सडक सबैका निम्ति सुरक्षित हुनुपर्छ। तर सडकमा भारी सवारी निस्किएपछि हलुका सवारी चलाउनेदेखि पैदलयात्रुसम्मले आतंकित महसुस गर्नुपर्ने अवस्था छ। यस्ता सवारीले ठक्कर दिएका घटना निरन्तर सार्वजनिक भइरहेका छन्। यस्ता घटनाको प्रमुख कारण चालकको लापरबाही नै हो। यसरी सवारी दुर्घटना भएपछि सुधारका निम्ति केही दिन चर्चा चल्छ। स्थितिमा सुधार हुँदैन। फेरि अर्को निर्दोषको हत्या हुन्छ। बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिएपछि कक्षा ७ मा अध्ययनरत बालिका प्रकृति चन्दले दुवै खुट्टा गुमाउनुपरेको छ। एउटा उद्दण्ड सवारीचालकका कारण एउटा सपना यहाँ टुटेको छ। उनी त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरकी छात्रा हुन्। यो घटनापछि कोहलपुर तनावग्रस्त हुन पुगेको छ। आक्रोशित विद्यार्थी र तिनका आफन्तले ट्रकमा आगो लगाउने र त्यसपछि प्रहरी आक्रमणसम्म भएको छ। यी शृंखलाबद्ध घटनाक्रमपछि त्यहाँ तनावग्रस्त अवस्था सिर्जना भएको छ। आफ्नै आँखाअगाडि ट्रकको ठक्करबाट यस्ता दुःखद अवस्था सिर्जना हुँदा जोसुकैले आफ्नो आक्रोश थाम्न सक्दैनन्। त्यही आक्रोशका कारण तनावपूर्ण स्थिति नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा २० जना घाइते भएका छन्। कोहलपुरमा कफ्र्युसमेत लगाउनुपरेको छ। यो सम्पूर्ण अवस्थाको कारक लापरबाहीपूर्ण सवारी सञ्चालन हो। सावधानीपूर्ण ढंगले सवारी चलाउने हो भने यस्तो स्थिति आउँदैनथ्यो। साथै दुर्घटनापछि प्रकट भएको आक्रोश साम्य पार्न प्रहरीले संयम गर्नुपर्ने हो। उसले पनि अन्धाधुन्ध गोली चलाएर सर्वसाधारणलाई घाइते तुल्याएको छ।
नेपालमा प्रत्येक दिन सातजनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गरेको छ। यस हिसाबले बर्सेनि २५ सयभन्दा बढी मानिसको मृत्यु हुन्छ। यही हिसाबले एक दशकमा २० हजारभन्दा बढी मानिसको मृत्यु हुनुलाई स्वाभाविक मान्न सकिँदैन। सडक दुर्घटनाका कारण पहिचान गर्दै यसलाई सुरक्षित तुल्याउन रणनीतिक तयारी गर्नुपर्ने अवस्था आइसकेको छ।
बाँकेमा भएजस्ता दुर्घटना राजधानी काठमाडौंमा धेरै भएका छन्। विशेषगरी टिपरका कारण कैयौंको ज्यान गएको छ। त्यति मात्र होइन, जेब्राक्रसमा समेत मानिस मारिएका छन्। जेब्राक्रसमा बाटो काटिरहेका व्यक्तिले पहिलो प्राथमिकता पाउनुपर्ने भए पनि सवारी चालकमा सचेतनता देखिएको छैन। यसरी अनाहकमा मानिस मार्दा समेत सामान्य कानुनी कारबाही हुने भएपछि स्वाभाविक रूपमा लापरबाही बढ्छ। टिपर–ट्रकलगायतको ठक्करबाट मानिस मारिँदा वा घाइते बनाइँदाको स्थितिमा पनि त्यसलाई सामान्य रूपमा लिने गरेको देखिन्छ। यस्तो लापर्बाहीमा हदैसम्मको कारबाही हुन थाल्ने हो भने सजग बन्ने कठोर प्रेरणा चालकलाई हुने थियो। हामीकहाँ सडकमा सवारी लिएर निस्केपछि आफूलाई बलशाली ठान्ने प्रवृत्तिका कारण दुर्घटना भइरहेका हुन्। महँगोमा सवारी किन्ने क्षमता हुनु राम्रो हो। त्योभन्दा बढी राम्रो सडक सभ्यता हुनु हो। सडकमा निस्किसकेपछि आफूजस्तै अरूले पनि सहज ढंगले हिँड्न पाउने अवस्था सिर्जना गर्नुपर्छ। अहिले टिपर–ट्रकको जुन आतंक छ, त्यस्तै आतंक कुनैबेला राजधानी काठमाडौंमा बसहरूको थियो। स्वयम्भू यातायात नामको एउटा बस सेवाबाट निरन्तर सडकमा मानिस मारिएका थिए। त्यो स्थितिलाई चित्रण गर्दै कार्टुनिस्टले त्यसलाई भनेका थिए– स्वयंभूत। वास्तवमा अहिले टिपर–ट्रकको अवस्था पनि त्यस्तै भएको छ। वास्तवमा यिनीहरू मानिसका निम्ति मृत्यु बोकेर आएजस्तो देखिन थालेको छ।
टिपर–ट्रकको आतंकका कारण राति ८ बजेपछि मात्र राजधानी चक्रपथभित्र तिनलाई प्रवेश दिने गरिएको छ। तर, राति जतिबेला ती राजधानीभित्र छिर्छन्, त्यतिबेलाको अवस्था भयानक छ। राम्ररी मर्मत–सम्भार नगरिएका यी सवारीले फ्याँक्ने कालो धुवाँ यहाँको प्रदूषणको कारक छ। राति तिनले कसैलाई ठक्कर दिए भने पनि थाहा पाउन नसक्ने स्थिति पनि उस्तै डरलाग्दो छ। यिनलाई व्यवस्थित गर्न अझ राम्रो निगरानी आवश्यक छ। वास्तवमा सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको अवस्था आफैंमा चिन्ताजनक छ। नेपालमा प्रत्येक दिन सातजनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गरेको छ। यस हिसाबले बर्सेनि २५ सयभन्दा बढी मानिसको मृत्यु हुन्छ। यही हिसाबले एक दशकमा २० हजारभन्दा बढी मानिसको मृत्यु हुनुलाई स्वाभाविक मान्न सकिँदैन। सडक दुर्घटनाका कारण पहिचान गर्दै यसलाई सुरक्षित तुल्याउन रणनीतिक तयारी गर्नुपर्ने अवस्था आइसकेको छ। कुनै ठाउँमा सडक दुर्घटना हुनासाथ तोडफोड, आगजनीलगायत भई तनावको स्थिति आउनुको कारण कानुनलाई व्यवस्थित नबनाएर पनि हो। यस्तो स्थितिलाई रोक्न कानुन उल्लंघन गर्नेमाथि गम्भीर कारबाही हुन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ। बाँकेमा भएको जस्तो अवस्था अन्य ठाउँमा फेरि दोहोरियो भने यस स्थितिबाट पाठ नसिकेका रूपमा लिनुपर्ने हुन्छ। सडक दुर्घटनाबाट कसैको मृत्यु वा अंगभंगको अवस्था आउनु आफैंमा दुःखद अवस्था हो। यसले परिवारको कमाउने व्यक्ति वा निकट व्यक्तिको निधन हुँदा आउने पारिवारिक दुःखलाई समेत आत्मसात् गर्न सक्नुपर्छ। सडक सुरक्षित बनाउन दरिलो कानुनी व्यवस्था अहिलेको आवश्यकता हो।
प्रकाशित: २४ मंसिर २०७६ ०३:५५ मंगलबार