्मावलम्बी संस्कारीले ६/६ महिनाको अन्तरालमा माघे संक्रान्ति, साउने संक्रान्ति मनाउने परम्परा छ। तर यही चाडसँग सिङपुच्छर जोडेर येल्ले संवत्, नयाँ वर्ष संवत्सर भनी माघलाई जेठो महिना नबनाउन आग्रह गर्छु। यस प्रसंगमा वास्तविक किरात चाडपर्व निम्नानुसार रहेको जानकारी गराउँछु :
प्रत्येक वर्ष चैत १ गते चेरेङ्नाम नव वर्ष यलम्बर संवत् मानिन्छ। माघ १ गते माघे संक्रान्तिलाई आगो÷पानीमा पोली÷पकाई खाने चाड उत्सव ठानिन्छ। चैत २२ महागुरु फाल्गुनन्द स्मृति दिवस मनाइन्छ। वैशाख २४ गते सत्रथुम १० लिम्बुवानको समाज सुधार दिवस पर्छ। साउन १ गते अनिकाल धपाउने साउने संक्रान्ति पर्व मनाइन्छ। कात्तिक २५ गते महागुरु फाल्गुनन्द जन्मजयन्ती मुक्ति दिवस मनाइन्छ। कात्तिक कृष्णपक्ष औंसी बलिहाङ तङनाम चाड देउसुरे खेलिन्छ। मंसिर १८ गते फाल्गुनन्द अवतार आत्मानन्द जन्मोत्सव र उँधौली चासोक सेवा पर्व मनाइन्छ। पुस १७ गते जनवरी १ इमानसिंह र पुस १९ गते रन्धोज नेम्बाङ ज्योतिषी गुरु जयन्ती मनाउने परम्परा छ।
अन्त्यमा, माघे संक्रान्ति कक्फेक्वा तङनामको शुभ उपलक्ष्यमा शुभकामनासहित थल शान्ति, जल शान्ति, आकाश शान्ति, वायु शान्ति, अग्नि शान्ति, विश्व ब्रह्माण्ड, मानव शान्तिकाका लागि मंगलमय प्रार्थना !
प्रकाशित: १ माघ २०७६ ०५:४६ बुधबार