१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

असावधानीको अपसोस

आइतबार पुनः बस दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन्। उपचाररत १९ जनामध्ये धेरैको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझै बढ्ने अनुमान गर्न सकिन्छ। दोलखाको कालिञ्चोक दर्शन गरी फर्कने क्रममा भएको दुर्घटनाले दुर्घटनाको ग्राफ तन्काएकोमात्र छैन, धेरै नयाँ प्रश्न पनि उठाएको छ।पटक–पटक भएका यस्तै दुर्घटनाका कारणभन्दा पृथक कारण देखिएको यो दुर्घटनाले धेरै नयाँ प्रश्नमात्र हैन, अध्ययन गर्नुपर्ने विषयसमेत उठान गरेको छ। पछिल्लोपटक मुलुकमा सडकको अवस्था सुध्रिएको दाबी गरिँदै आएको छ। नयाँ नयाँ बस पनि भित्रिरहेका छन्। धेरै वर्ष चलाइसकेकाले चालकहरू पनि अनुभवी हुँदै गएका छन्। वर्षायाम सकिएसँगै खाल्डाखुल्डी पुरिनु, सडक हिलाम्मे र चिप्लो नहुनु जस्ता कारण दुर्घटनाको दर घट्नुपर्ने हो। तर विडम्बना, यहीबीचमा दुर्घटनाको संख्या निकै बढेको छ। त्यो पनि सिन्धुपाल्चोकमा यस्ता घटना दोहोरिने क्रम लगातार भइरहेको छ। दुर्घटनामा कति वर्षका, कहाँका र को को परे भन्नुभन्दा पनि किन यस्ता दुर्घटना सहजै भइरहेका छन् भन्नेतर्फ घोत्लिनुपर्ने अवस्था सिर्जना भएको छ। अरु सवारी दुर्घटनाका कारण बाटो खराब, हुनु, बसमा क्षमताभन्दा यात्रु बढी हुनु, सडक साँघुरो हुनु, बस थोत्रो हुनु, चालकले जाँडजन्य पदार्थ पिएर चलाउनु जस्ता देखिँदै आएका थिए। अधिकांश दुर्घटनामा यीमध्ये केही न केही कारणले अरु कारणलाई ओझेल पार्दै आएका अध्ययनहरूले पुष्टिसमेत गर्दै आएका थिए। तर आइतबारको दुर्घटनामा भने यी कुनै पनि कारण मुख्यरूपमा देखिएनन्। एकातिर सवारी साधन नयाँ नै थियो भने अर्कोतर्फ बाटो पनि खासै समस्याग्रस्त नभएको दुर्घटनास्थलको हवाला दिँदै ट्राफिक प्रहरीले बताएको छ। त्यसमाथि यात्रु पनि क्षमताभन्दा बढी थिएनन्। त्यसैले यो दुर्घटनाको कारण नयाँ अध्ययनको विषय बनेको छ।

हुन त घाइते यात्रुले दुर्घटनास्थल घुमाउरो भएको र चालकले बडो गाह्रोसँग स्टेयरिङ घुमाइरहेको आफूले देखेको बताएका छन्। एकथरी घाइतेले बसबाट पहिलेदेखि केही गन्ध आइरहेको उल्लेख गरेका छन्। सवारी साधन तीव्र गतिमा थिएन भने स्टेयरिङ काट्न गाह्रो हुँदैमा बस नपल्टिनुपर्ने हो। त्यसैगरी केही गन्ध आएकै भरमा बस पल्ट्यो भन्ने पनि पत्याउन गाह्रो हुन्छ। मुख्य कुरा बस चालक र बस धनी दुवैजना दुर्घटनापछि सुरक्षा निकायको सम्पर्कमा आउनुपथ्र्यो। उनीहरू दुवैजना किन फरार छन् ? समस्याको मुख्य चुरो यही प्रश्नमा छ। दुर्घटना कसैको पनि रहर हुन सक्दैन। कतिपय सन्दर्भमा यसलाई चाहेर पनि रोक्न नसकिने हुन्छ। त्यसैले दुर्घटनालाई दुर्घटना नै मान्ने हो भने किन उनीहरू फरार हुनुप¥यो ? शंकाले लंका जलाउने ठाउँ चालक र सवारी धनीले नै उपलब्ध गराएका छन्। त्यसैले पनि यो सवारी दुर्घटना थप रहस्यमय बन्न पुगेको छ। हो, तत्कालका लागि आफूमाथि आक्रमण हुन सक्ने वा सुरक्षाका खातिर भागिहाल्नुपर्ने अवस्था आउन पनि सक्छ। तर‘नबिराउनू, नडराउनू’ भन्ने उक्ति मान्ने हो भने उनीहरू चाँडैभन्दा चाँडै सुरक्षा निकायको सम्पर्कमा पुग्नुपर्छ र वास्तविकता बताउनुपर्छ।जसले अनुसन्धान निकायहरूलाई मद्दत पुग्छ। र, आउँदा दिनहरूमा यस्ता दुर्घटनाका कारण निमिट्यान्न पार्न सघाउ पुग्न सक्छ। पछिल्लो समय मानव निर्मित दुर्घटनाको संख्या बढ्दो छ। प्राकृतिकरूपमा सिर्जना हुने विपत् रोक्न नसकिए पनि मानव निर्मित विपत् भने रोक्न सकिन्छ। कतिपय अवस्थामा यस्ता विपत् रोक्नै नसकिए पनि यसबाट हुने हानि कम गर्न सकिन्छ। तर न सरकारी निकाय न त गैरसरकारी निकाय, कतैबाट पनि यस्तो पहल हुन सकेको पाइन्न। खासगरी पहाडी जिल्ला र त्यसमा पनि सिन्धुपाल्चोक, पाल्पा, अर्घाखाँची जस्ता जिल्ला र वरपर यस्ता घटना बढिरहे पनि त्यसप्रति खासै कोही चिन्तित नदेखिनु दुःखको कुरा हो।

अहिले विपत् र यस्ता दुर्घटना न्यून गराउने धेरै जिम्मेवारी र अधिकार स्थानीय सरकारहरूमा विनियोजित छ। तर अधिकार नै पाइएन, सबै केन्द्रले आफैँ राख्यो, केही गर्न सकिएन भनेर कुर्लने स्थानीय सरकारहरू आफूलाई दिइएको अधिकार कार्यान्वयनमा भने चुकेका छन्। आफ्नो क्षेत्रमा कुद्ने सवारीको गति निरीक्षण गरी त्यसलाई नियमन गर्ने, सवारीको क्षमता र प्राविधिक अवस्था हेरी सचेत गराउने, ‘टाइम कार्ड’ कार्यान्वयन गराउन पहल गर्ने जस्ता कुरामा उनीहरू लगातार चुकिरहेका छन्। जसले यस्ता दुर्घटना निम्त्याउन सघाइरहेका छन् र पनि हाम्रा स्थानीय सरकार मौन छन्। चिन्ताको विषय यो पनि हो। विकेन्द्रीकरण संघीयताको मूल मर्म हो। त्यसैले स्थानीय स्तरमा देखापर्ने यस्ता विकृति रोक्न स्थानीय सरकारमात्र हैन, स्थानीय बासिन्दा पनि सक्रिय हुनैपर्छ। ज्यान गए आफ्नो र आफन्तको जाने, क्षति भए आफ्नै हुने र असुविधाको पीडा पनि आफैँले बहन गर्नुपर्ने भएपछि त्यसप्रति सतर्क हुने जिम्मेवारी पनि आफैँको हो। यति वास्तविकता बुझ्न सके यस्ता दुर्घटनामा परेर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुनेछ। सवारी, चालक, धनी वा अन्य यस्तै कारण आफ्नो गाउँमा चल्ने बस दुर्घटना हुनबाट रोक्न पनि संघीय सरकार आइदेला भनेर भर पर्ने हो भने त्यो ‘आकाशको फल, आँखा तरी मर’ बाहेक केही हुने छैन।

प्रकाशित: १ पुस २०७६ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App