११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

आपराधिक आक्रमण

लोकतन्त्रवादीका निम्ति प्रिय अभिव्यक्ति हुनुपर्छ– ‘म तपाईंका विचारसँग सहमत छैन तर तपाईंको बोल्ने अधिकारका निम्ति म लडिरहनेछु।’ परिस्थिति विपरीत ढंगले विकास भइरहेको छ– ‘तपाईं मेरा विचारसँग सहमत हुनैपर्छ, मसँग असहमत विचार राख्नुभयो, त्यसविरुद्ध म आक्रमण गरिरहनेछु।’ मुलुकमा कस्तो लोकतान्त्रिक अभ्यास भइरहेको छ ? असहमत विचार गलाउन  शारीरिक आक्रमणको शृंखला सुरु भएको छ। त्यति मात्र होइन, उपल्लो नेतृत्व तहबाटै ‘अरिंगाल’ आक्रमणका निम्ति उक्साउने काम हुन थालेको छ। सत्तासीनमा आमनागरिकबाट आउने आलोचना ग्रहण गर्ने विशाल छाती हुनु आवश्यक छ। आफूलाई चित्त नबुझ्ने कुरा प्रस्तुत हुँदा मर्यादित ढंगले त्यसको विरोध गर्न सकिन्छ। आफूमाथि लागेका आरोपबारे जवाफ फर्काउने अनेक माध्यम छन्। त्यसमा पनि सामाजिक सञ्जालले हरेक व्यक्तिलाई स्पष्टीकरण दिने सार्वजनिक मञ्च उपलब्ध भएको छ। जसरी एक सर्वसाधारणले आफूलाई लागेका विषयमा बोल्ने मौका सूचना प्रविधिले दिएको छ, त्यसैगरी सत्तामा भएका शक्तिशाली व्यक्तिले अन्य माध्यमबाहेक सामाजिक सञ्जाललाई समेत उपयोग गर्न सक्ने अवस्था छ। सूचना प्रविधिले संवादका नयाँनयाँ आयाम खुलाएको भए पनि शारीरिक आक्रमण गर्ने बर्बर व्यवहारसमेत यथावत् रूपमा प्रयोग हुन थालेको छ।

असहमत विचार गलाउन  शारीरिक आक्रमणको शृंखला सुरु भएको छ। त्यति मात्र होइन, उपल्लो नेतृत्व तहबाटै ‘अरिंगाल’ आक्रमणका निम्ति उक्साउने काम हुन थालेको छ।

हिजो चित्त नबुझ्दा शारीरिक आक्रमण गराउने ‘पञ्चायती मण्डलेकरण’को गलत अभ्यास सत्तारूढ दलबाट हुन थाल्नु चिन्ताको विषय हो। सत्तारूढ दलका कार्यकर्ताका निधारमा कोरिएको ‘मण्डलेकरण’को कलंक कुनै अर्थमा पनि स्वीकार्य छैन। यसले हाम्रो सत्ताको चरित्र थप कमजोर र धराशायी हुँदै गरेको देखाएको छ। आफूलाई भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा प्रस्तुत गर्दै आएका ज्ञानेन्द्रबहादुर शाहीमाथि शनिबार चितवनमा भएको आक्रमणको जुनसुकै शब्दमा भत्र्सना गरे पनि कम हुन्छ। चौबीसकोठीमा ‘नेपालका लागि नेपाली’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो। उनी चढेको बा३ख ८४५८ नम्बरको माइक्रोमै आक्रमण गरेको देखिएको छ। यस आक्रमणका निम्ति कसैमाथि कारबाही नभए पनि ती आक्रमणकारी सत्तारूढ दलका कार्यकर्ता हुन् भन्ने प्रस्ट भएको छ। हालै नेपालगन्जबाट काठमाडौं आउने क्रममा शाहीलगायतको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्रमन्त्री योगेश भट्टराईका कारण ढिलाइ भएकामा आक्रोश पोखेका थिए। माफी माग्दै मन्त्रीले असन्तुष्टिसमेत व्यक्त गरेका थिए। उनको असन्तुष्टिसँगै कास्कीलगायत जिल्लामा नेकपा कार्यकर्ताले शाहीलाई जिल्ला प्रवेश गर्न नदिने भन्दै विज्ञप्ति निकालेका थिए। एक, नेपालभित्र कुनै नेपालीले घुमफिर गर्न कसैको अनुमति लिनुपर्दैन। दुई, आफूलाई लागेका विषयमा नेपालीले सरकार, सत्तामा रहेको दल र यसका नेता तथा कार्यकर्ताबारे प्रस्ट टिप्पणी गर्न पाउँछन्। यस्तो व्यवहारले हाम्रो लोकतन्त्रको अभ्यास कमजोर मात्र बनाउनेछैन, राजनीतिक प्रणालीलाई क्रमशः ‘मण्डलेकरण’ गरी पतनसमेत गराउनेछ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले चुनावका बेला भनेका थिए– ‘कम्युनिस्ट शासनमा न रुन पाइन्छ न हाँस्न।’ धेरैलाई त्यो अभिव्यक्ति निर्वाचनका बेला प्रकट भएको एउटा रमाइलो अभिव्यक्ति मात्र हो भन्ने परेको हो। तर सत्तारूढ नेकपा कार्यकर्तामा अधिनायकवादी चरित्र हाबी हुन थालेको छ। अभियन्ता शाहीमाथि यसअघि पनि ललितपुरमा आयोजित पत्रकार सम्मेलनमै आक्रमण भएको हो। अहिलेको आक्रमणमा पनि सत्तारूढ दलका नेता–कार्यकर्ताको प्रत्यक्ष–परोक्ष निर्देशन देखिन्छ। त्यहाँकी मेयर रेणु दाहालका अभिव्यक्तिले पनि यसलाई पुष्टि गरेको छ। कानुन हातमा लिएर कसैमाथि पनि ‘कारबाही’ गर्ने हैसियत सत्तारूढ दलका नेता–कार्यकर्तामा रहँदैन। अझ यस किसिमको आक्रमण हुन नदिन प्रहरी÷प्रशासनले भूमिका निर्वाह गर्न नसकेकोसमेत देखिएको छ। जतिबेला शाहीमाथि आक्रमण भइरहेको थियो, त्यतिबेला नजिकैका प्रहरीले हस्तक्षेप गरेन। त्यति मात्र होइन, ‘प्रतिवाद हुनेजस्तो देखेर नआउनू’ भनेको तर नमानेर आएका कारण आक्रमण भएको भन्ने चितवन प्रहरी प्रमुख दानबहादुर मल्लका अभिव्यक्ति आपत्तिपूर्ण छन्। अरूबाट आक्रमण हुन्छ भन्ने जानकारी भएपछि आक्रमणकारीलाई रोक्ने कि अभिव्यक्तिको अधिकारमै रोक लगाउने ? अभिव्यक्तिमाथि अंकुश लगाउनेगरी भइरहेका यस्ता आक्रमण रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपा अध्यक्ष पुष्पकमल दाहालले समेत स्पष्ट निर्देशन दिनुपर्छ। अझ मन्त्री भट्टराईले आफूमाथि भएको ‘दुव्र्यवहार’का लागि शाहीलाई दोषी देखाउँदै कार्यकर्ता आफैं ‘कारबाही’मा उत्रन थालेको स्थिति साम्य पार्नु आवश्यक छ। शाहीमाथि मात्र होइन, प्रमुख विपक्षी कांग्रेस नेताहरूमाथि समेत आपत्तिजनक आक्रमण हुन थालेको छ। कांग्रेस सांसद डा. मीनेन्द्र रिजालमाथि तनहुँको रिसिङ गाउँपालिकाको शिलान्यास गर्न जाने क्रममा आक्रमण भएको छ। नेपालगन्जमा कांग्रेस जिल्ला सभापतिको हात भाँच्ने कामसमेत भएको छ। यस्ता गतिविधिले लोकतन्त्रलाई कमजोर बनाउनेछ। विपक्षीलाई  ‘मण्डले शैली’मा आक्रमण गर्ने परिपाटी तत्काल बन्द हुनुपर्छ।

प्रकाशित: १३ आश्विन २०७६ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App