देविका केसी
विवाह एउटा महत्वपूर्ण र उत्तम सामाजिक संस्था हो, जसबाट व्यक्तिले वैधानिक रूपमा यौन–सम्बन्ध राख्न र बालबच्चा जन्माउन सामाजिक स्वीकृति प्राप्त गर्छ। वंशको स्थायित्व प्रदान गर्न, सम्पत्ति हस्तान्तरण गर्न विवाहले ठूलो महत्व राख्छ। समाज, धर्म र प्रचलनअनुसार विवाह फरक–फरक तरिकाले हुने गरेको पाइन्छ। विवाह सर्वव्यापी सामाजिक संस्था भए तापनि यसबाट सबै खुसी र सुखी भने अवश्य छैनन्।
नेपालमा पछिल्लो समय विभिन्न कारण सम्बन्ध–विच्छेदका घटना बढेका छन्। जसबाट विवाहप्रति मानिसमा वितृष्णा जागेको महसुस गर्न सकिन्छ। कतिपयको मुखबाट सुनिन्छ– ‘बेकारमै बिहे गरेछु।’ विश्वमा थोरै मानिस मात्र वैवाहिक जीवनबाट खुसी होलान्, धेरैजसो बाध्यतावश सम्झौता गरी सँगै बसेका घटना हामीले प्रशस्त मात्रामा देखेका÷सुनेका छौं। वास्तवमा विवाह एक सामाजिक सम्झौता हो, जुन गर्न जति गाह्रो छ, भंग गर्न पनि त्यत्तिकै कठिन छ। कारण– विवाहपछि जोडिने विभिन्न नाता, सम्बन्ध, इज्जत तथा प्रतिष्ठा।
इतिहासअनुसार मानव सभ्यताको प्रारम्भिक कालमा जुनसुकै पुरुष वा महिलाले जुनसुकै महिला वा पुरुषसँग विवाह नगरी सम्बन्ध राख्थे र त्यसरी जन्मिने शिशुको पहिचान उसको आमाबाट हुन्थ्यो। त्यसबेलाको समाज मातृसत्तात्मक थियो। समाज विकासक्रमसँगै बिस्तारै–बिस्तारै जब मान्छेमा सम्पत्तिको मोह बढ्दै गयो तब जग्गाजमिन कब्जा गर्ने, साँधसिमा तथा पर्खाल लगाउने, बलियाले धेरै जग्गा ओगट्ने, सोझा तथा निर्धालाई दास बनाउने, राम्री–राम्री महिलालाई कब्जामा लिएर राख्ने, सन्तान जन्माउने र सम्पत्ति हस्तान्तरण गर्ने प्रवृत्ति सुरु भयो। त्यही प्रवृत्तिको विकाससँगै विवाहको प्रचलन पनि सुरु भएको पाइन्छ। समाजमा विवाहको चलन सुरु भएपछि विवाहसम्बन्धमा विभिन्न समयमा विभिन्न नियम÷कानुन विकास भएको हो।
विवाह, महिला र पुरुष उमेरले परिपक्व भएपछि गरिनुपर्छ। तर समाजमा उमेरै नपुगी विवाह गर्ने गरिएको हामी प्रशस्त पाउँछौं। जसलाई बालविवाह भनिन्छ। लिच्छविकालमा बालविवाह भएको पाइँदैन वा विवाहसम्बन्धी कुनै तथ्य नै पाइएको छैन भने मध्यकालमा राजा तथा उच्च घरानियाँहरूले धर्मको आडमा बालविवाह गरेको प्रसंग पाइन्छ। यसरी समय सँगसँगै विवाहसम्बन्धी मान्यता पनि परिवर्तन हुँदै गएको देखिन्छ।
नेपालको पछिल्लो कानुनी प्रावधानअनुसार विवाहका लागि केटा र केटी दुवैको उमेर अनिवार्य रूपमा २० वर्ष पुग्नुपर्छ। उमेर नपुगी गरिने विवाह स्वतः बदर हुन्छ वा यो विवाहले कानुनी मान्यता पाउँदैन। बरु बालविवाह गर्नेलाई अधिकतम ३ वर्षसम्म जेल र ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ। विवाह कहिले, कोसँग गर्ने अथवा विवाह नै नगरी बस्ने भन्ने विषय व्यक्तिको नैसर्गिक अधिकार हो। आफूले रोजेको व्यक्तिसँग विवाह गरेर आफ्नो भविष्यको मार्गचित्र तय गर्ने अधिकार हेरेकलाई छ। यस्तो अधिकारको हनन कसैले गर्नु वा गराउनु हुँदैन। नेपालमा कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गर्ने दर बढेको सरकारी तथ्यांकले देखाएको छ।
उमेर नपुगी गरिने विवाहले विभिन्न समस्या निम्त्याउँछ। बालविवाहका कारण वैवाहिक जीवन दिगो नहुने, स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने, लैंगिक हिंसा, बालश्रम, बेचबिखनजस्ता समस्या पनि आउन सक्छन्। बालविवाहले एउटा मानिसको पूरै जीवनक्र नै बर्बाद भई उसको सामाजिक, आर्थिक, शैक्षिक तथा स्वास्थ्यमा नकारात्मक असर पार्छ। बालविवाहका कारण बालबालिका आफ्नो आधारभूत अधिकारबाट वञ्चित हुन्छन्। कलिलो उमेरमा आमा बन्दा आमा र शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ, ज्यानै जान सक्छ। जन्मे पनि बच्चा रोगी र अस्वस्थ हुन सक्छ। अपरिपक्व अवस्थामा गरिएको विवाहले घरेलु हिंसा तथा दुव्र्यवहारजस्ता हिंसा हुन सक्छ। कलिलैमा गरिएको विवाहका कारण धेरै परिवार टुक्रिएका छन्, सम्बन्ध–विच्छेद र बहुविवाह बढेका छन्।
उमेर नपुगी गरिने विवाह वा बालविवाह अहिले विश्वव्यापी समस्या बनेको छ। फरक यत्ति हो– कतै कम होला त कतै बढी। दक्षिण एसियामा भारत र बंगलादेशपछि बालविवाह बढी हुने देश हो– नेपाल। बालविवाह आफैंमा एउटा सामाजिक कुसंस्कार हो, जसको न्यूनीकरण, रोकथाम तथा अन्त्य गर्ने जिम्मा हामी सबैको हो। एक्लो प्रयासले मात्र यो सम्भव छैन। अहिलेको अवस्थामा बालविवाह बाहिर नदेखिने, तर भित्रभित्रै निकै ठूलो समस्या बनिरहेको छ। धेरैजसो अभिभावकमा बालविवाह गर्न हँुदैन भन्ने चेतना विकास भएको छ र उनीहरूले आफ्ना सन्तानको बालविवाह नगरिदिने भए तापनि कहीं–कतै धर्म, प्रथा र परम्पराको आडमा अभिभावकले नै बालविवाह गरिदिने प्रचलन छ।
नेपालमा गरिबी, अशिक्षा तथा पछौटेपनका कारण सहरी भेगमा भन्दा ग्रामीण भेगमा बढी बालविवाह हुने गरेका छन्। त्यस्तै नेपाली समाजमा किशोरको तुलनामा किशोरीको बढी बालविवाह हुन्छ। कारण– केटाको भन्दा केटीको उमेर कम हुनुपर्छ भन्ने सामाजिक मान्यता। मेरो विचारमा बालविवाह लैंगिक विभेदको पराकाष्ठा पनि हो। बालविवाह बाहिर देखाउन नसकिएको वा बाहिर आउन नसकेको एउटा विकराल समस्या हो। कुनै बालबालिकाले बालविवाह गर्छन् र उनीहरूको जात–वर्ग मिल्छ भने त्यो विवाहलाई आफन्तहरू नै भित्रभित्रै मिलाउनतिर लाग्छन्, अनि जसको जात–वर्ग मिल्दैन, उनीहरूलाई भने विभिन्न बहनामा छुटाउन पहल गर्छन्।
बालविवाहले विवाह गर्ने वा नगर्ने भन्ने व्यक्तिको नैसर्गिक अधिकार हनन भएको छ। गौना प्रथाका कारण तुलनात्मक रूपमा नेपालमा तराईका जिल्लामा बालविवाह बढी हुने गरेको पाइन्छ। त्यस्तै पश्चिम तथा विकट अछाम, बैतडी, बाजुरा, डोटी, बझाङ आदि पहाडी जिल्लामा अझै महिनावारी हुनुभन्दा पहिल्यै छोरीको विवाह गर्नाले बुबा–आमा स्वर्ग जान पाउने धार्मिक अन्धविश्वास छ। जसका कारण ती जिल्लामा बालविवाहको दर उच्च छ।
सूचना प्रविधिको बढ्दो दुरुपयोग तथा गरिबीका कारण पनि बालविवाह बढेको छ। त्यस्तै बालविवाहको अर्को प्रमुख कारण बालबालिका स्वयं पनि रहेको अध्ययनले देखाउँछ। विशेषगरी त्यस्ता बालबालिकाले चाँडो विवाह गरेको पाइन्छ, जसका अभिभावकले उनीहरूको दैनिक क्रियाकलापमा ध्यान दिएका हँुदैनन्। आफ्ना छोराछोरी स्कुल जाने तथा फर्किने समय कति हो, उनीहरूको संगत कस्ता व्यक्तिहरूसँग छ आदि इत्यादि निगरानी नगर्ने अभिभावकका सन्तानले चाँडै विवाह गरेको पाइन्छ। यसैगरी जुन अभिभावक आफ्ना बच्चालाई अरूको जिम्मा लगाई आफू वैदेशिक रोजगारीमा गएका छन्, तिनका छोराछोरीले पनि बालविवाह गरेको पाइन्छ। त्यस्तै जुन बच्चाको घरमा बाबुआमाको सम्बन्ध राम्रो छैन, बाबुले सधैं जाँडरक्सी खाएर घरमा झगडा गर्ने, छोराछोरी/श्रीमती कुट्ने गर्छन्, त्यस्ताका छोराछोरी पनि विरक्तिएर बाहिर प्रेम सम्बन्ध राख्न पुग्छन् र आफैं बालविवाह गर्छन्।
नेपालको जनगणना २०११ अनुसार २०–२४ उमेर समूहका ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै भएको छ भने यसको तथ्यांक पुरुषतर्फ ११ प्रतिशत छ। त्यस्तै राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार ग्रामीण क्षेत्रमा ४३ प्रतिशत र सहरमा २७ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै विवाह गर्छन्। नेपालमा कूल विवाहको सरदर ३२ प्रतिशत बालविवाह भएको पाइन्छ। बालविवाहको सबैभन्दा जोखिम वर्ग भनेको १५–१८ वर्ष उमेर समूहका बालबालिका पर्छन्, जुन उनीहरूको भविष्य निर्माणको आधार कोर्ने महŒवपूर्ण उमेर हो। पढ्ने, सिक्ने उमेरमा बिहे गरेका धेरै जोडीले विद्यालय छाडेका छन्। हतारमा बिहे गर्ने र आर्थिक व्ययभार थेग्न नसकेर धेरै किशोर रोजगारीका लागि विदेशिन बाध्य छन्। नेपालमा मधेसी साथै सीमान्तकृत समुदाय जस्तै ः मुस्लिम, जनजाति र दलित समुदायमा अन्य समदायको तुलनामा बालविवाह दर उच्च छ। बालविवाह कानुनी रूपमा दण्डनीय र सामाजिक रूपमा नैतिक अपराध हो।
बालविवाह तथा चाँडो हुने विवाह न्यूनीकरण तथा रोकथामका लागि सर्वप्रथम त अभिभावकहरूमा बालविवाह गर्न हुँदैन भन्ने चेतना विकास हुनुप-यो। त्यसपछि परिवारबाटै आफ्ना बालबच्चालाई बालविवाह गर्न हुँदैन भनेर सचेत गराउनुप¥यो। बालविवाहबाट हुने सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्यमा पर्ने असरका बारेमा सचेत बनाउनुप¥यो। आफ्ना छोराछोरीको दैनिक क्रियाकलापमा ध्यान दिनुप-यो तथा उनीहरूलाई घरमा आमा–बुवाले प्रशस्त माया तथा समय दिनुप¥यो। बालविवाह गर्दा कानुनी सजाय हुने तथा बालविवाह स्वतः बदर हुन्छ भन्ने सचेतना समाजमा गरायौं भने अवश्य पनि बालविवाह न्यूनीकरण हुनेछ।
त्यस्तै स्थानीय सरकारले पनि बालविवाहसम्बन्धी कडा कानुन बनाई कार्यान्वयन गरेमा पनि बालविवाह न्यूनीकरण हुन्छ। विभिन्न धर्मका धर्मगुरु÷पण्डितले पनि जन्मदर्ता, नागरिकता हेरेर मात्र विवाह संस्कार गरिदिने चलन विकास गरेमा पनि यो समस्या समाधान हुने देखिन्छ।
अन्तर्राष्ट्रिय रूपमा पनि बालविवाहलाई सहस्राब्दी विकास लक्ष्य प्राप्तिका लागि बाधक मान्दै दिगो विकासका लक्ष्यहरूको कार्यसूची सन् २०१६–२०३० मा बालविवाह अन्त्य गर्ने उल्लेख छ। सोहीबमोजिम नेपाल सरकारले पनि सन् २०३० सम्म बालविवाह अन्त्य गर्न राष्ट्रिय रणनीति बनाई कार्यान्वयनमा ल्याएको छ। यस अभियानमा संघ, प्रदेश तथा स्थानीय सरकार, संघ÷सस्था, स्थानीय बुद्धिजीवी, नागरिक समाज तथा सम्पूर्ण सरोकारवाला निकायले आआफ्ना तर्फबाट प्रयास गरेमा नेपालमा चाँडो हुने विवाह तथा बालविवाह अवश्य पनि न्यूनीकरण भई शून्यमा झर्नेछ।
साथै समाजमा बालविवाह हुन लागेमा वा बालविवाह भएमा नेपाल प्रहरीको १०० वा बाल हेल्पलाइन नम्बर १०९८ (पैसा नलाग्ने नम्बर) मा फोन गरेर जानकारी दियौं र दोषीलाई कानुनी कारबाही गराउन एकजुट भयौं भने पक्कै बालविवाह रोकथाम हुनेछ। बालविवाहविरुद्धको अभियानमा हामी घरघर, टोलटोल र बस्तीबस्तीबाट आजै र अहिल्यैबाट जुटौं र छिटोभन्दा छिटो बालविवाह तथा चाँडो हुने विवाह अन्त्य गरौं।
मानव अधिकारकर्मी
प्रकाशित: २३ मंसिर २०७६ ०३:०९ सोमबार