३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
विचार

बच्चासँग कस्तो व्यवहार गर्ने ?

प्रेमनारायण भुसाल
बालबालिकाले घरपरिवार वा आफ्ना नजिकका मान्छेका व्यवहारको अनुकरण र आफ्नै प्रयास अनि त्रुटिबाट नयाँ कुरा सिकिरहेका हुन्छन्। सिकाइ सिद्धान्तअनुसार बालबालिका आफ्नो परिवेश तथा आफूप्रति अन्य व्यक्तिले देखाएका प्रतिक्रियाअनुसार आफ्नो सिकाइ अघि बढाउँछन्। यसको तात्पर्य प्राप्त पृष्ठपोषणले बालबालिकालाई सिक्नमा उत्साहित वा हतोत्साहित तुल्याउँछन्। कुकुर तथा मुसामा गरिएका परीक्षणले बानी विकासमा पुरस्कार तथा दण्डको अहं भूमिका रहने प्रमाणित गरेको छ।

बालबालिकाको बानी विकासमा उसको परिवेश र प्रयास तथा त्रुटि महŒवपूर्ण हुने भएकाले उसको पहिलो सिकाइ आमा वा प्रारम्भिक स्याहारकर्ताबाट हुन्छ। बालबालिकाका मुखमा हेरेर हाँस्ने, हाउभाउ र मुखाकृति बदल्ने गर्दा बालकले भाषिक र गैरभाषिक सञ्चार सीप अनुकरण गर्न थाल्छ। बिस्तारै ऊ ध्वनि वा आवाजमा अभ्यस्त हुन थाल्छ। सुरुमा कुनै पनि ध्वनि सुन्नासाथ बालक तर्सिन्छ, तर बिस्तारै उसले आफ्नावरिपरि भएका व्यक्तिका प्रतिक्रिया बुझ्न थाल्छ। फलतः उसमा संगीत सुन्दा रमाउने र अनौठो ध्वनि आउँदा तर्सिने बानी विकास हुन्छ।

बालबालिकालाई कुन काम र व्यवहारप्रति सकारात्मक र कुन काम वा व्यवहारप्रति नकारात्मक बनाउने भन्ने कुरा पूर्णतः परिवारका सदस्य र त्यसमा पनि मूलतः आमाबाबुुका व्यवहारमा भरपर्छ।

बच्चा नयाँ किसिमका आवाज सुन्नासाथ आफ्ना नजिकका मानिसको अनुहार अवलोकन गर्छ, उनीहरू रमाए वा हाँसे ऊ पनि हाँस्न थाल्छ, तर उनीहरू डराएर फरक किसिमले व्यवहार गर्न थाले बच्चा पनि डराउँछ र रुन थाल्छ। साना बच्चाले किरा तथा अन्य जीव जनावरदेखि डराउन पनि अभिभावकका प्रतिक्रिया तथा आफ्ना भोगाइजन्य व्यवहारबाट सिकेका हुन्। बच्चा हुर्किंदै बढ्दै जाँदा आफ्ना घरमा आएका पाहुना, फोहोर संकलक तथा प्रहरी, सैनिकप्रतिको धारणा र व्यवहार पनि उसले अभिभावककै प्रतिक्रियाका आधारमा निर्माण गर्दै जान्छ। नेपालको परिवेशमा हुर्केका बालकलाई आमाबाबुुले डर देखाउने सन्दर्भमा पुलिस, आर्मी तथा डाक्टर र सुईका उदाहरण दिने भएकाले उनीहरू किशोर तथा युवावस्थामा पुग्दासमेत प्रहरीप्रति सकारात्मक हुन नसकेको हो। तर पश्चिमी मुलुक विशेषतः अमेरिकामा शैशव अवस्थादेखि नै प्रहरी सबैभन्दा नजिकको सुरक्षाकर्ता भनेर व्यवहार गरिने भएकाले उनीहरूले आफ्ना आमाबाबुुसँग रिसाए प्रहरीलाई फोन गर्ने गरेको देखिन्छ। यसैले बालबालिकालाई कुन काम र व्यवहारप्रति सकारात्मक र कुन काम वा व्यवहारप्रति नकारात्मक बनाउने भन्ने कुरा पूर्णतः परिवारका सदस्य र त्यसमा पनि मूलतः आमाबाबुुका व्यवहारमा भरपर्छ।

सामान्य अवस्थामा सामान्य व्यवहार गरेका अभिभावक जब बच्चाले काम बिगार्न थाल्छ, तब रिसाउने, कराउने र झर्किने गर्छन्। बच्चाले केही काम गरुन्जेल साधारण किसिमले बोल्ने, तर अति भएपछि रिसाएर झर्किने अभिभावकका व्यवहारबाट बच्चाले आमाबाबुुले झर्केर नबोलुन्जेल आफूले गरेका व्यवहार राम्रा हुन् भन्ने बुझ्छ। शारीरिक दण्ड दिने परिवारमा त झन् सजाय नपाउन्जेल गरेका बदमासी पनि राम्रा काम हुन् भन्ने अवधारणा बच्चाले बनाउँछन्। एकैपटक रिस व्यक्त गर्ने तथा दण्ड दिने गर्नाले बच्चाले मैले कहाँनिर गल्ती गरें र सजाय पाएँ भन्ने ठम्याउनै सक्दैन। ऊ अन्योलमा पर्छ। किन मलाई यसो गरेको भनेर प्रश्न गर्दा धैरैजसो अभिभावक उसको काम गराइ र त्रुटि औंल्याइदिनुको सट्टा अझ मुखमुखै लाग्ने भनेर बोल्न निरुत्साहन र्गछन्।

उसका कामको समीक्षा तथा असरबारे बताउने महŒवपूर्ण घडीमा उसैलाई तर्साउनु बच्चालाई सुधारको अवसरै नदिनु हो। यस्ता व्यवहारले नझर्किउन्जेल वा नपिटुन्जेल बच्चाले अभिभावकले भनेका कुरा वा दिएका निर्देशन पालना गर्दैनन्। घरमा पाहुना आएपछि बालबालिकाले असामान्य व्यवहार वा उपद्रो गरेको र आमाबाबुुले भनेको नटेरेको भन्ने प्रतिक्रिया धेरै अभिभावकको पाइन्छ। वास्तवमा ती बच्चा अटेरी वा उनीहरूको सधैंको व्यवहार त्यस्तै पनि होइन, पाहुना देखेकाले बा–आमाले केही गर्न सक्नुहुन्न भनेर पनि त्यसो गरेका होइनन्। घरमा पाहुना भएका बेला आमा–बाबा नझर्केका र उनीहरूले दण्ड नदिएका कारण बालबच्चाले त्यस्तो व्यवहार देखाएका हुन्, किनकि उनीहरूको दैनिक व्यवहार आमा–बुवाको चर्को स्वर र दण्डबाट निर्देशित थियो। नरिसाईकन वा पाहुनाका अगाडि रिस दबाएर बोलेको बोली र गरेको संकेत र कामलाई दण्ड र चर्को स्वरमा अभ्यस्त भएका बच्चाले बुझ्दै बुझ्दैनन्, तर जब पाहुना जान्छन्, तब आमा–बाबाको सधैंको जस्तो नियन्त्रक व्यवहार– रिस देखाउँदै झोक्किने वा दण्ड दिने काम सुरु हुन्छ, तब बालबालिका सामान्य अवस्थामा फर्किन्छन्।

पहिलोचोटि झुलौनामा बस्दा वा यातायातका साधनमा चढ्दा बच्चा डराउने वा रमाउने कुरा पनि उससँगै यात्रा गर्ने अभिभावकको प्रतिक्रियामा निर्भर गर्छ। यस्तै चलचित्र वा डकुमेन्ट्रीका हत्या÷हिंसाजन्य घटना हेर्दा अभिभावक रमाउँछन् भने बालबालिका पनि यस्तै क्रियाकलापमा खुसी हुने स्वभावका बन्छन्। मनोवैज्ञानिक अध्ययनअनुसार एउटा खेलौनामा गरिएको परीक्षणले पनि यही तथ्य पुष्टि गरेको छ। सो अध्ययनमा दुई समूहमध्ये एक समूहका बालबालिकालाई ‘डल’ खेलौना देखाई त्यसलाई मायालु वातावरण दिई बालबालिकाका बीचमा छाडियो। ती बालबालिकाले पनि त्यस खेलौनालाई जतनसाथ खेलाए, तर अर्को समूहका बालबालिकाका अगाडि उस्तै खेलौनाप्रति आक्रामक व्यवहार देखाइयो र त्यो खेलौना उनीहरूका माझ छाडियो। पहिलो समूहले माया गरेर राखेको जस्तै खेलौना भए पनि ती बच्चाले खेलौनाप्रति निकै आक्रामक व्यवहार देखाए  र च्यातचुत पारे। यस अध्ययनले पनि अभिभावककै क्रियाकलापको प्रतिविम्ब बालबालिकामा पर्छ भन्ने स्पष्ट पार्छ।

झुटो बोल्न, समाजका व्यक्ति, घटना र अवस्थाप्रति प्रतिक्रिया जनाउन अभिभावकबाटै सिक्ने भएकाले नराम्रो व्यवहार ग¥यो भनी बालबच्चासँग रिसाउने, कराउने गर्नुभन्दा उसका सामु आफूले सभ्य र शिष्ट व्यवहार गर्नुपर्छ। वास्तवमा बालबालिका ठूला मान्छेले के सिकाउँछन् भन्ने कुराबाट भन्दा पनि के गर्छन् भन्ने कुराबाट बढी सिक्छन्। अतः झर्केर बच्चालाई अवाञ्छित कामबाट रोक्ने होइन, सामान्य आवाजमा सम्झाउने र उनीहरूले गरेका कामको असरबारे बताउने गर्नुपर्छ। उसले अटेरी गरेर वा अरू कारण नभई आमा–बाबाले उसलाई त्यस्तै प्रशिक्षण दिएर बानी विकास गरिदिएकाले ऊ त्यस्तो भएको हो। त्यसैले बालबालिकालाई अनुशासित, सभ्य र नम्र बनाउन अव्यावहारिक आदर्शका कुरा सिकाउने, डर देखाउने वा यस्तै अरू तरिका अपनाउने होइन, उनीहरूबाट अपेक्षा गरिएको व्यवहार आफूले उनीहरूप्रति गरेर उनीहरूको बानीको विकास गर्न जरुरी छ।

प्रकाशित: ८ मंसिर २०७६ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App